तालिम प्रतिबद्धता पनि हो
पत्रकारिता जगतमा लामो समयदेखि एउटा बहस चलिरहेको छ– पत्रकारिता गर्न चाहनेले पत्रकारिता पढ्नु कति जरूरी छ ? त्यस्तो तालिम/पढाइ आवश्यक छ भत्रेको संख्या राम्रै छ, त्यसैले नै पत्रकारिताको पढाइ चलेकै छ । तर पनि, पत्रकार हुने मूल योग्यता कलेज वा तालिम केन्द्रबाट आउँदैन । सफल पत्रकार बत्रका लागि समाज र संसार चित्रु पर्छ, समाज र त्यसका सदस्यहरूको हितप्रति गहिरो चासो हुनुपर्छ, आफ्नो चासोलाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्नका लागि राम्रो भाषा पनि हुनुपर्छ । प्रभावशाली र सफल पत्रकार हुन पत्रकारिताको ठूलो डिग्री हुनैपर्छ भन्ने छैन ।
साहित्य पढेका सबैले साहित्यका क्षेत्रमा काम गर्दैनन् । सृजनशील लेखनमा डिग्री गरेका वा तालिम लिएका पनि सबै सृजनशील हुँदैनन् । कलाका विविध क्षेत्रमा काम गर्ने मान्छे धेरै हुन्छन् । तर न त ती सबैले शिक्षा वा तालिम लिएका हुन्छन्, न त्यस्ता तालिम लिएका सबै कला क्षेत्रमा जान्छन् । यस्तो सर्वत्र हुन्छ । सबभन्दा रमाइलो कुरा त, सृजनशीलताको तालिम दिने व्यक्ति स्वयं पनि सृजनशील नहुन सक्छन् ।
कुनै विषयमा काम गर्न डिग्री वा तालिम चाहिन्छ कि चाहिंदैन भत्रे लामो विवादको विषय हो । डाक्टरी, इन्जिनियरिङ, कानून आदि अनेक विषय छन् जहाँ औपचारिक डिग्री विना पेशामा प्रवेश नै पाइँदैन । तर फेरि त्यही कुरा आउँछ, डाक्टरी पढे पनि सबैले डाक्टरी नै गर्छन् भत्रे छैन । पेशा अपनाउने सबै राम्रा डाक्टरका रूपमा कहलिन पनि सक्दैनन् । यो उदाहरण मात्र हो, यस्तो सबै पेशामा हुन्छ ।
शिक्षणमा पनि यही कुरा लागू हुन्छ । तालिम नलिएका व्यक्ति पनि असल र सफल शिक्षक हुन सक्छन् । तर तालिम पाउँदैमा कोही असल शिक्षक नबत्र पनि सक्छन् । तालिम लिएर कोही अझ् उत्तम शिक्षक हुन सक्छन् । कसैलाई तालिमले कुनै प्रभाव नपार्न पनि सक्छ । बहसकै लागि सही, एउटा भएकै प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।
एक जना शिक्षकका बारेमा मैले लेखे/भनेका राम्रा कुराप्रति असहमति जनाउँदै मेरा घरका र गाउँका भाइबहिनीहरूले भने, “हामीले पनि उहाँसितै पढेका हौं । तर उहाँलाई कहिल्यै पनि तपाईंले तारिफ गरे जस्तो पाएनौं !”
तालिमले त्यसका सहभागीहरूबाट एउटै कुरा खोज्छ, त्यो हो, प्रतिबद्धता । म कुनै तालिम पाउन योग्य र इच्छुक छु भने मैले सिक्नै पर्छ र सिकेको कुराको सदुपयोग पनि गर्नै पर्छ ।
म छक्क परें । मसित त्यसको उत्तर पनि थिएन । अनि भनें, “मलाई पढाउँदा उहाँले बीएड गर्नुभएको थिएन र स्थायी पनि हुनुभएको थिएन । दुर्भाग्यवश तिमीहरूलाई पढाउँदासम्ममा उहाँले ती दुवै उपलब्धि त हासिल गर्नुभयो तर उहाँभित्रको असल शिक्षकको चाहिं अवसान भएछ !”
तालिम पाएर फर्केपछि एकदमै राम्रो गर्ने शिक्षकहरू पनि छन् र तालिमपछि पहिलेको उत्सुकता, उत्साह आदि पूरै हराएका शिक्षक पनि देखिन्छन् ।
पत्रकारितामा होस् वा अन्य पेशामा जथाभावी सामान्यीकरण (जेनरलाइजेशन) गर्नु राम्रो अभ्यास होइन । एउटा वा केही यस्ता छन् भने अरू पनि त्यस्तै होलान् भत्रु नै ‘जेनरलाइज’ गर्नु हो । कहिल्यै पनि केही शिक्षकलाई हेरेर सबै उस्तै छन् भत्रु उचित हुँदैन । तर अधिकांशको अवस्था एउटै देखेपछि स्वतः सामान्यीकरण हुन्छ र असल या फरकलाई चाहिं अपवाद मात्रुपर्ने हुन्छ ।
सिङ्गै समाजको गुनासो छ– सामुदायिक विद्यालयका प्रायः सबै शिक्षकले तालिम पाएका छन् तर तालिम नपाएका निजी विद्यालयका शिक्षकका तुलनामा उनीहरूको शैक्षिक उपलब्धि कमजोर छ । यो गुनासोलाई सीधै नकार्न मिल्ने अवस्था छैन ।
शिक्षक को यस अङ्कमा तालिमको अवस्था र औचित्यलाई उधिन्न खोज्नुको कारण यही हो । तालिमका लागि राज्य र दाताको पैसा मात्र होइन, शिक्षकको समय र बालबालिकाको पढाइ पनि खर्च भएको हुन्छ । तालिम गलत वा अपर्याप्त छ भने भत्र सक्नुपर्छ, त्यसैमाथि बहस गर्नुपर्छ र सुधार गर्नुपर्छ । होइन भने धेरै स्रोतसाधन खर्चेर पाएको तालिमको सदुपयोग गर्नै पर्छ ।
तालिमको अर्थ र महत्वका बारेमा शिक्षाविद्हरूले जानेका, सिकाएका र लेखेका छन् । मेरो विचारमा तालिमले ज्ञान, सीप, ऊर्जा, उत्साह, नयाँपन, नयाँ सम्पर्क धेरै कुरा दिन्छ । त्यसबापत तालिमले त्यसका सहभागीहरूबाट एउटै कुरा खोज्छ, त्यो हो, प्रतिबद्धता । म कुनै तालिम पाउन योग्य र इच्छुक छु भने मैले सिक्नै पर्छ र सिकेको कुराको सदुपयोग पनि गर्नै पर्छ । होइन, तालिम लिन चाहिं इच्छुक छु र सिकेका कुरा भने कर्मस्थलमा नआई बिर्सिन्छु भने मैले आफ्नै मूल्याङ्कन गरेर नकारात्मक अङ्क दिने हिम्मत गर्नुपर्छ । सामुदायिक विद्यालयका हरेक शिक्षकबाट अपेक्षा गरिएको पनि यत्ति हो ।



