शिक्षकका कुरा शिक्षकलाई
शिक्षक–संसारमा कसैलाई काखा र कसैलाई पाखा पार्ने कलुषित मानसिकता हट्नुपर्छ । सबै शिक्षण संस्थाहरू एकै किसिमको नीति र नियमले चल्नुपर्छ । सरकारी विद्यालयमा अध्ययन गरेकै आधारमा सीट आरक्षित हुने र बोर्डिङ स्कूलमा पढेकै आधारमा वञ्चित पारिने रणनीति अविलम्ब खारेजीमा पर्नुपर्छ ।
प्रिय शिक्षक मित्र !
म बोर्डिङ स्कूलको शिक्षक, तपाईं सरकारी विद्यालयको शिक्षक । हामी पेशागत हिसाबले एक छौं । गमेर हेर्दा भने अनेक छौं । एउटै शिक्षा ऐन र नियमावलीले बाँधिएका भए पनि म परतन्त्री छु, तपाईं स्वतन्त्र हुनुहुन्छ । म कतै लोभी छु, तपाईं चाहिं कन्जुस हुनुहुन्छ । तपाईं आफ्नै सरकार दोषी देख्नुहुन्छ, म आफ्नै मालिक दुष्ट देख्छु । तपाईं देशको संयन्त्रसँग सम्बन्ध राख्नुहुन्छ, म निश्चित व्यक्तिको मनसँग सरोकार राख्छु ।
समाज ठान्छ– तपाईंको जीवन सौभाग्यपूर्ण छ, मेरो जीवन दुर्भाग्यपूर्ण । म आज यहाँ छु, भोलि कहाँ हुन्छु, हुन्छु ! शिक्षकका रूपमा रहन्छु वा रहन्न, केही ठेगान छैन । तपाईं हिजोदेखि आजसम्म पनि करीब–करीब यहीं हुनुहुन्छ । शायद भोलि पनि यहीं रहनुहुन्छ । राष्ट्रले तपाईंसँग ठूलो आश गरेको छ, मलाई भने बेवास्ता गरेको छ । तपाईंलाई पाल्छ, पोस्छ, वेलावेलामा तालीम दिन्छ । समय बित्दै जाँदा पुनर्ताजगी तालीम दिन्छ । हर सुविधा उपलव्ध गराउन कोशिश गर्छ । देशका महŒवपूर्ण काम गर्न खटाउँछ । मलाई भने शिक्षक मान्दै मान्दैन । मलाई आफ्नो कानूनले बाँध्न भने खोज्छ । शिक्षक आचारसंहिता लागू गर्न खोज्छ । तर, शिक्षकको मनोभावको कदर रत्तिभर गर्दैन । मलाई लाग्छ– राज्यले सौताको छोरो ठानिरहेछ । यसलाई जे गर्दा पनि हुन्छ भनिरहेछ । परोक्ष रूपमा भए पनि काम चाहिं लिइरहेछ, दाम दिने र दिलाउने कुरामा बाह्र हात पछि सरिरहेछ ।
हो मित्र ! मुखमा माड लगाउन धौ–धौ पर्ने भयो । त्यसैले पनि म बढ्ता लोभी भएँ । नैतिकता बेच्ने गरेको भने छैन । स्कूलभन्दा बाहिर कमाइ गर्ने कुरा नसोची जीवन रथ गुड्दै गुड्दैन । पाएको थोरै तलब महँगीसँग पौंठेजोरी खेल्दाखेल्दै आधा महीनामै सकिन्छ । बाँकी दिनका लागि जोरजाम गर्न ‘ट्यूसन’को भर नपरी धर छैन । फेरि बाँचेरै मात्र पनि भएन । सानातिना आवश्यकता पूरा नगरी हुन्न । जागीर पनि खानु र आफ्ना अभिभावकको समेत भर पर्नु मिल्दो कुरो हुँदै होइन । म नतमस्तक छु । कक्षामा जे पढाउँछु, ‘ट्यूसन’ मा त्यसैलाई दोहो¥याउँछु । र, पनि शुल्क पाउँछु । कतै विद्यार्थीलाई एकोहो¥याएको छु । कतै अभिभावकलाई उल्लु बनाएको छु । र, पो जसोतसो बाँचेको छु । नत्र, ‘बोर्डिङे मास्टर’ भएर शहरमा रहनु प्रायः असम्भव हुनेथियो ।
शिक्षक मित्र ! तपाईं भने कन्जुस हुनुहुन्छ । कक्षामा पढाउन हैन, थकाइ मार्न पुग्नुहुन्छ । विद्यार्थीको मनोभावना बुझन होइन, समय विताउन कक्षामा बस्नुहुन्छ । ‘पढ–पढ’ भन्नुहुन्छ । कसलाई कहाँ समस्या छ, पीरमर्का परेको छ, विल्कुलै बुझनुहुन्न । र, भन्नुहुन्छ– अचेलका विद्यार्थी नै हाम्रा दायराबाट हटिसके । सिकाइको मैदानका खेलाडी हुनबाट छुटिसके । चिन्तन–मनन गर्नु छैन, हँसी–मजाक गरेर छक्क पारिसके ।
दोष विद्यार्थीमा देख्नुहुन्छ । आफूलाई पवित्रताको प्रतीक ठान्नुहुन्छ । जनताको नुन खाएर पनि त्यसको सम्मान गर्न मन सङ्कुचित पार्नुहुन्छ । आफूले जानेको ज्ञान बाँड्न पनि अटेर गर्नुहुन्छ । राज्यले सुम्पेको जिम्मेवारी कागजमा भने पूरा गर्नुहुन्छ । व्यवहारमा काँचै छाड्नुहुन्छ । धेरै भन्यो नभन्नुहोला । कानूनले शिक्षक भनी सम्मान गरे पनि व्यवहारमा ‘मास्टर’ कहलिनुहुन्छ । त्यसैले ‘मास्टरजी’ भन्दा सन्तोषको सास फेर्न बाध्य हुनुहुन्छ ।
शिक्षक मित्र ! एकै कामका लागि हामी समय बिताउँछौं । समयमा नियमित विद्यालय पुग्नु र तोकिएको काम इमान्दारी साथ गर्नु मेरो कर्तव्य हो । तपाईं समेत उस्तै कर्तव्यले बाँधिएको हुनुहुन्छ । काममा ढिलासुस्ती गर्दा वा पटक–पटक कमजोरी दोहो¥याउँदा स्पष्टीकरणको भागिदार हुनुहुन्छ । तर, मैले भने जागीरबाटै हात धुनुपर्छ । सुविधा खोजे नराम्रो शिक्षक कहलिनुपर्छ । सत्य कुरामा अडान राखे आफैं धर्मसंकटमा फँस्नुपर्छ । कतिपय अमिल्दा कुरा सहनुपर्छ र कतिपय स्थानमा मन मिचेर अभिनय गर्नुपर्छ । जे जसरी होस् विद्यार्थीलाई काबुमा राख्नुपर्छ । खोक्रो आदर्शको ओड्नेले ढाकिरहनुपर्छ । र, विद्यालय प्रशासनले अह्राएको काम सरासर फत्ते गर्ने मनकारी शिक्षक कहलिनुपर्छ ।
तपाईं बन्धनमा भएर पनि स्वतन्त्र व्यवहार गर्न निकै फुक्का हुनुहुन्छ । तपाईंले विद्यार्थी सामु अभिनयको भूमिका निर्वाह स्वविवेकले गर्दा हुन्छ । व्यक्तिको अधिनायकत्वलाई शिरोधार्य गर्नुपर्दैन । आफ्नो जिम्माको विषय–संसारमा सीमित भए पुग्छ । विद्यालय खुलेको दिन मात्र काम गरे हुन्छ । शिक्षक हुनु पर्दा तपाईं करीब सात घण्टा बन्धन महसूस गर्नुहुन्छ । मैले भने लगभग चौबीसै घण्टा बन्धनसहित रहेको महसूस गर्नुपर्छ ।
हेर्नुस् शिक्षक मित्र ! तपाईं र मभित्रको अन्तर र विरोधाभासको इतिवृत्त केलाउँदा ठूलै महाभारत बन्न सक्छ । तर, हामी दुवै सिकाइ मैदानकै रेफ्री हौं । हामीले एकै किसिमको शपथ खाएका छौं । सेवामुखी बन्ने आदर्शको पगरी गुथेका छौं । उही र उस्तै नैतिक जिम्मेवारीको भारी बोकेकै छौं । कलिला नानीहरूको भविष्य हातमा लिएर हिंडेका छौं । र, पनि तपाईं बढी जिम्मेवार हुनुहुन्छ तर कम निर्वाह गर्नुहुन्छ । म कम जिम्मेवारीमा छु तर बढी निर्वाह गर्छु । कारण– काममा हेलचेक्र्याइँ गर्दा जागीर जाने भय तपाईंमा बिल्कुलै छैन । क्षणभरमै जागीर चट् हुने त्रास मभित्र छ । भेटेको सुविधा कटौती होला भन्ने कुराले म हरदम भयभीत हुन्छु । मेरो तुलनामा तपाईं ढुक्क हुनुहुन्छ । बलियो रक्षाकवचभित्र तपाईं पर्नुहुन्छ । म भने साबुनफिंजे रक्षाकवचले घेरिएको छु । कतिखेर कुन अवस्थामा धपाइन्छ, त्यसको ठेगान हुन्न । कानून भए पो विश्वास गर्नु, व्यक्तिको मुख–मन नै कानूनको ठेली भएपछि त्यो कुन वेला कसरी प्रकट हुन्छ निश्चित नै हुन्न ।
शिक्षक मित्र ! सरकारले खटाएको ठाउँमा समर्पित भई काम गर्नु तपाईंको कर्तव्य हो । पचहत्तरै जिल्लाका कुनाकाप्चामा पुगेर सबै ठाउँको भौगोलिक, सामाजिक, शैक्षिक तथा सांस्कृतिक अवस्था बारे जानकारी लिने अवसर त नमिल्ला । तर, आफू बसोबास गरेभन्दा बाहेक अन्य ठाउँमा समेत पुगेर ज्ञान बाँड्ने र आफ्नो ज्ञान÷अनुभवको सीमा फराकिलो पार्ने अवसर भने पक्कै पाइन्छ । त्यसैले म भन्छु– शिक्षकको कार्यस्थल कम्तीमा प्रत्येक ५÷५ वर्षमा परिवर्तन भइरहनुपर्छ । नयाँ–नयाँ स्थानमा पुगेर ज्ञान दिने र विविध खाले अनुभव लिने अवसर शिक्षकले भेट्नुपर्छ । शिक्षकले पनि प्राप्त अवसरप्रति असन्तोष जाहेर गर्ने होइन, उत्साहको रूपमा लिएर स्वीकार गर्नुपर्छ । यसबाट राष्ट्र र समाज, विद्यार्थी र शिक्षक सबै वर्ग लाभान्वित हुन्छन् ।
यस्तो नीति कडाइका साथ कार्यान्वयन गर्नुपूर्व शिक्षकले जीविकोपार्जनमा कुनै किसिमको चिन्ता नहुने गरी यथोचित तलब–भत्ता पाउनु भने जरूरी छ । अहिले धेरैजसो शिक्षक एक समय घरपरिवारको कामकाज गर्ने र अर्को समय विद्यालय धाउने गरिरहेका छन् । यसो गर्दा विद्यालयमा कम र घरपरिवारमा बढी ध्यान दिइरहेछन् । जे भए पनि दोहोरो आम्दानीमा संलग्न हुन पाएका छन् । यसो हुँदा त समयको माग र समाजको आवश्यकताको आपूर्ति राम्ररी हुन सकिरहेको छैन ।
आजको शिक्षक पुरानो पुस्ता हो । उसको हातमा नयाँ पुस्ता छ । त्यसलाई उसले समयको माग र समाजको आवश्यकता अनुकूलको दक्ष जनशक्तिमा रूपान्तरण गर्नुछ । त्यसका लागि शिक्षकले वर्तमान पढ्नुपर्छ । भूतको जगमा वर्तमान पढ्न सजिलो छैन । रातो दिन घरायसी कामकाजमा फँसिरहने शिक्षकमा स्वाध्यायन गर्ने, चिन्तन–मनन गर्ने र नयाँ पिंढीलाई सम्बोधन गर्ने खुबी विद्यमान हुन गाह्रो छ । त्यसनिम्ति शिक्षकलाई समय चाहिन्छ । त्यो सित्तैंमा दिनुस् भन्न मिल्दैन । आफूलाई खार्न नसक्ने शिक्षकले विद्यार्थीलाई खार्न सक्ने अवस्था नै आउँदैन । अतः राज्यले शिक्षकसँग प्रत्येक दिन ६÷७ घण्टा मात्र समय किन्ने होइन, लगभग २४ सै घण्टा समय किन्न सक्नुपर्छ । शिक्षकले समेत शिक्षणीय प्रयोजनका लागि पर्याप्त समय व्यतीत गर्नुपर्छ । शिक्षण सामग्रीका अतिरिक्त अन्य नयाँ पुस्ताका लागि सुहाउँदा कुराहरू जान्नुपर्छ । अनि मात्र नयाँ चिन्तन, उपाय र सोच लिएर नयाँ पिंढीका अगाडि उभिन सकिन्छ । आफ्नै युगको चिन्तन, उपाय र सोचमा जड बनियो भने समाजमा समायोजित हुन सकस पर्छ । नयाँ पुस्ताको इच्छा, आकाङ्क्षा र आवश्यकतालाई सम्बोधन गर्न सकिन्न ।
शिक्षक साथी ! मलाई राजनीति गर्न सख्त मनाही छ । तपाईंलाई पनि कानूनी प्रोत्साहन छ भन्दिनँ । तर जो राजनीति गर्छ, त्यो माथि पुगेको छ । पुरस्कार थापेको छ । हुकुम चलाएको छ । विद्यार्थीको मनमा नबसी महान् शिक्षक कहलाएको छ । उसले जसो गर्दा पनि भएको छ । सुगम ठाउँमा रहन पाएको छ । देशविदेश सयर गर्न भेटेको छ । नानाभाँतीका सरकारी सुविधा उपभोग गरेको छ । शिक्षक हुँदाहुँदै राजनीतिक दलको झ्ण्डा बोकेर गाउँठाउँ डुलेको छ । आफू निकटका नेता–नेतृलाई राजनीतिक वर्चस्व दिलाउन जीउज्यान लगाएको छ ।
शिक्षकमा राजनीतिक सुझ्बुझ् हुनुहुन्न भनेको होइन । विद्यार्थीमा राजनीतिक ज्ञान रहनुहुन्न भनेको छैन । सबैले सबै कुरा थाहा पाउनुपर्छ । अनि मात्र आफ्नो मौलिक दर्शन बोकेर उभिन सकिन्छ । तटस्थ मनोदशामा शिक्षकले रहनुपर्छ । राजनीतिक दलको झ्ण्डामुनि आजका कलिला मुनाहरू गोलबद्ध हुने अवस्था हट्नुपर्छ । शिक्षण संस्था ज्ञानको पवित्र मन्दिरमा रूपान्तरण हुनुपर्छ । शिक्षक–संसारमा कसैलाई काखा र कसैलाई पाखा पार्ने कलुषित मानसिकता हट्नुपर्छ । सबै शिक्षण संस्थाहरू एकै किसिमको नीति र नियमले चल्नुपर्छ । सरकारी विद्यालयमा अध्ययन गरेकै आधारमा सीट आरक्षित हुने र बोर्डिङ स्कूलमा पढेकै आधारमा वञ्चित पारिने रणनीति अविलम्ब खारेजीमा पर्नुपर्छ । बोर्डिङ स्कूलमा पढ्न निरुत्साहित र सरकारी विद्यालयमा पढ्न उत्साहित गर्ने काइदा यो होइन । व्यक्ति विशेषले विद्यालय खोलेर मनोमालिन्य तवरले सञ्चालन गर्ने अवस्था पूर्णरूपले हट्नुपर्छ । बरू आवश्यक भएमा सहकारी संस्थाको नीति र नियमअनुसार चल्ने सहकारी विद्यालय खोल्न सकिने नियम बनाउनुपर्छ । यसो गर्दा एउटा समुदायको भावनाको प्रतिनिधित्व हुन्छ । कानूनको दायरामा विद्यालय अट्न सक्छ । जवाफदेही कार्यकलाप सम्भव हुन्छ । र, सबै वर्गले राहत पाउन सहज हुन्छ ।
शिक्षक मित्र ! म तपाईंलाई यस्ता कुराहरू किन सुनाउँदैछु भने तपाईं पनि सरकारकै एक प्रतिनिधि हुनुहुन्छ । शैक्षिक नीतिनिर्माताको एक योग्य सदस्य हुनुहुन्छ । समाजको आस्था र विश्वासको धरोहर हुनुहुन्छ । विद्यार्थीका लागि न्यायमूर्ति हुन्छ । राष्ट्रको ज्ञानको ज्योति हुनुहुन्छ । मूलतः तपाईं विश्वसमुदायकै स्थिर हैन गतिशील ज्ञानको समुद्र हुनुहुन्छ । अतः सोचेभन्दा निकै गहिरो र संवेदनशील पेशा हामीले अँगालेका छौं, यस महान् पेशाको मर्मलाई बुझ्ेर फुकीफुकी पाइला चाल्न अग्रसर बनौं । शिक्षण पेशालाई मानव समुदायको अनुपम सौभाग्यको पेशा बनाऔं ।
लिटिल फ्लावर उच्च मावि
राजविराज–९, सप्तरी



