जिज्ञासा र जवाफ

एक तह बढुवा पाउँला ?

२०४८ कात्तिकमा बर्दिया जिल्लाबाट स्थायी नियुक्ति पाएँ; २०६३÷१०÷१५ मा द्वितीय श्रेणीमा बढुवा भएँ । अब मैले नोकरी छोड्दा एक श्रेणी बढुवा पाउँछु कि पाउँदिनँ ?
आत्माराम थापा
जयकालिका मावि, कालिका–४, बर्दिया

सेवा अवधिभर एक पटक पनि बढुवा नपाएको शिक्षकको हकमा मात्रै अवकाश लिंदा एक तह बढुवा दिने प्रावधान शिक्षा नियमावलीमा छ । त्यस अनुसार तपाईंले नोकरी छोड्दा अब बढुवा पाउनुहुने छैन ।
कृष्णप्रसाद शर्मा न्यौपाने
शाखा अधिकृत
विद्यालय शिक्षक किताबखाना

जेसिज कि जेसिस ?

कक्षा–८ को हाम्रो सामाजिक अध्ययन पाठ्यपुस्तकको पाठ–७ को ‘सामाजिक संघ÷संस्थाहरू’ भन्ने शीर्षकको पाठ पेज नं. ४३ मा ‘जेसिस’ भनेर उल्लेख गरेको पाइयो वास्तवमा ‘जेसिज’ हुनुपर्ने होइन र ?
जर्म श्रेष्ठ
झ्म्केश्वरी मावि, पालुङ, मकवानपुर

अंग्रेजीको ुव्बथअभभकु लाई ‘जेसिज’ भनेर उच्चारण गर्ने गरिएको छ । त्यस अर्थमा तपाईंले उठाउनुभएको जिज्ञाशा जायज छ । आउँदो वर्ष कक्षा ८ को पाठ्यपुस्तक फेरिएर आउनेछ । सोही संस्करणमा यसलाई सच्च्याएर ‘जेसिज’ बनाइनेछ ।
हरिप्रसाद निरौला
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र

छुट्टै अस्पताल छैन

म २०४८ सालमा स्थायी नियुक्ति पाएको शिक्षक हुँ । अहिले ५४ वर्ष पुगें । आउँदो दशैंपछि अवकाश लिने सोचाइमा छु । यसरी अनिवार्य अवकाश अगावै अवकाश लिंदा थप सुविधा पाइन्छ कि पाइँदैन ? साथै शिक्षक बिरामी हुँदा औषधोपचार गराउने छुट्टै अस्पताल छ कि छैन ?
कृष्णबहादुर बस्नेत
श्रमरानी मावि, बूढीचौर तिराम, प्यूठान

शिक्षा नियमावलीमा भएको व्यवस्था बमोजिमकै सुविधा तपाईंले पाउनुहुनेछ । त्यस बाहेक अन्य सुविधा पाइँदैन । शिक्षकको उपचारका निम्ति छुट्टै अस्पताल छैन ।
कृष्णप्रसाद शर्मा न्यौपाने
शाखा अधिकृत, विद्यालय शिक्षक किताबखाना

विशेष बढुवा हुन्छ ?

आन्तरिक लिखित परीक्षा तथा कार्यसम्पादन मूल्यांकनका आधारमा प्राथमिक तृतीय श्रेणीबाट द्वितीय श्रेणीमा बढुवा भएका शिक्षकको विशेष बढुवा हुन्छ कि हुँदैन ?
प्रदीपकुमार श्रेष्ठ
नेरा उमावि, रेख, फलावाङ, सल्यान

शिक्षक सेवा आयोग नियमावली संशोधन गरेर एक पटकका निम्ति विशेष बढुवाको अवसर दिइएको हो । अब फेरि शिक्षकको विशेष बढुवा हुने छैन ।
नारायणप्रसाद भट्टराई
उपसचिव, शिक्षक सेवा आयोग

तपाईंले भने जस्तो पाठ्यक्रममै छैन

कक्षा–४; विषयः विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षा; मुद्रणः २०६८
उक्त विषयको पूर्णांक र पाठ्यभार विभाजनमा ‘विज्ञान तथा स्वास्थ्य’ र ‘शारीरिक स्वास्थ्य’ गरी दुई भागमा विभाजन गरी पाठ्यभार ४–४ कायम गरिएको छ । यसमा शारीरिक स्वास्थ्य भनेको के हो ? विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षाको सिकाइ उपलब्धि र व्यावहारिक प्रयोजन साँच्चै बराबर हुन सक्छ ?
तिलकबहादुर रावत
चक्रेश्वरी मावि, घेगड, अछाम

कक्षा ४ मा विज्ञान तथा वातावरण विषय र स्वास्थ्य तथा शारीरिक शिक्षा विषयलाई क्रमशः ५०–५० पूर्णांक र ४–४ पाठ्यभार निर्धारण गरिएको छ । पाठ्यक्रम संरचना अनुसार कक्षा ४ मा तपाईंले भने जस्तो

‘विज्ञान तथा स्वास्थ्य’ र ‘शारीरिक स्वास्थ्य’ भन्ने विषय नै छैन । तपाईंले कुन स्रोतबाट त्यो कुरा भेट्नुभयो, हामीलाई थाहा भएन ।
गणेशप्रसाद भट्टराई
उपनिर्देशक, पाठ्यक्रम विकास केन्द्र

दुई जिज्ञाशा

नेपालको राष्ट्रिय रूख र फल कुन हो ?

शिक्षक मासिकमा कम्प्युटर र सूचनाप्रविधि सम्बन्धी नियमित स्तम्भ समावेश गर्दा राम्रो हुन्थ्यो कि ?
लीला कु. राई,
थम्कु, संखुवासभा

नेपाल सरकारले अहिलेसम्म राष्ट्रिय रूख र फलको निर्धारण नै गरेको छैन ।
हेमराज खतिवडा
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र

(त्यस्तो स्तम्भको प्रयोजन के हुने ? लक्षित पाठक को हुने ? के कस्ता सामग्री प्रस्तुत गर्नुपर्ने हो ? यस सम्बन्धमा पाठकहरूबाट पर्याप्त सुझवहरू प्राप्त भएको खण्डमा त्यस्तो स्तम्भबारे सोच्न सकिनेछ ।
– सम्पादक, शिक्षक मासिक)

कहिले सूचीकृत भए ?

सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज कुन–कुन मितिमा विश्व सम्पदा सूचीमा सूचीकृत भएका थिए ?
आर.एस. तिमल्सिना
हात्तीचरन प्रावि, छतिवन, मकवानपुर

युनेस्कोको वेबसाइटमा उल्लेख भए अनुसार चितवन राष्ट्रिय निकुञ्ज सन् १९८४ र सगरमाथा राष्ट्रिय निकुञ्ज सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत भएका हुन् ।
हेमराज खतिवडा
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र

म के गरुँ ?

निरन्तर अस्थायी सेवा गरे बापत प्रति वर्ष १.२५ का दरले शिक्षक बढुवामा अंक दिने व्यवस्था नियमावलीमा छ । कुनै शिक्षकले २०५२ सालको आयोगको परीक्षाबाट अर्कै जिल्लामा २०६०÷०८÷१५ गते स्थायी नियुक्ति मितिको पत्र पाएको अवस्थामा निज शिक्षक अस्थायी कार्यरत भएको जिल्लाको रेकर्ड अनुसार २०६०÷०८÷३० गतेसम्म कार्यरत रहेको देखिन्छ ।

निज शिक्षक २०६०÷०९÷०१ देखि स्थायी नियुक्ति पाएको जिल्लाको विद्यालयमा हाजिर हुन जाँदा त्यहाँको स्थानीय शिक्षकलाई हटाएको विरोधका कारण २०६०÷०९÷०१ देखि हाजिर हुन दिइएन । जिशिकाले ‘हाजिर गराउनू’ भनी चेतावनी पत्र पठाएपछि निजलाई २०६०÷०९÷०६ देखि मात्रै हाजिर हुन दिइयो । यस्तो अवस्थामा निज शिक्षकको अस्थायी सेवा निरन्तर बनाउन के गर्नुपर्ला ? अथवा पहिले पढाएको विद्यालयको रेकर्डमा २०६०÷०९÷०५ गते बनाई जिशिकाबाट प्रमाणित गर्नुपर्छ कि पर्दैन ?
सुरेन्द्रबहादुर थापा
दीनदयालु निमावि, थान्चोक, मनाङ  

अस्थायी सेवा गणनाका निम्ति सेवा निरन्तर देखिनुपर्छ । एक दिन मात्रै गैरहाजिर भए मात्रै पनि सेवा निरन्तर भएको मान्न सकिंदैन । तपाईंले उल्लेख गर्नुभएको शिक्षकले विद्यालयमा हाजिर हुन नपाउनु एउटा कुरा हो, तर त्यसलाई जिशिकाले प्रमाणित गरेको हुनुपर्छ । यदि जिशिकाले अस्थायी सेवा निरन्तरता सम्बन्धी प्रमाणित गरिदिएको खण्डमा आयोगले त्यसलाई स्वीकार्न सक्छ ।
नारायणप्रसाद भट्टराई
उपसचिव, शिक्षक सेवा आयोग

स्रोत शिक्षक जिशिकाले तोक्छ

विशेष कक्षा सञ्चालन गर्दै आएको स्रोत शिक्षक सेवा निवृत्त हुँदा सो स्थानमा राखिएको सोही विभागको तालीमप्राप्त सट्टा शिक्षक स्वतः स्रोत शिक्षकका रूपमा पुनस्र्थापन हुन पाउँछ कि पाउँदैन ?
पदम नेपाल
भवानी उमावि (बहिरा विशेष कक्षा), कुसुमखोला, पाल्पा

तपाईंले भने जसरी स्वतः पुनस्र्थापन हुन मिल्दैन । तोकिएको मापदण्ड अनुसार स्रोत शिक्षकको जिम्मेवारी तोक्ने अधिकार सम्बन्धित जिशिकालाई मात्रै छ ।
गणेशप्रसाद पौडेल
उपनिर्देशक, शिक्षा विभाग

commercial commercial commercial commercial