अभिभावकलाई स्वागत गरौं
अभिभावकहरू उपस्थित हुन थाले भने विद्यालयको शैक्षिक स्थितिमा सुधार आउँछ । तर पनि धेरैजसो अभिभावक स्कूल जान जाँगर चलाउँदैनन् । किन होला ?
प्रसङ्गवश यो पंक्तिकारसमेत समेत बोलाइएको एउटा स्कूलको अभिभावक भेला अभिभावकहरूको न्यून उपस्थितिका कारण स्थगित भयो । “किन आएनन् अभिभावक ?” भन्ने प्रश्नको कसैले सजिलो जवाफ दियो, “अभिभावकलाई केटाकेटीको पढाइ बारे मतलबै छैन !” अर्काले त्यसमा सही थप्यो । अनुपस्थित अभिभावकहरूका तर्फबाट बोल्ने त्यहाँ कोही भएन ।
साँच्चै नै अभिभावकलाई विद्यालय र आफ्ना केटाकेटीको पढाइ सम्बन्धमा कुनै मतलब नभएकै हो त ? मलाई लाग्छ, आम अभिभावकमाथि लगाइएको यो आरोप सही होइन । समाजको बदलिंदो स्वभाव हेर्दा लाग्छ, नेपालीलाई सबैभन्दा धेरै मतलब भएको कुरा नै आफ्ना सन्तानको पढाइ हो । मानिसहरू ऋणपान गरेर भए पनि छोराछोरीलाई पढाइरहेका छन् । हजारौं हजार नेपाली छोराछोरीका लागि भन्दै गाउँ ठाउँ मात्र होइन मुलुक समेत छाडिरहेका छन् । छोराछोरीलाई समर्थ बनाउन आफ्ना रहर र आवश्यकताहरू बिर्सिइरहेका छन् । त्यसो भए किन आउँदैनन् त अभिभावक आफ्नै छोराछोरी पढ्ने स्कूलमा ? बोर्डिङ स्कूलले बोलाउने बित्तिकै खुरुक्क पुग्ने नेपाली अभिभावक सरकारी स्कूलको भेलामा चाहिं किन जाँदैनन् ? के मान्छेले आफ्ना छोराछोरीलाई गर्ने माया पनि उसको फी तिर्ने क्षमतामा भर पर्छ ?
तर के पनि सत्य हो भने सार्वजनिक विद्यालयमा पढ्ने बालबालिकाका अभिभावक स्कूल जाने गरेका छैनन् । उनीहरू साँच्चै नै मतलब विनाका देखिएको पनि धेरै हदसम्म साँचो नै हो । अभिभावकहरू बेलाबेलामा स्कूल आए स्कूलको भौतिक अवस्था मात्र होइन, शैक्षिक अवस्थामा पनि सुधार हुनसक्छ भत्रे कुरामा तर्क गरिरहनुपर्दैन । तर जो आउँदा राम्रो हुन्छ, उसैलाई दोष लगाएर चाहिं कुनै लाभ हुँदैन । बरू आम अभिभावकले स्कूलमा आउन जाँगर नचलाउनुका कारणहरू केलाएर समाधान खोज्ने हो भने फाइदा हुनसक्छ ।
अभिभावकहरूको स्कूलप्रतिको उदासीनताका कारण अनेक हुन सक्छन् । शहरका सरकारी स्कूलमा धेरै कम अभिभावक मात्र पुग्छन्, किनभने आजभोलि शहरबजारका कतिपय स्कूलमा ‘बाबुआमाका छोराछोरी’ भन्दा ‘मालिक मालिक्नीका केटाकेटी’ बढी पढ्छन् । पढाइदिने शर्तमा गाउँघरबाट ल्याइएका बालबालिका शर्त पूरा गर्नका लागि मात्र स्कूल पठाइएका हुन्छन् । त्यस्ता बालबालिकाका अभिभावक करलाग्दा मात्र स्कूल पुग्छन् । दैनिक ज्याला–मजदूरी गर्ने निरक्षर अभिभावकहरूलाई चाहिं स्कूलसम्म निम्त्याउने इमान्दार प्रयास नै भएको छैन ।
गाउँघरका अभिभावक स्कूल नजानुका पछाडिका कारण फरक छन् । पहिलो र सबभन्दा महत्वपूर्ण कुरा उनीहरूले आफ्ना छोराछोरी पढ्ने स्कूलमा कस्तो स्वागत पाउँछन् भत्रे हो । आदरपूर्वक बोलाइने हो भने, न्यानो र प्रतिष्ठापूर्ण स्वागत पाउने हो भने मान्छे आफ्ना छोराछोरीका स्कूलमा त के, जहाँ पनि जान्छ । स्कूल गइसकेपछि आफ्ना कुरा अरूले सुत्रे हो भने, अरूले पनि आफूले बुझने भाषामा बोल्ने हो भने, पढेलेखेका मान्छेका बीचमा आफू ‘बकुल्लो’ हुनुपर्दैन भत्रे कुरामा ढुक्क हुने हो भने मानिसहरू पक्कै पनि आफ्ना छोराछोरी पढ्ने स्कूल जान्छन् ।
केही स्कूलले अभिभावकहरूलाई आवश्यक परेका बेला उपस्थित गराउनका लागि विशेष प्रयास गरेका छन् । तिनले अभिभावकको सहभागिता जुटाएर विद्यालयको भौतिक अवस्था, पठनपाठन र परिणाममा सुधार ल्याएको पनि देखिएको छ । केही ठाउँमा अभिभावकको क्रियाशीलताले सरकारी स्कूलमा हुने हेलचेक्र्याइँ र अन्य अनियमितता नियन्त्रण गरेको पनि पाइएको छ । (हे. पृष्ठ २०)
अभिभावकलाई स्कूल आउन सजिलो पार्ने अनेक उपाय हुनसक्छन् । हामी साना छँदा वर्षमा एक पटक अभिभावक र स्कूलको सम्बन्ध निकै नजिकको हुन्थ्यो । त्यसले वर्षभरिका लागि वातावरण बनाउँथ्यो । वर्षको एकपटक हुने रमाइलो भेलाबाट सबै अभिभावकमा स्कूलप्रति अपनत्वको भावना जागृत र विकसित हुन्थ्यो । त्यो अवसर हुन्थ्यो स्कूलको वार्षिकोत्सव । त्यसबेला स्कूलमा सांस्कृतिक कार्यक्रमहरू हुन्थे, विभित्र किसिमका खेलकुदका प्रतियोगिता हुन्थे । भेष बदलेर नचिनिने हुने समेत प्रतियोगिता हुन्थे । अभिभावकहरू उत्साहपूर्वक ती कार्यक्रममा सहभागी हुन्थे र आफ्ना छोराछोरीको सहभागिता वा प्रस्तुति हेरेर दङ्ग पर्थे ।
त्यसबेला स्कूलहरू सही अर्थमा सामुदायिक पनि थिए । स्कूलका लागि आर्थिक स्रोत जुटाउन शिक्षक र अभिभावकहरू मिलेर देउसी भैलो खेल्थे । टाढा टाढाबाट ल्याइएका शिक्षकहरू प्रायः कुनै घरमा निःशुल्क बसेका हुन्थे र त्यसबाट पनि अभिभावकहरूमा स्कूलसितको नाता प्रगाढ हुन्थ्यो ।
अहिले समय त्यस्तो छैन । धेरै ठाउँमा शिक्षकहरू अभिभावकका घरमा बस्दैनन् । देउसी भैलो खेलेर स्कूल जोगाइरहनु पनि पर्दैन । तर अभिभावक दिवस वा स्कूलको वार्षिकोत्सवलाई अनौपचारिक, सहभागितामूलक बनाएर त्यसतर्फको यात्रा अघि बढाउन सकिन्छ ।
गर्ने कसले त ?
जो जान्दछ, जो सक्छ, जो समाजप्रति आफूलाई जिम्मेवार ठान्छ उसैले ।
हामी त्यस्तो व्यक्ति तपाईंलाई नै देख्छौं ।
नयाँ वर्ष मात्र होइन, नयाँ दशक शुरू भएको छ वि.सं. २०७० ! अक्षर र ज्ञानका अगुवा शिक्षक साथीहरूलाई हाम्रो अशेष शुभकामना !



