को धनी ! को गरीब !

एकजना सम्पन्न पिताले छोरालाई गरीबहरू कति कष्टकर जीवन बाँच्छन् भन्ने देखाउन–बुझाउन विकट गाउँको भ्रमणमा लगे । गरीब गाउँलेको झुपडीमा केही दिन बिताएर शहर फर्कने क्रममा बाबुले प्रश्न गरे– “छोरा, गाउँको बसाइ कस्तो लाग्यो त ?”

“एकदमै गज्जब लाग्यो, बाबा ।”

“त्यसो भने भन त तिमीले यो यात्राबाट गरीबका बारेमा के कुरा थाहा पायौ ?”

छोराले जवाफ दियो– “हामीसँग एउटा कुकुर छ तर उनीहरूसँग चारवटा रहेछन् । उनीहरूको पानीको दह हाम्रो स्वीमिङ पुल भन्दा दशौं गुणा ठूलो रहेछ; हाम्रो बगैंचामा बिजुलीका लालटिन छन् तर उनीहरू कहाँ रातभरि तारा चम्किँदा रहेछन्; हामी सबै कुरा किनेर खान्छौं; उनीहरू आफैं फलाउँदा रहेछन्; सुरक्षाका लागि हामीले अग्लो पर्खाल लगाएका छौं; तर उनीहरूको सुरक्षा तिनका छिमेकीले नै गरिदिंदा रहेछन्...”
छोरो यसैगरी भन्दै गयो । बाबु शान्त भएर सुनिरहे ।

अन्त्यमा छोराले थप्यो, “हामी कति गरीब रहेछौं भन्ने छर्लङ्गै भयो, बाबा !”

पाठः प्रेम, आपसी विश्वास, सन्तुष्टि र सेवाभाव पैसाले दिन वा किन्न सक्ने भन्दा ठूला कुरा हुन् ।

शिक्षक  मासिक, २०६९ पुस अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial