जिज्ञासा जवाफ
ट्रान्सक्रिप्ट पाउन के गर्नु पर्ला ?
मैले २०६५ सालमा नेपाली मूल विषय लिएर कक्षा ११ र १२ उत्तीर्ण गरी ट्रान्सक्रिप्ट, मार्कसिट, माइग्रेसन लिइसकेको छु । मैले २०६६ सालमा सोही तहमा मूल विषय अंग्रेजी पनि उत्तीर्ण गरी मार्कसिट लिएको छु । यसको ट्रान्सक्रिप्ट पाउन के गर्नु पर्ला ?
मायाराम यादव
शंकर निमावि, खरहरिया, दाङ
तपाईंले ‘नन–क्रेडिट’ विषय अन्तर्गत कक्षा ११ र १२ को अंग्रेजी उत्तीर्ण गर्नु भएको रहेछ । ‘नन–क्रेडिट’ विषयको ट्रान्सक्रिप्ट दिइँदैन । मार्कसिट मात्रै हो ।
जयन्ती सत्याल
परीक्षा उप–नियन्त्रक, उमाशिप
कति पेन्सन पाइन्छ ?
शिक्षा नियमावलीको नियम १३२ मा उल्लिखित ‘अवकाश सम्बन्धी विशेष व्यवस्था’ अनुसार नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिश गरेका र वर्ष नपुग्दै पेन्सनमा जाने शिक्षकले कति पेन्सन पाउँछन् ?
लीलाप्रसाद शर्मा पौडेल
जनता उमावि, कावासोती–७, नवलपरासी
नियम १३२ अनुसार शारीरिक अस्वस्थताको कारण अध्यापन गर्न असमर्थ भनी मेडिकल बोर्डले सिफारिश गरेका शिक्षकलाई पाँच वर्षसम्म सेवा अवधि थप गर्दा २० वर्ष पुग्ने रहेछ भने शिक्षा मन्त्रालयले बाँकी अवधि थप गरी अवकाश दिन सक्छ । त्यसरी अवकाश पाउने शिक्षकले अन्य शिक्षकसरह नै शुरू तलब स्केलको कम्तीमा आधा रकम पेन्सन पाउँछन् ।
कृष्णप्रसाद शर्मा न्यौपाने
शाखा अधिकृत, विद्यालय शिक्षक किताबखाना
कहाँ उजुरीगरुँ ?
म माध्यमिक तृतीय श्रेणीको प्रचलित तलब/भत्ता पाउने गरी २०६८/०१/०७ मा विज्ञान– गणित शिक्षकको रूपमा बालरूपान्तर बोर्डिङ स्कूल, त्रिभुवनवस्ती–५, कञ्चनपुरमा नियुक्त भएको थिएँ । मैले २०६८ चैतसम्म सो स्कूलमा शिक्षण गरे । तर, २०६८/०४/०१ बाट नेपाल सरकारले तोकेको नयाँ स्केल र अन्य सुविधा बापत पाउनुपर्ने रु.६६,००० विद्यालय व्यवस्थापनले दिएको छैन । यस विरुद्ध मैले कहाँ उजुरी दिन सक्छु ?
वीरभद्र न्यौपाने
त्रिभुवनवस्ती–१, कञ्चनपुर
यदि विद्यालयले सम्झौता बमोजिम तपाईंले पाउनुपर्ने तलब/भत्ता नदिएको हो भने तपाईंले करार सम्झौता र नियुक्तिपत्रको प्रतिलिपिसहित जिल्ला शिक्षा कार्यालयमा उजुरी दिन सक्नुहुनेछ ।
गणेशप्रसाद पौडेल
उपनि र्देशक, शिक्षा विभाग
उत्तरपुस्तिका हेर्न पाइन्छ ?
२०६८/११/२० गते लिइएको निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा म अनुत्तीर्ण भएँ । यो नतिजा मलाई चित्त बुझेको छैन । अब मैले मेरो उत्तरपुस्तिका हेर्न पाउँछु कि पाउँदिनँ ? यदि पाउँछु भने त्यसको लागि के गर्नु पर्ला ?
भरतबहादुर विश्वकर्मा
महादेव प्रावि, चौबास–३, काभ्रे
शिक्षक सेवा आयोगको उत्तरपुस्तिका हेर्न पाउने प्रावधान छैन । तपाईंले २४ भदौ २०६९ भित्र पुनर्योगको निम्ति निवेदन दिनुभएको भए उत्तरपुस्तिकाको पुनर्योग हुन्थ्यो । अब त, त्यसको पनि म्याद सकिइसकेको छ ।
खगेन्द्रप्रसाद नेपाल
सहसचिव, शिक्षक सेवा आयोग
तीनवटै प्याकेज किन लिने ?
हराम्रो विद्यालयमा कार्यरत सबै शिक्षक शिक्षकको पेशागत विकास (टीपीडी) तालिमको

पहिलो प्याकेज लिनगयौं । टीपीडीको यस्तो तालीम तीन प्याकेजमा लिनुपर्ने जानकारी पायौं । तर, बुझदा तीनवटै प्याकेज एउटै खालको रहेछ । उस्तै प्याकेजलाई किन तीन पटक लिनुपर्ने ?
खड्गबहादुर कुँवर/चित्रबहादुर कुँवर
महादेव प्रावि, चौबास–३, काभ्रे
उस्तै प्याकेज होइन । तालीमको ढाँचा उस्तै किसिमको भए पनि विषय फरक हुन सक्नेछन् । जस्तो कि; तपाईंहरूले यस वर्ष गणितको तालीम लिनुभयो भने अर्को वर्ष अन्य विषयमा तालीम चल्नेछ । शिक्षकलाई कक्षाकोठामा परेका समस्यालाई सम्बोधन गर्ने गरी टीपीडी प्याकेजको ढाँचा बनाइएको हुँदा तपाईंहरूले आफ्ना समस्याको समाधान यसबाट गराउन सक्नुहुनेछ ।
दीपक शर्मा
उपनि र्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र
२० वर्ष कहिले पुग्ला ?
नोकरी अवधिगणना गर्दा स्थायी नियुक्तिपत्रमा उल्लिखित मितिलाई आधार मानिन्छ कि हाजिरी भएको दिनलाई ? मेरो नियुक्तिपत्रको निर्णय मितिः २०५०/०४/१५ र हाजिर भएको मिति २०५०/०४/२४ हो । यस अनुसार मेरो २० वर्ष सेवा अवधि २०७० सालको कुन महीनामा पुग्ला ?
शम्भुप्रसाद घिमिरे
जनता प्रावि, हौंचुर–६, खोटाङ
हाजिरी मिति अर्थात् २०५०/०४/२४ देखि सेवा अवधिगणना शुरू हुन्छ । यदि तपाईंले सेवा अवधिको बीचमा असाधारण र बेतलवी विदा लिनुभएको छैन भने २०७०/०४/२३ मा २० वर्ष पुग्ने देखिन्छ । असाधारण र बेतलवी विदालाई चाहिं सेवा अवधिमा जोडिंदैन ।
कृष्णप्रसाद शर्मा न्यौपाने
शाखा अधिकृत, विद्यालय शिक्षक किताबखाता
म्याद थपको पैसा ?
१. शिक्षा नियमावलीको दफा ९७ क मा अस्थायी शिक्षकको म्याद थप गर्नु पर्ने व्यवस्था छ । डोल्पा जिल्लामा व्यवस्थापन समितिले म्याद थपको लागि जिशिकामा सिफारिश गर्ने र जिशिकाबाट म्याद थप गर्ने अभ्यास चल्दै आएको छ । त्यसबापत जिशिकाले रु.६०० लिने गरेको छ । जिशिकाले म्यादका निम्ति त्यसरी रकम लिन मिल्छ ? साथै म्याद थप्ने काम व्यवस्थापन समितिको हो कि जिशिकाको ? व्यवस्थापन समितिले म्याद थपको जानकारी जिशिकालाई दिए मात्रै पुग्दैन र ?
२. समान विषय र पदका अस्थायी शिक्षकको जिल्लान्तर सरुवा हुन्छ कि हुँदैन ?
गोपालप्रसाद भुषाल
जनप्रभा उमावि, लिकु, डोल्पा
१. अस्थायी शिक्षकको म्याद थप्ने काम विद्यालय व्यवस्थापन समितिकै हो । म्याद थपिएपछि अभिलेखका निम्ति त्यसको जानकारी जिशिकामा दिनुपर्छ । जिशिकाले आफ्नो कोष व्यवस्थापनको निम्ति जिल्ला शिक्षा समितिबाट निर्णय गराए र शुल्क लिन सक्छ ।
२. अस्थायी शिक्षकको जिल्लान्तर सरुवा गर्न मिल्दैन ।
टेकनारायण पाण्डे
निर्देशक, शिक्षा विभाग
द्विविधा परयो
सरकारले माध्यमिक विद्यालयमा दिएको विद्यालय सहायक (लेखापाल) दरबन्दीमा पहिले देखि कार्यरत शिक्षक, जसले लेखापालको समेत जिम्मेवारी सम्हाल्दै आएको छ, उसले आफ्नोसँगै लेखापालको पनि तलब खान पाउँछ कि लेखापालमा नयाँ नियुक्ति गर्नु पर्ने हो ?
कुमार बयलकोटी
धरान–१७, रेलवे, सुनसरी
शिक्षकको मूल काम पढाउनु हो, लेखा अभिलेख राख्नु उसको काम होइन । लेखापालका निम्ति विद्यालयलाई छुट्टै अनुदान दिन थालिएको छ । सो अनुदानबाट तलब खुवाउने गरी छुट्टै लेखापाल नियुक्त गर्नु पर्छ ।
टेकनारायण पाण्डे
निर्देशक, शिक्षा विभाग



