गधा उम्क्यो !

एक दिन एकजना किसानको बूढोगधा कसैले माटो झिकेर त्यसै छोडेको गहिरो इनार जस्तो खाल्डोमा खसेछ । किसान र उसलाई सघाउन भेला भएका गाउँलेले कैयौं जुक्ति र बल लगाए तर गधालाई खाल्डोबाट बाहिर ल्याउन सकेनन् । घण्टौंको प्रयत्न व्यर्थ गएपछि किसान र गाउँलेहरू गधालाई सद्दे हालतमा बाहिर निकाल्न नसकिने निष्कर्षमा पुगे । अन्ततः त्यो बूढो गधालाई त्यही खाल्डोमा पुरपार गरिदिने सल्लाह भयो । सबैले सावेल–कोदालीले माटो र चपरीगधा माथि खन्याउन थाले ।

अचानक माटो र चपरीको वर्षा सहनु पर्दा एकछिन त गधा अत्तालियो । निकै चर्को स्वरमा करायो पनि । तर त्यहाँ उसको पीडा सुन्ने को पो थियो र ! केही बेरपछि कराउन छोडेर बूढो गधा जीउ टक्टक्याउन र उफ्रन थाल्यो । यसो गर्दा उसको ढाड र शरीरको माटो र चपरी तल झर्दै गयो, अनि त्यस माथि टेकेर ऊ झन्झन् माथि माथि हुँदै गयो । गाउँलेहरू गधालाई पुर्ने धुनमा माटो–चपरी ओइर्‍याउँदै थिए, यत्तिकैमा खाल्डोको डिलमै आइसकेको गधा बुर्लुक्क उफ्रिएर बाहिर निस्कियो र बेतोड दौडियो । खाल्डोबाट गधालाई बाहिर निकाल्न असफल गाउँलेहरू गधालाई त्यही खाल्डोमा पुर्न पनि असफल भएकोमा आफ्नै पुर्पुरो सुमसुम्याउँदै थिए ।

पाठः जीवनमा अनेक किसिमका बाधा–अड्चन र अप्ठ्याराहरू आई नै रहन्छन् । समस्याको जञ्जालबाट मुक्ति पाउन व्यक्तिले आफूलाई हरदम आशावादी र क्रियाशील राखिराख्नुपर्छ । समस्याहरूलाई झट्कारेर फ्याँक्दै अघि बढ्नुपर्छ । हार नमानी निरन्तर लागिपर्ने हो भने हामी जतिसुकै गहिरो संकटबाट पनि पार पाउन सक्छौं ।

शिक्षक  मासिक, २०६९ कात्तिक अंकमा प्रकाशित ।



 

commercial commercial commercial commercial