राम्रो शिक्षा– सुरुआत आफैंबाट गरौं कि ?
शिक्षा मौलिक हक हो, संवैधानिक व्यवस्था छ । शिक्षा संवेदनशील छ सबैलाई थाहा छ । सबल शिक्षा चाहिन्छ सबैलाई चेतना पनि छ । शिक्षा प्रणालीमा सुधार हुनुपर्छ सबैलाई चासो पनि छ । आखिर सबैलाई चाहिएको छः राम्रो शिक्षा ! तर कुन नेपथ्यमा सडिरहेका छन् राम्रो शिक्षा र शिक्षा दिने प्रतिभाहरू ?
मानव जीवनमा सबभन्दा संवेदनशील चीज रहेछ शिक्षा र स्वास्थ्य । सबभन्दा व्यापारीकरण पनि त्यही क्षेत्रमा भइरहेको छ हाम्रो देशमा– पैसा कमाउन । इज्जत कमाउन । पैसाको इज्जत कमाउन । हुलदंगाको इज्जत कमाउन । शिक्षाको सारभूत मूल्य घटाउन । औपचारिक मूल्य बढाउन । शिक्षामा असमान ता बढाउन । शिक्षालाई वर्गीय बनाउन । शिक्षालाई निजीकरण गराउन । राज्यलाई पंगु बनाउन ।
हाम्रो शिक्षाले मानिसलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाएन । आफ्नो सीपमा बाँच्ने बनाएन । स्वाबलम्वी बनाएन । इमान दार बनाएन । जिम्मेवार बनाएन । परीक्षामा विद्यार्थीले चोरेर । शिक्षकले चोराएर । अभिभावकले शिक्षकलाई चोराउने आदेश दिएर । परीक्षा टाइट भएमा, नसिकाएकोमा शिक्षकले कुटाइ खाने सन्देश दिएर । सबै पक्ष जसरी भए पनि पास चाहिन्छ भन्ने मनोदशाबाट ग्रसित भएर ।
शिक्षा बिग्रियो, गुणस्तर ओह्रालो लाग्यो । सरकार गैर जिम्मेवार भएर । नीति फितलो भएर । शिक्षकले नपढाएर । विद्यार्थीले नपढेर । शिक्षकले चोर्न सिकाएर । अभिभावक अनुत्तरदायी भएर । नागरिक समाज अल्छी भएर । स्कूल, कलेजले विदेशीको नाम चोरेर तर विदेशीले विश्वास न गरेर । विदेशीको पिछलग्गु बनेर । शैक्षिक कार्यक्रम दातालाई चित्त बुझाउन मात्र बनाएर । पैसा पचाउन मात्र कार्यान्वयन गरेर । क्षमतावान प्रतिभालाई शिक्षा क्षेत्रमा भित्रयाउन नसकेर । प्रजातन्त्र विकृत भएर । मानव अधिकार बढी भएर । सबैले शक्ति, अधिकार र कर्तव्यको दुरुपयोग गरेर । निजीक्षेत्र हावी भयो आधुनिकताको नाममा ।
हामीलाई राम्रो शिक्षा चाहिएको छ । सबै क्षेत्रमा सक्षम मानव स्रोत चाहिएको छ । सुधार कसले गर्ने ? कहिले गर्ने ? कसरी गर्ने ? केमा गर्ने ? किन गर्ने ? धेरैगफ गरिरहनु पर्दैन । उत्तर सजिलो छ । देशभरका प्रधानाध्यापक, प्राचार्य, क्याम्पस प्रमुख तथा शिक्षकहरू सबैमा अब चेतना पलाउनुपर्छ । जिम्मेवारी महसूस हुनुपर्छ । सुधार मैले थाल्नुपर्छ । सुधार सोचेकै दिन र समयबाट गर्नु पर्छ । कार्य र व्यवहारलाई सच्याउनुपर्छ । शिक्षण सिकाइ प्रक्रियामा सुधार गर्ने मनोवृत्तिमा सुधार गर्ने । जागिरलाई उपलब्धिसँग आवद्ध गराउने । दक्ष मानव साधन उत्पादन गर्ने । अनुशासित विद्यार्थी उत्पादन गर्ने । देशलाई समृद्ध बनाउनेतर्फ सोच्ने । समावेशीकरणलाई टेवा दिने । सुशासनको बहाली र संस्थागत गराउने । सबभन्दा मुख्य कुरा देशलाई असल नागरिक उपलब्ध गराउने । अरूलाई दोष नदिऊँ । रराम्रोबाट सिकौं । नराम्रोबाट सिकौं । थालनी आफैंबाट गरौ कि ? सबैलाई चेतना भया ।
प्राचार्य, उमावि, हायुटार, सिन्धुली




