गुरुहरूका ‘मनका कुरा’

एक २६ वर्षे युवक, शिक्षाशास्त्रमा स्नातक, पेशाले एक बोर्डिङ स्कूलको शिक्षक, विगत ६/७ महीना देखि मसँग उपचार गराइरहेका छन् । उनी शुरूमा आउँदा डर लाग्ने, कुरा गर्दा हड्बडिने, स्पष्ट बोल्न नसक्ने, भीडभाडमा हुँदा भाउन्न हुने आदि समस्यालेग्रस्त थिए । पछि उनी निद्राको समस्याले पिरोलिन थाले । अन्ततः विगत दुई महीना देखि चिन्ता लाग्ने, मर्न मन लाग्ने, बारम्बार ‘आत्महत्या’ को विचार आउने आदि समस्या बताउने गर्छन् । कहिलेकाहीं त मेरो अगाडि हीनताभाव एवं पश्चात्तापका कुराहरू व्यक्त गर्दै आँसु झरी रुन समेत पछि पर्दैनन् । विगत २/३ हप्तायता उनी रक्सीको अम्मलमा समेत फँसिसकेका छन् ।

शिक्षक अर्थात् गुरु, मेरो मनमा आदरभाव जगाउने पेशा । तर ६/७ महीना देखि मैले उपचार गर्दा पनि ठीक हुनसकेका छैनन् उनी । ती अझै निराश छन्, व्यथित छन्, थकित छन् । मैले उनीसँग एकदिन लामै कुरा गर्ने विचार गरे । कुरा गर्दै जाँदा तिनले, “औषधीले बानी लाग्छ” भन्दै सशंकित भएर औषधी खान छोडेको बुझियो । त्यस्तै आफ्नो पेशा देखि पनि विरक्तिभाव आएको कुरा व्यक्त गरे तिनले । कारण खोतल्दै जाँदा बोर्डिङ स्कूलका प्रिन्सिपल आफूभन्दा अध्ययनमा जुनियर भएतापनि तिनकै अह्रोटमा चल्नुपर्ने, मासिक तलबले परिवार धान्न धौ–धौ भएको , सन्तुष्टि प्राप्त गर्न नसकेको आदि पीडा तिनले पोखे ।

यी मेरो ओपीडीमा आउने बिरामीका एक प्रतिनिधि पात्र हुन् । हामीकहाँ आउने कूल बिरामीमध्ये शिक्षण पेशा बताउनेको संख्या करीब २०–३० प्रतिशत हुने गरेको छ । तिनको सिलसिलेवार अध्ययन त हुनसकेको छैन, तर पनि सरसर्ती ओपीडीको फाइल अध्ययन गर्दा ‘डिप्रेसन’, ‘एङ्गजाइटी डिसअर्डर’, ‘मद्यपानजन्य समस्या’ शिक्षकहरूमा अत्यधिक मात्रामा पाइएको छ ।

पेशागत बाध्यताले गर्दा आफूले उपचार गर्नु पर्ने, अझ् हाम्रो शास्त्रले त ‘तस्मैः श्रीगुरवेः नमः ’ भन्दै देवताको कोटिमा राख्ने गुरु वर्गका ‘मनका कुरा ’ खोतल्नु पर्दा माथि उल्लिखित, अझ् त्यसभन्दा पनि दर्दनाक तस्बीर आँखा अगाडि आउँछन् । शिक्षण पेशाकै कारण पति–पत्नीबीच मनमुटाव, बुबाआमा अनि परिवारजनबाट अलग र टाढा बस्नुपर्ने अवस्था, अरूको शिक्षालाई समय दिनुपर्दा आफ्नै अध्ययन कार्य छोड्नुपर्ने विवशता, बालबच्चाको पढाइमा ध्यान दिन नसक्ने बाध्यता, चक–डस्टर लिएर, सदा बोलिरहनु पर्ने हुँदा घाँटीको समस्या; एलर्जी; भविष्यमा सञ्चित कोष नहुने; समयमा प्रमोसन नपाइने, सामाजिक अनि आर्थिक सुरक्षा नपाइने, अनेकौं अनेकौं समस्या... । शारीरिक मात्र नभई मान सिक एवं सामाजिक रूपमा समेत विमार छन्, हाम्रा थुप्रै शिक्षकहरू ।


‘मनका कुरा ’ निसंकोच भन्नसक्ने वातावरण तयार नहुन्जेल गुरुहरूलाई मान सिक समस्याबाट मुक्त तुल्याउन सकिंदैन ।

विकसित देशहरूमा पनि छन् यस्ता समस्या । बेलायतमा विगत दुई दशकयता गरिएका राष्ट्रव्यापी सर्वेक्षणहरूले पनि यस्तै दृश्य देखाएका छन् । विभिन्न पेशाकर्मीहरूले लिने बिरामी बिदा, चिकित्सकहरूसँग गर्ने परामर्श अनि तिनले प्रयोग गर्ने औषधिहरू, धुम्रपान/मद्यपान या अन्य लागू पदार्थ प्रयोगका असर आदिको आधारमा भएका ती शोधकार्यहरूले शिक्षण पेशालाई नर्सिङ पेशा अनि प्रहरी/सैनिक सेवा जत्तिकै मनोवैज्ञानिक समस्याबाट ग्रस्त पेशा मानेका छन् । माथि वर्णन गरिएका युवकमा झै ती शिक्षकहरूमा ‘मिक्स्ड एङ्गजाइटी डिप्रेसन (Mixed anxiety depression) नामक मनोरोगको अनुपात बढी भएको देखिएको छ ।

सामान्यतः अन्य पेशेवारहरूको तुलनामा शिक्षकहरूमा बिरामी बिदा लिने प्रवृत्ति २५–५० प्रतिशतसम्म बढी पाइएको छ– वार्षिक ६–१९ दिनसम्म । तीमध्ये २९ प्रतिशत जतिमा चाहिं मनोवैज्ञानिक समस्या नै बढी देखि एको थियो ।

बेलायतमा सन् २००० मा प्रकाशित ‘स्वास्थ्य एवं सुरक्षा तथ्याङ्क’ले सेवारत एवं सेवानिवृत्त शिक्षकहरूमा कार्यबोझ् एवं तनाव ज्यादा हुने गरेको र तिनलाई ‘डिप्रेसन’ हुने सम्भावना बढी भएको देखाएको थियो । एउटा अर्कै अध्ययनले पूरै जनसंख्याको अनुपातमा ४० प्रतिशत ज्यादा शिक्षकहरूले ‘आत्महत्या’ को प्रयास गर्ने भयावह तस्बीर सामुन्ने ल्यायो ।

डिप्रेसन, तनाव, शारीरिक एवं मान सिक थकान, कार्यक्षमतामा हुने ह्रास आदि लक्षणहरूलाई मनोविज्ञहरू बर्नआउट सिण्डम (burnout syndrome) का रूपमा परिभाषित गर्द छन् । शिक्षकहरूमा यस्तो सिन्ड्रोम ज्यादा देखि ने कुरा भारतीय एवं जापानी अध्ययनहरूले पनि प्रष्ट्याएका छन् ।

शिक्षकहरूमा नै यस्तो मान सिक समस्या किन त ? नेपालको वर्तमान सन्दर्भमा यो प्रश्नको उत्तर दिनुपर्दा थुप्रै कारक तत्वहरूलाई ध्यानमा राख्नुपर्ने हुन्छ । भौतिक एवं वातावरणीय पक्षलाई हेर्दा, हाम्रागल्लीगल्लीमा खुलेका बोर्डिङ स्कूल जसमा न्यूनतम पूर्वाधार समेत हुँदैनन्; त्यस्ता स्कूलमा पढाउने शिक्षकहरूले न्यूनतम मात्रामा पनि सामाजिक एवं आर्थिक सुरक्षाको अनुभूति गर्न पाउँदैनन्; शिक्षित बेरोजगारहरूको हूलमा यस्ता स्कूलहरूले अत्यधिक श्रमशोषण गरिरहेका छन् । अनि सरकारी स्कूलमा योग्यहरूले समेत ठाउँ पाउँदैनन्, नातावाद–कृपावाद व्याप्त छ त्यहाँ । कार्यबोझ् र चापमा पिल्सिएका शिक्षकहरूको काम, कर्तव्य एवं अधिकारको बाँडफाड न्यायोचित एवं नियमसंगत हुँदैन । सहकर्मीहरूबीच सहयोगात्मक दृष्टिकोण पाइन्न ।

यस्ता समस्याहरूको उचित समाधानका लागि शिक्षाविद् एवं नीतिनिर्माताहरूले समष्टिगत रूपमा योजना बनाउनुपर्ने हुन्छ । शिक्षकको कार्यबोझ् घटाउनका लागि विद्यालयहरूमा निश्चित मापदण्ड लागू गरेर कार्य समय परिभाषित हुनुपर्दछ । विद्यालयका पूर्वाधारहरू पनि यकिन गरिनुपर्दछ । कतै–कतै आंशिक शिक्षणको अवधारणा ल्याउँदा पनि रराम्रो हुन्थ्यो कि ? शिक्षकहरूको वृत्ति विकास एवं दक्षता अभिवृद्धिका लागि कार्ययोजना लागू गरिनुपर्दछ ।

शिक्षकहरूलाई मान सिक स्वास्थ्यका बारेमा समेत चेतना जगाई नियमित परामर्श र परीक्षणको व्यवस्था गरिनुपर्दछ । शिक्षकहरूले आफ्नो सामुहिक प्रयत्नबाट मात्र पनि थुप्रै समस्याहरूको समाधान गरिन सकिन्छ भन्ने कुरा सबैले बोध गर्नुपर्दछ ।

समग्रमा; गुरुहरूले आफ्नो ‘मनका कुरा’ निसंकोच भन्नसक्ने वातावरणको विकास गरेर अघि बढ्नुपर्ने हुन्छ । सबै नीतिनिर्माता, विद्यालय सञ्चालक, व्यवस्थापकहरूले यसतर्फ सोचेर पाइला चाल्ने कि ?

(डा. रिसाल धुलिखेल अस्पतालका मान सिक रोग विशेषज्ञ हुन् ।)

commercial commercial commercial commercial