चौध विद्याको परिचय

निश्चित कक्षा वा तह पार गरे पछि विद्यार्थीले नयाँ विषय र परिवेशमा प्रवेश गर्नैपर्ने हुन्छ । सही मार्गदर्शनको अभावमा प्रायः विद्यार्थीहरू अलमलमा पर्ने गर्छन्— कुन विषय रोज्ने ? के आधारमा विषय रोज्ने ? आफूले रोजेको विषय अन्तर्गत के–कस्ता कुरा सिक्न–पढ्न पाइने हो ? अथवा आफूले चाहेको कुरा सिक्न कुन विषय रोज्नुपर्ने हो ?

त्यसैगरी, नयाँ कक्षा वा सत्रमा प्रवेश गरेका विद्यार्थीलाई कक्षा कसरी चल्ने हो; कुन–कुन शिक्षकले के–कस्ता विषय पढाउने हुन्; आफूले रोजेको विषय अन्तर्गत ६ महीना–एक वर्षको अवधिमा के–कस्ता कुरा कसरी सिकाइने हुन् भन्ने कुरा को खुल्दुली रहिरहन्छ । यहाँ महाभारतकालीन पात्र आचार्य सान्दीपनि ले आफ्ना शिष्यहरूलाई शैक्षिक सत्रको पहिलो दिनको पहिलो कक्षामा, सिंगो शैक्षिक सत्रभरि समेटिने विषय, तिनको पठन–पाठन विधि र ती विषय पढाउने उप–आचार्यहरूको परिचय दिएका छन् । उनको व्याख्यानको एउटा प्रमुख लक्ष्य, आफूले पढाउने विषयहरूप्रति शिष्यहरूमा तीव्र आकर्षण र उत्सुकता पैदा गर्नु रहेको देखिन्छ ।

भारत उपमहाद्वीपको सुदूर दक्षिणमा पर्ने अवन्ती अरण्यभित्र क्षिप्रा नदीको तटमा अवस्थित ‘अंकपाद’ आश्रममा विशेष शंखध्वनिगुञ्जियो । आचार्य सान्दीपनि को प्रभातकालीन कक्षा आरम्भ हुन लागेको जनाउ थियो त्यो । शंखध्वनिसँगै सान्दीपनि सँग अध्ययन गर्न भनेर मथुरा देखि एक महीना लामो यात्रा तय गरेर आएका यादव कुमारहरू वसुदेव पुत्रद्वय कृष्ण र बलराम अनि भतिज उद्धव लगायत झण्डै एक सय किशोरहरू दर्भासन काखी च्यापेर आ–आफ्नो कुटीबाट निस्किन्छन् । सबै जना मुख्य कुटीको अध्यापनशालामा एकत्रित भइसकेपछि गम्भीर स्वरमा गुरुवन्दना आरम्भ हुन्छः

ॐ गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः
गुरुः साक्षात् परब्रह्म, तस्मै श्री गुरुवे नमः ।

सबै किशोरका आँखा आचार्य सान्दीपनि को अनुहारमा स्थिर हुन्छन् । उहाँका कर्णप्रिय अमृत वचन सुन्ने उत्सुकताले सबैलाई अधीर तुल्याइरहेको हुन्छ । शिष्यगणतर्फ स्नेहपूर्ण दृष्टि ल गाउँदै आचार्य सान्दीपनि मन्द मुस्कानसहित नाद–मधुर स्वरमा विस्तारै बोल्न थाल्नुहुन्छ,

“प्रिय आश्रम कुमारहरू !
अबका ६४ दिनमा तिमीहरू चौध विद्यामा पारंगत हुनुपर्नेछ । आज म ६४ दिनसम्म यहाँ पढाइने विषय र विद्याको विहङ्गम परिचय दिंदैछु, ध्यानपूर्वक सुन ।”

सबैका अनुहारमा आँखा घुमाउँदै गुरु सान्दीपनि को प्रवचन आरम्भ भयो, “चौध विद्यामध्येका चारवेद– ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद– स्वतन्त्र आद्य विद्या मानिन्छन् । विद् धातुको अर्थ हुन्छ— जान्नु, बुझनु । वेदको आशय हो— जसले जे जान्यो त्यो बतायो । चारै वेदको रचनागान्धर देशको माल्यवत् पर्वत (आजको अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्र) मा भएको हो । कैयौं अनाम, प्रज्ञावान ऋषिहरूको स्वस्फूर्त मौखिक कथनबाट तयार भएका हुन् यीग्रन्थ । वेद निर्माणको कार्य पुस्तौं पुस्तासम्म चलिरह्यो । तर कसैले पनि त्यसमा आफ्नो नाम–कूल जोडेनन् । कुनै एकजनाले नबनाएको र कसैको पनि नाम नगाँसिएकै कारण वेदलाई ‘अपौरुषेय’ मानिएको हो ।

“चार वेदमध्ये ऋग्वेद सबैभन्दा पुरानो हो । यसमा उषा र वरुण देवताको स्तुति पाइन्छ । दोस्रो यजुर्वेद हो । यजुर्वेदमा आर्यका देवताहरूको प्रशंसासँगै कर्मकाण्डहरूको वर्णन भेटिन्छ । यसका दुई शाखा छन्— शुक्ल यजुर्वेद र कृष्ण यजुर्वेद । सामवेदमा संगीत र सौन्दर्य सम्बन्धी ऋचाहरू छन् । चौथो अथर्ववेद, शत्रुको विनास र आफ्नो संरक्षण गराउने प्रार्थनाका प्रभावशाली ऋचाबाट भरिपूर्ण छ । विपत्तिबाट बचाउने आत्मिक पुकार पनि यसमा भेटिन्छ । वस्तुतः वेद ‘वाङ्मय’ हो । ‘वचन’ मार्फत स्वस्फूर्त प्रकट भएको वेद नै जगतको पहिलो धाराप्रवाह, सुसंगत र समृद्ध साहित्य हो ।

यी चारै आद्य विद्याको विस्तृत ज्ञान अलग–अलग उप–आचार्यहरूले तिमीहरूलाई क्रमशः दिने छन् । त्यसमा कहीं कतै सन्देह, शंका पैदा भएमा कुनै पनि बेला मसँग सोध्न सक्नेछौ ।

“वेदका ६ वटा अंग छन्— शिक्षा, छन्द, व्याकरण, निरुक्त ज्योतिष र कल्प । यी हरेक अंगलाई पनि स्वतन्त्र विद्या मानिएको छ । पहिलो अंग ‘शिक्षा’ वेदका शब्द–ऋचाहरूको निर्दोष, योग्य र कर्ण–मधुर उच्चारण सिकाउने शास्त्र हो । भनिन्छ, वेदको वास्तविक सामथ्र्य त्यसको अचूक र स्पष्ट उच्चारणमा निहित हुन्छ । उच्चारण अर्थात् वाणीका पनि चार भेद हुन्छन्— परा, पश्यन्ती, मध्यमा र वैखरी । यिनमा सबैभन्दागौण भेद ‘वैखरी’ हो । जिब्रो, तालु र ओठको संयोगमागला (कण्ठ) बाट मात्र निस्कने यो वाणीको मन, हृदय, बुद्धि र आत्मासँग खासै सम्बन्ध हुँदैन । हृदयबाट निस्कने वाणी ‘मध्यमा’ हो । तेस्रो वाणी ‘पश्यन्ती’को उद्गम बिन्दुनाभिस्थान हो । सबैभन्दा श्रेष्ठ वाणी परा हो । यो वाणीको निर्माण आत्मशक्ति, स्वाध्याय र साधनाबाट हुन्छ । ‘परा’ अर्थात् अरूको । यो वाणी जसले उच्चारण गर्छ उसको हुँदैन, अरूको निम्ति हुन्छ र तिनले यसको अर्थ र भाव स्वतः अनुभव गर्न सक्छन्, बुझइ–सिकाइ रहनु पर्दैन ।

अभिभूत भएका आश्रम कुमारहरू माथि पुनः एकपटक दृष्टि घुमाउँदै आचार्य सान्दीपनि को व्याख्यान् जारी रहन्छ—
“वेदको दोस्रो अंग ‘छन्द’ ले संगीतको स्वर, ताल र लयको शास्त्रसम्मत ज्ञानसँग सम्बन्ध राख्छ भने तेस्रो अंग ‘व्याकरण’ ले भाषाको शुद्धता सुनिश्चित गर्ने नियमहरू बताउँछ । वेद सहजस्फूर्त ज्ञानभण्डार हो; यसर्थ यसको अर्थ र व्याख्यामा स्वाभाविक विविधता भेटिन्छ । वेदको सुसंगत व्याख्यानका निम्ति व्यवस्था गरिएको चौथो अंगको नाम हो, ‘निरुक्त’— अर्थात् वेदको सरल र अर्थपूर्ण निरुपण ।

“पाँचौं अंग ज्योतिष अन्तर्गत काल मापन, खगोल,ग्रहगोल, नक्षत्र, हस्तरेखा आदि विद्या पर्छन् । छैठौं अंग ‘कल्प’ भित्र धार्मिक विधि–विधान र संस्कार आदि विषयहरू समेटिन्छन् ।”

गुरु केही क्षण रोकिनुभयो, जल आचमन गर्नु भयो अनि एकाग्र मुद्रामा आफूतिर फर्किएका झण्डै सयजना शिष्यहरूलाई सम्बोधन गर्दै भन्न थाल्नुभयो, “यसरी चार वेद र तिनका ६ वटा अंग मिलाएर दश विद्या भए । अब बाँकी रहे चार विद्या । तिनको नाम हो—मीमांसा, तर्क, पुराण र धर्म ।

“मीमांसाको अर्थ हुन्छ— कुनै विषयका बारेमा राम्रा नराम्रा सबै पक्षसहित स्पष्ट पार्नु, विषयकोगहिराइसम्म पुगेर सर्वाङ्गीण विश्लेषण गर्नु । मीमांसाका दुई भेद छन्– पूर्व मीमांसा र उत्तर मीमांसा । न्याय, अन्यायको चर्चा र निरुपण गर्ने विद्यालाई हामी तर्क विद्या भन्छौं । अर्को विद्या पुराणका १८ भेद छन् । तिनमा ब्रह्म, पद्म, विष्णु, शिव, भागवत, नारद, मार्कण्डेय र अग्नि प्रमुख पुराण मानिन्छन् । शिव पुराणलाई वायु पुराण पनि भनिन्छ । अन्य पुराण हुन्— भविष्य, ब्रह्मवैवर्त, लिंग, वराह, स्कन्द, वामन, कुर्म, मत्स्य,गरुड र ब्रह्माण्ड पुराण । यी पुराण अलग–अलग जीवन–विषयसँग सम्बन्धित छन् । कुन पुराणमा के छ भन्ने विस्तृत जानकारी तिमीहरूले उप आचार्यहरूसँग को सघन अध्ययनका क्रममा प्राप्त गर्ने छौ । मैले त अध्ययन गर्नु पर्ने विषयको परिचय मात्रै दिइरहेको छु ।

“यीमध्येको सबैभन्दा महत्वपूर्ण विद्या धर्म हो । धृ–धारयति इति धर्मः । अर्थात्, जीवको पूर्ण विकास को लागि जे धारण गरिन्छ त्यो नै धर्म हो । ज्ञानीहरूले जीवनका चार पुरुषार्थ (आधारस्तम्भ) उल्लेख गरेका छन् । ती हुन्— धर्म, अर्थ, काम, मोक्ष । जीवनलाई सार्थक तुल्याउन यी चारवटै पुरुषार्थ जरुरी हुन्छन् । यहाँ, धर्मको अर्थ शुष्क कर्मकाण्ड होइन ।

“ माथि वर्णन गरिएका चौध विद्या बाहेक तिमीहरूले सिक्नुपर्ने अरू पनि थुपै्र कुरा छन् । जस्तो, सत्य, धर्म र मानव ताको रक्षा गर्न क्षत्रीय कुलमा जन्मिएकाहरूका निम्ति ‘युद्धविद्या’ को ज्ञान अपरिहार्य छ । युद्धविद्याका पनि दुई पक्ष हुन्छन्— शस्त्र र अस्त्र । अस्त्र अर्थात् क्षेप्यास्त्र अन्तर्गत वरुण, वायु, अग्नि, पाशुपत, पर्जन्य, प्रस्वाप, नारायण र ब्रह्मास्त्र पर्छन् । त्यस्तै, प्रत्यक्ष प्रहार गरिने शस्त्रका मुख्य अवयव हुन्— खड्ग, तोमर,गदा, मल्ल, भुशुण्डी, मुसल, शतघ्नि, परिघ, अग्निकंकण, चक्र र धनुष–वाण आदि । यी सबै शस्त्र र अस्त्रको सञ्चालन तथा प्रक्षेपण विधिको विस्तृत ज्ञान मैले नै तिमीहरूलाई दिनेछु ।

“यस बाहेक जीवनलाई सर्वाङ्ग सुन्दर र परिपूर्ण तुल्याउन तिमीहरूले चौसठ्ठी कला पनि सिक्नु जरुरी छ । चौसठ्ठी कलामध्ये संगीत सर्वश्रेष्ठ र प्रथम कला हो । यसको विशद व्याख्या क्रमशः गर्दै जानेछु । ‘संगीत नै सर्वश्रेष्ठ कला किन ?’ भन्ने तिमीहरूको जिज्ञासा चाहिं अहिले नै शान्त पारिदिन्छु— यो यसकारण कि श्रोताको हृदय स्पर्श गर्न संगीतलाई कुनै मध्यस्थ या माध्यम चाहिंदैन, यो सीधै र आफंै त्यहाँ पुग्छ । संगीतको एक अलापमार्फत जे–जति बताउन सकिन्छ, त्यति कुरा महाकाव्यको पूरै सर्गमा पनि प्रकट गर्न सकिंदैन । तर पनि एउटा कुरा चाहिं नबिर्सनू— संगीतलाई विद्या मानिएको छैन, यो कला हो ।”

धेरैलाई लागेको थियो, गुरुको धाराप्रवाह संभाषणले अब विश्राम लिन्छ । तर त्यस्तो अनुमान लाई मिथ्या सावित गर्दै आचार्य सान्दीपनि पुनः भन्न थाल्नुभयो—

“मानिसलाई आत्मिक ज्ञान जत्तिकै महत्वपूर्ण हुन्छ भौतिक र सांसारिक ज्ञान । यसर्थ तिमीहरूले पृथ्वी, आकाश, जल, तेज, वायु आदि पञ्चमहाभूतको स्वभाव र महत्व पनि राम्ररी बुझनै पर्छ । विश्व–ब्रह्माण्डको जानकारी राख्नुपर्छ । थाहा पाइराख– हाम्रा चर्मचक्षु अर्थात् बाहिरी दृष्टिमा देखापर्ने जगत नै विश्व हो; त्योभन्दा परको चाहिं ब्रह्माण्ड । ब्रह्माण्ड अथाह छ, अनन्त छ । खगोलको अध्ययनमा डुबुल्की मार्दैगयौ भने यो विषय झन्–झन् चाखलाग्दो हुँदै जान्छ । जब तिमीहरू ‘आकाश’ र ‘अवकाश’ को अन्तर अनुभव गर्न सक्ने हुनेछौ, त्यसपछि को मान सिक आनन्द त वर्णनातीत नै हुनेछ । हाम्रा आँखाले ठम्याउने नीलो वर्णको शून्यता आकाश हो भने त्यसभन्दा माथि वा टाढाको शून्यता अवकाश हो । अवकाश अनन्त, असीम र कृष्णवर्णको हुन्छ ।

“जीवन र जगतको मर्मलाई राम्ररी ठम्याउन तिमीहरूले अर्को सत्य पनि थाहा पाउनुपर्ने हुन्छ । त्यो सत्य भनेको ‘काल’ (समय) हो । हामी कालकोगणना दिन, रात, महीना, वर्ष, तप र युगमा गर्छौं । १२ वर्षको १ तप र १ हजार तपको १ युग हुन्छ । यस्ता १ हजार युग बराबर ब्रह्माजीको १ दिन हुन्छ । कैयौं ‘ब्रह्म–दिन’ अर्थात् ४३ करोड २० लाख वर्षको १ कल्प हुन्छ ।”

गणितको जटिल र शुष्क प्रसंगले शिष्यहरूलाई अलमलमा पारेको अनुभव भएर हुनसक्छ, आचार्यश्रीले एकाएक रोकिएर हलुका पारामा प्रश्न गर्नु भयो, ‘के तिमीहरूमध्ये कोही यस्तोगणना गर्न सक्छौ ?’ ‘धेरै कठिन छ’, आफ्नो प्रश्नको जवाफ आफैंले दिंदै उहाँले व्याख्यान जारी राख्नुभयो, “काल अखण्ड हुन्छ । त्यसको न आदि हुन्छ न अन्त्य । जीवन पनि यसै गरी असीम, अनन्त र चिरन्तन हुन्छ । जसले यो सत्य बुझेको हुन्छ, ऊ द्रष्टा कहलिन्छ ।

“अब मानवीय स्वभाव सम्बन्धी एउटा सानो प्रसंग कोट्याएर आजको सत्र टुङ्ग्याउँछु । अहंकारले हराम्रो आत्मशक्ति र ज्ञानशक्तिको विकास मा बाधा पार्छ । अहंकारका कारण र स्वरुप भिन्न–भिन्न हुनसक्छन् तर सबैको परिणाम उस्तै हुन्छ । अर्थात् अहंकार सत्ताको होस् या सामथ्र्यको, सम्पत्तिको होस् या सौन्दर्यको, ज्ञानको होस् या कीर्तिको— उत्तिकै हानिकारक हुन्छ ।”

यत्तिकैमा उहाँले बलरामलाई सम्बोधन गर्दै अचानक प्रश्न गर्नु भयो, “बलाराम, तिमी भन्न सक्छौ, कुन अहंकार सबैभन्दा घातक हुन्छ ?”
बलरामले सहजै उत्तर दिए, “सामथ्र्य (बल)को अहंकार आचार्यश्री !”

“होइन बलराम, ज्ञानको अहंकार चाहिं सबैभन्दा घातक हुन्छ । म जान्दछु; मैले सबै सिकीसकें; सिक्न केही बाँकी छैन, म नै सर्वज्ञ भन्ने घमण्डले मानिसको सिकाइको ढोका नै बन्द गरिदिन्छ । त्यसैले पठित र ज्ञानीहरू फलाभारले झुकेको वृक्ष झै सधैं विनम्र र उदार रहनु पर्छ । यसो हुँदा नै ज्ञानरुपी सुनमा सत्यरुपी सुगन्ध थपिन्छ ।”

(शिवाजी सावन्त लिखित ‘युगन्धर’ पुस्तकमा आधारित)

commercial commercial commercial commercial