जिज्ञासा जवाफ
एचआईभीः कसरी सर्छ ?
कक्षा–७ को स्वास्थ्य शिक्षाको पाठ्यपुस्तकमा एचआईभी/एड्सको पहिलो अवस्था ६ हप्ता देखि तीन महीनासम्म रहन्छ भन्ने लेखिएको छ । तर कक्षा ८ को स्वास्थ्य शिक्षाको पाठ्यपुस्तकमा यही अवधिलाई १–३ हप्ता लेखिएको छ । अब हामीले कुनलाई सही मान्ने ? साथै एचआईभी/एड्स औजारबाट पनि सर्छ भनिन्छ । रोगीले औजार चलाएको कति समयभित्र एचआईभी भाइरस सर्छ ? शारीरिक सम्पर्कका क्रममा पुरुष वा महिलामध्ये कसमा एचआईभी सर्ने सम्भावना बढी हुन्छ र किन ?
सन्तोष राई
लक्ष्मी मावि, काहुले, खोटाङ
एचआईभी/एड्सको पहिलो अवस्था ६ हप्ता देखि तीन महीनासम्मको हुन्छ, त्यसैले कक्षा ७ को पाठ्यपुस्तकमा लेखिएको कुरा सही हो । एचआईभी/एड्सको सन्दर्भमा औजार भन्नाले सामान्यतया सुईलाई बुझनुपर्छ । एचआईभी संक्रमित व्यक्तिलाई प्रयोग गरिएको सुईमा आलो रगत छँदै त्यही सुई अर्को व्यक्तिलाई प्रयोग गरे मा जीवाणु सर्न सक्छ । तर, त्यो सुई घामको तातोमा सुकाइयो वा निर्मलीकरण गरियो भने त्यसमा रहेका जीवाणु मर्छन् । त्यो अवस्थामा नसर्न पनि सक्छ । शारीरिक सम्पर्कका क्रममा एचआईभी जीवाणु तुलनात्मक रूपमा महिलामा सर्ने सम्भावना बढी रहन्छ । एचआईभी संक्रमित पुरुषको वीर्य महिलाको योनीको वरपरको भागमा लतपतिने भएकाले जीवाणु सर्ने सम्भावना बढी हुन्छ । एचआईभी संक्रमित महिलाबाट पुरुषमा सर्ने सम्भावना तुलनात्मक हिसाबले कम हुन्छ ।
डा. कृष्ण कुमार राई
निर्देशक, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र
मार्कशिट पाइएन
मैले २०६६ सालमा उच्चमाध्यमिक शिक्षा परिषद्बाट मूल विषय अंग्रेजी लिएर कक्षा ११ र १२ उत्तीर्ण गरे । २०६७ सालमा ‘नन–क्रेडिट’ विषय अन्तर्गत कक्षा ११ र १२ को गणित पनि उत्तीर्ण गरे । तर मैले कक्षा ११ को चाहिं मार्कशिट पाउन सकिनँ । अब त्यो मार्कशिटका निम्ति काठमाडौं नै पुग्नुपर्ने हो ? साथै, मैले ‘नन क्रेडिट’ विषय ( गणित)बाट शिक्षकका निम्ति आवेदन दिन पाउँछु कि पाउँदिनँ ?
सुवास कार्की
राजश्री निमावि, भलायडाँडा, कोल्टे, उदयपुर
सबै परीक्षार्थीको मार्कशिट सम्बन्धित विद्यालयमै पठाइएको हुन्छ । यदि पाइएन भने तपाईंले प्रतिलिपि मार्कशिट लिन सक्नुहुनेछ । त्यसको निम्ति काठमाडौं आइराख्नुपर्दैन, परिषद्को विराटनगर कार्यालयमा सम्पर्क राखे हुन्छ ।
दुर्गाप्रसाद अर्याल, कामु परीक्षा नियन्त्रक, उच्चमाध्यमिक शिक्षा परिषद्
कक्षा ११ र १२ मा २०० पूर्णाङ्कको गणित विषय उत्तीर्ण गर्नु भएको हो भने तपाईंले निम्नमाध्यमिक (आधारभूत) तहको शिक्षकका निम्ति आवेदन दिन पाउनुहुनेछ । तर तपाईंसँग शिक्षण लाइसेन्स हुनु अनिवार्य छ ।
नारायणप्रसाद भट्टराई
उपसचिव, शिक्षक सेवा आयोग
१० पो हुनुपथ्र्यो त !
कक्षा–५, विषयः गणित, पृष्ठ–२६
(संस्करण, २०६९)
अभ्यास २.४ को प्रश्न–१ मा ‘दिइएको संख्यालाई नजिकको सयमा शून्यान्तगर’ भनी सोधिएका नम्बरमा दिइएको संख्या रेखाको अन्तर १००–१०० को छ । यहाँ त १० को अन्तर हुनुपर्ने होइन र ?
आरएन मगर
शान्ति प्रावि, तंगियाबस्ती, बारा
प्रस्तुत समस्यामा ‘नजिकको सयमा शून्यान्तगर’ भनिएको हुँदा संख्यारेखामा पनि १००–१०० को अन्तरमा दिइएको छ । त्यसैले पाठ्यपुस्तकमा उल्लिखित संख्या नै सही छ । यदि प्रश्नमा ‘नजिकको दशमा शून्यान्तगर’ भनिएको भए चाहिं १०–१० को अन्तरमा देखाउनुपथ्र्यो ।
डण्डपाणि शर्मा
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र
पाठ्यपुस्तक पाइएन
हराम्रो विद्यालयले क्षेशिनि, सुर्खेतबाट २०६९/०२/३० मा कक्षा ९ सञ्चालनका निम्ति अनुमति प्राप्त गरयो । कक्षा ९ मा ४९ जना विद्यार्थी छौं । हामीले निःशुल्क पाठ्यपुस्तक पाउनुपथ्र्यो, तर पाएनौं । जिशिकामा सोध्दा ‘दिन नमिल्ने’ भन्ने जवाफ पाइयो । अनुमति चाहिं दिने तर पाठ्यपुस्तकको रकम चाहिं दिन नमिल्ने पनि हुन्छ ?
भोजराज खत्री, रीता सिंह
सरस्वती मावि, काँडासिम्ता, सुर्खेत
विद्यालयले जेठको अन्त्यमा मात्रै अनुमति पाएको हो । त्यतिबेला जिशिकामा पाठ्यपुस्तकका निम्ति आएको रकम सकिइसकेको थियो । त्यसैले पाठ्यपुस्तकका निम्ति रकम उपलब्ध गराउन सकिएन । अहिलेलाई विद्यालयको ‘ननस्यालरी पीसीएफ’ रकमबाट पाठ्यपुस्तकको खर्च व्यवस्थापन गर्नु हुन अनुरोध छ । अर्को वर्ष समयमै पाठ्यपुस्तकका निम्ति रकम उपलब्धगराइनेछ ।
रामप्रसाद उपाध्याय
जिशिअ, सुर्खेत
बाझिएको व्यवस्था
एउटै जिल्लाको दुर्गम ठाउँमा स्थायी नियुक्ति पाएको शिक्षकले बसाइँ सरी अर्को जिल्लाको ठेगाना लेखाएमा उसले बे–जिल्ला भत्ता पाउँछ । तर, दुर्गम ठाउँमा नियुक्ति पाएको अस्थायी शिक्षकले त्यसरी ठेगाना परिवर्तन गरेर ल्याए पनि बे–जिल्ला भत्ता नपाउने ! यो व्यवस्था त आफैंमा बाझ्एिन र ?
वंशीधर कटुवाल
अरुणोदय मावि, चेपुवा–३, संखुवासभा
स्थानीय वा दुर्गम भत्ता पाउने भनी तोकिएका जिल्ला वा ठाउँमा रहेका विद्यालयमा कार्यरत स्थायी र अस्थायी शिक्षकले यस्तो भत्ता पाउँछन् । ती शिक्षक आफ्नो जिल्लाका हुन् या बे–जिल्लाको भन्ने हेरिंदैन ।
मेघनाथ शर्मा
शाखा अधिकृत, शिक्षा विभाग
अन्य सेवा सुविधा नि ?
मन्त्रिपरिषद्ले २०६९/०२/१४ गते विद्यालयमा कार्यरत कर्मचारीको तलब निर्धारण गरे पनि त्यसमा अन्य सेवा/सुविधाबारे केही उल्लेख भएको पाइएन नि ? उक्त तलबलाई एकमुष्ट नदिई मासिक रूपमा दिन मिल्दैन ?
खोमबहादुर खड्का
गौरीशंकर निमावि, ठूलोनम्जा, बडाचौर, रोल्पा
विद्यालय कर्मचारीको तलब निर्धारण भए तापनि यो रकम अनुदानको रूपमा उपलब्धगराइएको हो । विद्यालय कर्मचारीको सेवा, शर्त सुविधा सम्बन्धी व्यवस्था नियमावलीमै उल्लेख नभएसम्म अन्य सुविधा दिन सकिंदैन । यो रकम अनुदान भएकाले मासिक रूपमा नदिई वार्षिक रूपमा एकमुष्ट दिइएको हो ।
मेघनाथ शर्मा
शाखा अधिकृत, शिक्षा विभाग
एकवर्षे एमएडः निराधार हल्ला
त्रिभुवन विश्वविद्यालयले विद्यमान एकवर्षे बीएड कार्यक्रमलाई विस्थापन गरेर एकवर्षे एमएड कार्यक्रम ल्याउँदैछ भन्ने सुनिएको छ । के यो कुरा साँचो हो ?
यज्ञनारायण श्रेष्ठ
धनगढी–१२, कैलाली
तपाईंले सुनेका कुरा बिल्कुलगलत छन् । त्रिभुवन विश्वविद्यालयले एकवर्षे बीएडलाई विस्थापन गर्न खोजेको पनि छैन र एकवर्षे एमएड ल्याउन लागेको पनि छैन ।
प्रा.डा. प्रकाशमान श्रेष्ठ
डीन, शिक्षाशास्त्र संकाय, त्रिवि
६५ कि ६८ हो ?
कक्षा ८ को सामाजिक शिक्षाको ‘विद्युत्’ पाठमा नेपालमा विद्युत् उत्पादन १९६५ सालमा शुरू भएको लेखिएको छ । तर, सामान्य ज्ञान लगायतका पुस्तकमा यो मितिलाई १९६८ लेखिएको छ । कुन चाहिं सही हो ?
अर्चना केसी
शेकारसिंह निमावि,गार्मा–४, सोलुखुम्बु
नेपालको पहिलो जलविद्युत् आयोजना ‘फर्पिङ जलविद्युत्’को निर्माण कार्य १९६५ सालमा शुरू गरिएको हो । विद्युत् उत्पादन शुरू भएको १९६८ सालमै हो ।
डिकबहादुर राई
पाठ्यक्रम अधिकृत,
पाठ्यक्रम विकास केन्द्र
यसरी तालिमप्राप्त होइन्छ ?
मैले गणित विषय लिएर आईए उत्तीर्ण अस्थायी शिक्षण लाइसेन्स लिएको छु । अब मैले उच्चमाध्यमिक शिक्षा परिषद्बाट २०० पूर्णाङ्कको शिक्षा विषय मात्रै उत्तीर्ण गरे भने ‘तालिमप्राप्त’ हुन्छु कि हुन्न ? साथै एसएलसी परीक्षामा ऐच्छिक विषय ‘शिक्षा शिक्षण’ उत्तीर्ण गरेको अवस्थामा उक्त विषयले प्राथमिकता पाउँछ कि पाउँदैन ?
विजयराज महतो
पारिजात अंग्रेजी स्कूल, किसाननगर–७, महोत्तरी
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ९(६) मा ‘कुनै व्यक्तिले २०० पूर्णाङ्कको शिक्षा सम्बन्धी विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको भए तालिम आवश्यक पर्ने छैन’ भनी लेखिएको छ । यसर्थ तपाईंले २०० पूर्णाङ्कको शिक्षा विषय उत्तीर्ण गरे मा त्यसैले तालिमको काम गर्ने देखिन्छ । तर, कक्षा ९–१० मा शिक्षा विषय उत्तीर्ण गर्दैमा पुग्दैन किनकि प्राथमिक तहका शिक्षकको न्यूनतम योग्यता नै प्रमाणपत्र तह वा सोसरह तोकिएको छ ।
नारायणप्रसाद भट्टराई
उपसचिव, शिक्षक सेवा आयोग
दुई प्रश्न
१. कुनै शिक्षक सेवा प्रवेश गर्दा तोकिएको न्यूनतम शैक्षिक योग्यता द्वितीय श्रेणीको रहेछ र उसले सेवा प्रवेशपश्चात् पुनः उक्त तहकै शैक्षिक योग्यता प्रथम श्रेणीमा हासिल गरेको रहेछ भने बढुवा प्रयोजनका लागि शैक्षिक योग्यता बापत कुन प्रमाणपत्रको आधारमा अंकगणना हुन्छ ?
२. निम्नमाध्यमिक तहको शिक्षकले सेवा प्रवेश पश्चात् माथिल्लो शैक्षिक योग्यता बी.एड्. द्वितीय श्रेणीमा निम्नमाध्यमिक तहकै सेवाकालीन दशमहिने तालिम प्रथम श्रेणीमा पूरा गरे छ भने उक्त शिक्षकको बढुवा प्रयोजनका लागि तालिम बापत कुन प्रमाणपत्रको आधारमा अंकगणना हुन्छ ?
गोरख हमाल
शिवशक्ति उमावि, पेरानी, बाँके
तपाईंले उल्लेख गर्नु भए जस्तै बढुवा प्रयोजनका लागि दुवै अवस्थामा शिक्षकले रोजेको प्रमाणपत्रका आधारमा अंकगणना गरिन्छ ।
नारायणप्रसाद भट्टराई
उपसचिव, शिक्षक सेवा आयोग
कुनलाई सही मान्ने ?
कक्षा–८, विषयः विज्ञान
पाठः सजीवहरू
एकै बिरुवाको दुई भिन्न फूलहरूबीच परागसेचन हुन्छ भने त्यस किसिमको प्रक्रियालाई ‘स्वपरागसेचन’ भनिन्छ । जब एक फूलको एन्थरबाट परागकणहरू त्यही प्रजातिको अर्को बिरुवाको फूलको स्टिग्मामा पुग्छन् भने त्यस प्रक्रियालाई ‘पर–परागसेचन’ भनिन्छ ।
कक्षा–१०, विषयः विज्ञान
पाठः अमैथुनिक र मैथुनिक प्रजनन
एउटै फूलको एन्थरमा रहेको परागकण त्यही फूलको स्टिग्मासम्म पुग्ने क्रियालाई ‘स्वपरागसेचन’ भनिन्छ । एउटा बिरुवाको फूलको एन्थरमा भएको परागकण त्यही बिरुवाको अर्को फूलको स्टिग्मामा वा अर्को बिरुवाको फूलको स्टिग्मामा पुग्नुलाई ‘पर–परागसेचन’ भनिन्छ ।
यसरी कक्षा ८ र १० का विज्ञान किताबमा स्वपरागसेचन र पर–परागसेचनका भिन्नभिन्न परिभाषाहरू उल्लेख गरिएका छन् । खास परिभाषा के हुन्छ ?
गगन कुमार श्रेष्ठ
जालपा मावि, गैरी गाउँ, ओखलढुंगा
कुनै फूलको परागकण एन्थरमार्फत सोही फूलको स्टिग्मासम्म पुग्ने प्रक्रियालाई ‘स्वपरागसेचन’ भनिन्छ भने ‘पर–परागसेचन’ हुनका निम्ति परागकण एउटा फूलको एन्थरबाट अर्को फूलको स्टिग्मासम्म पुग्नुपर्छ । अर्को फूल एउटै बिरुवाको पनि हुनसक्छ वा अर्को बिरुवाको पनि । यसर्थ कक्षा १० को पाठ्यपुस्तकमा दिइएको परिभाषा सही देखिन्छ ।
जयप्रकाश श्रीवास्तव
विज्ञान शिक्षक, प्रभात उमावि
त्यागल, ललितपुर



