मौका पाए आफैं सिक्छन्
काठमाडौंको बौद्ध; रामहिटीस्थित नवजागृति माविमा अध्ययन गर्ने छात्रछात्राको क्लब सृजनशील बाल समूहले पढाइको अवसरबाट वञ्चित बालबालिकालाई लक्ष्य गरेर ‘अनौपचारिक सन्ध्याकालीन बाल विद्यालय’ सञ्चालन गरेको छ । नवजागृति माविमै अपराह्न ४ देखि ६ बजेसम्म सञ्चालन हुने बाल विद्यालयमा हाल ५० जना बालबालिका अध्ययनरत छन् ।
बाल विद्यालयमा पढ्ने बालबालिकाको खोजी सृजनशील बाल समूहमा आवद्ध छात्रछात्राले आफ्नो स्कूल क्षेत्रका घर, होटल तथा कारखाना चहारेर गरेका थिए । यसनिम्ति उनीहरूले ‘विद्यालय जान नपाएका बालबालिका र तिनका अभिभावकको विवरण २०६८’ नामक सूचना संकलन फारम तयार गरेका थिए । बालबालिका र अभिभावकको नाम, ठेगाना, पेशा, आम्दानीको स्रोत र पढाइ छाड्नुको कारण जस्ता महत्वपूर्ण विवरण समेटिएको सो फारम बोकेर विद्यार्थीहरू घरघरमा पुगेका थिए । उनीहरूले छोटो अवधिमै आफू पढ्ने स्कूल आसपासको क्षेत्रमै पढाइ छोडेका १५० जना बालबालिकाको विवरण संकलन गरे । यो संख्या नवजागृति माविका प्रअ र शिक्षकहरूले गरेको अपेक्षा भन्दा निकै ठूलो थियो ।
सोही अध्ययन प्रतिवेदनका आधारमा पढाइको अवसर नपाएका रामहिटी क्षेत्रका १५० मध्ये ५० जना कमजोर वर्गका बालबालिका राखेर ५ साउन २०६८ देखि ‘अनौपचारिक सन्ध्याकालीन बाल विद्यालय’ सञ्चालन गर्न थालिएको हो ।
स्कूलहरूमा उचित अवसर र शिक्षकको मार्गदर्शन प्राप्त हुने हो भने नेतृत्व सीप रगुणको विकास गर्न छात्रछात्रा आफैं सक्षम हुन्छन् । काठमाडौंको बौद्धस्थित नवजागृति माविका छात्रछात्राले आफ्नो विद्यालयमा गरेका रचनात्मक कार्यहरूले यही कुरा दर्शाउँछन् ।
बालविद्यालयमा पढाउनका लागि नवजागृति माविका छात्रछात्राले आफूमध्येबाट प्रअ र शिक्षक नियुक्त गरेका छन् । एक वर्षअघि देखि कक्षा ८ की छात्रा संगीता तामाङले प्रअको जिम्मेवारी निर्वाह गरे की छन् भने त्यहींका विद्यार्थीहरू डोल्मा लामा, राज कुमार तामाङ, सन्तोषी तामाङ आदि विद्यार्थी बेतलबी शिक्षकको रूपमा कार्यरत छन् । बाल विद्यालयमा पढेका बालबालिकालाई बाल स्कूलका ‘प्रअ’ र ‘शिक्षक’ को सिफारिसमा प्रवेश परीक्षा लिएर नवजागृतिका औपचारिक कक्षामा भर्ना गर्ने व्यवस्था गरिएको छ । “हाम्रा विद्यार्थीको नेतृत्वमा भएको प्रेरणाप्रद सामाजिक कामको एउटा नमूना हो बाल स्कूल । यसले पठनपाठनको अवसरबाट वञ्चित बालबालिकाको जीवन बदलिएको छ भने हाम्रा छात्रछात्राको नेतृत्व विकास भएको छ”, प्रअ ठाकुरप्रसाद खकुरेलको कथन छ । बालविद्यालय सञ्चालन गर्न आवश्यक फर्निचर, कक्षाकोठा, शैक्षिक सामग्रीको व्यवस्था नवजागृति माविले गरेको छ ।
बाल स्कूलको स्थापना र सञ्चालनमा मात्र सीमित छैन, नवजागृति माविका छात्रछात्राको रचनात्मक काम । उनीहरूले सृजनशील बाल समूहको माध्यमबाट आफ्नो विद्यालय र बौद्ध क्षेत्रका अरू निजी तथा सरकारी स्कूलमा पनि सृजनात्मक काम गर्दै आएका छन् । बाल समूहले आफ्ना साथीहरूको प्रतिभा उजागर गर्न २०६४ साल देखि हरेक वर्ष ‘गायन स्टार×’ प्रतियोगिता सञ्चालन गर्ने गरेको छ । उक्तगायन प्रतियोगिता हाल बौद्ध क्षेत्रका १५ वटा विद्यालयमा विस्तार भइसकेको छ । ‘गायन स्टार’ले पुरस्कार का रूपमा नगद रु.२० हजार र उपाधि पाउने गरेका छन् ।
सृजनशील बाल समूहले नवजागृति माविका शिक्षकहरूमध्ये हरेक वर्ष एक जना शिक्षकलाई उत्कृष्ट शिक्षकको रूपमा सम्मान गर्ने गरेको छ । उत्कृष्ट शिक्षक छान्ने विद्यार्थीको विधि पारदर्शी र लोकतान्त्रिक देखिन्छ । हरेक कक्षाका क्याप्टेन, भाइस क्याप्टेनसहित कक्षाका सम्पूर्ण छात्रछात्राबाट चुनिएका तीन जना विद्यार्थीसहित कक्षा १ देखि १० सम्मका पाँच/पाँच जना विद्यार्थी र बाल समूहका पदाधिकारीको सामूहिक मूल्यांकनबाट उत्कृष्ट शिक्षक छान्ने गरेको पाइन्छ । शिक्षकको नियमितता, पढाउने शैली, अनुशासन आदि मापदण्डका आधारमा हरेक वर्ष उत्कृष्ट शिक्षक छानिन्छन् ।
राम्रालाई प्रोत्साहित गर्ने बाल समूहको प्रयास छात्रछात्रासम्म पनि फैलिएको छ । उत्कृष्ट शिक्षक छनोटकै विधि अपनाएर समूहले विद्यालयभरिबाट उत्कृष्ट छात्र र छात्रा छानेर नगद रु.५०० तथा प्रमाणपत्र प्रदान गर्ने गरेको छ । बालबालिकामा निहित प्रतिभा उजागर गर्नका लागि समूहले २०६२ मा सिर्जना मासिक पत्रिका प्रकाशन आरम्भ गरेको थियो । तर, स्रोत साधन र समयाभावका कारण छात्रछात्राले उक्त पत्रिकालाई निरन्तरता दिनसकेका छैनन् ।

समूहको चुनावी मतपत्र
नवजागृतिका विद्यार्थीले नेतृत्व विकास का लागि गरेको अर्को महत्वपूर्ण र नियमित काम हो देउसी–भैलो कार्यक्रम । गएको तिहारमा उनीहरूले देउसी–भैलो खेलेर रु.१ लाख ५४ हजार संकलन गरेका थिए । सो रकममध्ये रु.१० हजार बाल समूहलाई राखेर बाँकी रकम खर्चेर उनीहरूले शिक्षक र छात्रछात्रालाई पोखराको शैक्षिक भ्रमण गराए । शैक्षिक भ्रमणलाई छात्रछात्राले परियोजना कार्यको रूपमा लिई पोखराका महत्वपूर्ण स्थल तथा सम्पदाको नाम तथा तिनका विशेषताका बारेमा प्रतिवेदन तयार गरेका छन् ।
नवजागृति माविका छात्रछात्राको नेतृत्व कौशल एवं सक्रियताबाट जापानी शिक्षकहरू पनि प्रभावित देखिन्छन् । प्रत्येक वर्ष नेपाल आउने तीन जना जापानी शिक्षकले बाल समूहलाई शैक्षिक सामग्रीहरू प्रदान गर्ने गरेका छन् । जापानी शिक्षकबाट पाएका शैक्षिक सामग्री बाल समूहले आसपासका स्कूलमा अध्ययन गर्ने कमजोर र निम्न वर्गका विद्यार्थीलाई दिने गरेका छन् । यसले बाल समूहका पदाधिकारीको लोकप्रियता अरू स्कूलहरूमा पनि फैलाएको छ ।
चुनावमा पारङ्गत
रचनात्मक कामको माध्यमबाट नवजागृति मावि र त्यस क्षेत्रका अरू स्कूलका छात्रछात्राको समेत नेतृत्व विकास मा योगदान गर्दै आएको सृजनशील बाल समूहकोगठन मतदानको माध्यमद्वारा हुने गरेको छ । समूहको चुनाव गर्दा गर्दै यहाँका छात्रछात्रा चुनाव पद्धतिमा पारङ्गत भइसकेका छन् । चुनावका लागि निर्वाचन आयोगकोगठन, उम्मेदवारी दर्ता, मतपत्र छपाइ, स्वस्तिक छाप तथा मतपेटिका निर्माण, निर्वाचन आचारसंहिता जारी गर्ने, पर्यवेक्षकको व्यवस्था, उम्मेदवारी दर्ता तथा प्रचारप्रसार आदिको व्यवस्थाले बाल समूहको चुनावलाई पूर्णता दिएको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, पाँच सदस्य, प्रवक्ता, स्कूल क्याप्टेन, स्कूल भाइस क्याप्टेन गरी बाल समूहका १३ जना पदाधिकारी तथा सदस्य छान्न निर्वाचन हुन्छ । उक्त निर्वाचनमा विद्यालयका करीब ८५० छात्रछात्राले मतदान गर्छन् भने स्कूलका २२ शिक्षकले निर्वाचन गराउने काममा सघाउँछन् ।
पछिल्लो निर्वाचनमा अध्यक्ष पदमा कक्षा ९ का आयुष घिमिरे र कक्षा ९ कै सरस्वती भुजेल भिडेका थिए । ३९ मतको फरकले अध्यक्ष मा विजयी भएका घिमिरे भन्छन्, “पुरानो नेतृत्व चाखियो, अहिले म उठेको छु, अब मेरो नेतृत्व परीक्षण गर्नु होस् भनेर भोट मागें, साथीहरूले पत्याए, चुनाव जितें ।” भुजेल यसअघिको समितिमा उपाध्यक्ष थिइन् । चुनाव सकिएपछि घिमिरे र भुजेलबीच कुनै मनोमालिन्य छैन, दुवैले मिलेर बाल समूहका कार्यक्रम अघि बढाउने घोषणा गरेका छन् ।
“चुनावमा भोट तान्न साना भाइबहिनीलाई चक्लेट बाँडियो होला नि ?” भन्ने शिक्षक को प्रश्नमा अध्यक्ष घिमिरेले जवाफ फर्काइ हाले, “चुनावमा चक्लेट बाँड्दा निर्वाचन आचारसंहिता उल्लंघन हुन्छ, त्यस्तो काम गर्न मिल्दैन ।”
बाल समूहको आय/व्यय व्यवस्थित तरिकाले राखिएको छ । समूहको बार्षिक बजेट रु.१ लाख ५५ हजार रहेको छ भने हरेक वर्ष लेखा परीक्षण हुन्छ ।गत वर्ष नवजागृति माविको विद्यालय भवन निर्माणमा बाल समूहले रु.३००० सहयोग गरेको थियो । आय आर्जन बढाउन र स्थानीय पाठ्यक्रमको व्यावहारिक अभ्यास गर्नका लागि छात्रछात्राले तरकारी खेती गर्ने योजना अघि सारेका छन् ।
अवसर पनि
बाल समूहमा नेतृत्व गरेर खारिएका विद्यार्थीले स्कूल बाहिर पनि सार्वजनिक अवसर पाउने गरेका छन् । सदस्य, प्रवक्ता, कोषाध्यक्ष हुँदै अध्यक्ष पदमा रहेर चार वर्ष सृजनशील बाल समूहको नेतृत्व गरे की नवजागृतिकी युग कुमारी श्रेष्ठले कक्षा ८ मा हुँदै एफएम रेडियोमा बालबाट िका कार्यक्रम चलाउने अवसर पाइन् । उनले यस वर्ष प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् । “बाल समूहमा लागेर किताब बाहिरको संसार पनि अनुभव गर्न पाइयो । बाल समूहको नेतृत्व गरेका कारण जुनसुकै क्षेत्रमा पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ”, उनले भनिन् ।
बाल समूहका वरिष्ठ सल्लाहकार राज कुमार लामा सार्वजनिक मञ्चमा गएर बोल्न सक्ने मात्र भएका छैनन्, छात्रछात्राका समस्या सुनेर तिनको समाधान पनि पहिल्याउन सक्ने भएका छन् । बाल समूहमा लागेपछि पढाइमा रराम्रो गर्न र समाज का लागि केही न केही गर्न प्रेरित भएको उनले बताए । समूहको बैठक हरेक शुक्रबार हुन्छ । स्कूलको पुस्तकालयमा हुने उक्त समूहका पदाधिकारी तथा सदस्यका विभिन्न प्रस्तावहरू हुन्छन्, तिनका बारेमा गहन छलफल गरेर सर्वसम्मतिमा निर्णय हुन्छ । कुनै प्रस्ताव वा विषयमा मतमतान्तर भएमा शिक्षकहरूको सहयोगमा निचोडमा पुग्ने गरेका छन् बालबालिका ।
सृजनशील बाल समूहलाई शुरु देखि अघि बढाउनका लागि नवजागृति स्कूलका शिक्षक डम्बरबहादुर राईले सहजकर्ताको भूमिका खेलेका छन् । राई भन्छन्, “शुरूमा सरकारी विद्यालयका विद्यार्थी भनेर नाक खुम्च्याउने र हेप्नेहरूले अहिले हाम्रा विद्यार्थीको खुलेर प्रशंसा गर्न थालेका छन् । हाम्रा विद्यार्थीप्रति नजिकका स्कूल, सामाजिक संघसंस्था र अभिभावकको हेर्ने दृष्टिकोणमा बितेका चार वर्षमा व्यापक परिवर्तन आएको छ ।”
रचनात्मक क्रियाकलाप को माध्यमबाट आफ्नो र आफू जस्तै साथीहरूको नेतृत्व विकास मा लागेका नवजागृति माविका छात्रछात्राको पठनपाठनको पाटो पनि कमजोर छैन । सहायक प्रअ उद्धवप्रसाद अधिकारी भन्छन्, “कक्षामा रराम्रो पढाउने र नेतृत्व विकास का लागि शिक्षकले सहजीकरण गर्ने हो भने विद्यार्थीहरू उदाहरणीय बन्न सक्छन् ।” विद्यार्थीले मौलिक काम गरेर स्कूलका शिक्षक र स्थानीय अभिभावकको मन जितेका कारण विद्यालयले गर्ने हरेक महत्वपूर्ण निर्णयमा तिनको सहभागिता अनिवार्य बन्दै गएको छ । सहायक प्रअ अधिकारी छात्रछात्राको नेतृत्वदायी भूमिकाका कारण उनीहरूलाई नसोधी स्कूल प्रशासन र व्यवस्थापन समितिले मात्र कुनै निर्णय गर्न नसक्ने अवस्था सृजना भएको धारणा राख्छन् ।
नेतृत्व विकासको अनुत्पादक बाटो
‘एनेकपा माओवादी’ विभाजन भएर मोहन वैद्य (किरण) को नेतृत्वमा ‘नेकपा–माओवादी’ गठन हुँदाको असर महाराजगञ्जस्थित शिवपुरी उमाविमा समेत देखा परेको छ । एनेकपा माओवादी विभाजन भएपछि उक्त दल निकट अखिल क्रान्तिकारीसँग आवद्ध स्कूले छात्रछात्रा पनि विभाजित भएका छन् । असारको तेस्रो साता नवगठित नेकपा–माओवादी समर्थित विद्यार्थीले शिवपुरी उमाविका छात्रछात्राहरूलाई विद्यालय समयमै भेला गरेर पार्टी विभाजन र विद्यार्थीको दायित्वका बारेमा सम्झएका थिए । वैद्य समर्थक विद्यार्थी नेताहरू उक्त विद्यालयमा अखिल क्रान्तिकारी (वैद्य) समूह गठन गर्ने तयारीमा लागेका छन् ।
अखिल क्रान्तिकारीले २०६८ सालमा कक्षा १० सम्मका विद्यार्थीलाई समेटेर ७१ सदस्यीय ‘अखिल क्रान्तिकारी शिवपुरी इकाइ समिति’ गठन गरेको थियो । समितिको अध्यक्षमा ज्ञानबहादुर भुजेल, उपाध्यक्षमा रोजिना थापा, सचिव विमल भुषाल र कोषाध्यक्ष रविन तामाङ थिए । माओवादी फुटेपछि यिनै विद्यार्थी विभाजित भएका हुन् । साविकका अध्यक्ष र सचिवले राजीनामा दिएका छन् भने उपाध्यक्ष रोजिना थापाले अखिल क्रान्तिकारीको इकाइ समितिको अध्यक्षको जिम्मा लिएकी छन् ।

शिवपुरी उमाविका अगुवा छात्रछात्रा ।
विद्यालय तहका छात्रछात्राको हक, हित र अधिकारको संरक्षण एवं नेतृत्व विकास गर्ने भनेर अखिल क्रान्तिकारीका दुवै समूहले छात्रछात्रालाई आफ्नो इकाइ समिति राख्ने गरेका छन् । तर, उनीहरूको संगठनमा लागेका विद्यार्थीमा नेतृत्व विकास गरेर भविष्यमा राजनीति गर्ने सपना भन्दा शिक्षकहरूले हेपे भने तह लगाउने भावना विकास भएको पाइन्छ । इकाइ समितिकी अध्यक्ष रोजिना थापाले भनिन्, “पहिला पहिला हामीलाई हेपिन्थ्यो, क्रान्तिकारीमा लागेपछि कसैले हेप्न सकेको छैन । कसैले हेपेमा वा विना काममा सर/मिसले पिटेमा क्रान्तिकारीका दाइहरूलाई बोलाउँछौं । अनि उहाँहरूले सर/मिसलाई सम्झाउनुहुन्छ ।”
थापालाई माओवादी पार्टी र अखिल क्रान्तिकारीको सामान्य परिचय र उद्देश्यका बारेमा पनि जानकारी छैन । राजनीति गर्नका लागि सङ्गठनमा नलागेको बताउने थापा सङ्गठनमा लागेपछि डर कम भएको र आत्मबल बढेको अनुभव सुनाउँछिन् । माओवादीले आयोजना गरेका आमसभामा छात्रछात्रालाई सहभागी गराउनु परेको खण्डमा थापा लगायतको समूह विद्यालयमा सक्रिय हुने गरेको छ । माथिल्लो कमिटीका सूचना/उर्दी सुनाउन थापा लगायतको छात्रछात्रा पढाइरहेका शिक्षकलाई रोकेर सूचना भन्दै सबै कक्षामा पुग्छन् ।
अखिल क्रान्तिकारीका दुवै समूहमा लागेका बालबालिकाका भनाइ सुन्दा उनीहरू सङ्गठनको नीति, कार्यक्रम र उद्देश्य बुझेर भन्दा पनि विद्यार्थी नेताको भनाइ र आश्वासनका भरमा सङ्गठनमा लाग्ने गरेका छन् ।
शिवपुरी उमाविका प्रअ तथा शिक्षकहरू छात्रछात्रा पढाइ छाडेर राजनीतिक दलको सङ्गठनमा लागेकामा सन्तुष्ट छैनन् । नेतृत्व विकासको नाममा विद्यार्थीको पढाइ बर्बाद पार्ने र डर धम्की तथा त्रास सृजना गर्ने काम भइरहेको यहाँका शिक्षकले अनुभव गरेका छन् । हुन पनि एकाध बाहेक, पढाइमा कमजोर विद्यार्थीहरू नै क्रान्तिकारीको झण्डा बोक्न अग्रसर देखिन्छन् । यस विद्यालयमा २०४६ सालपछि नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुले पनि विद्यालय तहका विद्यार्थीहरूलाई आफ्नो संगठनमा आवद्ध गर्ने गरेका थिए । स्कूलले विद्यार्थीलाई संगठनको झ्ण्डा बोकाएर तिनको नेतृत्व विकास नहुने ठानेर नेविसंघ र अनेरास्ववियु शिवपुरी उमाविबाट विस्थापित भइसकेका छन् । तर, अरूले अभ्यास गरेर असफल तथा गलत साबित भइसकेको बाटोमा क्रान्तिकारीका विद्यार्थी नेताहरू हिंड्दैछन् ।
शिवपुरीको आफ्नै बाटो
माओवादी निकट अखिल क्रान्तिकारीका दुवै समूहले स्कूलका छात्रछात्रालाई आ–आफ्नै समूहमा सङ्गठित गरेर परिचालन गरे पनि आफ्ना विद्यार्थीको नेतृत्व विकासका लागि शिवपुरी उमाविले चाहिं छुट्टै प्रयास गरेको छ । १२ सय छात्रछात्रा रहेको उक्त विद्यालयले यो वर्षदेखि कक्षा ८, ९ र १० विद्यार्थीका लागि नेतृत्व विकास कार्यक्रम तय गरेको छ । यो कार्यक्रम अन्तर्गत शिवपुरी उमावि र उसका छिमेकका १५ वटा सरकारी तथा निजी विद्यालयबाट दुई जनाका दरले विद्यार्थी बोलाएर नेतृत्व विकासका अवधारणा र अभ्यासका बारेमा विज्ञको उपस्थितिमा कार्यशाला आयोजना गर्ने तयारी गरेको छ । उक्त कार्यशालामा नेता र नेतृत्व कलाका बारेमा छात्रछात्राले विज्ञसँग अन्तरक्रिया गर्ने र नेतृत्वको अवधारणा बुझने विश्वास शिवपुरी उमाविका प्रअ दिवाकर दूरदर्शीले गरेका छन् ।
शिवपुरी उमाविले विद्यालयको रणनीतिक कार्ययोजना अन्तर्गत बेलाबेलामा अन्तरविद्यालय हाजिरीजवाफ, वक्तृत्वकला, चित्रकला प्रतियोगिता जस्ता कार्यक्रम सञ्चालन गर्ने गरेको छ । यहाँका ६–१० का छात्रछात्राले गठन गरेको शिवपुरी बाल क्लबले पनि विद्यार्थीको नेतृत्व विकास र उनीहरूको प्रतिभा उजागर गर्नका लागि विभिन्न कार्यक्रम गर्ने गरेको छ । उक्त समूहको नेतृत्वमा हरेक वर्ष कविता लेखन, गायन, नृत्य, वक्तृत्वकला, चित्र कला, हाजिरीजवाफ, हिज्जे जस्ता प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ । यसले समूहमा बोल्न नसक्ने विद्यार्थीलाई आफ्ना समस्या सुनाउन, अरूका समस्या सुन्न र तिनको समाधानका लागि सामूहिक प्रयास गर्ने सीप सिकाएको छ । बाल क्लबका कार्यक्रममा सहभागी हुने विद्यार्थीको आत्मविश्वास पनि बढ्दै गएको पाइन्छ ।



