बालबालिकामा नेतृत्व कला ‘विद्यालय नै मुख्य आधार’
‘संविधान नबनाई संविधानसभाको अवसान भयो, किन होला ? भन्ने प्रश्नको जवाफमा राजधानीका केही विद्यालयका छात्रछात्राको कथन थियो– ‘यो देशमागतिलो नेता नभएको ले ।’ (शिक्षक मासिक असार २०६९) यी स्कूले छात्रछात्राले झै आज हरेक जसो नेपालीहरू भन्नेगछ्र्रन्, ‘देशमागतिला नेता भएनन् ।’ तर कसरी हुन्छ त जनताले चाहेजस्तो इमान दार र प्रभावकारी नेताको परिपूर्ति ?
जापानी प्राध्यापक हाजिमे यामसिताले शिक्षा र देश विकास को प्रसङ्गमा दुई वर्षअघि शिक्षक सँग भनेका थिए– ‘यदि नेपालको आजको नेतृत्व देशको समृद्धिप्रति कटिबद्ध र इमान दार छैन भने त्यसनिम्ति नेपालको शिक्षा जिम्मेवार छ । नेतृत्वमा पुगेका मानिसले पाएको शिक्षामा कहीं न कहीं कमजोरी भएरै यो समस्या देखि एको हो । यो कमजोरी समेत पहिल्याएर शिक्षालाई देशप्रेम गर्ने नागरिक उत्पादन गर्ने गरी सुधार गर्नु पर्छ ।’(शिक्षक, साउन २०६७) यामसिताको उक्त भनाइले नेतृत्व विकास को कुरा विद्यालयसित अन्योन्याश्रित छ भन्ने कुरा मा विशेष जोड दिन्छ । आधुनिक शिक्षाशास्त्रले पनि व्यक्तिमा ज्ञानसँगै जीवनोपयोगी सीप, नेतृत्व क्षमता, सही किसिमको मूल्यमान्यता र प्रवृत्तिको विकास गराउने काम स्कूलकै भएको स्वीकार गरेको छ । यसरी हेर्दा असल नेतृत्वको खडेरीलाई समाप्त पारी देश र समाज का लागि उपयोगी नेता जन्माउन विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ । त्यसो भए, यसबारेमा हाम्रा स्कूलले अहिले के गरिरहेका छन् र अब के गर्न सक्छन् ? यही मूल प्रश्न सम्बोधन गर्न शिक्षक मासिकले सामुदायिक विकास प्रवर्तन केन्द्रसँग मिलेर १५ असार २०६९ मा राजधानीमा शिक्षाका सरोकारवाला र विज्ञसँग बृहत् अन्तरक्रिया गरेको थियो । उक्त अन्तरक्रियामा व्यक्त विचार को सम्पादित अंशः
गहिरो समझदारी चाहिन्छ
हरि शर्मा, राजनीतिशास्त्री
आज हामी नेतृत्वको बारेमा छलफल गर्न जम्मा भएका छौं । विशेषतः संविधानसभाको अवसानपछि नेतृत्व आज निकै विवाद र बहसको विषय भएको छ । नेतृत्वले अपेक्षाकृत काम गर्न सके नसकेको भन्ने बारेमा हामी बीच मतान्तर छ । म चाहिं यहाँ नेतृत्वको बारेमा दुई वटा कुरा उठाउन चाहन्छुः नेतृत्व के हो ? यो कहाँबाट र कसरी जन्मन्छ ?
नेतृत्व क्षमता नैसर्गिक गुणहरूबाट निःसृत हुन्छ वा नेतृत्वका गुणहरू समय परिस्थिति अनुसार विकास गर्न सकिन्छ ? एकथरी मान्यता छ, मानिसमा केही यस्ता जन्मजात गुणहरू हुन्छन् कि ऊ त्यसबाटै श्रेष्ठ हुन्छ । हरेक समस्यालाई भित्रैदेखि बुझन र निरुपण गर्न सक्दछ । राजनीतिक दर्शनमा यस्तो गुणलाई ‘भच्र्यु’ (Virtue) भनिन्छ । अर्कोथरी मान्यता अनुसार नेतृत्व समय, परिस्थिति, अध्ययन र तालिमबाट तयार गर्न सकिन्छ । नेतृत्वको विकास सिकाइबाट सम्भव तुल्याउन सकिन्छ । यी दुई विचारधारालाई केलाउँदा नेतृत्वको स्रोत विवादित लाग्छ ।
लोकतन्त्रको युगमा जहाँ समानता महत्वपूर्ण सामाजिक आधार हो भने नैसर्गिक गुण त्यसको विपक्षमा उभिन्छ । सबै बराबर हो भने नेतृत्व कसरी फरक हुन्छ त ? तर जब हामी नेतृत्वको कुरा गर्छौं, हामीमध्येको श्रेष्ठ वा हामीभन्दा फरक व्यक्तिको खोजी गर्छौं, जो हामीभन्दा फरक, साहसी, बुद्धिमान, चतुर आदि गुणहरूले युक्त होओस् । यही द्विविधाभित्र हामीले नेतृत्वलाई बुझनुपर्दछ ।
विद्यालयको कुरा गर्दा प्रधानाध्यापक, शिक्षक, हाउस क्याप्टेन यी सबैले केही न केही विशिष्ट गुण र चरित्र बोकेका हुन्छन् । तसर्थ यिनीहरू नेतृत्वमा छन् भन्ने बुझिन्छ । बाँकीको भूमिका चाहिं के हुन्छ ? के सामान्य विद्यार्थी/मानिस नेतृत्वमा पुग्न सक्दैन ? सक्छ भने कसरी सक्छ ? यी कुराहरू विचार गर्दा नेतृत्वको चर्चा र विषय एकाङ्गी हुनसक्दैन । नेतृत्व सदैव तुलनात्मक नै रहन्छ । घरमा बाबुआमा, दाजु दिदी, कार्यालयमा प्रमुख, खेलमा क्याप्टेन, उद्योगमा म्यानेजर, स्कूलमा प्रधानाध्यापक, सेनामा जर्नेल, देशमा राजनीतिक नेतृत्व सबैको आ–आफ्नो स्थानमा आ–आफ्नै भूमिका हुन्छ ।
हुन त यहाँ हामी स्कूलको आँखाबाट नेतृत्व विकासको प्रश्नलाई हेर्न खोजिरहेका छौं । यही सवाललाई बृहत्तर दायराबाट हेर्ने हो भने स्वाभाविक रूपमा प्रश्नहरू उठ्छन्, हामी हुनुको अर्थ के हो ? नागरिक हुनुको अर्थ के हो ? मेरो अरूसित सम्बन्धको अर्थ के हो ? पहिचानको अर्थ के हो ? समानताको अर्थ के हो ? गरीब मानिसहरूका प्रति मेरो दृष्टिकोण के हो ? गरीबको पक्षमा नारा लगाएर मात्र पुग्छ कि केही दायित्व पनि पूरा गर्नुपर्दछ ? मन्त्री किन हुने ? प्रधानमन्त्री हुनुको अर्थ के हो ? जातीय संगठन केका लागि बनाउने ? हुँदाहुँदा राजनीति माथि पनि प्रश्न उठिरहेको छ, राजनीति केका लागि ? कसका लागि ? कसरी ?
स्कूलहरूमा नेतृत्वको विकासका लागि हाउस बनाइने गरिएको हुन्छ । हाउसमा नेतृत्व छनोटको प्रक्रिया के हुन्छ ? शिक्षकले मनपराएका विद्यार्थी छनोट हुन्छन् कि हाउसका सबै सदस्य विद्यार्थीहरूले आफूहरूबाट छान्छ ? दगुर्न सक्ने या बलियो बाङ्गो मानिसलाई मात्र हाउसको नेता बनाउने हो कि हाउसका सबै सदस्यहरूले नेतृत्वको लागि समान रूपमा अवसर पाउँछन् ? रनिङ्ग शिल्ड जितेर ल्याउनेलाई वा पुरस्कार जित्न सक्ने विद्यार्थीलाई मात्र अवसर दिइन्छ कि त्यस्तो संभावना कम भएकालाई अवसर दिएर उसलाई पनि प्रतिस्पर्धामा उत्रन सक्ने बनाइन्छ ? कि त्यस्तो उदाहरणीय मानिसलाई नेतृत्व जिम्मा दिने हो, जसले समूहलाई नेतृत्व पनि गर्छ, व्यवस्थापन पनि गर्छ, प्रतिस्पर्धामा पनि खरो उत्रन सक्छ । हामीसित जजमेन्टल प्रश्नहरू धेरै छन् । त्यसैले, नेतृत्व विकासको सन्दर्भमा हुने बहसले नेतृत्व सम्बन्धी गहिरो समझदारीको माग गर्दछ ।
असल नेतृत्व त्यही हो जो नैतिक प्रश्नहरूलाई समेत सम्बोधन गर्न सक्षम हुन्छ । थिग्रिनसकेका मान्यता र सामाजिक सम्बन्धहरूलाई जसले थिग्य्राउन सक्छ, सफल र असल नेतृत्व उही हो ।
आज नेपाली समाजमा हर क्षेत्रमा प्रश्नहरू उठिरहेका छन् । पुराना मान्यताहरू भत्किइरहेका छन् र नयाँ मान्यताहरू थिग्रिसकेका छैनन् । त्यस दृष्टिमा नेतृत्वबारे पनि बहस चलाउने यो अति सुन्दर समय पनि हो । योभन्दा अगाडि नेपाली समाजले यति धेरै प्रश्नहरूको एकसाथ सामना गर्नु परेकै थिएन । हामी जुन समयमा बसिरहेका छौं, यो समयमा उठेको सबभन्दा ठूलो सवाल भनेको नेतृत्वको ‘इथिकल’ र ‘मोरल’ प्रश्न नै हो । असल नेतृत्व त्यही हो जो यी नैतिक प्रश्नहरूलाई समेत सम्बोधन गर्न सक्षम हुन्छ । थिग्रिनसकेका मान्यता र सामाजिक सम्बन्धहरूलाई जसले थिग्य्राउन सक्छ, सफल र असल नेतृत्व उही हो । नेपाली समाजमा इतिहासमै सबभन्दा ठूलो आँधीबेहरी आइरहेको छ । यसबाट कसरी सुरक्षित अवतरण कसरी गर्न सकिन्छ भन्ने चुनौती हाम्रो सामु छ । असल नेता त्यही हो, जसले यो तुफानबाट नेपाली समाजलाई सकुशल बाहिर निकाल्छ र सुरक्षित अवतरण गराउँदछ । स्कूल पनि यी नैतिक प्रश्नहरूबाट पर छैनन् । नयाँ पुस्ताका तन्नेरीहरू ज–जसले यी प्रश्नहरूको सही समाधान खोज्न सक्छन्, उनीहरू नै नेता बन्छन् ।

लेखाजोखा गरौं
धनञ्जय शर्मा अधिकारी, प्रअ, ज्ञानोदय मावि, वाफल, काठमाडौं
निजी जीवनमा समेत नेतृत्व क्षमता प्रदर्शन गर्न सक्ने बनाउने दायित्व मूल रूपमा विद्यालयकै हो । हामीले विगतमा विद्यार्थीलाई विद्रोह गर्न र मन नपरेको कुराको विरोध गर्न सिकायौं । तर पढेलेखेको मानिसको रूपमा राष्ट्रप्रतिको दायित्वबोध र कर्तव्य–पालना गर्न चाहिं सिकाएनौं । पाठ्यक्रमले पनि यसलाई महत्व दिएन । चरित्र र आचरण निर्माण गर्ने भन्दा हाम्रो ध्यान परीक्षामा कसरी राम्रो अंक ल्याउने भन्नेतिर मात्र गयो । स्कूल, कलेज र विश्वविद्यालय यही रोगबाट ग्रस्त भए । यी सबै कारणले गर्दा विद्यार्थीमा सानैदेखि असल नेतृत्वमा हुनुपर्ने गुणहरूको विकास गराउन सकिएन ।
नेतृत्व क्षमता केही जन्मजात हो र केही पछि विकसित हुने कुरा हो । कोहीसित जन्मजात रूपमा नेत्वृत्व क्षमता हुन्छ भने धेरैमा पछि उचित तरीकाले त्यस्तो क्षमताको विकास गराउन सकिन्छ । हामीले हाम्रो पाटोबाट कति गर्न सकिन्छ, कति गरेका छौं, त्यसको ठोस र वस्तुनिष्ठ लेखाजोखा पनि गरेका छैनौं । फेरि नेतृत्व भनेको त राजनीतिक क्षेत्रमा मात्र होइन, समाजका हर क्षेत्रमा आवश्यक पर्छ । विद्यार्थीमा असल नेतृत्वको विकास गराउन हामी शिक्षकहरूको महत्वपूर्ण भूमिका छ । स्कूल र कक्षाकोठाको निर्णय प्रक्रियामा विद्यार्थीको भूमिकालाई सुनिश्चित गर्न सकियो भने सानैदेखि उनीहरू जिम्मेवार बन्न थाल्छन् ।
नागरिकशास्त्र पढाउँ
कृष्णप्रसाद धन्छा, वागेश्वरी उमावि, च्यामासिं, भक्तपुर
संविधानसभाले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउँदै नयाँ संविधान निर्माण गर्ला भन्ने धेरैको आशा थियो । तर संविधान नबनाई संविधानसभा नै भंग हुँदा आकाशै खसिहालेको छैन । हामीले आज राम्रो भएको छैन भने पनि भोलिको पुस्ताले राम्रो गर्न सक्छ भनेर विद्यार्थीहरूसित छलफल चलाएका छौं ।
नेतृत्व विकासका लागि पञ्चायतको बेलामा नागरिकशास्त्र थियो । त्यसले असल नागरिकमा हुनुपर्ने गुणहरू सिकाउने केही न केही प्रयत्न गरेको थियो । बहुदलीय व्यवस्था आएपछि त्यो हरायो । असल नागरिकका सबै गुणहरू असल नेतृत्वमा हुनुपर्छ । त्यसैले नागरिकशास्त्रलाई समय अनुरुप परिस्कार गरी पुनः लागू गर्नुपर्छ, जसले विद्यार्थीलाई असल नागरिक हुन प्रेरित गर्छ ।
‘पोजिसन’ नेतृत्व होइन
रघु मैनाली, पत्रकार
हामी विश्वविद्यालयको विद्यार्थी हुँदा पचास साठी बुँदे मागहरू राखेर विरोध कार्यक्रम राखिन्थ्यो । हड्ताल हुन्थ्यो । अन्त्यमा समातिएका नेताहरूको रिहाइ र घाइतेहरूको उपचारमा पुगेर सम्झौता हुन्थ्यो र विरोध कार्यक्रम फिर्ता हुन्थ्यो । मागहरू जायज हुन्थे हुँदैनथे, त्यो अर्कै कुरा हो । तर जुन माग राखिएको छ, त्यसमा गम्भीरतापूर्वक छलफल भएको कहिल्यै सुनिएन । चाहेको कुरा प्राप्त गर्ने अवस्थामा हामी कहिल्यै पुगेनौं । असल नेतृत्वले त कुनै पनि विषयको उठान गरिसकेपछि तार्किक निष्कर्षमा पुर्याउनुपर्ने हो । तर त्यस्तो कहिल्यै भएन ।
पहिले पहिले भनिन्थ्यो, व्यवस्थापन गर्नु नै राम्रो नेता हुनु हो । तर आधुनिक व्यवस्थापनले ‘नेतृत्व गर्नु र व्यवस्थापन गर्नु’ फरक कुरा हो भन्छ । “डु राइट थिङ्ग्स” ‘लिडरसीप’ हो रे, “डु थिङ्ग्स राइटली” चाहिं ‘म्यानेजमेन्ट’ हो रे ! सही दिशा पक्रनु सही नेतृत्व हो भने त्यस अन्तर्गत आउने परिवर्तनलाई सही तरीकाले व्यवस्थापन गर्नु चाहिं व्यवस्थापकीय दक्षता हो ।
बालबालिकामा नेतृत्व क्षमताको विकास गर्ने सवालमा नेतृत्व क्षमता भएका प्रधानाध्यापक र शिक्षकहरूले नै थुप्रै काम गर्न सक्छन् । म त मदर टेरेसालाई ठूलो नेता मान्छु । किनकि समाजमा समाजसेवाको भावना जगाउन र धेरै मानिसहरूलाई समाजसेवाको बाटोमा हिंडाउन उनको विशेष भूमिका छ । त्यसैले मेरो दृष्टिमा लिडर पोजिसन होइन, यो कसैले मनोनयन गरेर हुने कुरा पनि होइन । लिडर ‘अवार्डेड’ पनि होइन, कसैले ‘एसाइन’ गरेर स्थापित गर्ने चिज होइन । स्व–अग्रसर भएर अरूलाई हाँक्न सक्नु नेताको मूल चरित्र हुन्छ । नेतृत्वमा अरूलाई प्रभावित गर्न सक्ने क्षमता हुन्छ । उसमा समग्र परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्ने क्षमता पनि हुन्छ । नेतृत्वको बारेमा एउटा भनाइ छ, लिडरले पहिले ‘भिजन’ तयार गर्छ, त्यसपछि ‘फलोअर’ पाउँछ । ‘फलोअर’ ले चाहिं पहिला ‘लिडर’ पाउँछ, अनि मात्र आफ्नो सपना देख्न थाल्छ ।
सवाल उठ्छ, त्यस्तो नेतृत्व क्षमता कहाँबाट आउँछ ? कसरी आउँछ ? नेतृत्व जन्मजात क्षमता हो कि यो विकसित गरेर पनि निर्माण गर्न सकिने कुरा हो ? पछिल्लो चरणमा आएका सिद्धान्तहरूले नेतृत्व क्षमता १० प्रतिशत मात्र जन्मसिद्ध रूपमा आउँछ, संकटले जन्माउने नेतृत्व ५ प्रतिशत हुन्छ र बाँकी चाहिं शिक्षा र सामाजिक अन्तरक्रियाहरूद्वारा विकसित गर्न सकिने कुरा हो भन्छन् । बालबालिकालाई स्कूलका प्रारम्भिक दिनहरूदेखि नै उचित अवसर दिएर नेतृत्व क्षमताको विकास गर्न सकिन्छ । प्रोजेक्ट वर्क, समुदायमा गएर गरिने विभिन्न कार्यहरू, कक्षा व्यवस्थापनलगायत समूहमा मिलेर गर्नुपर्ने र गर्न सकिने सबै कार्यहरू नेतृत्व विकासका अवसर हुन् । मेरो विचारमा नेतृत्व विकास गराउने महत्वपूर्ण थलो स्कूल नै हो ।
नेता पद होइन, नेता ‘अवार्डेड’ पनि होइन, कसैले मनोनयन गरेर स्थापित गर्ने चिज होइन । स्व–अग्रसर भएर अरूलाई हाँक्न सक्ने नै नेता हो ।
हाम्रा स्कूलहरूले यस सन्दर्भमा के–कस्ता काम गरिरहेका छन् त ? नेतृत्व विकासका नाममा हामीले कतै अर्गनाइजेशनल एलिट मात्रै त जन्माइरहेका छैनौं ? ‘अर्गनाइजेशनल एलिट’ त्यस्तो नेतृत्वलाई भनिंदोरहेछ, जसले एउटा सिद्धान्तमा आधारित भएर ठीक र बेठीकको भयानक भाषण गर्छ । तर व्यवहारमा त्यही समस्यालाई सम्बोधन गर्ने रुचि र बुद्धि दुवै ऊसित हुँदैन । अहिलेका नेपालका धेरैजसो नेताहरू यही चरित्र बोकेर हिंडिरहेका छन् । आजका नेताहरू हिजोको हाम्रो शिक्षाका उत्पादन हुन् । यसको अर्थ हो, हिजोको उनीहरूको शिक्षामा कहीं न कहीं त्रुटि थियो । आज पनि त्यस्तै नेतृत्व विकसित गर्ने काम पो हाम्रो स्कूलहरूमा भइरहेको छ कि ? ठण्डा दिमागले घोत्लिनुपर्ने विषय हो यो ।
स्कूलबाट नेता जन्माउने कुरा मूलतः ‘फ्याकेल्टी अफ माइन्ड’को विकास हो । नेतृत्व मूलतः सफलतासित जोडिएको छ । म किसान नै हुनेछु भने सफल किसान कसरी हुने ? मलाई उद्यमी हुनुछ भने सफल उद्यमी कसरी हुने ? म जुन क्षेत्रमा लाग्छु, त्यहाँ कसरी सफल हुने ? सफलताको लागि त चाहिने खुबी या सीप हो– नेतृत्व । कसरी अरूलाई प्रभावित गर्ने, समयको विश्लेषण कसरी गर्ने, आफ्नो लक्ष्य हासिल गर्नको लागि कसरी टीम बनाउने, भिजन कसरी तयार गर्ने, लक्ष्य हासिल गर्न रणनीतिक तरीकाले कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा नेतृत्वको खुबीसित जोडिएको छ । सफल नागरिक हुनका लागि चाहिने अनिवार्य खुबी हो नेतृत्व क्षमता । त्यसैले नेतृत्व क्षमता हरेक विद्यार्थीमा/मानिसमा विकसित गर्नु जरुरी देखिएको हो ।
बाल्यकालः सर्वाधिक संवेदनशील
मीनाक्षी दाहाल, बाल विकास प्रशिक्षक
बालबालिकाको शुरूका ८ वर्ष मस्तिष्क विकासको दृष्टिले अत्यन्त संवेदनशील समय मानिन्छ । बच्चा स्कूल जानुअघि घरमै थुप्रै मूल्यमान्यताहरू उसमा निर्माण भइसकेका हुन्छन् । त्यसैले बच्चाको नेतृत्व विकासको कुरा घरबाट नै शुरू हुन्छ । स्कूलको काम त बालबालिकालाई सीसाकलम झैं तिखार्ने मात्र हो ।
हरेक बच्चाले आफू वरिपरिको वातावरणबाटै सिक्ने हो । तर हामी बच्चाको सिक्ने तरीका र वातावरणप्रति संवेदनशील छैनौं । त्यसैले हामी बच्चाको सामुन्ने हाम्रा कुण्ठा, घृणा र असन्तुष्टि ओकलिरहेका हुन्छौं । कलिला नानीहरूको निम्ति यी कुरा घातक सिद्ध हुनसक्छन् । हामी बिहान–बेलुका जुन स्कूल र शिक्षकहरूलाई गाली गरिरहेका हुन्छौं, दिउँसो त्यही स्कूल र शिक्षकसित सिक्न बच्चालाई पठाउँछौं । घरबाट नकारात्मक छाप बोकेर गएको बच्चाले शिक्षकलाई कसरी सकारात्मक नजरले हेर्न सक्ला ? सकारात्मक नजर नभई कसरी सिकाइ प्रक्रिया प्रभावकारी होला ? बच्चा स्वाभाविक रूपमा सृजनात्मक तरीकाले सोच्न चाहन्छ । कुनै पनि कुरालाई भिन्न तरीकाले हेर्न चाहन्छ । गर्न चाहन्छ । तर हामी घरमा उसलाई हाम्रो आदेश पालक मात्र बनाउन खोज्छौं । हाम्रो त्यो बानीमा परिवर्तन आउनुपर्छ । हामीले उसलाई भिन्न तरीकाले सोच्न, नयाँ परिकल्पना गर्न हौसला दिनुपर्छ । हामीले बच्चालाई यो फुच्चे भनेर सोच्ने होइन, ऊ त हामी जत्तिकै भिन्न र जिम्मेवार मानिस हो भनेर सोच्नुपर्यो । त्यो अनुसारको सम्मान पनि गर्नुपर्यो । भूमिका पनि दिनुपर्यो । घरको निर्णय प्रक्रियामा बच्चाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्यो । बच्चाले आफ्नो सोच अनुसार केही भन्यो भने हामी ठूलो मानिसको बीचमा नबोल भनेर उसको कुरा तुरुन्तै खारेज गरिदिन्छौं । उसको अस्तित्वलाई समेत स्वीकार गर्दैनौं । हामीले यस्ता कुसंस्कारहरू त्याग्नुपर्यो । खाने, लगाउने, खेल्नेदेखि बढीभन्दा बढी कुरामा बच्चाको रुचिलाई सम्बोधन गरिनुपर्यो । विद्रोह गरेपछि मात्र उसको माग पूरा गर्ने हाम्रो बानीमा सुधार ल्याउनुपर्यो । त्यसो हुनसक्यो भने मात्र बच्चाहरू स्वतः जिम्मेवार हुन्छन् । जब बच्चा जिम्मेवार हुन्छ, नेतृत्व विकासको सुरुआत त्यहींबाट हुन्छ ।
घरमा मात्र होइन, बच्चाले यो वातावरण स्कूलमा पनि पाउनुपर्छ । स्कूल गएको पहिलो दिनदेखि नै उसले शिक्षक र सबैसित निर्धक्कसित आफ्नो भावना र विचार राख्न पाउनुपर्छ । त्यहाँ उसको भावनाको कदर गरिनुपर्छ । जब आफ्नो ज्ञान, अनुभव र सोचलाई शिक्षक र अभिभावकले बेवास्ता गरिदिन्छन्, बच्चाहरू स्वाभाविक रूपमा शिक्षक र अभिभावकसित टाढिंदै जान्छन् । आफूले उचित स्थान नपाएपछि उनीहरूमा ठूला मानिसप्रति सकारात्मक भाव उत्पन्न नहुनु विल्कुलै स्वाभाविक कुरा हो । अतः असल नेतृत्वको गुण बच्चाहरूमा विकास गराउने हो भने प्रारम्भिक बाल्य अवस्थालाई अभिभावक, स्कूल, स्थानीय निकाय र सरकार सबैले सबभन्दा महत्व दिनुपर्यो ।
स्कूल झन् बलियो हुँदैछ
सुरेश ढकाल, मानवशास्त्री
मानिस कस्तो हुन्छ भन्ने कुरा मुख्य रूपमा उसको सामाजिकीकरणको प्रक्रियाले प्रभाव पार्दछ । ‘इनकल्चरेसन’ कसरी हुन्छ, त्यो सबभन्दा महत्वपूर्ण हुन्छ । हाम्रो सन्दर्भमा सामाजिकीकरणका मुख्यतया दुई वटा एजेन्टहरू छन्, पहिलो परिवार, दोस्रो स्कूल । पहिला पहिला हाम्रो संयुक्त परिवार हुन्थ्यो । हजुरबा–हजुरआमासित खेल्ने क्रममा नातिनातिनाहरूले परम्परागत ज्ञान र अनुभवबाट सिक्ने मौका पाउँथे । उसबेला परिवार नै सामाजिकीकरण/‘इनकल्चरेसन’को मुख्य एजेण्ट हुन्थ्यो । यता आएर संयुक्त परिवारको ठाउँ एकल परिवारले लिन थालेको छ । कृषिबाट गैरकृषि र गाउँबाट शहरतिर मानिसहरू जाने क्रम तीव्र भएकाले परिवारको संरचनामा पनि व्यापक फेरबदल आइरहेको छ । खासगरी शहरबजारमा एकल परिवार भएपछि बाउआमा काममा जानुपर्ने भएकाले केटाकेटीहरू स्कूल/डे केयर सेन्टर या घरमा जहाँ रहे पनि समवयी साथीहरूसित हुन्छन् । त्यसैले हिजोसम्म बच्चाको सामाजिकीकरणको मूल भूमिका निभाइरहेकोे परिवारको ठाउँ विस्तारै स्कूलले लिन थालेको छ । यसरी स्कूलको भूमिका हिजोभन्दा आज शक्तिशाली हुन गएको छ । स्कूलले उपयुक्त वातावरण दिएको छ, सही तरीकाले सिकाएको छ भने बच्चाको सामाजिकीकरण राम्रो भएको छ; छैन भने बच्चाहरू झन् ठूलो समस्यामा परेका हुनसक्छन् ।
बालबालिकाको निम्ति गर्भदेखि ८ वर्षसम्मको समय सिकाइ र समग्र विकासको आँखाबाट सर्वाधिक महत्वपूर्ण समय हो भन्ने कुरा आयो । म त्यो अवधि बढाएर १६ वर्षसम्म लैजान चाहन्छु । सामाजिकीकरणको प्रक्रियामा १६ वर्षको उमेरसम्म एउटा विद्यार्थीले अपनाएको र सिकेका मूल्यमान्यता, विकसित भएको अभिवृत्ति, ज्ञान र सीपहरू छाड्न (अनलर्न) र नयाँ कुरा सिक्न कत्तिको सक्छन् ? नेतृत्व विकासका सन्दर्भमा यो सवाल सर्वाधिक पेचिलो छ भन्ने मलाई लाग्छ । उदाहरणका लागि वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको आजको व्यक्तित्व, निर्णय क्षमता, नेतृत्व गुण, मूल्यमान्यता र सोचमा स्कूले जीवनको के कस्तो प्रभाव छ ? कि कलेज, विश्वविद्यालय, पार्टी जीवन र समाजको प्रभाव बढी छ ? कि विश्व अर्थराजनीति र त्यसले विकास गरेका मूल्य–मान्यताहरूको प्रभाव गहिरो छ ? यसमाथि अध्ययन र विश्लेषण हुन जरुरी छ । त्यसपछि मात्र हामी ठोस निष्कर्षमा पुग्न सक्छौं । तर नेतृत्व विकासको अवसर घर र स्कूलका प्रारम्भिक दिनहरूदेखि नै दिइनुपर्छ र यसले जीवनमा प्रभाव पार्छ भन्नेमा चाहिं द्विविधा राख्नुपर्दैन ।
परीक्षा पद्दति फेरौं
बाबुकाजी श्रेष्ठ, निर्देशक, ग्लोबल एक्सन
हाम्रा बच्चाहरूले स्कूल र घरमा समग्र विकासका थोरै अवसर पाइरहेका छन् । उनीहरू हाम्रो संस्कृति र उपेक्षाको ठूलो मारमा परिरहेका छन् । यसमा दोष शिक्षकको मात्र छैन ।
संसार यति व्यापक छ भन्ने बारेमा कक्षाकोठामा कहिल्यै छलफल भएन । यो दुनियाँमा भिन्न भिन्न सोच र विचार हुन्छन्, हरेक मानिससित पनि फरक फरक सोच हुन्छन्; तिनीहरू सबैलाई सम्मान गर्नुपर्छ भन्ने कुरा स्कूलमा कहिल्यै सिक्न पाइएन ।
बालबालिकाले समाजबाट सिक्ने हुन् । आजका नेताको उनीहरूमा प्रभाव हुन्छ । अतः राम्रा नेताहरूलाई स्कूलमा लैजान सके त्यसको राम्रो प्रभाव पर्दछ । विश्वका राम्रा नेताहरूका बारेमा पनि शिक्षकले उनीहरूलाई राम्रो जानकारी दिनुपर्दछ । नेतृत्व बारेमा आधारभूत अवधारणा दिने र न्यूनतम अवसर दिने काम तुरुन्तै शुरू गर्नुपर्दछ । त्यस्तै, शिक्षकले चपाएको विद्यार्थीले निल्नुपर्ने ढर्राको शिक्षण पद्धतिलाई सृजनात्मक चिन्तनमा रूपान्तरण गर्नु पनि उत्तिकै खाँचो छ । तर विद्यार्थीमा सृजनशील चिन्तन बढावा दिने काम तब मात्र प्रारम्भ हुन्छ जब परीक्षा पद्धति फेरिन्छ । यदि परीक्षा हुनै पर्ने हो भने ‘ओपन बूक’ परीक्षा हुनुपर्छ, जहाँ विद्यार्थीले ढुक्कले सन्दर्भ सामग्रीको प्रयोग गर्न पाउन् । पर्याप्त साधन स्रोतको व्यवस्था, बलियो र उत्तरदायी पद्धतिको निर्माण, विद्यार्थी केन्द्रित शिक्षण शैली र उपयुक्त परीक्षा पद्धतिले मात्र आजको अवस्थामा तात्विक परिवर्तन ल्याउन सक्छ ।
स्कूलमा धेरै कुरा ‘मिस’ गरें
गगन थापा, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
नेतृत्वमा हुनुपर्ने सारा गुणहरू एकबाट अर्कोमा सार्न सकिन्छ वा विकसित गर्न सकिन्छ भन्ने मलाई लाग्दैन । केही कुरा जन्मजात हुन्छन्, केही सामाजिकीकरणको प्रक्रियाका सन्दर्भमा विकसित हुन्छन् । म मेरै जीवनलाई फर्केर चियाउँदा देख्छु एउटै परिवार, एउटै भान्सा, एउटै विद्यालय, एउटै सङ्गत, एउटै अवसर पाएका हामी दाजुभाइका सोच, प्राथमिकता, रुचि क्षमता आदिमा ठूलो अन्तर छ । त्यसैले, वातावरण र अवसरलाई ग्रहण गर्ने व्यक्तिले कसरी ग्रहण गर्दछ त्यसमा भर पर्ने रहेछ । नेतृत्व क्षमता त्यसो नहुँदो हो त एउटै शिक्षक, एउटै पाठ्यपुस्तक, एउटै वातावरण पाएका विद्यार्थीहरू उस्तै भएर निस्कन्थे ।
म आज जे छु, त्यसमा स्कूलको योगदान कति छ भनेर खोज्दै जाँदा म धेरै कुरा पाउँदिनँ । मैले काठमाडौंको सिद्धार्थ वनस्थली स्कूलबाट एसएलसी पास गरेको हुँ । परीक्षामा प्रथम हुनुपर्छ भन्ने बाहेक मैले स्कूलमा थोरै कुरा मात्र सिक्ने मौका पाएँ । परिवारले पनि त्यसैमा जोड दियो । अझ् कक्षा ९ मा पुगेपछि हामीलाई एसएलसीको विशेष तयारीका लागि अलग्गै सेक्सनमा पठाइन्थ्यो । त्यो सेक्सनका विद्यार्थीका लागि विशेष शिक्षक र विशेष सुविधा हुन्थ्यो । एसएलसी बोर्डमा उच्च स्थान हासिल गर्नका लागि ती सब सुविधाहरू दिइएको थियो । यसरी परीक्षा मात्र प्राथमिकतामा पारिएकाले मैले मेरो विद्यालय जीवनमा थुप्रै कुराहरू मिस गरेको छु । संसार यति व्यापक छ भन्ने बारेमा कक्षाकोठामा कहिल्यै छलफल भएन । यो दुनियाँमा भिन्न भिन्न सोच र विचार हुन्छन्, हरेक मानिससित पनि फरक फरक सोच हुन्छन्; तिनीहरू सबैलाई सम्मान गर्नुपर्छ भन्ने कुरा स्कूलमा कहिल्यै सिक्न पाइएन ।
आज हाम्रा पार्टीहरूमा देखिएका समस्यामा एकछिन चिन्तन गर्ने हो भने त्यसको बीजारोपण स्कूलका कक्षाकोठाबाटै भएकोे पाइन सक्छ । फरक फरक दृष्टिकोणलाई स्वीकार गर्ने क्षमता हामीसित एकदमै कम छ । किनकि सानैदेखि हामीले त्यस्तो संस्कार नै पाएनौं । समाजमा विविधता हुन्छ भन्ने कुरालाई म यता आएर बल्ल स्वीकार गर्न थालेको छु । यदि हिजो स्कूलमा प्राथमिक तहदेखि नै समाजको भाषिक, सांस्कृतिक, वैचारिक विविधतालाई आत्मसात् गर्न सिकाएको भए आज हामी कति धेरै अगाडि बढिसकेको हुनेथियौं !
मलाई फरक विचारसित मिलेर काम गर्न अहिले पनि अप्ठेरो महसूस हुन्छ । आफ्नो विचार हावी भयो भने सजिलो लाग्छ, अर्को विचार हावी हुन खोज्यो भने बढो गाह्रो महसूस हुन्छ । संविधानसभामा फरक विचारहरूसित काम गर्न हामी र हाम्रो नेतृत्वलाई असहज भएरै संविधान बन्न नसकेको हो । पार्टीभित्रको जीवन, अन्तरपार्टी सम्बन्ध होस् या हाम्रा सामाजिक या व्यावसायिक जीवनमा समेत मिलेर काम गर्न अप्ठेरो हुनुको मूल कारण यही विविधतालाई ‘सेलिब्रेट’ गर्न नसक्नु नै हो । त्यसैले स्कूलले पहिलो दिनदेखि नै भाषिक, सांस्कृतिक, जातीय, धार्मिक, वैचारिक, शारीरिकलगायत सबै खालका विविधतालाई ‘सेलिब्रेट’ गर्न सिकाउनुपर्छ । नेतृत्व विकासको सन्दर्भमा आज सबभन्दा बढी काम गर्नुपर्ने क्षेत्र यही हो ।
स्कूलमा शिक्षकले भनेका र पाठ्यपुस्तकमा लेखिएका सबै कुरा सत्य हुन्, त्यसलाई निःशर्त स्वीकार गर्नुपर्छ भन्ने मात्र हामीले सिक्यौं । शायद आज पनि यो प्रवृत्तिमा मौलिक रूपमा बदलाब आएको छैन । तर यो शिक्षण तरीका उचित रहेनछ भन्ने कुरा प्रमाणित भइसक्यो । अब त शिक्षकले विद्यार्थीलाई आफूले दिएको ज्ञान, मूल्य प्रणाली, सबैमा प्रश्न उठाउन उत्प्रेरित गर्नुपर्छ । नयाँ ज्ञानको खोज र निर्माण स्थापित ज्ञान माथि प्रश्न गरेर मात्र प्रारम्भ हुन्छ । त्यसो हुनसक्यो भने मात्र असल नेतृत्वको विकासको सन्दर्भमा समेत बलियो जग बस्छ ।
राजनीतिक क्षेत्रमा क्रियाशील हुँदा मैले हाम्रा वृद्ध सभापति सुशील कोइरालादेखि अहिले उच्च मावि तह सकेर भर्खर कलेज भर्ना भएको नयाँ पुस्तासित काम गर्ने मौका पाएको छु । त्यसक्रममा मैले सामाजिक, आर्थिक, नैतिक, सांस्कृतिक, देश विकासको सन्दर्भ सबै कोणमा सोच्ने तरीका वृद्ध पुस्तादेखि नयाँ पुस्तासम्म एउटै पाएँ । आजको नेपाली समाजको सबभन्दा संवेदनशील र खतरानाक पक्ष यही हो । हिजो स्कूलमा ‘क्रिटिकल’ र ‘क्रिएटिभ’ तरीकाले सोच्न नसिकाउँदाको परिणाम हो यो ।
कक्षामा सिकेको कुरा जीवनमा प्रयोग गर्ने बानीको विकास गर्नु आवश्यक रहेछ । नत्र भने सैद्धान्तिक ज्ञान चाहिं हुने तर व्यवहारमा आत्मसात् चाहिं गर्न नसकिने अवस्था आउँदोरहेछ । सैद्धान्तिक ज्ञान मात्र पर्याप्त रहेनछ, बुझ्ेको र सिकेको कुरा व्यवहारमा परीक्षण गरेर हेर्नु पनि आवश्यक रहेछ । त्यसैले स्कूलले त्यस्तो अवसरको सृष्टि गर्ने र त्यसमार्फत विद्यार्थीलाई आफूले पाएको ज्ञानलाई व्यवहारमा लैजाने संस्कृतिकै विकास गर्नु आवश्यक छ ।
सामाजिकीकरणबाट नेतृत्व
डा. विष्णु कार्की, शिक्षाविद्
शिक्षामा नेतृत्वको बारेमा जति अनुसन्धान भएको छ, अरू विधामा त्यति भएको छैन । तर विद्यार्थीको नेतृत्व क्षमता विकासको आँखाबाट चाहिं नेपालमा धेरै छलफल भएको छैन । स्कुलिङ्ग भन्ने बित्तिकै खास खालको संरचनामा काम गर्ने भन्ने नै बुझिन्छ । पाठ्यक्रम हुनु भनेको शिक्षाको एउटा घेरा या परिधि तयार पार्नु हो । शिक्षालाई यही सन्दर्भ र परिप्रेक्ष्यमा हेरिनुपर्छ ।
हरेक व्यक्तिको निजी र सार्वजनिक जीवनसित जोडिएको हुन्छ नेतृत्व । नेतृत्व विकासको कुरा गर्दा सबभन्दा पहिला स्कूलका कार्यहरू बुझनु आवश्यक छ । स्कूलले साधारण कुराहरू सिकाउँछ, विशेष रूपमा दक्ष बनाउने होइन । केही ज्ञान दिन्छ, केही जीवनोपयोगी सीप दिन्छ, केही अभिवृत्ति र केही मूल्यमान्यता दिन्छ । स्कूलको काम विशेषज्ञ उत्पादन गर्ने होइन ।
त्यसैले औपचारिक शिक्षाले त्यस्तो नेतृत्व निर्माण गर्ने सवालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदैन । नेतृत्व विकास मूलतः सामाजिकीकरणको प्रक्रियामा हुने रहेछ । स्कूल तहको औपचारिक शिक्षाले नेतृत्व विकासलाई उति सारो जोड दिएको पनि छैन । स्कूललाई समाज भन्दा अलग राखेर बुझने गल्ती पनि गर्नुहुँदैन । समाजको एउटा हिस्सा मात्र हो स्कूल । बालबालिकाको विकास र सामाजिकीकरणको प्रक्रियामा समाजको भूमिका स्कूलको भन्दा कम हुँदैन । समाज एकातिर र स्कूल अर्कोतिर हिंड्न सम्भव छैन । यी दुवैको पदचापमा तालमेल मिलाउनै पर्ने हुन्छ ।
‘म’ बाट ‘हामी’ भनौं
लेखनाथ न्यौपाने, पूर्व अध्यक्ष, अनेरास्ववियू (क्रान्तिकारी)
केहीअघि यस्तै एउटा कार्यक्रममा कसैले मलाई लक्षित गरेर खिसीट्युरी गरिरहेको थियो– “पढ्ने बेलामा लास्ट बेन्चमा बस्नेहरू अहिले ठूल्ठूला कुरा गर्छन् ।” अलि ठूलो जमघटमा गइयो भने ‘ए फलानो त कमाउन पो लागेछ’ भन्छन् । राजनीतिमा लागेका हामी जस्ता युवापुस्ताप्रति समाजले हेर्ने दृष्टिकोणको एक झ्लक हो यो । हिजो युद्धकालमा पो घर गइँदैनथ्यो, आजकाल घरपरिवारसितै बसिन्छ । दुबई, मलेशियाबाट आएका भाइहरूले टन्न पैसा खर्च गरेको देखेपछि घरभित्रैबाट गुनासो खेपिरहनुपर्छ । त्यसैले नयाँ पुस्ता राजनीतिमा आउने वा टिकिरहने सवाल पहिले भन्दा जटिल बनेर गएको छ । सार्वजनिक रूपले राजनीतिलाई प्रतिरक्षा गर्ने मनोबल पहिलेभन्दा झ्न् कमजोर हुँदै गएको छ । माओवादीबाटै राजनीति गरेर आएको ठूलो तप्का शान्ति प्रक्रियामा आइसकेपछि राजनीतिलाई उपयोग गरेर धन कमाउन लाग्यो । राजनीति कहिल्यै घाटा नखाने र पैसा कमाउने सबभन्दा उत्तम व्यवसाय बन्दै गएको ठानिन थालेको छ । नाफा आर्जनकै लागि नेता भएर बीसौं वर्ष पदमा बस्नेभन्दा विष्मयको कुरा अरू के हुनसक्छ ?
त्यसैले राजनीति भनेको पैसा कमाउने पेशा व्यवसाय होइन, यो त समाजसेवा हो, समाज रूपान्तरणको माध्यम मात्र हो भन्ने कुरा नयाँ पुस्तालाई प्रभावकारी तरीकाले सिकाउनु जरुरी छ । त्यसका लागि असल नेपाल र विश्वभरका असल नेताको जीवनी र योगदान विद्यार्थीहरूको लागि प्रेरणाको महत्वपूर्ण स्रोत हुनसक्छ ।
नेतृत्व विकासको सुरुआती स्थल अवश्य पनि स्कूल हो । तर हरेक मानिस उही क्षमताको हुन्न । फेरि हरेक मानिसको पृष्ठभूमिले उसलाई गाइड गरिरहेको हुन्छ । सामाजिक, पारिवारिक, आर्थिक संरचनाले पनि उत्तिकै प्रभावित गरिरहेको हुन्छ । ताली खाने सामन्ती संस्कृतिबाट आलोचना सुन्ने बनाउन ठूलो स्तरको सांस्कृतिक रूपान्तरणको खाँचो छ । त्यस्तै ‘म’ बाट ‘हामी’ भन्ने भावनाको विकास गराउन पनि उत्तिकै काम गर्नुपर्ने खाँचो रहेछ ।
विद्यार्थी वञ्चित छन्
दीपक सुवेदी, अध्यक्ष, उच्चमावि शिक्षक एसोसिएसन
केही दिनअघि पढेको थिएँ, ‘मेरो पछि नहिंड; म तिमीहरूको नेतृत्व नगर्न पनि सक्छु । मेरा अघि पनि नहिंड; म तिमीहरूको पछि नलाग्न पनि सक्छु ।’ सँगै हिंडाौं भनेर प्रेरित गर्ने यो भनाइले मन छोयो । स्वप्रेरित भएर अगाडि बढ्न खोज्ने र अरूको पनि विश्वास जितेर सँगै हिंडाउन सक्ने क्षमता नै मूल रूपमा नेतृत्व क्षमता हो ।
तर अहिले उच्च माध्यमिक तहसम्मको शिक्षामा विषयवस्तु पढाउने र घोकाउने मात्र काम भएको छ । तल्लो तहदेखि उच्च माविसम्म व्यक्तिको समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राखेर क्रियाकलापहरू गरिएका छैनन् । त्यसैले नेतृत्व विकासको न्यूनतम अवसर पाउनबाट विद्यार्थीहरू बञ्चित भइरहेका छन् ।
अवसर धेरै दिउँ
मेदिन लामिछाने, प्रअ, युलेन्स स्कूल, ललितपुर
जबसम्म तीनघण्टे लिखित परीक्षा सुधार आउँदैन; नेपालको शिक्षामा मौलिक सुधारको अपेक्षा गर्न सकिंदैन । पुरानो तरीकाको परीक्षाले व्यक्तिको समग्र विकासको पक्षलाई बेवास्ता गर्न प्रेरित गरेको अनुभव भएपछि हामीले कक्षा पाँचसम्म जाँच बन्द गरिदियौं । हामीले बच्चाको समग्र विकासको पक्षलाई ध्यान दिन थाल्यौं । विद्यार्थीलाई जेमा सहयोगको खाँचो छ, त्यसैमा सहयोग गर्दै जान थाल्यौं । प्रश्न गर्न उक्सायौं । सहकार्यमा काम गर्ने वातावरण दियौं । कक्षाको नियम र योजना उनीहरूकै सहभागितामा बनाउन थाल्यौं । कक्षाको कामको बाँडफाँड र जिम्मेवारी तोक्यौं । यस्ता क्रियाकलापले उनीहरूलाई कक्षा र स्कूलप्रति अपनत्वको भावना पैदा हुँदोरहेछ । जिम्मेवारी बोध गर्दा रहेछन् । र, सिक्नका लागि अग्रसर हुँदारहेछन् । आफैं केही गर्ने सोच पैदा हुँदोरहेछ ।
विद्यार्थीलाई आफ्नो भावना अभिव्यक्त गर्ने वातावरण महत्वपूर्ण कुरा रहेछ । हामी हरेक विद्यार्थीलाई उनीहरूले भन्न चाहेको कुरा निर्धक्क भन्ने वातावरण दिन्छौं । उनीहरूले व्यक्त गरेको भावनालाई ठीक या बेठीक भनेर हामी शिक्षकहरू भन्दैनौं । विद्यार्थीको निम्ति उसको अनुभव र अनुभूति जे छ, त्यही सत्य हो । जब हामी ठीक या बेठीकका नाममा आफ्नो विचार लाद्न थाल्छौं, विद्यार्थीको अभिव्यक्ति खुम्चन पुग्छ । उसले शिक्षकलाई राम्रो लाग्ने कुरा मात्र भन्छ, नराम्रा कुरा भन्दैन । जब विद्यार्थीको अभिव्यक्ति माथि नियन्त्रण शुरू हुन्छ, त्यससितै उसको मानसिक विकास र सिकाइ प्रक्रियामा ठूलो व्यवधान उत्पन्न हुन्छ ।
त्यसैले विभिन्न क्रियाकलापहरू आयोजना गर्न हाम्रो स्कूलमा २२ वटा समिति बनाइएको छ । एक दुइटा बाहेक बाँकी सबै समितिको नेतृत्व विद्यार्थीले नै गरेका छन् । कार्यक्रमको अवधारणा डिजाइन र सम्पन्न गर्ने तरीका सबै उनीहरू आफैं तय गर्छन् । यी समितिहरूको नेतृत्व वर्षभरी एउटै व्यक्तिले गर्ने होइन । हरेक नयाँ गतिविधिमा नयाँ नेतृत्व आउँछ । यसरी उनीहरूको सोच, नेतृत्व र सहभागितामा वर्षभरी थुप्रै कार्यक्रम हुन्छन्, जसले उनीहरूमा नेतृत्व विकासका निम्ति कुनै न कुनै सहयोगी भूमिका खेलिरहेको हुन्छ ।
हाम्रो स्कूलमा विद्यार्थीको नकारात्मक पक्ष भन्दा सकारात्मक कुरा खोज्ने र पहिल्याउने प्रयत्न गर्छौं । विद्यार्थीको राम्रा कुरा चाहिं जुनसुकै बेला पनि भन्ने गरौं तर उसका बारेमा नकारात्मक टिप्पणी गर्नुअघि चाहिं तीनपटक सोच्नुपर्ने रहेछ । बच्चालाई हामीले कहिल्यै पनि हीनताबोध गराउनुहुँदैन । त्यसैले हाम्रा शिक्षकहरूले अभिभावकलाई कहिल्यै पनि बच्चाको नकारात्मक पक्षको रिपोर्टिङ गर्दैनन्, सकारात्मक कुराको मात्र जानकारी दिन्छन् । बच्चाको सबल पक्षको जानकारी दिंदा त्यसले अन्ततः बच्चालाई म राम्रो छु झ्न् राम्रो हुन्छु, म प्रगति गर्न सक्छु भन्ने भावनाको विकास हुँदोरहेछ । यसरी ऊभित्रको नकारात्मक कुरा स्वतः घटेर जाँदोरहेछ । यी गुणहरू नेतृत्व क्षमतासित स्वाभाविक रूपमै सम्बन्धित छन् ।
केही नभएको होइन
डा. जुगल भुर्तेल, विश्लेषक
असल नेतृत्व भन्नासाथ धेरैको दिमागमा महात्मा गान्धी, नेल्सन मण्डेला वा अब्राहम लिंकनको नाम आउँछ । अवश्य पनि उनीहरूबाट सिक्ने कुरा धेरै छन् । तर उनीहरू जस्तो हुने कुरा संभव छैन । नेपालमा तत्काल त्यस्तो नेतृत्वको जन्म हुने अवस्था पनि देखिंदैन । त्यसैले हामीले यसमा धेरै सपना देख्न छाडेर यथार्थतिर फर्कनु उचित हुन्छ ।
शिक्षा कस्तो हुने भन्ने कुरा राजनीतिले निर्धारण गर्ने भएकाले हाम्रो बहसमा राजनीतिक नेतृत्वको कुरा अलि बढी फोकस भएको हो । संविधानसभा संविधान बनाउन नसकी विघटित हुन पुग्यो । यो दुर्घटना हो । हाम्रो आशा र अपेक्षा अनुसार नेतृृत्वले काम गर्न नसकेको कुरा सत्य हो । तर, यसको अर्थ हाम्रो देशको राजनीतिक नेतृत्व पूर्ण रूपमा असफल भइसक्यो भन्ने अर्थ लगाउनुहुँदैन । नेपालमा जहानियाँ राणाशासनबाट लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउने यिनै दल र नेताहरू हुन् । नेपाली समाजको चेतनाको स्तरमा जुन परिवर्तन आएको छ, दल र नेता कार्यकर्ताको त्याग, समर्पण र नेतृत्वबाटै आएको हो । हो; हामीले खोजेजस्तो आदर्श नेता कोही हुन सकेन होला, तर त्यो बेग्लै कुरा हो । खासमा क्रान्ति वा परिवर्तनपछि त्यसलाई कसरी व्यवस्थापन गर्दै देशलाई नेतृत्व दिने भन्नेमा तयारी नपुगेर आजको नेतृत्व सफल नदेखिएको हो । अतः हाम्रा विद्यार्थीहरूलाई यो आँखाबाट पनि सोच्न प्रेरित गर्नुपर्छ ।
शिक्षकहरूले हाम्रा कुन नेताका सिक्न लायकका के के गुणहरू छन्, कमजोरीहरू के के छन्, विद्यार्थीहरूलाई त्यो पनि पहिल्याउन लगाउनुपर्छ । यो एउटा राम्रै ‘प्रोजेक्ट वर्क’ बन्न सक्छ । अनि शिक्षक साथीहरूले विद्यार्थीलाई ती नेताका सकारात्मक कुरा अनुसरण गर्न र उनीहरूका कमी–कमजोरीबाट शिक्षा लिंदै आफ्नो जीवनलाई अगाडि बढाउन प्रेरित गर्नुपर्छ । वास्तविक जीवन र समाजबाट सिक्ने र नेतृत्व विकास गराउने सन्दर्भमा यो तरीका उपयोगी हुनसक्छ ।
एउटै व्यक्तिमा असल नेतृत्वका सबै गुण र विशेषता निर्माण गर्न शायद संभव छैन । गान्धी, मण्डेला र लिंकन त अपवाद हुन् । अब दुनियाँ सामूहिक नेतृत्वतिर गइरहेको छ । समस्या समाधान गर्ने पनि सामूहिक चिन्तन, सोच र प्रयत्नबाट हो । नेतृत्व क्षमताको विकास निरन्तर सिकाइसित जोडिएको छ । अब नेतृत्व त्यसैले लिने हो, जो पछिल्लो सूचना, ज्ञान र प्रविधिबाट अद्यावधिक छ, जो निरन्तर सिक्ने क्षमता राख्छ, जसले अरूलाई आफ्नो भिजन, सोच र प्रोगामले प्रभावित गर्न सक्छ । राजनीतिमा मात्र होइन, बिजनेस, शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा नेतृत्व गर्ने पनि यस्तै विशेषता र क्षमता भएका मानिसहरूले नै नेतृत्व गर्ने हो ।
जति राम्रो तयारी हुनसक्यो, सफल हुने संभावना उति नै बढी हुन्छ । हामीले आज जति राम्रो तयारी गर्न सक्छौं, भोलि उति नै राम्रो नेतृत्व जन्मन सक्छ । नेतृत्व गर्ने भनेको परिवर्तनमार्फत सामूहिक स्वार्थका लागि काम गर्ने हो । माध्यमिक तहदेखि विश्वविद्यालय तहसम्म विद्यार्थीहरूलाई परिवर्तन के हो, कसरी ल्याउन सकिन्छ, परिवर्तनको सफल नेतृत्व कसरी गर्न सकिन्छ भन्ने कुरा बोध गराउन सकियो भने २० वर्ष समाजको हर क्षेत्रमा अहिले भन्दा कम्पिटेन्ट र क्यापेवल नेता जन्मन्छन् । त्यसैले अब माध्यमिक तहदेखि विश्वविद्यालयको तहसम्म नेतृत्व विकासका विशेष कार्यक्रमहरू नै सञ्चालन गर्नुपर्दछ ।
चुकिरहेका छौं
जनार्दन सिटौला, पूर्व प्रअ, झपा
जग बसाउने काम स्कूलकै हो । हाम्रो देशका नेता गतिला भएनन्, असल भएनन् भने त्यसका लागि मुख्य रूपमा जिम्मेवार तिनलाई पढाउने शिक्षकहरू नै हुन् । शिक्षक हुनुको नाताले हामीले पनि त्यो नैतिक जिम्मेवारी लिनुपर्दछ । हामीले विद्यार्थीहरूलाई निष्ठावान हुन, इमानदार हुन र उत्तरदायी बन्न सिकाउन सकेनौं । बरु गुरुकुल शिक्षा यी चरित्रहरू दिन सफल थियो । यो शिक्षाले सकेन । हामी असफल भएकै हो । आजका बहुसंख्यक हामी शिक्षकहरू न विद्यार्थीको भविष्यप्रति संवेदनशील छौं, न त उत्तरदायी नै छौं । हामीले हाम्रो उत्तरदायित्व बिर्संदा यस्तो अवस्था आएको हो ।
शिक्षक दक्ष हुनुपर्यो
माधवप्रसाद अधिकारी, पूर्व अध्यक्ष, नेपाल शिक्षक युनियन
नेतृत्व विकासमा विद्यालयको भूमिका अहं हुन्छ । तर हामी आफ्नो प्रतिरक्षा समेत गर्न नसक्ने अवस्थामा आइपुगेका छौं । यो ज्यादै दुखद् परिस्थिति हो । हामी शिक्षकहरू आफ्नो क्षमता विकास गराउनभन्दा सेवासुविधाको पछि मात्र लागेछौं । स्वतः स्थायीको नाराको पछि लागेछौं । परिणाम आयो, हामीले त आफ्नै घरलाई नै पो ध्वंस गरेछौं । सार्वजनिक स्कूल झन् झन् कमजोर हुँदै गएछन्, बन्द पनि हुन थालेछन् । खुला प्रतिस्पर्धाबाट योग्य र उत्प्रेरित व्यक्तिलाई शिक्षक बनाउने पद्धति नबसाल्दाको भयानक परिणाम आज राष्ट्रले व्यहोर्न थालेको छ ।
यो गल्तीलाई प्रायश्चित गर्न भनेर म नै शिक्षक युनियनको नेतृत्वमा हुँदा शिक्षण लाइसेन्सिङ्ग र नक्कली प्रमाणपत्रधारी शिक्षकबारे छानबिन गर्न माग गरियो । लाइसेन्स लागू पनि भयो । तर त्यो कालान्तरमा नाम मात्रको भयो । नक्कलीको छानबिन हुँदा केही शिक्षकहरू स्वयं राजीनामा गरेर आफैं बाहिरिए । तर राज्यले तिनलाई ठेगान लगाउन सकेन । शिक्षामा राजनीति नै भएन । धाँधली मात्र भयो । जालझेल र षड्यन्त्र मात्र भयो । पार्टीहरूले यस्तै हर्कत मात्र गरिरहे । यस्ता दुष्कर्महरूले शिक्षाको उत्थान कसरी हुनसक्थ्यो र ?
अब समाजमा ठूलो जागरणको खाँचो छ । त्यस्तो जागरण जसले भ्रष्ट र अनैतिकहरूलाई तिरस्कार गरोस्, असल र सदाचारीहरूलाई स्याबासी देओस् । साथै शिक्षक छनोट पद्धति यस्तो बनाउनु आवश्यक छ, जसले शिक्षक बन्न आउने व्यक्तिको ज्ञान, सीप, अभिवृत्ति र उसको लगन तथा प्रतिबद्धता सबै कोणबाट विश्लेषण गरेर मात्र छनोट गर्नुपर्छ । शिक्षालयमा जालझेल र तिकडम निषेध गरिनुपर्यो । बाँकी कुरा यसैले सङ्ल्याउँछ ।
बालकेन्द्रित भए पुग्छ
प्रकाशसिंह अधिकारी, अध्यक्ष, सामुदायिक विकास तथा प्रवर्तन केन्द्र
शिक्षा ज्ञानसित र ज्ञान शक्ति र सशक्तिकरणसित सम्बन्धित छ । शक्ति र सशक्तिकरण दुवै राजनीतिसित सम्बन्धित छ भने राजनीतिसित नेतृत्वको कुरा जोडिनु पनि स्वाभाविक छ । तर हाम्रो शिक्षा मूलतः नलेज डिपोजिट गर्ने बैंकिङ्ग अवधारणामा आधारित भएकाले यसले मानिसलाई सही तरीकाले ज्ञान दिंदैन । ज्ञान नै सही तरीकाबाट हासिल नभएपछि सही किसिमबाट नेतृत्व विकास नहुनु त स्वाभाविकै भइगयो । अघि चर्चा भएका सहभागितामूलक सिकाइ प्रक्रिया र प्रोजेक्ट वर्कहरूले अवश्य पनि नेतृत्व विकासका लागि केही न केही सहयोगी भूमिका खेल्छन् । यदि अनौपचारिक शिक्षाका तौरतरीकाहरूलाई औपचारिक शिक्षामा भित्रयाउन सक्ने हो भने नेतृत्व विकासका लागि धेरै ‘इलिमेन्ट्स’ हरू त्यसबाट प्राप्त हुन्छ । समग्रमा हाम्रो औपचारिक शिक्षा अझै पनि बालकेन्द्रित नभई शिक्षक केन्द्रित भएकाले सानै उमेरदेखि विद्यार्थीहरूले नेतृत्व विकासका लागि उचित अवसरहरू नपाएका हुन् । बाल केन्द्रित शिक्षाको अवधारणा र यसको सफल कार्यान्वयनको लागि सार्थक अभियान सञ्चालन गर्नुको विकल्प छैन ।
प्रस्तुतिः सुदर्शन घिमिरे
तस्वीरहरूः उषा तितिक्षु
शिक्षक मासिक, २०६९ साउन अंकमा प्रकाशित ।



