जहाँ–तहीं ईश्वर छ, जहाँ–तहीं विज्ञान पनि
जाहिदे शराब पिने दे, मस्जिदमे बैठकर
या वह जगह बता दे जहाँ खुदा न हो ।
‘ए पुजारी ! या त मलाई मस्जिदमै बसेर रक्सी पिउन देऊ नभए त्यस्तो ठाउँ देखाइदेऊ जहाँ ईश्वर छैन ।’ अर्थात् ईश्वर नभएको ठाउँ कहीं छैन । ईश्वर जहाँ–तहीं छ ।
ईश्वर जस्तै विज्ञान पनि जहाँ–तहीं छ । विज्ञान कहाँ छैन ? हाम्रो दिनचर्यामा उठ्दा–बस्दा, खाँदा–पिउँदा, हिंड्दा–डुल्दा, खेल्दा–कुद्दा, काम गर्दा–मिहिनेत गर्दा, कालिगडी गर्दा वा मजदूरी गर्दा विज्ञानका प्राकृतिक सिद्धान्त अन्तर्गत हामी चलिरहेका हुन्छौं । विज्ञानका सिद्धान्त, तिनका प्रयोगबारे हामी स्कूल–पाठशालामा पठनपाठन गर्छौं,गराउँछौं । व्यवस्थित पाठ्यक्रमलाई पछ्याउँछौं । विज्ञान पाठ्यक्रमको सिलसिलेवार पाठभित्र भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, अन्तरिक्ष विज्ञान एवं भू–विज्ञान आदिबारे शिक्षा प्रदान गर्द छौं । शिक्षा प्रदान गर्ने क्रममा विज्ञान प्रयोगशालामा विभिन्न प्रयोगहरू (experiments) पनि गर्छौं रगराउँछौं । कतिपय वैज्ञानिक प्रयोग हाम्रै घर व्यवहारमा, परिवारमा वा समाज मा पनि भई नै रहेका हुन्छन् ।
विगतका दुई (जेठ र असार) अंकमा यन्त्र पाठ अन्तर्गत पर्ने उत्तोलकका सिद्धान्तलाई घरपरिवारभित्र पहिल्याउने चेष्टा गर्यौ । यस अंकमा ‘निरन्तरगामी उत्तोलक’ (continuous lever) अर्थात् निरन्तर चालमा चलाइरहन मिल्ने उत्तोलक यन्त्रबारे चर्चा गर्छौं । विज्ञान कक्षामा हामी त्यसलाई पाङ्ग्रा र बिंड (wheel and axle) भन्दछौं । वस्तुतः यो उत्तोलकमा एउटा पाङ्ग्रा हुन्छ र त्यसको बीचमा बिंड जोडिएको हुन्छ । ठूलो घेरा अर्थात् ठूलो व्यास भएको चक्रभित्र सानो घेरा वा सानो व्यास भएको अर्को चक्र जोडिएको अवस्थालाई पाङ्ग्रा र बिंडको यन्त्र भनिन्छ । यस अन्तर्गत पर्ने थुप्रै औजार र उपकरण हामी घरव्यवहारमा प्रयोग गर्द छौं । हाम्रा परम्परागत प्रविधिले तिनलाई मिहिनसँग प्रयोगमा ल्याएका धेरै उदाहरण छन् । तीमध्ये मही मथ्ने प्रविधि पनि एउटा उदाहरण बन्न सक्छ ।
गुरुपूर्णिमाको दिन । बिहानै बालबालिकाहरू फूल र फलफूल लिएर विद्यालय पुगिसकेका हुन्छन् । सरस्वती बन्दना तथा गुरु बन्दनाको काम हुन्छ । सबैमा टिकोटालो हुन्छ । त्यो दिन विद्यालयमा पढाइ छैन । गुरु र चेला–चेली मिलेर कार्यक्रम बन्छ– घरपरिवारमा विज्ञान शिक्षा ।
गर्मीको दिन, महीको प्यास बोकेर आफ्ना विद्यार्थीको साथमा विज्ञान शिक्षक मही पारिरहेको घरमा पाहुना लाग्न पुग्छन् । मही मथ्ने मदानीको घुर्र घुर्र आवाजले आँगनबाटै पाहुनाको स्वागत गर्छ । घरभित्र घरबेटी भाउजू मही मथ्दै हुनुहुन्छ । उहाँ दुई हातले डोरीका दुईछेउलाई समातेर पालैपालो (एकपटक दाहिने हातले अर्को पटक देब्रे हातले, फेरि दाहिने हातले) डोरीलाई आफूतिर खिच्नुहुन्छ । मही मथ्ने काठ वा बाँसको औजारलाई मदानी भनिन्छ । मदानी घुमाउने डोरीलाई गाउँघरतिर नेती भनिन्छ । हातबाट नेती नफुस्कोस् भनेर डोरीको छेउमा काठको वा बाँसको टुक्रा बाँधिएको हुन्छ । त्यसलाई कोइला भनिन्छ । भाउजूका दुवै हत्केलाले एक–एक कोइला पक्डिएका छन् । मदानीको बिंडमा डोरी बेरिएको छ । त्यही डोरी दायाँ–बायाँ तान्दा मदानीको बिंड घुम्छ । बिंड घुमेपछि ठेकीभित्र मदानीको पोरा घुम्छ । मदानीका पोरा काठका स–साना बाक्ला पाता वा टुक्राबाट बनेका हुन्छन् । ती पाता चक्रको आकारमा जडिएका हुन्छन् । एउटा पातोले अर्को पातोलाई ‘क्रस’ (cross) गरेको हुन्छ । यसो गर्दा त्यहाँ चार वटा पाता पंखा जस्तै घुम्छन् । भाउजूले मदानीको बिंडमा आफ्नो बल लगाउनुहुन्छ, त्यो ‘इफोर्ट’ (effort) भयो । त्यस बल (effort) ले काम गर्ने ठाउँ अथवा भार बहन हुने ठाउँ मदानीको पंखा भयो । मदानीको पोरा या पंखा घुम्दा त्यसले ठेकी भित्रको दहीलाई घोल्ने र फिट्ने काम गर्छ । मदानी बेस्कन र निरन्तर घुमाउँदा पैदा हुने घर्षण शक्ति (friction) ले दहीमा भएको नौनीलाई छुट्याइदिन्छ । मथ्दै जाँदा दहीबाट मही र नौनी अलग्गिन पुग्छन् । नौनीलाई हातले सोहोरेर अलग्गै भाँडोमा सारेपछि ठेकीमा मही मात्र बाँकी रहन्छ ।
मदानीको पोरा या पंखा घुम्दा त्यसले ठेकीभित्रको दहीलाई घोल्ने र फिट्ने काम गर्छ । मदानी बेस्कन र निरन्तर घुमाउँदा पैदा हुने घर्षण शक्तिले दहीमा भएको नौनीलाई छुट्याइदिन्छ । मथ्दै जाँदा दहीबाट मही र नौनी अलग्गिन पुग्छन् । नौनीलाई हातले सोहोरेर अलग्गै भाँडोमा सारेपछि ठेकीमा मही मात्र बाँकी रहन्छ ।
मही मथ्दा धेरै बल लाग्छ किनभने सानो व्यास भएको बिंडमा लगाएको शक्तिले ठूलो व्यास भएको पंखा (मदानीका पोरा) घुमाउनुपर्ने हुन्छ । ठूलो व्यास भएको पाङ्ग्रामा बल लगाउने हो भने सानो व्यासको बिंडलाई अधिक शक्ति प्राप्त हुन्छ । त्यसको उदाहरण ड्राइभरले मोटर हाँक्दा देखिन्छ । ड्राइभरले स्टेयरिङको ठूलो पाङ्ग्रा (wheel) घुमाएको हुन्छ । त्यसले बीचमा जडिएको लामो डण्डा (axle) लाई बलपूर्वक घुमाउने काम गर्द छ । ड्राइभरले मोटरको स्टेयरिङ घुमाउने कामको ठीक विपरीतमा मही मथ्ने काम गर्नु पर्ने हुन्छ । तर यी दुवै प्रविधि पाङ्ग्रा र बिंड (wheel and axle) को सिद्धान्त अन्तर्गत नै पर्छन् ।
पाङ्ग्रा र बिंडयुक्त यन्त्रहरू धेरै काममा प्रयोग हुन्छन् । कहिले पाङ्ग्राले बिंड घुमाउनुपर्ने हुन्छ भने कहिले बिंडले पाङ्ग्रा । मही पार्दा बिंडले पाङ्ग्रा घुमाउनुपर्ने हुन्छ । यसका लागि ठेकीलाई स्थिर बनाउनुपर्ने हुन्छ । त्यस्तै मदानीलाई पनि एकैठाउँमा निश्चित गरिराख्नुपर्ने हुनाले मदानीको बिंडलाई घुर्रोको प्वालभित्र छिराएर दायाँबायाँ हुन दिंदैन । मही मथ्ने कामसँग मिल्दोजुल्दो काम कामी दाइले खुकुरी साँध ल गाउँदा देख्न सकिन्छ । कामी दाइको हातले पनि छालाको पेटीलाई आफूतिर खिचेर भाउजूले मदानी घुमाएझै बिंडलाई घुमाउने काम गर्छ । त्यसमा बल ल गाउँछ । त्यो बलले गर्दा कुरिन ढुङ्गाको थाल जस्तो चाक्लो पाङ्ग्रा घुम्छ । एक भाइले त्यो ढुङ्गे पाङ्ग्रा घुमाउने काम गर्छ भने अर्को भाइले घुमेको पाङ्ग्राको छेउमा खुकुरीको धार लगाउने काम गर्छ । दशैं आएपछि खुकुरीमा साँध ल गाउँदै गरेको दृश्य धेरै देखिन्छ । त्यसबेला पनि पाङ्ग्रा र बिंडको उत्तोलक यन्त्रबारे अध्ययन गर्न सकिन्छ । खुकुरीको फलाम र कुरिन ढुङ्गाको घुमाइसँग घर्षण हुँदा आगोका झल्किाहरू निस्केको देख्न सकिन्छ ।
पाङ्ग्रा र बिंडको उत्तोलक सिद्धान्तलाई उपयोगी प्रविधिमा रूपान्तरण गर्ने काम पानी घट्टमा पनि भएको पाइन्छ । नेपालको मध्यपहाडी क्षेत्रमा पानी घट्ट ज्यादै लोकप्रिय प्रविधि हो । वर्तमान मा पानी घट्टलाई सुधारेर अन्न पिसानीको काम मात्र हैन, त्यसबाट धान कुट्ने वा चिउरा कुट्ने कलको काम पनि लिन थालिएको छ । त्यसका अतिरिक्त डाइनामो जडेर बिजुली पनि बाल्न सकिन्छ । यी विभिन्न प्रविधिको पछाडि पाङ्ग्रा र बिंड (wheel and axle) कै विज्ञान भेटिन्छ । हाम्रो परम्परागत घट्टलाई हेर्यौं भने त्यसमा पनि मदानी हुन्छ । मदानीको पङ्खाले बिंड घुमाउँछ । पानी घट्टमा भने त्यो घुमाउने बल पानीबाट प्राप्त हुन्छ । कुलोबाट ल्याएको पानीलाई काठ या सिमेन्टको डुँड या पाइपबाट ठाडै तल झारिन्छ । झरेकाे पानीको वेगले काठको पंखालाई घुमाउँछ । मही मथ्दा मदानीको पंखा एकपल्ट दायाँ र अर्कोपल्ट बायाँ घुम्छ तर पानीघट्टमा यसरी दोहोरो चालमा पंखा घुम्दैन ।
पानीको वेग अनुसार एकैतिर एकनासले पंखा घुम्छ । त्यो पंखाले आफ्नो बिंडलाई घुमाउँछ । त्यो घुमेको बिंडले घट्टमा जोडिएको जाँतोको भाले फब्ल्याँटोलाई घुमाउने काम गर्द छ । त्यो फब्ल्याँटो अर्को पाङ्ग्राको रूपमा स्थापित हुन्छ । त्यो फब्ल्याँटोले जाँतोको काम गर्छ तर त्यसमा मानिसको बल लाग्दैन । घरमा घुम्ने जाँतोमा पाङ्ग्राको रूपमा फब्ल्याँटो हुन्छ तर त्यसको बीचमा बिंड जोडिएको हुँदैन । बीचको मानीले फब्ल्याँटोलाई आड दिने काम मात्र गर्छ । अरू बल पुर्याउँदैन । त्यस अर्थमा मानी भनेको अडेसो (fulcrum) मात्र भयो, पाङ्ग्रालाई बल पुर्याउन सक्ने बिंड भएन । पानी घट्ट र जाँतोले अन्न पिस्ने काम गर्छन् । यी दुईको काम एउटै भए पनि विज्ञान चाहिं फरक हुन्छ ।
पानी घट्ट पहाडी धरातलमा मात्र सम्भव हुन्छ किनभने त्यसलाई बग्ने पानी चाहिन्छ । हाम्रो देशमा असंख्य खोलानाला र नदीहरू छन् । तिनबाट कुलो काटेर ल्याई घट्ट चलाउने काम हुन्छ । ग्रामीण प्रविधि केन्द्रका अनुसार नेपालमा २५,००० देखि ३०,००० पानी घट्टहरू सञ्चालनमा छन् । प्राविधिक सुधार गरेर ७००० भन्दा बढी घट्टले थप फाइदा उठाउन थालेका छन् । विद्यार्थीलाई स्थलगत विज्ञान शिक्षा दिन विभिन्न घट्टमा घुमाउन लैजान सकिन्छ । घुमेको घट्टले कस्तो कस्तो काम गर्द छ र तिनमा निहित वैज्ञानिक सिद्धान्तहरू के के हुन् भन्नेतिर कौतुहलका साथ ध्यान पुर्यायौं भने भौतिक विज्ञानका पाठहरू सजिलै ग्रहण गर्न/ गराउन सकिन्छ । विद्यार्थीको जिज्ञासा र उत्कण्ठा अझ उकासिन्छ । मानिसको उत्कण्ठा र जिज्ञासाभित्रै विज्ञानको जड अन्तरनिहित हुन्छ ।



