जिज्ञासा जवाफ
खोइ त स्थानीय भत्ता ?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको २०६७/०८/०५ र शिक्षा मन्त्रालयको २०६७/०८/२२ गतेको पत्र अनुसार ‘ख’ वर्गको स्थानीय भत्ता पाउने प्रयोजनको लागि बर्गीकरण गरिएका जिल्ला एवं गाविसको सूचीमा बाग्लुङका निसी र बोबाङ गाविस पनि छन् । तर, यस क्षेत्रका शिक्षकले हालसम्म स्थानीय भत्ता पाएका छैनन् । स्थानीय भत्ता पाउने सूचीमा रहेर पनि हामीलाई किन त्यो अवसरबाट बञ्चित गरिएको हो ?
झ्गबहादुर क्षेत्री
तिलाचन निमावि, निसी–९, बाग्लुङ
शिक्षा विभागबाट परिपत्र र निकासा नआएको कारणले आ.व. २०६७/६८ मा स्थानीय भत्ता दिन सकिएन । २०६८ फागुनमा एक जना शिक्षकमार्पmत विभागको परिपत्रको प्रतिलिपि प्राप्त भयो । त्यसैका आधारमा जिशिकाको मौज्दात स्रोतबाट निसी र बोबाङ गाविसमा पर्ने सबै विद्यालयका दरबन्दीका शिक्षकका निम्ति स्थानीय भत्ता पठाइएको छ । यदि कसैले त्यो सुविधाबाट बञ्चित हुनुपरेको भए जिल्ला शिक्षा कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।
पदमपाणि शर्मा
लेखा अधिकृत, जिशिका, बाग्लुङ
बढुवा सम्बन्धी तीन प्रश्न
१. कार्यसम्पादन तथा अनुभवको मूल्यांकनद्वारा बढुवा भएको प्रअ तथा शिक्षकलाई कार्यसम्पादनको निमित्त सुपरिवेक्षकद्वारा अंक दिनुपर्ने भएमा शिक्षक सेवा आयोग नियमावली, २०५७ को बढुवा सम्बन्धी व्यवस्था बमोजिम बढुवा भएका प्रअ वा शिक्षकले सो अंक दिन मिल्छ कि मिल्दैन ?
२. कार्यसम्पादन तथा अनुभवको मूल्यांकनद्वारा बढुवा भएका प्रअ तथा शिक्षकले प्रथम श्रेणीको विज्ञापनमा उम्मेदवार हुन पाउँछ कि पाउँदैनन् ?
३. लोक सेवा आयोगको परीक्षामा निजामती सेवामा प्रवेश गरेका कार्यरत कर्मचारीलाई उमेर हद नलाग्नु तथा शिक्षण सेवाका कार्यरत शिक्षकलाई उमेर हद लगाई परीक्षाबाट वञ्चित गरिनुको कारण के हो ?
दिपेन्द्रप्रसाद श्रीवास्तव
प्रअ, मावि ब्रहम्पुरी, रौतहट
१. एउटै तह वा श्रेणीको शिक्षकको कार्यसम्पादन मूल्यांकन सोही तह र श्रेणीको प्रअबाट गर्न मिल्दैन । एक तह वा श्रेणी माथिको प्रअले मात्रै मूल्यांकन गर्न पाउँछ । प्रअ सरह समान तह वा श्रेणीको शिक्षकको मूल्यांकन विद्यालय निरीक्षकले गर्नु पर्ने व्यवस्था छ ।
२. कार्यसम्पादन तथा अनुभवको मूल्यांकनद्वारा द्वितीय श्रेणीमा बढुवा भएका शिक्षक प्रथम श्रेणीमा उम्मेदवार हुन पाउँछन् ।
३. स्थायी दरबन्दीमा कार्यरत जो सुकै शिक्षकले माथिल्लो श्रेणी वा तहमा परीक्षा दिन पाउँछन् । त्यसमा उमेरको हद तोकिएको छैन ।
उदयराज सोती
अध्यक्ष , शिक्षक सेवा आयोग
बीबीएस पढ्न के गर्नु पर्ला ?
मैले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा बी.एड. गरेको छु । अब मैले त्रिविबाट बीबीएस पढ्न के गर्नु पर्छ ? अनिवार्य विषय नपढी ऐच्छिक विषयहरू मात्र पढ्न पाइन्छ ?
खड्गबहादुर कुँवर
महादेव प्रावि, चौबास–३, काभ्रे
बीबीएस पढ्नका निम्ति तपाइँले व्यवस्थापन विषयमा प्रमाणपत्र तह वा कक्षा ११–१२ उत्तीर्ण गरेको हुनुपर्छ । यदि तपाइँले प्रमाणपत्र तहमा १०० पूर्णांकको अनिवार्य अंग्रेजीसँगै १०० पूर्णांककै अर्थशास्त्र वा गणित विषय पढ्नुभएको छ भने पनि बीबीएसमा भर्ना पाउनुहुन्छ । बीबीएसमा मानविकी वा शिक्षाशास्त्र संकायमा जस्तो ऐच्छिक विषय हुँदैनन् । सबै विषय अनिवार्य छन् ।
सुशीला चालिसे
उप–प्रशासक, व्यवस्थापन संकाय, त्रिवि
दरबन्दी मिलान कसरी ?
विद्यार्थी संख्या कम भई कुनै विद्यालय अर्को विद्यालयमागाभिएको अवस्थामागाभिने पुरानो विद्यालयका शिक्षकको दरबन्दी मिलान कसरी गरिन्छ ?
पर्वत सञ्जेल
दीपेन्द्र स्मृति प्रावि, धरान–१७, सुनसरी
विद्यालयगाभिएपछि विद्यार्थीको संख्याको अनुपातमा बढी भएका शिक्षक दरबन्दी जिल्ला शिक्षा समितिको पुल(जगेडा)मा राखिन्छन् । त्यस्ता दरबन्दी आवश्यक परेका अन्य विद्यालयमा क्रमशः पदस्थापन गर्दै लगिन्छ ।
वीरबहादुर खड्का
जिल्ला शिक्षा अधिकारी , सुनसरी
आन्तरिकको विज्ञापन कहिले ?
शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक(२५ प्रतिशत) बढुवाको विज्ञापन कहिले गर्दैछ ?
रामचन्द्र सापकोटा
सरस्वती उमावि, कुडारी, जुम्ला
आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत) बढुवाको लागि २०६९ असार मसान्तभित्र विज्ञापन गर्ने तयारी शिक्षक सेवा आयोगले गरेको थियो । तर, निर्वाचन आयोगद्वारा जारी गरिएको ‘संविधान सभा निर्वाचन आचारसंहिता’का कारण विज्ञापन गर्न सकिएको छैन । आचारसंहिताको अवधि सकिएपछि विज्ञापन प्रकाशित गरिनेछ ।
नारायणप्रसाद भट्टराई
उपसचिव, शिक्षक सेवा आयोग
बीचमा बिदा परे के हुन्छ ?
मैले विरामी भएको कारणले वैशाख २१ देखि २७ गतेसम्म विदा लिएको थिएँ । त्यस बिचमा २३ गते शनिवार र २४ गते बुद्ध जयन्तीको सार्वजनिक बिदा परेको थियो । अब मैले लिएको विदा अवधि(७ दिन) मध्ये सार्वजनिक विदा परेको दुई दिन कट्टा हुन्छ कि हुँदैन ?
रामहरि न्यौपाने
शालिग्राम उमावि, सेतीवेनी, पर्वत
शिक्षा ऐन तथा नियमावलीमा यसबारे स्पष्ट व्यवस्था रहेको देखिँदैन । तथापि, तपाइँले जस्तै सार्वजनिक विदाको अघि र पछि का दिनमा विदा लिएमा बीचको अवधि पनि तपाइँले लिएको विदामैगनिन्छ, कट्टा हुँदैन ।
जनार्दन नेपाल
सहसचिव, शिक्षा मन्त्रालय
‘आया’लाई किन पक्षपात ?
सरकारले हालै माध्यमिक तह कक्षा ९–१२ र आधारभूत तह कक्षा १–८ का लागि विद्यालय कर्मचारी र कार्यालय सहयोगीका निम्ति तलब निर्धारण गरेको पाइयो । तर, विशेष शिक्षा अन्तर्गतका विद्यालय सहयोगी ‘आया’को सम्बन्धमा चाहिँ कुनै निर्णय गरेको पाइएन । यस्तो पक्षपात किन ?
पूण्यप्रसाद जोशी
स्रोत शिक्षक, कुलमष्टजन उमावि, भातेखोला–६, बझङ
नियमित प्रकृतिका विद्यालयका कर्मचारी र सहयोगीका निम्ति मात्रै मासिक तलब रकम निर्धारण गरिएको हो । विशेष शिक्षाका कार्यक्रम अन्तर्गत कार्यरत ‘आया’हरूको सेवा/सुविधालाई छुट्टै निर्देशिकामा व्यवस्थित गरिएको छ । त्यसैले कर्मचारी र सहयोगीको तलब निर्धारणमा ‘आया’लाई नसमेटिएको हो ।
टेकनारायण पाण्डे
निर्देशक, शिक्षा विभाग
अस्थायीकोगणना हुँदैन
२०४१/१०/०८ मा अस्थायी नियुक्ति पाई २०४८/०६/०१ मा स्थायी भएको हुँ । अब मैले शिक्षा नियमावलीको नियम ११४ अनुरुप अस्थायी सेवा अवधिको नोकरीगणना गर्न पाउँछु कि पाउँदिन ?
टेकराज भट्ट
शारदा रामावि, बाईसी विचवा–४, कञ्चनपुर
शिक्षा नियमावलीको नियम ११४ मा छुटेको स्थायी सेवा अवधिगणना गर्ने प्रयोजनको निम्ति नोकरी अवधिगणना सम्बन्धी व्यवस्था राखिएको हो । त्यस अनुसार अस्थायी सेवा अवधिगणना गर्न पाइँदैन ।
मधुसूदन अधिकारी
उपसचिव, विद्यालय शिक्षक किताबखाना
बिदाको दिन के गर्ने ?
सामुदायिक विद्यालयको शिक्षकले सार्वजनिक विदाको दिन कार्यालय सम्बन्धी कामले विद्यालय खोल्नुपरेमा उक्त दिन हाजिर गर्न मिल्छ कि मिल्दैन ? कुनै शिक्षक विद्यालय सञ्चालन हुनुभन्दा पहिले अथवा विदा भइसकेपछि विद्यालयमा नै रहन्छ भने उक्त शिक्षकले जुन समयमा विद्यालय आएको वा छोडेको हो सोही समय सोही समय जनाएर हाजिर गर्न मिल्छ ?
डम्बरबहादुर रावल
धनवन्तरी मावि, तोली, अछाम
सार्वजनिक विदाको दिन विद्यालय खोलेको अवस्थामा हाजिर गर्न मिल्दैन । सार्वजनिक विदाको दिन विद्यालय खोल्नु परेमा त्यसको कारणसहित छुट्टै अभिलेख बनाएर राख्न सकिन्छ । यस्तै, विद्यालय समयभन्दा छिट्टै वा विद्यालय समयभन्दा बढी विद्यालयमा रहेको अवस्थामा पनि विद्यालयको नियमित समय(जस्तै; १०–४) नै लेखेर हाजिर गर्नु पर्ने हुन्छ ।
गणेश पौडेल
उपनि र्देशक, शिक्षा विभाग
मृत्युको दुई वटा मिति !
कक्षा ६ को सामाजिक अध्ययनको पाठ्यपुस्तकमा बहादुर शाहको मृत्यु वि.सं. १८५१ मा भएको उल्लेख छ । तर, कक्षा ८ को सामाजिक पाठ्यपुस्तकमा चाहिं सो मिति वि.सं. १८५४ लेखिएको छ । यीमध्ये कुन मितिलाई आधिकारिक मान्ने ? साथै, बहादुर शाहको मृत्यु जेलमा भएको भनी लेखिएको छ । के यो साँचो हो ?
तिलक पाण्डे
नेपाल शान्ति मावि, बेलहानी, नवलपरासी
कक्षा ६ को सामाजिक अध्ययनको पाठ्यपुस्तकमा उल्लिखित मिति वि.सं. १८५१ सालगलत हो । बहादुर शाहको मृत्यु वि.सं. १८५४ मा भएको हो । त्यसैले कक्षा ८ को पाठ्यपुस्तकमा लेखिएको मिति नै सही हो । उनको मृत्यु जेलमा नै भएको थियो ।
डिकबहादुर राई
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र
‘माइग्रेसन’ प्रमाणपत्र हरायो
त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहमा भर्नाको रजिष्ट्रेसनका निम्ति उच्च माध्यमिक शिक्षा परिषद्को स्थानान्तरण (माइग्रेसन) प्रमाणपत्रको सक्कलै प्रति आवश्यक पर्ने रहेछ । तर, मेरो ‘माइग्रेसन’ प्रमाणपत्र नै हराएको छ । अब मैले पुनः त्यो प्रमाणपत्र लिन के गर्नु पर्छ ?
भीम अवस्थी
जनता प्रावि, कास्की
‘माइग्रेसन’को सक्कल प्रति नै चाहिं अब पाईंदैन । तर, सक्कल प्रतिकै प्रयोजनको निम्ति एउटा पत्र उच्च माध्यमिक शिक्षा परिषद्ले दिन्छ, त्यो पत्रले ‘माइग्रेसन’कै काम गर्द छ । त्यसका लागि तपाईंले आफ्नो ‘ट्रान्सक्रिप्ट’को प्रतिलिपिसहित परिषद्मा निवेदन दिनुपर्नेछ ।
निर्मलराज पाण्डे
उपसचिव, उच्चमाध्यमिक शिक्षा परिषद्
टीपीडीः ‘विशेष’लाई पनि हो
विशेष शिक्षा अन्तर्गत अध्यापन गर्ने स्रोत शिक्षकले शिक्षकको पेशागत विकास (टीपीडी) तालिम लिनुपर्छ कि पर्दैन ?
पदमनाथ नेपाल
भवानी उमावि, कुसुमखोला, पाल्पा
शिक्षकको पेशागत विकास (टीपीडी) तालिम विशेष शिक्षाका स्रोत शिक्षकका निम्ति पनि हो । स्रोत शिक्षकका निम्ति टीपीडी तालिमको छुट्टै प्याकेज बनाइएको छ ।
दीपक शर्मा
उपनि र्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र
कुन चाहिं उपाधि रोज्ने ?
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३०(३)मा ‘कुनै शिक्षकले न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो एकभन्दा बढी उपाधि हासिल गरेको भएमा शिक्षकले रोजेको कुनै एक उपाधिको मात्र अंक दिइनेछ’ भनी लेखिएको छ । त्यसो भए एउटा प्राथमिक तहको शिक्षकले आई.एड. र बी.एड. दुबै तह उत्तीर्ण गरेको छ भने तीमध्येबाट कुनै एउटा तहको उपाधिलाई रोज्नुपर्ने हो वा आई.ए., आई.एड, आई.कम., आई.एस्सी. जस्ता समान तहको उपाधिमध्येबाट रोज्नुपर्ने हो ?
मञ्जु पुरी
महेन्द्र उमावि, भीमफेदी, मकवानपुर
शिक्षकले आफ्नो न्यूनतम योग्यता भन्दा माथि जुनसुकै संकायका कुनै पनि तहमा आफूले प्राप्त गरेको उपाधिलाई रोज्न पाउनेछन् । सोही तहको शैक्षिक योग्यतालाई बढुवाको अंकगणनामा समेटिनेछ ।
नारायणप्रसाद भट्टराई
उपसचिव, शिक्षक सेवा आयोग
नोटः पाठ्यपुस्तकसँग सम्बन्धित जिज्ञासा पठाउनुहुने पाठकहरूले पाठ्यपुस्तकको संस्करण मिति पनि खुलाइदिनुहोला । साथै सम्भव भएसम्म आफ्नो टेलिफोन नं. पनि उल्लेख गरिदिनुहुन अनुरोध छ । –सं.



