शिक्षा अधिकारीको चिठी

प्यारा विद्यार्थी भाइबहिनीहरू
म विभिन्न जिल्लाहरूमा विद्यालय निरीक्षक, शाखा अधिकृत, प्रशिक्षक र जिल्ला शिक्षा अधिकारी को भूमिका निर्वाह गर्दै अहिले दाङ आइपुगेको छु । त्यसअघि तपाईंहरू जस्तै विद्यार्थी भाइबहिनीहरूलाई पढाएर १० वर्ष बिताएको थिएँ । अहिले पनि विद्यालयतिर अनुगमनमा निस्किएको समयमा तपाईंहरूसँग कुरा गर्न पाउँदा खुशी लाग्छ ।

तपाईंहरूलाई कस्तो लाग्छ, खै ? मलाई त तपाईंहरूलाई दिनका लागि आफूसँग केही भए जस्तो लाग्दैन । मसँग मात्र होइन, मेरो पुस्ताका धेरै मानिसहरूसँग तपाईंहरूलाई काम लाग्ने खास केही चिज भए जस्तो लाग्दैन । तपाईंहरूले अध्ययन गर्ने विद्यालयका कक्षाकोठाहरूमा भोटे ताल्चा लगाएर बन्द गर्ने र बन्द गरेको दृश्य मूकदर्शक भएर टुलुटुलु हेर्ने हराम्रो पुस्तासँग तपाईंहरूलाई अर्ति–उपदेश दिएर बोल्ने नैतिक हैसियत पनि हराइसक्यो जस्तो लाग्छ । तपाईंहरू जस्तै बालबालिकाको नाममा देशमा अर्बौं बजेट विनियोजन हुन्छ । कति बजेट ऋण मागेर ल्याइएको हुन्छ भने कति बजेट देशकै आर्जन हुन्छ । त्यही बजेटबाट हामीमध्ये कतिपयले तलब खाएका छौं, रोजगारी पाएका छौं र तपाईंहरूलाई बालमैत्री वातावरणमा गुणस्तरीय आधारभूत शिक्षा प्रदान गर्ने   भनेर अन्तर्राष्ट्रिय स्तर मा सहीछाप पनि गरेका छौं । तथापि व्यवहारमा हामी त्यस्तो हुन सकिरहेका छैनौं । तपाईंहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न हामी गम्भीर नभएको कुरा घामजत्तिकै छर्लङ्ग छ । हामीले वर्तमान लाई त बरबाद पा¥यौं, पा¥यौं, तपाईंहरूलाई समेत अप्ठ्यारोमा पारेर भविष्यलाई समेत बरबाद पार्न लागिपरिरहेका छौं भन्दा सत्य बोलेको ठहर्छ जस्तो लाग्छ ।

म तपाईंहरू जस्तै सानो छँदा हराम्रो घरमा एउटा पोथी कुकुर थिई । उसले एकपटकमा ५–६ वटा बच्चा जन्माउँथी । छाउराछाउरीले दूध चुस्दै गर्दा पोथी कुकुर लम्पसार परेर बाटोमा ढलेकी हुन्थी । आमा अशक्त भएर हाडछालाको मात्र हुँदा पनि ती बच्चाहरूले दूधका लाम्टा चुस्न छोड्दैनथे । मलाई अहिले हराम्रो देशको अवस्था त्यही कुकुरको जस्तो लाग्दैछ र हामी सबैको व्यवहार ती छाउराछाउरीको जस्तो । देशलाई एउटा नागरिकको हैसियतले के योगदान गर्ने भन्दा पनि देशबाट बढी भन्दा बढी कसरी हसुर्ने भन्ने मनोभावबाट हराम्रो पुस्ता आक्रान्त छ । तपाईंहरूलाई मेरो अनुरोध छ– हामीबाट यस्तो प्रवृत्ति सिक्ने काम न गर्नु होला । बरु थोरै भए पनि देश र समाज लाई जे सकिन्छ त्यो दिने आँट गर्नु होला । त्यसले नै तपाईंलाई खुशी र महान बनाउनका लागि बाटो प्रशस्त गर्ने छ ।

तपाईंहरूलाई यो चिठी लेख्दै गर्दा म दाङमा छु । हिजोआज दाङ लगायत देशका जिल्लाहरूमा विद्यालयहरू अस्वाभाविक रूपमा बन्द गरिने गरेका छन् । हालसालै पनि हाम्रा विद्यालयहरू दुई हप्ता लामो बन्दमा परे । आफ्ना माग पूरा गर्नका लागि आन्दोलन गर्ने जो–कोहीले पनि बन्दको आह्वान गर्ने क्रममा तपाईंहरूले पढ्ने विद्यालयहरू शिकार हुने गरेका छन् । यसको प्रत्यक्ष मार तपाईंहरूलाई परिरहेको छ । मैले जिल्ला शिक्षा अधिकारी को हैसियतले विभिन्न शैक्षिक फोरम र बहसहरूमा विद्यालयहरूलाई बन्दमुक्त गर्नु पर्छ भन्ने कुरा प्राथमिकता दिएर अघि सार्दै पनि आएको छु तथापि यसले उचित निकास पाउन सकिरहेको छैन र यो सबैको सरोकार र चासोको विषय पनि हुन सकिरहेको छैन । मलाई त लाग्छ, अब तपाईंहरू आफैंले विद्यालयहरू कहिल्यै बन्द नहुने तुल्याउन एकपटक सडक तताउनुपर्छ जस्तो लाग्छ ।

प्यारा भाइबहिनीहरू, कहिलेकाहीं तपाईंहरूलाई लाग्छ होला, एउटा जिल्ला शिक्षा अधिकारी ले चाहे हराम्रो निम्ति के गर्न सक्दैन भनेर । यसको बारेमा पछि का पत्रमा विस्तृत कुरा गर्ने बाचा गर्दै र तपाईंहरूको उत्तरोत्तर प्रगतिको कामनासहित बिदा हुन्छु ।
उही तपाईंहरूको शुभेच्छुक
जीतबहादुर शाह
शिक्षा कार्यालय, दाङ

commercial commercial commercial commercial