माध्यमिक तहमा नयाँ ढाँचा

सरकारले माध्यमिक तह (कक्षा ९–१२)को शैक्षिक संरचनामा परिवर्तन गरेको छ । माध्यमिक तहमा साधारण तथा संस्कृत र प्राविधिक तथा व्यावसायिक शिक्षाको दुई वटा धार रहने गरी शिक्षा मन्त्रालयले २१ वैशाख २०६९ मा नयाँ पाठ्यक्रम संरचना स्वीकृत गरेको हो । विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) कोे जगमा उभिएर बनाइएको यो संरचनाले गुरुकुल, मदरसा रगोन्पालाई पनि साधारण शिक्षाकै धारमा समेटेको छ ।

नयाँ संरचना अनुसार, साधारण शिक्षातर्फ कक्षा ९–१० मा अहिलेकै जस्तो ८०० पूर्णाङ्क रहनेछ । अनिवार्य विषयतर्फ हालकै ६ वटा विषय रहनेछन् । ‘सफ्ट स्किल’ नाम दिइएका व्यावसायिक प्रकृतिका नयाँ विषयहरू साधारण शिक्षा अन्तर्गतको ऐच्छिक समूहमा थपिएका छन् । त्यसमा खाद्य विज्ञान, गृह विज्ञान, पुस्तकालय विज्ञान, पशु–पक्षी पालन, फलफूल खेती, पुष्पखेती, जडीबुटी खेती, फोटोग्राफी, सिलाइबुनाइ, रेशम खेती र मौरीपालन जस्ता विषयहरू छन् । यस्तै, विभिन्न अन्तर्राष्ट्रिय भाषा पनि ऐच्छिक समूहमा पारिएका छन् । ऐच्छिक समूहबाट विद्यालयले कुनै दुई वटा विषय रोज्न पाउनेछन् ।


कक्षा ९–१२ मा प्राविधिक तथा व्यावसायिक शिक्षालाई समेट्दै सरकारले माध्यमिक तहको नयाँ पाठ्यक्रम संरचना स्वीकृत गरेको छ ।


यस्तै, साधारणतर्फ कक्षा ११ र १२ को पूर्णाङ्क ६५०/६५० बनाइएको छ । अहिले ५०० पूर्णाङ्कको पठनपाठन हुँदै आएको छ । कुल पूर्णाङ्कमध्ये २५० अनिवार्य र ४०० अंक ऐच्छिक विषयका निम्ति छुट्याइएको छ । अनिवार्यतर्फ १०० पूर्णाङ्कको अंग्रेजी र ५०–५० पूर्णाङ्कका नेपाली, प्रायोगिक गणित र समसामयिक अध्ययन रहनेछन् । ऐच्छिक विषयहरू भने निर्धारण भइसकेका छैनन् । धार्मिक समूहतर्फ भने ६५० पूर्णाङ्क नै रहने गरी कक्षा ११–१२ का अनिवार्य र ऐच्छिक विषयहरू निर्धारण भइसकेका छन् ।

प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ कक्षा ९ र १० मा समान १००० पूर्णाङ्क रहनेछ । यो धारमा साधारणतर्फकै नेपाली, अंग्रेजी, गणित र विज्ञानलाई अनिवार्य विषयका रूपमा समेटिइनेछ भने ६०० पूर्णाङ्कका विधागत (डिस्सिप्लिनरी) विषय रहनेछन् । विधागत विषय र यसको पाठ्यक्रम निर्धारणको जिम्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई दिइएको छ । सीटीईभीटीका पाठ्यक्रम महाशाखा प्रमुख शिवशंकर घिमिरेका अनुसार, कक्षा ९–१० का निम्ति सिभिल, इलेक्ट्रिकल, कम्प्युटर र कृषि (पशु तथा बाली विज्ञान) विषयका पाठ्यक्रमहरू तयारीको क्रममा छन् । कक्षा ११–१२ का प्राविधिक विषय र पूर्णाङ्कको भने टुंगो लागेको छैन ।

साधारण र प्राविधिक दुवै शिक्षा समकक्षी तहका हुनेछन् । एउटा धारमा कक्षा ९–१० पुरा गरेका विद्यार्थीले कक्षा ११–१२ मा अर्को धार रोज्न पाउने गरी पाठ्यक्रम लचिलो बनाइएको छ । साधारण शिक्षाबाट कक्षा ९–१० उत्तीर्ण गर्ने विद्यार्थीले ‘ब्रिज कोर्स’ पूरा गरे पछि कक्षा ११–१२ मा व्यावसायिक विषय पढ्न पाउनेछन् । यस्तै, व्यावसायिक धारबाट साधारणतर्फ प्रवेश पाउनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नु पर्नेछ ।

नयाँ ढाँचाले विद्यमान मूल्याङ्कन प्रणालीलाई पनि सुधार गर्न खोजेको छ । सुधारात्मक शिक्षण सिकाइका निम्ति कक्षाकार्य, योजना कार्य, अतिरिक्त क्रियाकलाप , एकाई परीक्षा, मासिक परीक्षा जस्ता निरन्तर मूल्याङ्कन पद्धतिलाई आत्मसात् गर्न खोजिएको छ । माध्यमिक तहको निर्णयात्मक मूल्याङ्कन पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र अन्तिम परीक्षाबाट हुनेछ । तीन वटा परीक्षाको अङ्कभार क्रमशः १०, ३० र ६० प्रतिशत हुनेछ । शिक्षाविद् प्रा.डा. तीर्थ खनियाँ भन्छन्, “विगतको परीक्षा प्रणालीभन्दा यो सुधारोन्मुख देखिन्छ । तर, यसलाई शिक्षकले आत्मसात् न गरे सम्म र शिक्षण सिकाइको संस्कार नसुध्रिएसम्म प्रभावकारी मूल्याङ्कन हुन सक्दैन ।”

नयाँ पाठ्यक्रम संरचनाले साधारणतर्फ कक्षा ९–१२ को उत्तीर्णाङ्क प्रतिशतलाई बढाएर ४० पुर्याएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षाका विधागत विषयको मूल्याङ्कन प्रक्रिया सैद्धान्तिकतर्फ ४० र प्रयोगात्मकतर्फ ६० प्रतिशतको हुनेछ । कक्षा ९ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने छ भने कक्षा १० को परीक्षा क्षेत्रीय र कक्षा १२ को परीक्षा राष्ट्रिय स्तर मा हुनेछ । दुवैको प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने छ । कक्षा ११ को परीक्षा सञ्चालनबारे पाठ्यक्रम संरचना मौन देखिन्छ । पाठ्यक्रम विकास केन्द्रका उपनि र्देशकगणेशप्रसाद भट्टराई भन्छन्, “कक्षा ११ को परीक्षाको टुंगो राष्ट्रिय परीक्षा बोर्डगठन भएपछि लाग्नेछ ।” प्राविधिक शिक्षा पूरा हुनका निम्ति निश्चित अवधिको कार्यगत तालिम (अन द जब टे«निङ) गर्नु पर्नेछ ।

सीटीईभीटीको प्राविधिक एसएलसी र डिप्लोमा तह तथा त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र तह स्वतः विद्यालय शिक्षाका अंग हुनेछन् । हाल सीटीईभीटीका आङ्गिकसहित सम्बन्धनप्राप्त प्राविधिक शिक्षालयहरूको संख्या तीन सयभन्दा माथि छ । त्रिवितर्फ इञ्जिनियरिङ, स्वास्थ्य र वनविज्ञानमा प्रमाणपत्र तह सञ्चालित छन् ।

शिक्षा मन्त्रालयका उपसचिव डा. नकुल बानियाँका अनुसार, प्रारम्भमा १०० वटा विद्यालयमा प्राविधिक शिक्षा शुरू गरिनेछ । एसएसआरपीको मूल दस्तावेज अनुसार कक्षा ९–१० को प्राविधिक तथा व्यावसायिक शिक्षाका निम्ति सन् २००९/१० मै पाठ्यक्रम र शिक्षक तालिम सामग्री तयार गर्नु पर्ने थियो । २०१०/११ मा शिक्षकको तालिम सञ्चालन गरी यतिबेला कक्षा ९ को परीक्षण शुरू भइसक्नुपथ्र्यो । तर, आउँदो वर्ष मात्रै यस्तो परीक्षण शुरू हुने जानकारी अधिकारी हरूले दिएका छन् ।  


‘एनेक्स कार्यक्रम’ ७३ विद्यालयमा

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने गरी शुरू गरिएको ‘एनेक्स कार्यक्रम’ यस वर्ष थप २९ विद्यालयमा विस्तार गरिने भएको छ । हाल ४४ विद्यालयमा यो कार्यक्रम सञ्चालित छ । हरेक जिल्लामा कम्तीमा एउटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्य राखिएको भए तापनि अझै दुई वटा जिल्लामा कार्यक्रम पुग्न बाँकी रहने देखिन्छ । यो कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी लिएको सीटीईभीटीका योजना महाशाखा निर्देशकगोपालकृष्ण श्रेष्ठका अनुसार मनाङ र मुस्ताङमा दुई पटक आवेदन माग्दा पनि एउटै विद्यालयको आवेदन नपरेका कारण ती जिल्ला छुटेका हुन् ।

यो कार्यक्रमको पूर्वाधारका निम्ति रु.२० देखि ३० लाख खर्च लाग्ने गरेको छ । सञ्चालन खर्चको २०–५० प्रतिशत रकम विद्यालयले व्यहोर्ने गरेका छन् भने बाँकी शिक्षा मन्त्रालयले । ‘एनेक्स’ कार्यक्रम अन्तर्गत कृषि, सिभिल, इलेक्ट्रिकल र मेकानिकल विषयमा प्राविधिक एसएलसी तहको पठनपाठन हुँदै आएको छ ।


चुनौती पनि छन्
प्राविधिक शिक्षामा सबैभन्दा चुनौतीपूर्ण पाटो शिक्षक व्यवस्थापन देखिन्छ । सीटीईभीटीको योजना महाशाखा प्रमुखगोपालकृष्ण श्रेष्ठको भनाइमा कक्षा ९ र १० का निम्ति कम्तीमा तीन जना प्रशिक्षक र दुई जना सहायक प्रशिक्षक आवश्यक पर्नेछन् । प्राविधिक शिक्षा कक्षा ११ र १२ सम्म पुग्दा थप जनशक्तिको खाँचो पर्नेछ । प्रशिक्षकका निम्ति सम्बन्धित विषयमा स्नातक र सहायक प्रशिक्षकका निम्ति प्रमाणपत्र तह उत्तीर्ण हुनु जरुरी हुन्छ । तर प्राविधिक शिक्षाको विषयगत अध्यापनका निम्ति बजारमा कति जनशक्ति छन् ? तीमध्ये शिक्षण सेवामा आउन कति इच्छुक छन् ? तिनको शिक्षण तालिम व्यवस्थापन कसरी गर्ने ? भन्ने जस्ता कुरा को योजना हालसम्म बनाइएको छैन । प्राविधिक शिक्षा शुरू भएपछि भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापनमा सरकारको खर्च पनि स्वाभाविक रूपमा बढ्नेछ । प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा मामिलामा लामो अनुभव सँगालेका शिक्षाविद् डा. टंकनाथ शर्मा भन्छन्, “भौतिक व्यवस्थापनका निम्ति वित्तीय स्रोत र दक्ष शिक्षकको सुनिश्चितता हुनैपर्छ । नत्र प्राविधिक शिक्षा सफल हुन सक्दैन ।”

 

commercial commercial commercial commercial