छलफल नगर्दा क्षति

  • भर्खरै संविधानसभा विघटन भएको छ । संविधानसभासँग गाँसिएका धेरै विषयहरू अहिले पनि सञ्चारमाध्यममा आइरहेका छन्, जस्तैः “मुलुकको चार वर्ष खेर गयो । प्रत्यक्षतः रु.९ अर्ब सकियो । अप्रत्यक्षतः रु.१०० अर्ब सकियो । नयाँ निर्वाचनको घोषणा त भयो । तर, बितेका चार वर्षमा थपिएका २० लाख मतदाता संविधानतः मतदानको अधिकारबाट बाहिर पर्ने देखिन्छन्” आदि ।
  • भारतको संविधान बन्दै गर्दा सन् १९४९ तिर छापिएको एउटा कार्टूनमा संविधान निर्माणमा भइरहेको ढिलाइलाई लिएर संविधानसभाका अध्यक्ष भीमराव अम्बेडकर र नेता जवाहरलाल नेहरूलाई व्यंग्य गरिएको थियो । केही वर्षअघि त्यो कार्टूनलाई भारतको कक्षा ११ को राजनीतिशास्त्रको पाठ्यपुस्तकमा समावेश गरियो । त्यही कार्टूनलाई लिएर भारतको लोकसभाका सदस्यहरूले अहिले आएर आपत्ति जनाए । सरकारले माफी माग्यो र पाठ्यपुस्तकबाट उक्त कार्टून हटाउन निर्देशन दियो । अम्बेडकर दलित समुदायका व्यक्ति थिए । पाठ्यपुस्तकमा प्रकाशित कार्टूनले दलित समुदायलाई हेपेको भन्दै सांसद्हरूले त्यसको विरोध गरेका थिए । कार्टून छापिएको ६० वर्षसम्म त्यसमा कसैको आपत्ति भएन । झन् इतिहास भइसकेको कार्टूनलाई पाठ्यपुस्तकमा राख्दा त्यति धेरै आपत्ति नहुनुपर्ने जस्तो लाग्छ । तर समय बितेकैगतिमा समाज चाहिं अघि बढ्दो रहेनछ भन्ने कुरा को एउटा दृष्टान्त हो यो । यदि त्यतिबेलै त्यो कार्टूनको सन्दर्भबारे छलफल भइदिएको भए शायद ६० वर्षपछि त्यसले विवादितरूप लिंदैनथ्यो होला ।
  • यही सन्दर्भलाई हराम्रो संविधानसभासँग पनि जोड्न सकिन्छ । बितेका चार वर्षमा विद्यार्थीले कक्षाकोठा बाहिर संविधानसभाका सबैजसो पक्षका बारेमा सुने— खास गरी घर–परिवार, सञ्चारमाध्यम, चोक र चियापसलमा । तर, प्रायः जसो शिक्षकले कक्षा–कोठामा चाहिं संविधानसभाको बारेमा विद्यार्थीसँग खासै छलफल गरेनन् । ती विद्यार्थीले २० वा ५० वर्षपछि ‘संविधानसभाका घटनाक्रम म स्कूल पढ्दा नै भएका त हुन्’ सम्म मात्र भन्लान् । किनभने संविधानसभाको बारेमा तिनले पर्याप्त रूपमा बुझनै पाएनन् ।
  • यी र यस्ता समसामयिक घटना/प्रवृत्ति र हाम्रा कक्षा–कोठा अर्थात् औपचारिक शिक्षाका बीचमा कुनै तादाम्य हुन्छ कि हुँदैन ? यस्ता घटना र कक्षाबीच सम्बन्ध कायम गर्न जरुरी छ कि छैन ? सकिन्छ कि सकिंदैन ? सकिन्छ भने कसरी ? कसरी थालनी गर्ने ? यसका सम्भावना र चुनौती के–के हुन सक्छन् ? यिनै प्रश्न र सन्दर्भमा केन्द्रित रहेर एलायन्स फर सोसल डायलग (एएसडी)को सहकार्यमा शिक्षक मासिकले २१ जेठ २०६९ मा विस्तृत संवादको आयोजना गरयो । त्यही संवादमा अभिव्यक्त केही विचारहरूः

समसामयिक मुद्दालाई स्वायत्त कक्षा
हरि शर्मा, राजनीतिशास्त्री

मैले १५ वर्ष व्यवस्थापनका कलेजका विद्यार्थीलाई राजनीतिशास्त्र पढाएँ । विद्यार्थीको दिमागमा पाठ्यक्रम र परीक्षा बढी नै ‘सेट’ भएको हुँदोरहेछ । उनीहरू मूलतः त्यसैबाट निर्देशित हुने रहेछन् । त्यसभन्दा बाहिरका विषयवस्तुमा केन्द्रित हुनै चाहँदैनन् । कोर्समा नभएका विषय वा प्रसंगमा शिक्षकले छलफल गर्न खोज्दा पनि विद्यार्थीले टार्दा रहेछन् । ‘सर ! यो पनि परीक्षामा आउँछ र ?’ भनेर प्रतिप्रश्न गर्छन्, उनीहरू । विद्यालयस्तरमा पनि यही समस्या छ ।

समसामयिक, राजनीतिक, आर्थिक, सामाजिक विषयवस्तुबारे कक्षाकोठामा बहस चलाउन सकिने सम्भावनाहरू प्रशस्त छन् । तर, हाम्रा शिक्षक पनि विद्यार्थी जस्तै पाठ्यक्रम र पाठ्यपुस्तकको भारले थिचिएका छन् । तिनलाई समयभित्र कोर्स सक्नुपर्ने बाध्यता हुन्छ । समग्रमा; शिक्षकको शिक्षण पद्धति र विद्यार्थीको सिक्न खोज्ने प्रवृत्ति नै परीक्षामुखी र साँघुरो छ । पढ्ने भन्दा पनि पास गर्ने मानसिकता हावी छ । यसले पनि समस्या पारेको छ ।

कक्षाकोठामा समसामयिक विषयवस्तुको बहस र छलफलका निम्ति शिक्षक भित्रैदेखि तत्पर भएको हुनुपर्छ । एउटा शिक्षकले मात्रै यो अभ्यास थालेर पनि पुग्दैन, किनभने अरू शिक्षकले इष्र्या गर्न थाल्छन् । यसर्थ, सहकर्मी शिक्षक र विद्यालय प्रशासनको आवश्यक सहयोग नभएसम्म एकाध शिक्षकले चाहेर पनि यस्तो अभ्यास गर्न सक्दैनन् । यतिले मात्रै पनि पुग्दैन । यसमा पाठ्यक्रम विकास केन्द्र, शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, अभिभावक र समुदायको प्रयास हुनु पनि त्यतिकै जरुरी छ । स्रोत, साधन पनि पर्याप्त हुनुपर्छ । साथै शिक्षकहरूमा समसामयिक विषयवस्तुबारे समीक्षा र विश्लेषणात्मक चिन्तन गर्ने क्षमता र सीपको विकास गर्नु पनि उत्तिकै जरुरी हुन्छ ।

 सन् १९४९ मा प्रकाशित कार्टूनलाई पाठ्यपुस्तकमा राखिएपछि भारतमा ठूलो विवाद भयो । पाठ्यपुस्तकमा त्यो कार्टून समावेश गर्ने टीममा भारतका राजनीतिशास्त्रका प्राध्यापकद्वय योगेन्द्र यादव र सुभाष पल्शिकर सम्मिलित थिए । कार्टूनलाई लिएर विवाद भएपछि अम्बेडकरको प्यान्थर दलका कार्यकर्ताले पल्शिकरको कार्यालयमा तोडफोड गरे । उनीमाथि हातपात समेत भयो । भारत जस्तो ६० वर्षे लोकतान्त्रिक अभ्यास भएको मुलुकमा समेत कक्षाकोठाको स्वायत्तता नरहेको एउटा उदाहरण हो, यो । जबसम्म कक्षाकोठाको स्वायत्तता रहँदैन, तबसम्म समसामयिक विषयवस्तुहरू कक्षाकोठाका बहसको एजेण्डा बन्न सक्दैनन् । विवादास्पद घटना र मुद्दालाई कक्षाकोठामा प्रवेश गराउनु झनै चुनौतीपूर्ण हुन्छ ।


बाधकः फटाहा भइने डर सत्यनारायण महर्जन
स्रोतव्यक्ति, पाटन उमावि, ललितपुर

हाम्रा शिक्षकले समसामयिक विषयलाई कक्षाकोठामा लग्दै लगेनन् भन्नु अलि अत्युक्ति होला । लैजानलाई लगेका छन् । कसरी लगेका छन् भन्ने चाहिं छलफलको विषय हुनसक्ला ।

समसामयिक विषयवस्तुप्रति ‘अपडेट’ भएर कक्षामा जानुपर्छ । त्यसमा हाम्रा शिक्षकको तयारी पुगेको छैन । धेरैमा ‘समय कटे भइहाल्यो नि ! नयाँ कुरा किन दिनुपर्‍यो ?’ भन्ने मानसिकता पाइन्छ । अर्कोतिर, विद्यार्थीमाझ् समसामयिक विषयमा छलफल चलाउँदा के हुन्छ त ? त्यसबाट उपलब्धि त आउनुपर्छ नि ! जहाँसम्म कक्षामा संविधानसभाको छलफलको प्रसङ्ग छ; गहन छलफल गर्नुपर्ने ६०१ जना सभासद्ले त गरेनन् भने कक्षाकोठाको छलफलले के अर्थ राख्छ ? अर्थहीन छलफल चलाउँदा शिक्षक नै विद्यार्थीको माझमा फटाहा सावित हुने त होइन ! त्यसैले अर्थ राख्ने र उपलब्धि दिने विषयबारे मात्र छलफल गर्नुपर्छ । सामाजिक अध्ययनमा मात्रै नभएर गणित, विज्ञान, अर्थशास्त्र जस्ता विषयमा पनि यस्तो छलफल गराउन सक्नुपर्छ ।


पाठ्य एजेण्डा बनाउनुपर्छ

डा. तुलसीप्रसाद थपलिया, उपसचिव, शिक्षा मन्त्रालय
‘विद्यालयको दायित्व के हो ?’ भन्ने सन्दर्भमा पनि धेरै मतमतान्तरहरू छन् । ‘कसैले सिद्ध गरेका, टुङ्गो लगाएका र समाधान गरिसकेका विषयवस्तुलाई पो विद्यालयले शिक्षाको रूपमा दिने त ! टुङ्गो नलागेका विषयमा बहस चलाउने काम विद्यालयको हो र ?’ भन्ने धारणा राख्नेहरू पनि छन् । त्यसैले यो ज्यादै महत्वपूर्ण मुद्दा हो । रेडिमेड, स्वीकृत र तयार भइसकेको ज्ञानलाई मात्र विद्यालय शिक्षामा जोड्ने कि नयाँ सत्य निर्माणको निम्ति विद्यार्थीलाई नै सम्मिलित गराउने ? भन्ने शिक्षण सिकाइको दार्शनिक प्रश्न हो ।

यसमा सांस्कृतिक पक्षको पनि उत्तिकै भूमिका हुँदोरहेछ । हाम्रो संस्कृतिले चाहिं ‘कन्फर्मिटी’(स्थापित सत्य)मा जोड दिंदोरहेछ । हामीले विद्यार्थीलाई आफ्ना विचार दिनसम्म तुल्याउने भन्दा पनि एउटै सही उत्तर खोज्ने विद्यार्थी तयार पार्न खोज्यौं । फेरि विद्यार्थीको अपेक्षा पनि त्यस्तै हुँदोरहेछ । कुन चाहिं उत्तरभित्रको कुन चाहिं दृष्टिकोण ठीक छ र कुन चाहिं बेठीक छ भनेर विश्लेषण गरिंदैन । यो हाम्रो सांस्कृतिक पक्षले निर्देशित गरेको पाटो रहेछ । थाहा नभएका र समसामयिक मुद्दाहरूलाई कक्षामा लैजाँदा त्यसले विभाजन ल्याउने डरले त्यसमा प्रवेश गर्नुभन्दा आफूलाई सजिलो होस् भन्ने ठानेर शिक्षकहरू पाठ्यपुस्तकका विषयवस्तुमा मात्रै सीमित रहेका पनि हुन सक्छन् ।

सामाजिक रूपान्तरणमा शिक्षाको प्रयोगको पाटो पनि रहेछ । सामाजिक पुनर्संरचनाका निम्ति शिक्षालाई प्रयोग गर्न सकिन्छ कि सकिंदैन ? सकिन्छ भने उपाय के छ ? भन्ने सन्दर्भलाई यसले विश्लेषण गर्छ । शिक्षा, शिक्षण र सिकाइलाई सान्दर्भिक बनाउने यसको मूलभूत उद्देश्य रहेछ ।

उसो भए शिक्षालाई कसरी सान्दर्भिक र सामयिक बनाउने त ? एउटा पाठ्यक्रमभित्रको लचकताको प्रश्न रहेछ । समसामयिक मुद्दालाई पाठ्यक्रममा कुन रूपमा समेट्न सकिन्छ ? भन्ने कुरामा पनि यो निर्भर रहन्छ । अर्को चाहिं पाठनपाठनको विषयवस्तु चयन गर्ने क्रममा समसामयिक मुद्दालाई पाठ्य एजेण्डा बनाउन सकिन्छ । त्यसनिम्ति पाठ्यक्रम पनि चाहिंदैन । स्थानीय परिवेश अनुरुपका घटनाक्रमलाई समेट्न सकिन्छ ।

अर्कोतर्फ विषयगत समायोजनको कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यस अन्तर्गत चाहिं समसामयिक विषयहरू पृथक् रूपमा आउँदैनन् । विद्यालय शिक्षाका विज्ञान, सामाजिक अध्ययन, भाषा जस्ता विषयसँग सम्बन्धित समसामयिक मुद्दाहरूलाई नियमित पठनपाठनमै समेटेर लैजान सकिन्छ । शैक्षणिक विधिको पाटोबाट हेर्दा चाहिं समसामयिक विषयवस्तुलाई समेटेर ‘प्रोजेक्ट वर्क’को अभ्यास गराउन सकिन्छ ।

अब रह्यो, समसामयिक मुद्दालाई कक्षामा लैजाने भन्ने सन्दर्भ । त्यसनिम्ति दार्शनिक र सांस्कृतिक सिद्धान्त अनुसार पाठ्यक्रमको निर्माण, उद्देश्य निर्धारण, दृष्टिकोणको बारेमा पुनर्संरचना हुनु जरुरी छ । शिक्षण पद्धतिमा सुधार आवश्यक छ । मूल्याङ्कन प्रणालीलाई परिवर्तन गरेर विद्यार्थीका विचार खोज्ने प्रश्नहरू सोध्नुपर्छ ।


शिक्षक निष्पक्ष हुनुपर्छ
लक्ष्मण शर्मा प्रअ, सत्यवती उमावि, धादिङ

२०६५ सालतिरको कुरा हो । विद्यालयको कार्यक्रममा आएका एकजना अभिभावकले भने, “धेरैजसो घरायसी कुराहरू छोरालाई सोध्न सक्ने भइयो । तर, चुनाव आएका बेलामा भोट कसलाई दिने भनेर सोध्न चाहिं सकिंदोरहेनछ । यसमा पनि छोरा नै ‘यो पार्टी वा मानिसलाई दिनुस्’ भनेर सिकाउन सक्ने भइदिए कति जाती हुन्थ्यो ! स्कूलमा त्यस्ता कुरा चाहिं सिकाउन मिल्दैन ?” ती अभिभावकको कुराले मलाई घोत्लिन बाध्य बनायो । त्यतिबेला उनको छोरा १० कक्षामा पढ्थ्यो ।

हामी शिक्षकहरू ‘राजनीति गरेको’ आरोप खेपेका पेशाकर्मी हौं । वास्तवमा समसामयिक मुद्दाबारे विद्यार्थीलाई कक्षामा बताइदिन सके फाइदा पनि हुने रहेछ नि ! ‘कुन साबुन राम्रो लिरिल कि मायालु ?’ भनेर बहस चलाउन सक्ने शिक्षकले ‘कुन दलका एजेण्डा राम्रा’ भनेर पनि छलफल गराउन सके शायद ती अभिभावक लगायत सिङ्गो समाज र देशलाई नै फाइदा पुग्थ्यो कि !

तर हाम्रो समाज नै विभाजित छ । व्यवस्थापन समितिका पदाधिकारी र हामी शिक्षकहरू पनि विभाजित छौं । कुनै राजनीतिक विषयवस्तुमाथि कक्षामा छलफल गर्दा होशियारी अपनाउन सकिएन भने फरक विचार राख्ने समूहबाट आपूmलाई समस्या पर्ने हो कि भन्ने डर हरदम रहन्छ ।


पूर्वाग्रह राखे गर्न सकिन्न
वासुप्रसाद सुवेदी, शिक्षक, राष्ट्रिय निर्माण उमावि, काठमाडौं

म ६ महीनाअघि हेटौंडाको प्रगति उमाविमा पढाउँदै थिएँ । त्यहाँ समसामयिक मुद्दालाई कक्षाकोठामा लैजाने केही अभ्यास गरेका थियौं । अघिल्लो दिन वा त्यही दिन भएका कुनै समसामयिक घटनाका विषयमा नियमित प्रार्थनासभामा विषय शिक्षकबाट दुई मिनेट चर्चा गराइन्थ्यो र दुई जना विद्यार्थीलाई आफ्ना धारणा राख्न लगाइन्थ्यो । यस्तो अभ्यास नियमित रूपमा हुन्थ्यो । नयाँनयाँ विषयमा कुराकानी गर्न पाउँदा विद्यार्थी पनि उत्साहित हुने रहेछन् ।

समसामयिक मुद्दाबारे कक्षाकोठामा छलफल गर्न वा गराउन शिक्षकमा आँट र सिर्जनशीलता जरुरी हुन्छ । शिक्षकले विना तयारी कक्षामा गएर समसामयिक छलफल गर्दा विषयवस्तुको सान्दर्भिक प्रस्तुति नहुन सक्छ, जसले विद्यार्थीमा नकारात्मक असर पर्ने सम्भावना रहन्छ । त्यसप्रति हामी शिक्षकहरू सचेत रहनुपर्छ । हामीले कुनै पक्षप्रति पूर्वाग्रह पनि राख्नुहुँदैन ।

एउटा शिक्षक समर्पित भएर लाग्दा अर्कोले खुट्टा तान्ने प्रवृत्ति पनि छ । त्यसको सुधार हामी आफैंबाट थालिनुपर्छ । त्यसका लागि हामी ‘ग्रुप कल्चर’बाट ‘टीम कल्चर’मा रूपान्तरित हुनुपर्छ । आफूमा केही गर्ने चाहना छ तर अर्को शिक्षकले केही भन्ने हो कि ! भन्ने सोच्न थालियो भने आफूलाई कहिल्यै रूपान्तर गर्न सकिंदैन ।


हामी अन्यौलमै छौं
खगराज बराल, कार्यकारी निर्देशक, पाठ्यक्रम विकास केन्द्र

विद्यालय तह; कक्षा १ देखि १० सम्मै सामाजिक अध्ययन विषय राखिएको छ । सामाजिक अध्ययनको पाठ्यक्रम लचिलो छ । यो धेरै संशोधन÷परिमार्जन हुने विषय पनि हो । पाठ्यपुस्तक र शिक्षक निर्देशिकामा पनि समसामयिक समस्याहरूमा पनि छलफल गर्नुहोस्, ‘प्रोजेक्ट वर्क’ गराउनुहोस् भन्ने जस्ता क्रियाकलापहरू राखिएका छन् ।

प्रश्नपत्रमा पनि समसामयिक मुद्दालाई जोड्न खोजिएको छ । यस वर्षको एसएलसी परीक्षामा (मध्यमाञ्चल क्षेत्र अन्तर्गत) ‘संविधानसभाको राज्य पुनर्संरचना समितिले दिएका आधारहरू लेख्नुहोस्’ भन्ने प्रश्न सोधिएको थियो । त्यस्तै संवैधानिक परिषद्का पदाधिकारी छनोटका निम्ति निर्धारित मापदण्डको बारेमा पनि प्रश्न सोधिएको पाइन्छ ।

अहिले कक्षा ९–१२ को नयाँ पाठ्यक्रम संरचनामा त्यसैसँग मिल्दोजुल्दो हुने गरी ‘कन्टेम्पोररी सोसाइटी’ भन्ने विषय राखिएको छ । यस्तै ए लेभलको कोर्समा ‘कन्टेम्पोररी नेपलिज सोसाइटी’ भन्ने विषय राख्न क्याम्ब्रिज विश्वविद्यालयले सहमति जनाएको छ । पाठ्यक्रममा लैंगिक समानता, खाद्य सम्प्रभुता, कर प्रणाली, मतदाता शिक्षा, कानूनी शिक्षा जस्ता अनगिन्ती विषयहरू राख्न सुझवहरू आउने गरेका छन् । यस्ता विषयहरूको माग यति धेरै छ कि कुन विषयलाई अनिवार्य र कति विषयलाई ऐच्छिकमा राख्ने भन्नेमा हामी नै अन्योलमा छौं ।


नयाँ घटना छोड्नु हुँदैन
केशवप्रसाद भट्टराई, पूर्वअध्यक्ष, नेपाल शिक्षक युनियन

कुनै पनि पाठ्यक्रम पूर्ण हुँदैन । पाठ्यक्रम निरन्तर परिष्कृत र परिमार्जित हुने विषय हो । हालै मात्रै अमेरिकाकी पूर्व विदेशमन्त्री कोन्डोलिजा राइस संयोजक रहेको एउटा समूहले त्यहाँको पाठ्यक्रममा सुरक्षा मामिला सम्बन्धी विषयवस्तुको अभावले गर्दा अमेरिकाको सुरक्षा खतरा बढेको निचोडसहित प्रतिवेदन निकालेकोे छ । यसर्थ, पाठ्यक्रम कहिल्यै पनि पूर्ण हुँदैन ।

३ अप्रिल २००३ को एउटा प्रसंग भनिहालौं । लेफ्टिनेन्ट कर्णेलको नेतृत्वमा अमेरिकी सेनाको एउटा सानो टुकडी इराकको सडकमा हिंड्दै थियो । त्यत्तिकैमा हातहतियार बोकेका सयौं मानिस त्यो टुकडीको सामु आए । त्यो दृश्य देख्ने मानिसलाई लाग्यो, अब यहाँ ठूलो नरसंहार हुने भो ! तर क्राइस हगिस नामका ती कर्णेलले तुरुन्तै ‘नेल डाउन !’ भनेछन् । त्यसपछि सबै सैनिक बन्दूकलाई तल झरेर घुँडा मारेर बसे । हतियार बोकेका स्थानीय मानिसको भीड जताबाट आएको थियो त्यतै फर्कियो । त्यसपछि हगिसलाई अरूले सोध्न थाले, ‘तिमीले कसरी जान्यौ त यो कुरा ?’ सैनिक फोर्समा त थिएन !

अहिले अमेरिकी सैन्य टोलीलाई ठूला अधिकृतको सट्टा कनिष्ठबाट प्रशिक्षण दिन थालिएको छ रे ! किनकि लडाईंको अनुभव त तल्ला तहका अधिकृतसँग बढी हुन्छ । मैले यो प्रसंग यहाँ यस कारणले उठाएँ कि नयाँ र पछिल्लो पुस्ताका व्यक्तिहरूसँग बढी ज्ञान र सीप हुन्छ भने कनिष्ठबाट वरिष्ठहरूले किन नसिक्ने ? त्यस्तो पद्धतिको विकास कसरी गर्ने ? यसमा हामी शिक्षकहरूले सोच्नुपर्छ ।

हरेक दिन नयाँनयाँ घटनाहरू भइरहन्छन् । त्यस्ता घटनाक्रमलाई मिहीन ढंगले केलाएर त्यसलाई शिक्षा र समाजसँग जोड्न सक्नुपर्छ । आज शिक्षण सिकाइको धार परिवर्तित भइसकेको छ । अब हामीले ‘लर्निङ’ मात्र सिकाउने होइन, ‘अनलर्निङ’ पनि सिकाउनुपर्छ । नराम्रो कुरा सिक्नुहुँदैन भनेर सिकाउनु पनि सिकाइ हो नि !


शिक्षकलाई अरूको साथ चाहिन्छ
सुमन राउत, प्रअ, बलम्बु मावि, काठमाडौं

समसामयिक मुद्दाले कक्षामा प्रवेश नै नपाएका होइनन्; केही न केहीले प्रवेश पाएका छन् । तर, कसरी प्रस्तुत भइरहेका छन् भन्ने चाहिं छलफलको विषय हो । विज्ञान, स्वास्थ्य, जनसंख्या विषयका जल्दाबल्दा कुराहरूलाई पाठ्यक्रम र पाठ्यपुस्तकमा समेटिएको पनि छ । तर, विद्यार्थीको सिकाइ उपलब्धिमा त्यसको प्रभाव कम देखिएको छ । कहाँनिर त्रुटि भयो भनेर त्यसको खोजी गर्नु आवश्यक छ ।

शिक्षक आफू दक्ष हुँदाहुँदै पनि उसले समसामयिक विषयवस्तुलाई कक्षाकोठामा प्रवेश गराउने सवालमा अन्य पक्षको भूमिका पनिमहत्वपूर्ण हुने रहेछ । जस्तो कि, शिक्षकको प्रस्तुतिलाई विद्यार्थी, सहकर्मी, विद्यालय प्रशासन, अभिभावक र समुदायले कसरी ग्रहण गर्छन् भन्ने सन्दर्भ महत्वपूर्ण छ । हाम्रो छलफल पनि यसैमा केन्द्रित हुनुपर्ने देखिन्छ । यतिखेर हाम्रो समाज बाँडिएको अवस्थामा छ । सामयिक सवाललाई कक्षामा लैजाँदा कसैको विरोधको सामना गर्नुपर्ने हो कि ! भन्ने चिन्ता शिक्षकमा छ । यो अवस्थामा शिक्षकलाई सबै पक्षको सहयोग र हौसला चाहिन्छ । नत्र ऊ एक्लैले मात्र केही गर्न सक्दैन ।


पाठ्यक्रमले समसामयिक मुद्दालाई निषेध गर्छ
मेदिन लामिछाने, प्रिन्सिपल, युलेन्स स्कूल, ललितपुर

हाम्रो विद्यालयमा बिहान आधा घण्टा ‘मर्निङ सर्कल’ भन्ने कार्यक्रम चल्छ । यसमा समसामयिक विषयमा विद्यार्थीमाझ् छलफल हुन्छ । कक्षा ११ र १२ मा चाहिं थियोरी अफ नलेज(टीओके) भन्ने विषय छ । यसमा साताको एक घण्टा कक्षा सञ्चालन हुन्छ र समसामयिक विषयवस्तुमाथि छलफल गरिन्छ । धेरै छलफल भएपछि विद्यार्थीले आफ्नो पेपर तयार गर्छ र त्यसलाई आईबीओमा पठाइन्छ । अनि त्यही पेपरको मूल्याङ्कनबाट उसले अङ्क पाउँछ ।

म हाम्रो मूल्याङ्कन पद्धतिमै सबैभन्दा बढी समस्या देख्छु । जस्तो; यस पटकको एसएलसी परीक्षामा राज्य पुनर्संरचना समितिले राज्य पुनर्संरचनाका निम्ति तोकेका आधारहरू के–के हुन् ? भनेर प्रश्न सोध्नु नै गलत थियो । त्यसको सट्टा त्यो समितिले बनाएका आधारहरू ठीक छन् कि छैनन् ? भनेर सोध्नुपथ्र्यो । जुन कुरा सबैका सामु स्पष्ट छ, त्यही कुरा प्रश्नपत्रमा राखिदिनु उचित हैन ।

हालै एकजना विदेशी शिक्षा विज्ञले भन्नुभयो, “शिक्षकले जुन प्रश्नको उत्तर आपूmलाई पनि थाहा छैन; त्यस्ता प्रश्न विद्यार्थीलाई सोध्नुपर्छ । त्यसले विद्यार्थीमा ‘क्रिटिकल थिङ्किङ’को क्षमता विकास गराउँछ ।” तर, त्यस्तो अभ्यास हामी पटक्कै गर्दैनौं । जुन कुराहरू पाठ्यपुस्तकमा लेखिएका छन्, त्यहींबाट मात्र प्रश्न सोध्ने प्रचलन छ । जबकि त्यस्ता प्रश्न सोध्नु जरुरी नै छैन । हामीले विद्यार्थीलाई स्वतन्त्र रूपमा जिज्ञासा राख्ने मौका दिएका छैनौं । किताबी ज्ञानमा मात्रै सीमित गरेका छौं । यसले पनि समसामयिक विषयवस्तुको बहसमा निषेध गरेको गरेको देखिन्छ ।


गल्ती भएको छ
पूर्णा जोशी, उपाध्यक्ष, नेपाल शिक्षक युनियन

हामीले शिक्षा, राजनीति र समाज अन्तरसम्बन्धित विषयवस्तु हुन् भनेर हेर्ने प्रयास नै गरेनौं । बरु फरक कुराहरू हुन् भनेर बुझयौं । कक्षामा समसामयिक विषयबारे चर्चा गर्दा ‘फलानो शिक्षकले पढाएन, बरु राजनीति गर्‍यो’ भनेर आरोप लगायौं ।

घर, विद्यालय र कलेजमा समेत विद्यार्थीले कसैका विचार र दृष्टिकोणप्रति विमति जनाउने र आफ्ना धारणा राख्न पाउने वातावरणको निर्माण गर्न सकेनौं । ठूलाले जे भन्यो, त्यसमा बच्चाहरू सहमत हुनैपर्ने मान्यतालाई स्थापित गर्‍यौं । यही गल्ती भएको छ । बालबालिकालाई आलोचनात्मक बन्न दिइनुपर्छ । कक्षाकोठामा पनि विद्यार्थीहरूमाझ् कसैको व्यक्तित्वका सन्दर्भलाई शिक्षकले एकतर्फी रूपमा थोपर्नुहुँदैन । बरु, विद्यार्थीलाई फरक ढंगले सोच्न र छलफल गर्न प्रेरित गर्नुपर्छ ।


शिक्षक सक्रिय भए सम्भव छ
केशव निरौला, महासचिव, नेपाल शिक्षक संघ

समसामयिक मुद्दालाई विषय शिक्षकहरूले कुनै न कुनै रूपमा कक्षामा लगेका छन् । पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका विषयवस्तुका समसामयिक मुद्दालाई कक्षामा प्रस्तुत गर्न शिक्षकलाई गाह्रो पर्दैन । विवादित सामाजिक र राजनीतिक मुद्दाका सम्बन्धमा पनि शिक्षकहरूबीच साझ धारणा बनाएर छलफल गराउन सकिन्छ ।

यी सबै कुराहरू शिक्षकको सक्रियतामा मात्रै सम्भव हुन्छ । त्यसका लागि राम्रा शिक्षकको उत्पादन र छनोट प्रक्रियामा सुधार गर्नुपर्छ । वास्तवमा शिक्षक आफ्नो पेशाप्रति उत्तरदायी हुने कि समुदायप्रति ? अहिलेको शिक्षक छनोट पद्धतिले शिक्षकलाई समुदायप्रति उत्तरदायी बनाउन खोजेको छ । यो ठीक होइन । त्यस्तै; शिक्षक छान्ने अधिकार पनि समुदायलाई दिनुहुँदैन । विज्ञ, प्रशासनिक र कानूनी पृष्ठभूमिका व्यक्तिहरू सम्मिलित स्वतन्त्र निकायबाट मात्रै योग्य शिक्षकको छनोट सम्भव हुन्छ ।


कक्षामा लैजानुको विकल्प छैन
डा. विनयकुमार कुशियैत, सहप्राध्यापक, त्रिभुवन विश्वविद्यालय

जुनसुकै विषयको पृष्ठभूमिबाट आएको शिक्षकले पनि सामाजिक अध्ययन पढाएको अवस्था छ । अर्कोतिर सामाजिक अध्ययनका पाठ्यपुस्तकहरू पनि त्रुटिपूर्ण छन् । समसामयिक मुद्दाप्रति शिक्षकले आफूलाई अपडेट नगरेसम्म समसामयिक विषयमा सार्थक शिक्षण हुन असम्भव हुन्छ ।

समसामयिक मुद्दाहरूलाई कक्षाकोठामा लैजानै पर्छ । यसका लागि दीर्घकालीन र अल्पकालीन नीति आवश्यक छ । दीर्घकालीन नीति अन्तर्गत शिक्षकलाई तालिम दिएर योग्य र सक्षम बनाउन सकिन्छ । अल्पकालीन उपायका रूपमा स्रोतव्यक्तिलाई परिचालन गर्न सकिन्छ । अर्को कुरा, हाम्रो शिक्षण र मूल्यांकन पद्धतिमा पनि सुधार गर्नुपर्छ । पठनपाठन पाठ्यपुस्तकमा सीमित र परीक्षामुखी हुनुहुँदैन ।


म चाहिं गर्छु
उमेशराम खत्री, शिक्षक, अरुणोदय उमावि, काठमाडौं

म हरेक दिन कक्षामा नयाँ विषयमा छलफल गर्छु । कक्षामा पुग्नासाथ ‘आजको नयाँ घटना के छ ?’ भनेर विद्यार्थीलाई सोध्छु । सञ्चारमाध्यममा देखे÷सुनेको आधारमा विद्यार्थीहरू बहस गर्न थाल्छन् । हाम्रो पाठ्यक्रम र पाठ्यपुस्तकका विषयवस्तुहरू अद्यावधिक नहुने समस्या ठूलो छ । त्यसैले वैकल्पिक सामग्रीप्रति शिक्षकहरूको पहुँच विस्तार जरुरी छ ।


कोर्स सक्ने दबाबले छेक्यो
रमिला शाक्य, प्रअ, यशोधरा मावि, ललितपुर

कक्षाकोठामा समसामयिक मुद्दाबारे बहस गराउने मुख्य संवाहक शिक्षकहरू नै हुन् । त्यसैले यो विषयमा शिक्षकहरू आफू तयार र दक्ष हुनुपर्छ । तर, यस्ता विषयलाई कक्षामा छलफल गराउँदा कोर्स सक्नै गाह्रो पर्ने भएकोले यस्ता बहस गराउनु ‘वाहियात’ हो भन्ने धारणा धेरै शिक्षकमा व्याप्त छ । तथापि, केही शिक्षकहरू यसप्रति सकारात्मक पनि हुनुहुन्छ ।

हाम्रो स्कूलमा कक्षा १–५ का विद्यार्थीलाई ३० मिनेट र माथिल्लो कक्षाका विद्यार्थीलाई ५–१० मिनेट समसामयिक विषयमा छलफल गर्न लगाइन्छ । त्यसबाट आउने निचोडलाई ‘ग्रीन–बोर्ड’मा टाँसिन्छ । तर कक्षाका सिपालु विद्यार्थीहरू समसामयिक विषयको छलफलमा खासै रुचि देखाउँदैनन् । जो पढ्न चाहँदैन, उनीहरू चाहिं बढी चासो देखाउँछन् ।


किताबी ज्ञानले मात्र पुग्दैन
प्रा. पीताम्बर शर्मा, भूगोलविद्

‘औपचारिक शिक्षामा समसामयिक विषयवस्तुलाई कसरी जोड्ने ?’ भन्ने यो छलफल मलाई धेरै सान्दर्भिक र रमाइलो लाग्यो । तर म चाहिं अनौपचारिक रूपमा कसरी प्रवेश गराउने भन्ने सवाललाई बढी महत्वपूर्ण देख्छु; किनभने सबै कुरालाई औपचारिक बाटोबाट मात्रै लैजान खोजियो भने हामी धेरै टाढासम्म पुग्दैनौं ।
मलाई एकदमै छोएको एउटा सानो अनुभव सुनाउँछु । सन् १९९२ मा पहिलोपल्ट माथिल्लो मुस्ताङ पुगें । त्यहाँको एउटा प्रसङ्गले मलाई चकित तुल्यायो । शायद जेठ/असारको महीना थियो । यो समयमा हिमालपारि वर्षा हुँदैन । तर त्यहाँ बिहान कुनै खोला तरेर तपाईं पारि पुग्नुभयो भने दिउँसो फर्कंदा त्यो खोलामा बाढी आइरहेको हुन्छ । त्यस्तो बाढी हिउँ पग्लिएर आउने गर्छ ।

यसले मलाई खुल्दुली बनायो र लोमान्थाङको विद्यालयमा पढ्ने एक छात्रलाई सोधें, “नेपालको अधिकांश ठाउँमा वर्षा कहिले हुन्छ ?” उसले चकित पर्दै जवाफ दियो, “यही त अचम्म छ नि ! किताबमा वर्षायाममा पानी पर्छ भनेर लेखिएको छ । त्यति बेला यहाँ चाहिं पानी पर्दैन । तर, बाढी आउँछ ।” स्थापित ज्ञान विद्यार्थीको समसामयिक अनुभवसँग नजोडिएको एउटा ज्वलन्त उदाहरण थियो, त्यो । तर किताबले चाहिं मनसुनको पानी पर्दा मात्रै बाढी आउँछ भनेर सिकाउँछ । किताबका स्थापित ज्ञानले नेपालका विविधतालाई जोड्न नसकेको देखिन्छ ।

पर्वतको फलेवासस्थित मेरो गाउँमा एउटा पुरानो विद्यालय छ । त्यस नजिक ठूलो नहर छ । सामुदायिक वनको सफल उदाहरण पनि त्यहाँ छ । तर, त्यो विद्यालयको कुनै विद्यार्थीलाई गएर सोध्नुस् त्यहाँको स्थानीय परिवेशको बारेमा उसलाई केही पनि ज्ञान छैन । त्यो नहर योजनाले कति क्षेत्रमा सिंचाइ गर्छ, त्यसबाट कति मानिसहरू लाभान्वित छन्, त्यसले कति उत्पादन बढायो, त्यो उत्पादनले धनी वा गरीबलाई कति प्रभाव पार्‍यो, गाउँमा खुलेको बाटोले हामीलाई कति प्रभाव पार्छ ? यी विषयवस्तुहरूले कक्षामा प्रवेश नै पाएका छैनन् । न औपचारिक शिक्षामा छ, न त अनौपचारिकमै ।

हामी पाठ्यपुस्तकका स्थापित ज्ञानले यसरी बाँधिएका छौं, यस्ता समसामयिक सवाललाई कक्षाकोठामा प्रवेश गराउन एकदमै गाह्रो छ । तर प्रवेश नगराई पनि हुँदैन । त्यसनिम्ति केही अभ्यास गराउन सकिन्छ । विद्यार्थीका सामु तथ्य राखिदिने, तथ्यका आधारमा उनीहरूमा कौतुहल जगाउने, कौतुहलबाट प्रश्न उठाउने र प्रश्नबाट संवाद र वादविवादको सिर्जना गर्ने । साथै जीवनोपयोगी गुण, सामाजिक, आर्थिक, राजनीतिक, वातावरणीय विषयमा निरन्तर अन्तरसंवाद गर्ने पद्धतिको विकास गर्नुपर्छ । समसामयिक विषयको चर्चा गर्दा राजनीति भन्दा पनि विकाससँग सम्बद्ध तथ्यगत विवरणलाई अघि सारौं । किनभने शिक्षक, विद्यार्थी, गाउँ, समाज सबैको आवश्यकता विकास नै हो ।


सामाजिक विषय हेपियो
प्रा. नोवलकिशोर राई, भाषाशास्त्री

हाम्रो समाज र विद्यालयमा सबैभन्दा बढी हेपिएको विषय नै सामाजिक अध्ययन भएको छ । अंग्रेजी, गणित र विज्ञानका निम्ति जहाँ पनि राम्रो शिक्षकको खोजी हुन्छ । सामाजिक अध्ययनमा पनि त्यस्तै दक्ष शिक्षक चाहिन्छ भनेर चाहिं कोही पनि बोल्दैन । तीन मुख्य विषयमा ट्युशन पढिन्छ, पढाइन्छ । तर, सामाजिक अध्ययनमा ट्युशन चलेको मैले थाहा पाएको छैन । सामाजिक अध्ययनको पठनपाठनलाई कसैले पनि चुनौतीपूर्ण देख्दैन ।

हाम्रो शिक्षण प्रक्रिया नै पुरातन भयो । घोकन्ते भयो । पठनपाठनलाई कसरी सिर्जनशील बनाउने भन्ने कुरा न पाठ्यक्रममा छ, न त कक्षा शिक्षणमा नै छ । शिक्षक जब चुनौतीको सामना गर्ने र गुणवान हुँदैन, तबसम्म उसको शिक्षण सिर्जनशील हुँदैन ।

तपाईंहरूमध्ये कतिपयले खलिल जिब्रानका पुस्तक पढ्नुभएको पनि होला । यदि छैन भने एउटा किताब चाहिं पढ्नुस्, ‘प्रोफेट’ । प्रोफेटभित्र पनि अफ द चिल्डे«न । त्यसबाट थाहा हुन्छ केटाकेटी भनेका कस्ता हुन्छन् र उनीहरूसँग कसरी व्यवहार गर्ने । अर्कोतिर आफूभन्दा कनिष्ठबाट सिक्ने त हाम्रो संस्कारै छैन । ठाडै भन्दिन्छौं, “तेरो ओठ निचोर्दा दूध आउँछ । के जानेको छस् र ?”

केही महीनाअघि बर्दिया वा कैलाली जिल्लाको एउटा घटना मलाई याद छ । त्यहाँ हिन्दूहरूले लगाएको पुराणमा मुस्लिम समुदायका मानिसले पनि हिन्दूसँगै बसेर प्रसाद खाए । केही समयअघि काभ्रेकी एक जना वृद्धाले आफ्नो छोरा मर्दा अरूले सडक बन्द गर्न खोज्दा पनि रोकेकी थिइन् । यस्ता सकारात्मक समाचारहरू पत्रपत्रिकामा आइरहन्छन् । यस्ता विषयहरूलाई पनि कक्षाकोठामा छलफलको मुद्दा बनाइनुपर्छ; ताकि बालबालिकाहरूमा सकारात्मक भावनाको विकास होस् ।    

प्रस्तुतिः प्रमोद आयाम

commercial commercial commercial commercial