राजनीतियुक्तबाट मुक्ततिरको महायात्रा !
शिक्षकले समाज प्रति जवाफदेही हुनु र अभिभावक वर्गले शिक्षा क्षेत्रलाई गम्भीर चासोका रूपमा लिनु जरुरी हुन्छ । राज्यले लगानी मात्र हैन उचित रेखदेख पनि पुर्याउनुपर्छ ।
शिक्षक, वैशाख २०६९ को पृष्ठ ४८–४९ मा प्रकाशित टीका भट्टराई र विजया सुब्बाको ‘लुइरे मास्टरबाट महान् शिक्षकतिर !’ शीर्षकको लेख पढेपछि जन्मिएका विचार लाई प्रस्तुत गर्दैछुः
सो लेखले उठाएका मूल मुद्दा
- भौतिक विपन्नताले भन्दा पनि शिक्षकको गैर जिम्मेवारीपूर्ण क्रियाकलाप ले शैक्षिक क्षेत्रको साखगिरेको,
- सञ्चारमाध्यमको ध्यान विद्यालयको भौतिक संरचनामा सीमित शैक्षिक वातावरणमा कम परेको,
- विद्यालयका शिक्षक जिम्मेवार र अभिभावक उत्तरदायी नभएसम्म शैक्षिक क्षेत्र नसुध्रने,
- ज्ञान–सीप कम भए पनि सके जति इमान दारीपूर्वक कार्य सम्पादन गरिदिएका कारण पहिलेका शिक्षकले शैक्षिक गुणस्तर वृद्धिमा नेतृत्वदायी भूमिका खेलेका,
- अहिलेका अधिकांश शिक्षक राजनीति गर्ने र जागीर पकाउने धन्दामा मात्र सीमित हुन खोजेकाले शैक्षिक गुणस्तर मा ह्रास आएको,
- शिक्षकहरू समाज प्रति हैन शिक्षा कार्यालयप्रति उत्तरदायी भइदिनाले अराजकता आएको,
- सरकारी विद्यालयमा आफ्ना नानीहरूले उचित शैक्षिक वातावरण नपाउनाले अभिभावकहरू सकी/नसकी निजी विद्यालय पठाउन बाध्य हुनु,
- सरकारी विद्यालयमा पढ्ने विद्यार्थी सङ्ख्या दिनानुदिन कमी हुँदै जानुमा शिक्षकको इमान दारीमा खोट देखि नु,
- शिक्षक आफ्नो पेशाप्रति जिम्मेवार रगौरवान्वित हुनसक्ने र हुने स्थिति सिर्जना भएमा मात्र महान् शिक्षक कहलिन सक्ने ।
आजका शैक्षिक चुनौती
शिक्षकको गैर जिम्मेवारीपूर्ण क्रियाकलाप ः विद्यार्थीलाई अज्ञानताको अन्धकारबाट मुक्त पारी ज्ञानको उज्यालोतर्फ लैजान्छु भनी सामाजिक जिम्मेवारी लिएका शिक्षकहरू समाज प्रति उत्तरदायी हुनै पर्छ । उनीहरूले स्वीकार गरेको जिम्मेवारी पूरा न गर्नु अक्षम्य अपराध हुन्छ । शिक्षकलाई आमाबुबाभन्दा सम्मान नीय मानिन्छ । विद्वानहरूले शिक्षकलाई विद्यार्थीको मार्गदर्शक, आंशिक चिकित्सक, आंशिक वैज्ञानिक, पूर्ण धार्मिक व्यक्तिका रूपमा लिएका छन् । शिक्षक शिक्षण–पेशाप्रेमी, बालमनोविज्ञानको ज्ञाता, अनुकूल शिक्षण विधिको प्रयोगकर्ता, ज्ञानको प्रचारकसमेत हुनु नितान्त आवश्यक छ । शिक्षाशास्त्रीहरूले शिक्षकलाई राजनीतिक तटस्थ, धार्मिक सहिष्णु, आत्मविश्वासी र साहसिलो व्यक्तित्व जस्ता अनगिन्ती उपमा र विशेषणले युक्त विशाल सगरमाथाका रूपमा चिनाएका छन् । तर यसखाले अवस्थामा रहने शिक्षकहरू थोरै मात्र छन् । अधिकांश शिक्षकहरू बुझपचाइरहेका छन् । सुविधा भोग गर्न पाइएकै छ, जागीरबाट निकाल्ने वा अन्य कुनै पेशागत सजाय दिने शक्ति कुनै अभिभावकसँग छैन, शक्ति भएका निकाय आफैं नशामा लट्ठ छन्, त्यसैले जे गर्दा पनि हुन्छ भन्ने मान सिकतामा रही शिक्षकले गैर जिम्मेवारीपूर्ण कार्य गर्नाले नै शैक्षिक क्षेत्रमा अराजकता छाएको हो ।
सरकारी उदासीनताको शिकारः शिक्षा क्षेत्रमा जति लगानी गरिएको छ, सोही मात्रामा प्रतिफल प्राप्त भइराखेको छैन । लगानी र प्रतिफलको लेखाजोखा गर्ने चासो पनि सरकारले राखेको पाईंदैन । उल्टै शिक्षकलाई आ–आफ्नो पेशागत हकहितका विषयहरूलाई लिएर गम्भीर आन्दोलन गर्नु पर्ने अवस्थामा पुर्याउँछ । राजनीतिक आडभरोसा र भ्रष्ट प्रशासनिक क्रियाकलाप ले सरकारी क्षेत्रको भूमिकाप्रति नै गम्भीर प्रश्न तेर्सिएको छ ।
अभिभावकको संलग्नतामा कमीः आफ्ना नानीहरूको आनीबानी ररूचिप्रति अभिभावक जानिफकार हुन्छन् । नानीहरू जुन क्षेत्रमारूचि राख्छन्, त्यसै क्षेत्रको ज्ञान दिलाउन नेतृत्वदायी भूमिका अभिभावकले खेल्ने हो भने त्यसबाट सबै पक्ष लाभान्वित हुन्छन् । तर अधिकांश अभिभावकहरूगास, बास र कपासको जोहो गर्न व्यस्त रहनु पर्ने बाध्यताले शिक्षा–दीक्षाको फाँटलाई गौण बनाउन वाध्य छन् । विद्यालयमा आफ्ना कुरा राख्ने वातावरण नहुनु, भइहालेमा त्यसको सुनुवाई हुँदै नहुनु जस्ता समस्याले अभिभावक सक्रिय हुन र संलग्न रहन निरुत्साहित छन् ।
निजी विद्यालयप्रति आकर्षित हुन बाध्यः विद्यार्थीहरूलाई सही शिक्षा दिनु विद्यालय/शिक्षकको कर्तव्य हो । समाज ले सुम्पेको यो जिम्मेवारीलाई कतिपय सरकारी विद्यालयले वहन गर्न नसकेकै कारण अभिभावकहरू नसक्दा नसक्दै पनि आफ्ना नानीलाई निजी विद्यालयमा पढाउन बाध्य हुनु परेको छ । अभिभावकले ठूलो धनराशी खर्चनु परे पनि तुलनात्मक रूपमा रराम्रो शिक्षा आर्जन गर्ने अवसर दिलाएकाले नै निजी विद्यालयप्रतिको आकर्षण बढेको हो ।
सामुदायिक विद्यालय इतिहासमा सीमित हुने खतराः सरकारी बेवास्ता र शिक्षक वर्गको अकर्मण्यताको मुख्य कारणबाट सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूको सङ्ख्या दिनानुदिन कम हुँदै गएको छ । शहर र दुर्गम भेगका कतिपय विद्यालयहरू विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा छन् । तराईका कतिपय ठाउँमा धेरै नजिक–नजिक विद्यालय छन् । पर्याप्त विद्यार्थी छैनन् । ठूलो सङ्ख्या निजी विद्यालयमा पढ्ने भएकाले यस्तो अवस्था आएको हो । कतिपयका लागि सरकारी विद्यालयमा पढाउनु बेइज्जतको सवाल भएको छ भने कतिपयका लागि निजी विद्यालयमा पढाउनु प्रतिष्ठाको विषय बन्न पुगेको छ । सरकारी विद्यालयबाट एस.एल.सी. उत्तीर्ण विद्यार्थीहरूका लागि छात्रवृत्तिको विशेष आरक्षणको व्यवस्था गरिए पनि सरकारी विद्यालयले विद्यार्थी आकर्षित गर्न सकिरहेका छैनन् । बरू पढ्ने विद्यालय निजीलाई बनाउने र परीक्षा दिने विद्यालय सरकारीलाई बनाउने प्रवृत्ति बढ्दो छ । यसो हुँदै गएमा सामुदायिक विद्यालय इतिहासमा सीमित हुने खतरा बढेर जानेछ ।
शिक्षकलाई उत्प्रेरित गराउने कार्ययोजना
शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने वर्ग शिक्षक, अभिभावक, सरकार, विद्यार्थी र शिक्षासेवी/बुद्धिजीवीहरू हुन् । शिक्षा क्षेत्रको सुदृढीकरणका लागि सबै वर्गले आ–आफ्ना ठाउँबाट इमान दारीपूर्वक कार्य सम्पादन गर्नु आवश्यक छ । त्यसमा पनि शिक्षककै केन्द्रीयतामा सुदृढीकरणको कार्य प्रारम्भ हुनुपर्छ । अतः शैक्षिक क्षेत्रलाई समुन्नत तुल्याउन शिक्षकलाई उत्प्रेरित गर्ने व्यावहारिक कार्ययोजनालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
सरकारका तर्फबाट हुनुपर्ने कार्यः सरकारले बनाएको शैक्षिक नीति/नियम, पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक योजना आदिका आधारमा मुलुकको शैक्षिक रथगुड्ने गर्छ । शैक्षिक क्षेत्रमा क्रियाशील शिक्षक–कर्मचारीको भरणपोषण गर्ने र तिनीहरूको लगाम आफ्नो हातमा लिने जस्ता कार्य सरकारले नै गर्छ । कुन प्रकृति र प्रवृत्तिका जनशक्ति उत्पादन गर्ने र मुलुकलाई कुन र कस्तो दिशातर्फ मोड्ने– त्यसको निक्र्योल गर्ने मुख्य अभिभारा सरकारकै हो । यिनै कुरा हरूलाई हृदयङ्गम गर्दै सरकारले शिक्षा क्षेत्रको प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउन र शिक्षक वर्गलाई आ–आफ्नो दायित्वमा कटिबद्ध तुल्याउन निम्न लिखित कार्य गर्नु वाञ्छनीय छः
- विद्यालयीय शिक्षा पूर्णतः निःशुल्क र अनिवार्य गर्ने
- अरू क्षेत्रमा संलग्नहरूको भन्दा बढी मात्रामा पारिश्रमिक निर्धारण गर्ने
- शैक्षिक क्षेत्रका कुनै पनि अन्तरकुन्तरमा राजनीतिको प्रभाव पर्न नदिने
- शिक्षक/कर्मचारीलाई पेशाप्रति प्रतिबद्ध र कुशल पार्न तालिम/पुनर्ताजगी तालिमको व्यवस्था गर्ने
- शिक्षक/कर्मचारी नैतिक रूपमा समाज प्रति र पेशागत हिसाबले शैक्षिक संयन्त्रप्रति जवाफदेही हुने वातावरण तयार पार्ने
- जस्तोसुकै कठिन परिस्थितिमा पनि शैक्षिक क्षेत्रलाई विरोधको तारो बनाउने अवस्था आउन नदिने
- पेशागत निष्ठावान्, कार्यक्षमता र कार्य सम्पादनका आधारमा शिक्षक/कर्मचारी पुरस्कृत हुने र दण्डयोग्य कार्यका लागि दण्डित हुने प्रावधानको व्यवस्थापन गर्ने
- विद्यालय र विद्यार्थीसँग प्रत्यक्ष सरोकार राख्ने कार्यमा बाहेक अन्य अवस्थामा शिक्षकलाई काजमा खटाउन नपाउने
- लब्ध प्रतिष्ठित शिक्षासेवी/बुद्धिजीवीहरूको नेतृत्व र सक्रियतामा शैक्षिक क्षेत्रको अनुगमन गराई आवश्यक कार्य सम्पादन गर्ने । विशेष गरी शिक्षकलाई पेशाप्रति प्रतिबद्ध बनाउन र उत्प्रेरित गर्न सरकारले तर्जुमा गरेका नीति/नियम पालना गराउन कुनै कसर बाँकी राख्नुहुन्न । राजनीतिक आग्रह/पूर्वाग्रह मुक्त भई व्यवहार गरिंदा कसैको मनदुखाइ हुन्न । सरकार परिवर्तनसँगै संयन्त्रमा परिवर्तन हुने र पक्षधरलाई इच्छित लाभ दिलाउने सरकारी रवैयाले शिक्षकलाई समेत गैर जिम्मेवारपूर्ण कार्य गर्न उत्प्रेरित गरेको हो । मियो हल्लिरहेपछि बलिया पक्षधरहरूले आफूतर्फ ढल्काउनु स्वाभाविक हो । अतः सरकार बलियो मियो र भरोसायुक्त अभिभावक बनिदिन सक्नुपर्छ ।
शिक्षकका तर्फबाट हुनुपर्ने कार्यः शैक्षिक नीतिलाई व्यवहारमारूपान्तरण गर्ने प्रमुख वर्ग भनेको शिक्षक हो । शिक्षक समाज र सरकारलाई जोड्ने सेतु हो । आफ्नो पेशाप्रति प्रतिबद्ध र उत्प्रेरित रहन शिक्षक स्वयम्ले गर्नु पर्ने कार्यको सूची निम्नानुसार प्रस्तुत गर्न सकिन्छः
- शिक्षा नीति/नियम, नियमावली, आचारसंहिताप्रति पूर्ण प्रतिबद्ध रहने
- भोलिको राष्ट्र हाँक्ने कुशल सारथि आजका विद्यार्थी भएको बोध गरी कार्य सम्पादन गर्ने
- नैतिकरूपले समाज प्रति र पेशागतरूपले शैक्षिक संयन्त्रप्रति जवाफदेही हुने
- विद्यार्थीलाई जिज्ञासु बनाउने हिसाबले शिक्षण गर्ने
- विद्यार्थी र अभिभावकका हरेक सान्दर्भिक जिज्ञासालाई यथोचित सम्बोधन गर्ने
- शिक्षण पेशाप्रतिगौरवान्वित हुने ।
अभिभावकका पक्षबाट हुनुपर्ने कार्यः विद्यालयमा हुने शैक्षिक क्रियाकलाप बाट प्रतिफल पाउने एउटा वर्ग अभिभावक हो । अभिभावकहरू सचेत, सक्रिय र सहभागी बनेर विद्यालयसँग सहकार्य गर्दा त्यसबाट बालमनोविज्ञान र बालहित बमोजिमको शिक्षा दिन सकिन्छ । यहाँ भने शिक्षकलाई पेशागत कार्यमा सचेत, सक्रिय र इमान दार भई कार्य गर्न उत्प्रेरित गर्न अभिभावकले निर्वाह गर्नु पर्ने भूमिकालाई निम्नानुसार औंल्याउन खोजिएको छः
- आफ्ना नानीको अनौपचारिक शिक्षक बन्ने
- कक्षाकार्य र गृह कार्यहरूको दिनहुँ निरीक्षण गर्ने
- बेलाबखतमा विद्यालयमागई आफ्नो धारणा व्यक्त गर्ने
- शिक्षक वर्गको सकारात्मक प्रयासप्रति आभार व्यक्त गर्ने र कमजोरीप्रति सुझाव दिने
- नानीहरूलाई शिक्षा दिने एकलौटी जिम्मा विद्यालय/शिक्षकको हो भन्ने भ्रमबाट मुक्त हुने
- नानीले शैक्षिक प्रतिस्पर्धामा अरूलाई उछिन्नै पर्छ भन्ने हैन व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ भन्ने धारणा बनाउने
- विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ जस्ता निकायहरूगठन हुँदा वा तिनीहरूको संलग्नतामा कार्यहरू हुँदा राजनीतिक, जातीय वा त्यस्तै कुनै प्रलोभन वा दबाबमा परी अन्याय वा भेदभावपूर्ण कार्य न गर्ने
- पेशागत निष्ठाबमोजिम कार्य गर्ने शिक्षक पुरस्कृत होऊन् र अनुकरणीय व्यक्ति बनून् भन्ने ध्येय राख्ने
- शिक्षकहरूलाई शैक्षिक कार्य सम्पन्न गर्न आइपर्ने बाह्य बाधाहरू निर्मूल पार्न अघोषित सुरक्षाकर्मीको भूमिका खेल्ने ।
विद्यार्थीबाट हुनुपर्ने कार्यः विद्यालयहरू मूलतः विद्यार्थीहरूका निम्ति हुन् । शिक्षकको ध्यान विद्यार्थी माथि केन्द्रित भए झै विद्यार्थीको ध्यान समेत शिक्षक माथि केन्द्रित रहनु पर्छ । विद्यार्थीले उपयुक्त शैक्षिक वातावरण कायम गर्न सक्नुपर्छ । राजनीतिक आस्था र अन्य कुनै विश्वासका आधारमा शिक्षकलाई हेर्ने हेय दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी हुन्छ । उनीहरू शिक्षकले पढाएका कुरा हरूमा मात्र सीमित हुनुहुन्न । शिक्षकलाई सहयोगी शैक्षिक –निर्देशक सम्झी ज्ञान खोज्ने महाभियानमा उनीहरू स्वयम् सक्रिय रहनु पर्छ । उत्तर भन्न लगाएर शिक्षकलाई हैरान तुल्याउने हैन, उत्तर सुनाएर ठीक वा बेठीक के भयो भनी शिक्षकको निर्णय सुन्न आतुर हुनुपर्छ । शिक्षकको इमान दारीको प्रत्यक्ष मूल्यांकनकर्ता विद्यार्थी हुने भएकाले इमान दारीपूर्वक आफ्नो राय सम्बन्धित निकायमा दिन भुल्नुहुन्न ।
शिक्षासेवी/बुद्धिजीवीका पक्षबाट: राष्ट्रकै आशा र भरोसाका केन्द्रबिन्दु भएकाले शिक्षासेवी/बुद्धिजीवीले गर्नु पर्ने कार्यहरू धेरै छन् । तीमध्ये व्यावहारिक पक्षबाट शिक्षकलाई उत्प्रेरणा जगाउने कार्यहरूको सूची निम्नानुसार प्रस्तुत गर्न सकिन्छः
- राज्यले सुम्पेको कार्यभार विना आग्रह र पूर्वाग्रह सम्पन्न गर्ने
- शैक्षिक क्षेत्रको साख उच्च पार्न योगदान दिने शिक्षकलाई पुरस्कृत गर्न सिफारिस गर्ने
- नैतिक पतन देखि ने कार्य गरेर बदनाम कमाएका शिक्षकलाई दण्डको दायरामा ल्याउन प्रयत्न गर्ने
- बेलाबखतमा विद्यालयभित्र वा बाहिर मौखिक वा लिखित माध्यमबाट जनचेतना जाग्ने र शिक्षकहरूलाई दायित्वबोध हुने प्रकृतिका कार्यहरू सञ्चालन गर्ने
- शैक्षिक प्रशासन न्यायोचित तवरले चलोस् भनी अभिभावकीय भूमिका खेल्ने ।
र, अन्त्यमा
भोलि देशलाई कता दिशानिर्देश गर्ने हो भन्ने कुरा को निक्र्योल आजै गर्न सकिन्छ । यसका लागि शिक्षकले समाज प्रति जवाफदेही हुनु र अभिभावक वर्गले शिक्षा क्षेत्रलाई गम्भीर चासोका रूपमा लिनु जरुरी हुन्छ । राज्यले लगानी मात्र हैन उचित रेखदेख पनि पुर्याउनुपर्छ । अर्कातिर दोषी पक्षले पानी माथिको ओभानो भई ढलीमली गर्ने अवस्था रहनु हुन्न । सबैभन्दा महत्वपूर्ण कुरा शिक्षा र शैक्षिक जगतमा राजनीतिक ज्ञान हुनुपर्छ तर राजनीतिमुक्त वातावरण रहनु पर्छ । यस क्षेत्रमा जोडिनेले राजनीतिक पार्टीमा सक्रियता देखाउनु, पार्टीगत भ्रातृसंगठनगठन गर्नु र खुलेआम पार्टीको नीति र घोषणापत्र बमोजिम शिक्षालयहरूमा राजनीति गर्नु अधिकार हैन घोर अपराध हो । त्यस्ता अपराधीमा शिक्षक, अभिभावक, विद्यार्थी एवं अन्य संलग्न व्यक्तित्वहरू जो पनि पर्न सक्छन् । यहाँ वर्गगत हक–अधिकार सुरक्षित गर्न संगठन हुनैपर्छ भन्ने मत पनि आउन सक्छ । तर शिक्षक–विद्यार्थीहरूको हक–अधिकार सुरक्षित पार्नुपर्ने जिम्मा लब्ध प्रतिष्ठित शिक्षासेवी/बुद्धिजीवीले लिनुपर्छ । शिक्षा र यससँग सम्बन्धित क्षेत्रमा असन्तोष आउन सक्ने स्थिति नै रहन दिनुहुन्न । यस क्षेत्रमा अराजकता निम्त्याउने र अराजक कार्य गर्ने लाई कठोर दण्डको व्यवस्था हुनु जरुरी हुन्छ । यथोचित नीतिनियमहरू कार्यान्वयनको पक्षमा जानुपर्छ भने अनावश्यक नीतिनियम खारेज हुनुपर्छ । बनेका नीतिनियमहरू अक्षरशः पालना हुनुपर्छ । यसप्रकार सरोकारवाला पक्षहरू राजनीतियुक्तको वर्तमान परिप्रेक्ष्यबाट मुक्ततिर को महायात्रामा लाग्ने हो भन्ने शैक्षिक क्षेत्रमा आमूल परिवर्तन हुन्छ र मुलुकको चौतर्फी विकास मा महत्वपूर्ण अध्याय सावित हुनेछ ।
लिटिल फ्लावर मा.वि., राजविराज–९, सप्तरी



