हेराइ र बुझाइ
मनको तलाउ
एक दिन दिउँसो धेरै तिर्खा लागेपछि भगवान बुद्धले आफ्ना शिष्य आनन्दलाई बोलाएर नजीकको पोखरीबाट पानी ल्याउन भने । मध्यान्हको बेला, तलाउमा पानी खान आएका चौपायाहरूको घुइँचो थियो, केही त आहाल पनि बसेका थिए । परिणामतः पानी एकदम धमिलिएको थियो । आनन्द पानी नलिई फर्के र बुद्धलाई पानी ल्याउन नसकेको कुरा बताए । उनले अब विपरीत दिशातिर को नदीमा गएर पानी ल्याउने प्रस्ताव पनि बुद्धसामु राखे ।
तर भगवान बुद्धले आनन्दलाई फेरि पनि त्यही पोखरीमा गएर पानी ल्याउन भने । यसपटक पनि पानी सङ्लिइसकेको थिएन । बुद्धले तेस्रो पटक पनि त्यहीं पठाए । पानी त्यसबेला पनि कञ्चन भएको थिएन । चौथो पटक जाँदा भने पानी राम्ररी सङ्लिइसकेको थियो । आनन्द कमण्डलुभरि पानी लिएर आए ।
आँत भिज्ने गरी पानी पिएपछि भगवान बुद्धले शिष्य आनन्दलाई सम्बोधन गर्दै भने, “आनन्द, हराम्रो जीवनको जल पनि कुविचार रूपी पशुले बारम्बार धमिल्याइरहन्छन् । त्यस्तो बेलामा हामी आफैं डराएर भाग्छौं । तर हामी भाग्नुको सट्टा मन शान्त होउञ्जेलसम्म दृढ भएर रहन सक्यौं भने त्यो पोखरी जस्तै मन पनि सङ्लिइहाल्छ नि !”
बुद्धले आफ्ना सबै शिक्षा आनन्दलाई यसरी नै दिएका थिए– व्यावहारिक र मन छुने शैलीमा ।



