शिक्षक पढेपछि

बढ्दैछन् सिक्नेहरू

शिक्षक  मासिकको २०६७, माघ अङ्कमा ‘६ वर्षमा फेरिएको स्कूल’ शीर्षक अन्तर्गत बर्दियाको तारातालस्थित त्रिशक्ति प्राविको सरसफाई सम्बन्धी समाचार छापियो । अनि त्यसको अनुसरण गरयो झापाको भगवती निमावि, सुरुङ्गाले । प्रायः निम्नवर्गीय परिवारका बालबालिका पढ्ने भगवती निमाविमा विद्यार्थीको सरसफाई एउटा समस्या नै बनेको थियो । विद्यार्थी कपाल नकोरी र मुखै पनि नधोइकन विद्यालय आउने गर्दथे । प्रअ खड्गप्रसाद विमली भन्छन्, “त्यो समाचार पढेपछि हामीले पनि प्रत्येक कक्षामा ऐना र काइँयो राखिदियौं । ऐना राखेपछि विद्यार्थी चिटिक्क परेर विद्यालय आउन थाले । अहिले कक्षामा प्रवेश गर्नासाथ ‘म कस्तो देखि एको छु’ भनेर ऐनामा हेरिहाल्छन् । चित्त बुझेन भने सफा गरिहाल्छन् ।”

शिक्षक  मा छापिएका समाचारले विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारीलाई पनि प्रभाव पारेको रहेछ । २०६७ चैतमा ‘माहुरीको रानो जस्तो’ शीर्षकमा शिक्षक  राम तामाङको शिक्षण शैली सम्बन्धी समाचारले भगवती निमावि व्यवस्थापन समितिका अध्यक्ष ओम पाठकको ध्यान खिचेछ । “धेरै नसके पनि एक–दुई वटा पाठ चाहिं स्थलगत अवलोकन गरेर पढायौं, अध्यक्ष पाठकले भने ।

सिंहदेवी निमावि, सुरुङ्गाले शिक्षक  को २०६८ चैत अङ्कमा प्रकाशित ‘नेपाली खाद्य पदार्थमा पाइने पोषकतत्व’ शीर्षकको तालिकालाई ठूलो चार्ट बनाएर विद्यालयमा सबैले देख्ने गरी टाँसेको छ । प्रअ डम्बर फुँयालका अनुसार, सिंहदेवीले यो अभ्यास गरे पछि दुर्गापुर स्रोतकेन्द्रका सबै विद्यालयले प्रति विद्यालय रु.५०० तिरेर फ्लेक्स चार्ट बनाउन अर्डर दिएका छन् ।

२०६८ असार अङ्कको शिक्षक  मा छापिएको इलाम, चुलाचुलीस्थित सरस्वती प्राविको प्रशासनिक अभ्यास पढेर झापाको जनता बालविकास प्रावि, खजुरगाछीले पनि सोही अभ्यास को अनुकरण गर्न लागेको छ । प्रअ कुमार भण्डारी भन्छन्, “यो वर्ष देखि विद्यालयको मासिक हिसाबकिताब हरेक महीनाको एक गते सूचनापाटीमा टाँस्ने योजनामा छौं । यसका लागि सूचनापाटी पनि किनेर ल्याइसकिएको छ ।” गत फागुनमा प्रकाशित मन्टेसरी पद्धतिको सामग्री पढेपछि दमकको हिमालय उमाविमा पनि त्यही विधिलाई लागू गरिएको छ ।

सी. अधिकारी, झापा


पैसा असुल्न छाडियो

विराटनगर–२१ स्थित जनविकास उमाविले २०६८ को एसएलसी परीक्षा पासगराइदिने भनेर विगतमा जस्तो विद्यार्थीसँग रकम उठाउने काम गरे न ।गत वर्ष आफ्नै विद्यार्थीहरूबाट जनही रु.२,५०० असुले पनि चिट चोराउन नसकेर परीक्षार्थीलाई रकम फर्काउनु परेको समाचार शिक्षक  मा प्रकाशित भएको थियो ।

गत सालको परीक्षामा चिट चोराउने शुल्क लिएर पनि चोराउन नसकेपछि विद्यार्थी र अभिभावकले विद्यालय घेराउ गरेर पैसा फिर्ता लिएका थिए । यसअघि सुनको फुली बन्धकी राखेर छोरीको परीक्षाका निम्ति रकम तिरेकी अभिभावक माया श्रेष्ठले भनिन्, “पत्रिकामा समाचार छापिएर बेइज्जत भयो । अहिले त त्यसरी पैसा उठाएको सुनिएको छैन ।”

यता आएर सोही विद्यालयमा अतिरिक्त कक्षा समेत सञ्चालन गर्न थालिएको छ । “पहिलेका विद्यार्थीले चिट चोर्न पैसा तिरेका थिए । हामीले त तिर्नु परेन”, एसएलसी परीक्षा दिएर बसेका दीपक कुमार ठाकुरले भने, “यस पटक एसएलसी जाँचअघि स्कूलमै सित्तैंमा कोचिङ पढाइयो ।” जनविकास मा परीक्षाको डेढ महीनाअघि गणित र विज्ञानको कोचिङ कक्षा चलाइएको थियो ।

जनविकास का प्रअ सदानन्द यादव दुई वर्षयता विद्यालयमा निकै सुधार आएको दाबी गर्छन् । उनी भन्छन्, “अहिले त विद्यालयको पक्की भवन बनाइएको छ । उमावि पनि सञ्चालन गरियो । पढाइमा धेरै सुधार गरेका छौं । पहिले समाचारमा छापिए जस्तो अवस्था अहिले छैन ।” यादवका अनुसार, शिक्षण सिकाइ सुधार्नका निम्ति अचेल विषयगत शिक्षकले कक्षामै हरेक महीना परीक्षा लिन थालेका छन् । कमजोर विद्यार्थीका अतिरिक्त छुट्टै कक्षा सञ्चालन गर्न थालिएको छ ।

कमल रिमाल, विराटनगर


चुनौती झन् थपिएको छ

शिक्षक  मासिकको २०६८ जेठ अंकको आवरणमा छापियो, ‘हाम्री म्याडम, राम्री म्याडम ।’ शिक्षक  को उक्त समाचारमा सरस्वती स्कूलका शिक्षकका पृथक् शिक्षण अभ्यास ,ग्रेड टिचिङ, अतिरिक्त क्रियाकलाप, अभिभावकको सहयोग लगायतका अनुकरणीय पक्ष समेटिएका थिए । त्यो समाचार प्रकाशित भएपछि सरस्वती निमावि चर्चाको विषय बन्यो । शिक्षकहरूलाई बधाइको ओइरो लाग्यो । विद्यालय अवलोकनको केन्द्रविन्दु बन्यो । प्रअ जीतबहादुर थापाका अनुसार, इलाम, झापा देखि पाल्पाका विद्यालयका शिक्षक र अभिभावकले सरस्वती स्कूलको अवलोकन गरे ।

जिल्ला शिक्षा कार्यालय, प्लान नेपाल र युनिसेफ लगायतका संस्थाले शैक्षिक सामग्री उपलब्ध गराए र सहयोग गरे । प्रअ थापा भन्छन्, “सबै क्षेत्रबाट रराम्रो ‘रेस्पोन्स’ र सहयोगले हौसला पाएका छौं । अब त विद्यालयको पठनपाठनलाई थप व्यवस्थित तुल्याउन चुनौती थपिएको छ ।”

यस वर्ष यहाँका तीन जना शिक्षकले युनिसेफको सहयोगमा ९ दिने बालकेन्द्रित सिकाइ सम्बन्धी तालिमको अवसर पाए । तालिम लिएकी शिक्षक पुनम खड्का भन्छिन्, “हामीले हिजोसम्म बालबालिकालाई पढाएका मात्रै रहेछौं, सिकाएका रहेनछौं । अब पढाउने भन्दा सिकाउनेतर्फ हराम्रो ध्यान केन्द्रित भएको छ ।” बालबालिकालाई कक्षा–कोठामै विभिन्न खेल विधिबाट पठनपाठन थालिएपछि विद्यालयप्रतिको आकर्षण विद्यार्थीको कक्षा उपस्थितिदर पनि बढ्दो छ ।

कृष्ण अधिकारी , नेपालगञ्ज


अंग्रेजी माध्यमलाई हौस्यायो

खोटाङको पाथेकास्थित सरस्वती माविको कक्षा २ का ३५ जना छात्रछात्रा अहिले अंग्रेजी माध्यममा पढ्दैछन् । यिनले कक्षा एक देखि नै अंग्रेजी माध्यममा पढ्न पाएका हुन् ।

२०६५ चैतको शिक्षक  मासिकमा एउटा आवरण सामग्री छापियो, ‘हाउगुजी बनेको अंग्रेजी ।’ त्यो सामग्रीले सरस्वती माविका शिक्षकहरूलाई उत्प्रेरित तुल्याएछ । शिक्षक राजन बानियाँ भन्छन्, “विद्यालयमा उक्त पत्रिका आएपछि हामीले अध्ययन गर्यौ, छलफल गर्यौ र अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने निधो पनि गर्यौ ।” अब माथिल्ला कक्षामा समेत क्रमिक रूपमा अंग्रेजी माध्यमलाई विस्तार गर्दै लैजाने निर्णय विद्यालय व्यवस्थापनले गरेको छ । अंग्रेजी माध्यमको थालनीसँगै विद्यालयको भर्नादर बढ्न थालेको छ ।

विद्यालय व्यवस्थापनले यस वर्ष देखि अभिभावकलाई विद्यालय आउन बाध्य बनाउने नीति पनि बनाएको छ । अभिभावकले छोराछोरीलाई मेलापातमा लगाउनाले विद्यार्थीको अनुपस्थिति बढेपछि महीनामा १५ दिनसम्मगयल हुने विद्यार्थीलाई पुनः भर्ना गर्नु पर्ने नियम बनाइएको छ ।

सइन्द्र राई, खोटाङ

commercial commercial commercial commercial