विद्यालय फर्किए ‘ड्रपआउट’
चरम गरीबी, घरायसी समस्या र छुवाछूत–उँच–नीचका कारण तराई–मधेशका मुसहर, चमार तथा खत्वे जातिका बालबालिका बीचैमा पढाइ छाड्न बाध्य छन् । त्यसरी पढाइ छाड्नेहरूले सितिमिति विद्यालय फर्केर फेरि पढाइ सूचारु गर्ने अवसर पाउन कठिन छ । तर सिरहाका बीचैमा पढाइ छाडेर स्कूलै बिर्सिइसकेका करीब ५० जना दलित छात्रछात्रालाई फेरि स्कूल फर्काइएको छ ।
सिरहा, ढोढना–६ की रेखा कुमारी सदाय (मुसहर) दुई वर्षपछि फेरि स्कूल फर्किएकी हुन् । उनी अहिले ढोढनाकै सगरमाथा माविमा कक्षा-८ मा छिन् । चरम गरीबीका कारण रेखाका बाबुआमाले उनलाई कक्षा-५ उत्तीर्ण गरे पछि घरायसी काममा लगाए । दुई वर्षसम्म रेखाको पढाइ बन्द भयो । रेखा भन्छिन्, “स्कूल छोडेर मैलेगाईबाख्रा चराउन थालेपछि बुबाआमालाई सजिलो भयो । मैले घरको काम हेरिदिएपछि बुबाआमाले कमाउने काम गर्न पाउनुभयो ।”
एकपटक विद्यालय छाडिसकेपछि रेखा जस्ता गरीब परिवारकाग्रामीण केटीहरू फेरि स्कूल फर्कने घटना विरलै हुन्छन् । केही वर्ष बुबाआमालाई सघाउनु र विवाह गरेर पतिको घर जानु नै उनीहरूको नियति हुने गर्छन् । तर, रेखाको हकमा उनको स्कूल यात्रा दुई वर्षपछि फेरि सुचारु भएको छ र उनका सपना पनि फेरिएका छन् । स्थानीय दलित अगुवा उमेश कुमार विसंखे रेखाका बुबाआमालाई शिक्षाको महत्व बुझाउन सफल भएपछि उनी पुनः स्कूल पुगेकी हुन् ।
विद्यालय फर्किएपछि रेखाको आत्मविश्वास बढ्दै गएको छ । “स्कूल छाड्ने रहर कसलाई हुन्छ र ?” प्रश्न गर्दै उनी भन्छिन्, “पढेर म आत्मनिर्भर हुन चाहन्छु । आत्मनिर्भर नभई विवाह पनिगर्दिनँ ।”
गरीबीका कारण बीचमै स्कूल छोड्ने समस्या (ड्रपआउट) तराई–मधेशमा अत्यधिक नै छ । गरीबीको मारले एकपटक स्कूल छाडेर फेरि स्कूल आउन थालेका अर्का छात्र हुन् ढोढनाकै श्रवण सदाय । उनको आर्थिक अवस्था पनि रेखाको भन्दा खासै फरक छैन । दैनिक मजदूरीको भरमा श्रवणको परिवार धानिएको छ । उनले स्कूल छाडेर घरको काम सम्हालिदिंदा अभिभावकलाई कमाउने मौका मिलेको थियो ।

हामी कहिले जन्मियौं ? भदैया–४ धनगढीटोलका दलित बालबालिका तथा तिनका आमा । उनीहरू कसैलाई पनि आफ्नो जन्ममिति यकिन छैन ।
स्कूल छाडेपछि श्रवण पनि भैंसी चराउने, साथीहरूसँग खेल्ने अनि आफूभन्दा साना भाइबहिनीको हेरचाहको काममा सीमित भए । श्रवण भन्छन्, “विद्यालय आउन छाडेपछि कक्षा ५ सम्म सिकेका कुरा पनि भुलेछु ।” तर अब श्रवणले स्कूल नछाड्ने प्रण गरेका छन् । उनको जीवन लक्ष्य बदलिएको छ । अब उनी बाबुआमा जस्तै दैनिक ज्यालादारीमा काम गरेर जीवन अघि बढाउने नभई एसएलसी उत्तीर्ण गरेर उच्चशिक्षा हासिल गर्ने सपना देखि रहेका छन् । उनी भन्छन्, “बुबाआमाले त मलाई पढ्ने खर्च दिन सक्नु हुन्न । तर म आफैं केही गरेर बीए पास गर्छु किनभने पढिएन भने अब काम लागिन्न ।”
प्राथमिक तहमै स्कूल छाड्ने सोही गाविसका रमेश मल्लिक (डोम) को कथा रेखा र श्रवणको भन्दा अलि भिन्न छ । आफूलाई साथीहरूले ‘डोम, डोम’ भनेर होच्याउने गरेका कारण स्कूल छाडेको उनी बताउँछन् । उक्त विद्यालयका स्वयंसेवक शिक्षक बद्री सदायको प्रयासमा स्कूलमा जातीय रूपमा अपमान गर्ने शब्दको प्रयोग नियन्त्रण गरिएपछि रमेश पुनः स्कूल आउन थालेका हुन् । अहिले विद्यालय उँच–नीचको व्यवहारबाट मुक्त भएको बताइन्छ । शिक्षक बद्री सदाय भन्छन्, “पाँच वर्षअघिसम्म यहाँ शिक्षक र छात्रछात्राले कथित तल्लो जातिका छात्रछात्राले छोएको पानी नखाने तथा जातीय आधारमा अपमानित गर्ने चलन थियो; अहिले त्यस्तो विभेद हटेको छ । विभेद हटेपछि डोम र चमार जातिका नानीहरू पनि स्कूल फर्किएका छन् ।”
१० वर्षका छात्र रमेश मल्लिकको विवाह भइसकेको छ । उनी डेढ वर्ष हुँदै परिवारले विवाह गरिदिएको हो । विवाह भए देखि नै उनकी ‘पत्नी’ माइतमै छन् । रमेश भन्छन्, “मैले श्रीमती देखेको छैन, जन्मेको र बेहुलो भएको मिति पनि थाहा छैन तर, सबै जना तेरो विवाह भइसक्यो भन्छन् ।”
एकपटक स्कूल छाडेर फेरि स्कूल आउन थालेका यी विवाहित बालकलाई अचेल घर भन्दा स्कूल नै रमाइलो लाग्छ । रमेशको स्कूलमा उपस्थिति दर र पढाइमा रुचि पनि बढेको छ ।
स्कूल जाने बढे
सिरहाकै भदैया–४ धनगढीटोलका मुसहर जातिका १२ घर–परिवारबाट २६ जना बालबालिका स्कूल जाने गर्छन् । पाँच वर्षअघिसम्म उक्त टोलबाट स्कूल जाने बालबालिकाको संख्या लगभग शून्य थियो । तर, अहिले सो टोलका सबै बालबालिका स्कूलमा भेटिन्छन् । एकपटक स्कूल छाडेकालाई पनि स्कूल फर्काइएको छ ।
रामलक्ष्मण प्रावि, भदैयाका कक्षा ४ का छात्र अजय कुमार मुसहर एक वर्षपछि फेरि स्कूल फर्किएका हुन् । बुबाआमाले स्कूल होइन, भैंसी चराउन जाने भनेपछि उनी त्यही काममा लागे । तर, स्थानीय सामाजिक कार्यकर्ताले अजयका अभिभावकलाई सम्झएपछि उनको स्कूल यात्राको ढोका पुनः खुलेको हो ।
धनगढीटोलकै उमेश कुमार सदाय आफूले कापी/किताब कलम र स्कूल पोशाकको अभावमा कक्षा ५ सकेपछि स्कूल छाडेको बताउँछन् । करीब ६ महीना स्कूल छाडेका उनी कापी/कलम र किताब तथा विद्यालय पोशाक पाएपछि अहिले फेरि स्कूल जान थालेका छन् ।
धनगढीटोलका स्कूल छाडेका र कहिल्यै स्कूल न गएका बालबालिकालाई स्कूलको ढोकासम्म पुरयाउने लक्ष्यले टोलमै स्कूल अनुगमन समिति बनाइएको छ । उक्त समितिले बालबालिकालाई विद्यालय लैजाने र बालबालिका स्कूल गए न गएको अनुगमन गर्ने गरेको छ । समितिका अध्यक्ष सुदामादेवी सदाय भन्छिन्, “घरपिच्छे साना नानीहरूलाई स्कूल लैजाने र ल्याउनेपालो लगाएका छौं । स्कूल जान छाडेका करीब पाँच जनालाई स्कूल फर्काउन पहल गर्यौ, अहिले उनीहरू नियमित रूपमा स्कूल जान्छन् ।”
मुसहर, चमार, डोम आदि जातिका बालबालिकाले बीचमै स्कूल छाड्नुको मुख्य कारण चरम गरीबी र छुवाछूत देखिएको छ ।
एक दशकअघिसम्म सिरहाकै भदैया–२ स्थित मुसहर वस्तीका कुनै पनि बालबालिका स्कूल जाँदैनथे भने अहिले उक्त वडाका ४० घरका सबै (६२ जना) बालबालिका स्कूल जाने गर्छन् । बीचमै विद्यालय छाडेकाहरू पनि पुनः विद्यालय फर्किएका छन् । यसपालि एसएलसी दिएकी प्रेमशिला रामले कक्षा ५ पूरा गरे पछि एक वर्ष पढाइ छाडेकी थिइन् । १३ जनाको परिवार पाल्न आफूले पनि मजदूरी गर्नु पर्ने बाध्यताका कारण पढाइ छाडेको उनको कथन छ । “नपढेको मानिस काम लाग्दैन भन्ने थाहा भएपछि स्कूल फर्किएँ”, उनले भनिन् ।
जातीय भेदभाव, गरीबी र चेतनाको अभावबाट ग्रसित ढोढना र भदैयाका विद्यालय छाडेका दलित छात्रछात्राहरू स्वतः स्कूल फर्किएका भने होइनन् । एकपटक स्कूल भर्ना भएर छाडेका तथा कहिल्यै विद्यालयको ढोका नपुगेका नानीहरूलाई स्कूलमा ल्याउन र टिकाउनका निम्ति सिरहाको दलित जनकल्याण युवा क्लबले विशेष प्रयास गरेको छ । सो संस्थाको प्रयासमा स्कूल छाडेका करीब ५० जना दलित बालबालिका फेरि विद्यालयमा फर्केका छन् । क्लबले घरायसी समस्या र गरीबीको चपेटामा परेर विद्यालय जान छाडेका विद्यार्थी र तिनका अभिभावकलाई शिक्षाको महत्व बुझाउने र छोराछोरी पुनः स्कूल पठाउन आग्रह गर्ने गरेको छ । त्यस्तै; स्कूल छाडेका छात्रछात्रालाई निःशुल्क ट्युशनको व्यवस्था गर्ने , विद्यालयमा हुने जातीय भेदभावको निगरानी गर्ने , एसएलसी उत्तीर्ण गरेका छात्रछात्रालाई सामान्य रोजगारीको व्यवस्था गरेर उच्च शिक्षाको अवसर समेत जुटाइदिने गरेकाले स्कूल छाडेका विद्यार्थी तथा तिनका अभिभावक शिक्षाप्रति आकर्षित हुन थालेका हुन् । एक्सनएडको आर्थिक सहयोगमा सन् २००४ मा स्थापित उक्त संस्थाले अहिलेसम्म सिरहाको दलित शिक्षा र सशक्तीकरणमा रु.२ करोेड खर्च गरिसकेको छ । एक्सनएड विराटनगरका शिवराम चौधरी भन्छन्, “युवा क्लबले गरीबी र छुवाछूतका कारण ड्रपआउट गरेका दलित विद्यार्थीलाई स्कूलमा फर्काउन विशेष मिहिनेत गरेको छ ।”
ढोढनाको सगरमाथा माविका शिक्षक टुनेबहादुर राउत पनि स्कूल छाडेका बालबालिकालाई स्कूलमा ल्याउन र तिनलाई टिकाउन क्लबले प्रभावकारी काम गरेको ठान्छन् । उनी भन्छन्, “स्कूलमा गएको छात्रवृत्ति खोजीनिती गरेर दलित बालबालिकाको हातमा पार्नु सानो काम होइन, किनभने छात्रवृत्ति अरू नै प्रयोजनमा खर्च भइरहेको छ, धेरै स्कूलमा दुरुपयोग नै भएको छ ।” सिरहाको भदैया, ढोढना र तरेगनागोविन्दपुर गाविसका दलित वस्तीमा ‘ड्रपआउट’लाई शून्यमा झर्ने लक्ष्यले काम गरेको क्लबका निर्देशक विनोद कुमार विसंखे बताउँछन् ।
मुसहर, चमार, डोम आदि जातिका बालबालिकाले बीचमै स्कूल छाड्नुको मुख्य कारण चरम गरीबी र छुवाछूत देखि एको छ । यी दुवै समस्यालाई सम्बोधन गर्न क्लबले दलितको आयआर्जन बढाउने र छुवाछूत विरोधी अभियान सञ्चालन गर्ने गरेको छ । ‘चरम गरीबीको चपेटामा परेका दलित परिवारलाई आयआर्जनको अवसर र तिनका बालबालिकालाई शैक्षिक मद्दत गर्ने हो भने अहिलेको ‘ड्रपआउट’ दरमा ठूलो सुधार आउँछ”, क्लबका अध्यक्ष उमेश कुमार विसंखे भन्छन् । सिरहाका जिशिअ हरिहर वस्ती पनि स्कूल छाडेका बालबालिका र तिनका परिवारलाई शिक्षाको महत्व बुझाउने र तिनको आयआर्जन बढाउने कार्यक्रम लागू गर्न सके ‘ड्रपआउट’लाई स्कूल फर्काउन र टिकाउन सकिने धारणा राख्छन् ।
यी कहिले जन्मिए ?
केन्द्रीय तथ्याङ्क विभागको आँकडाले देशको साक्षरता दर ६१ प्रतिशत पुगेको देखाउँछ । तर, सिरहाको भदैया–४ धनगढीटोलका २६ जना बालबालिकाको जन्ममिति यकिन छैन । तिनका बाबुआमाले नानीहरूलाई स्कूलमा भर्ना गर्दा पनि आफ्ना छोराछोरीको अनुमानित जन्ममिति बताउने गरेका छन् भने धेरै स्कूलले आफैं विद्यार्थीको जन्ममिति राखिदिने गरेका छन् ।
उक्त टोलका अजय कुमार सदायका बाबु रामकिशनलाई एक छोरा र पाँच छोरीमध्ये कसैको पनि जन्ममिति याद छैन । उनी भन्छन्, “खोइ हजुर थाहा छैन,गर्मियाममा जन्मेको जस्तो लाग्छ ।” उक्त टोलमा आफ्नो छोराछोरीको यकिन जन्ममिति थाहा पाउने एक जना पनि अभिभावक फेला परेनन् । सगरमाथा माविका शिक्षक बद्री सदाय भन्छन्, “निरक्षरता अरूमा भन्दा मुसहर, चमार, खत्वेमा बढी छ । यी जातिबाट स्कूल भर्ना हुन आउने बालबालिकाको अनुमानित जन्ममिति स्कूलले नै राखिदिनुपर्छ । जन्मकुण्डलीको त चलन नै छैन ।” दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश कुमार विसंखेका अनुसार यस्तो समस्या अधिकांश दलित वस्तीमा छ ।
३९ वर्षमा एसएलसी
सिरहाको ढोढना–८ की ३९ वर्षीया रामकुमारी दासले यसपालि सगरमाथा मावि ढोढनाबाट एसएलसी दिएकी छन् । १२ वर्षको उमेरमा विवाह गरेकी दासले विवाहअघि कक्षा-३ मात्र अध्ययन गरेकी थिइन् । रामकुमारीका चार छोरा र एक छोरी छन् ।
२०६० सालमा दलित जनकल्याण युवा क्लबले चलाएको ‘रिफ्लेक्ट’ कक्षामा ९ महीना पढेपछि नै रामकुमारीको जीवनको परम्परागत बाटो बदलिएको हो । त्यसपछि उनले शिक्षाको महत्व र अर्थ मात्र बुझ्निन्, उनीभित्र पढाइको भोक पनि जाग्यो । त्यही कारण उनी वयस्क भएर पनि स्कूल बालबालिकासँगै सगरमाथा माविमा भर्ना भएर अध्ययन गर्न थालिन् ।

वयस्क पढाइले उनको दैनिकी बदलिएको छ भने जीवनको दायरा फराकिलो भएको छ । औपचारिक शिक्षा हासिल गरेका कारण उनको सामाजिक सक्रियता मात्र बढेको छैन, रोजगारीको अवसर पनि जुरेको छ । अहिले उनी घरेलु महिला हिंसा विरुद्ध सञ्जाल सिरहाको अध्यक्ष, दलित नेटवर्कको पूर्वाञ्चल सदस्य तथा दलित जनकल्याण युवा क्लब लगायत जिल्लाका एक दर्जन भन्दा बढी सामाजिक संस्थाको जिम्मेवारीमा छिन् । दलित जनकल्याण युवा क्लबको सामाजिक परिचालनको कार्य गरे बापत उनले अहिले मासिक ५५०० तलब पाउँछिन् । “मैले नपढेको भए दुःख पाउँथे, ढिलो पढे पनि जीवन सजिलो भएको छ”, रामकुमारीको कथन छ ।
३९ वर्षको उमेरमा एसएलसी दिंदा कस्तो लाग्यो त ? उनी भन्छिन्, “मलाई अरू विषय त कठिन लाग्दैन, अंग्रेजीले नै सताएको छ ।” पढाइले रामकुमारीको चेतना, सामाजिक हैसियत र आर्थिक स्तर बढाएको छ । ‘मुसहर, खत्वे, चमार जस्ता तराईका दलित जाति त शिक्षा नपाएर पो पछिपरेका रहेछन् । तिनले शिक्षा पाउने हो भने स्थिति अर्कै हुन्छ”, उनको निष्कर्ष थियो ।
रामकुमारीको सक्रियताकै कारण संविधानसभा चुनावमा दलित जनजाति पार्टीले उनलाई समानुपातिक उम्मेद्वार बनाएको थियो । उनको आर्थिक अवस्था तराईका आम दलित समुदायको भन्दा खासै भिन्न छैन । तर, काम चाहिं अरूलाई पनि प्रेरणा दिने खालको छ । पाँच जना छोराछोरीको शिक्षादीक्षा र पतिको हेरचाह गरेर पनि उनले एक दर्जन संस्थाका विभिन्न जिम्मेवारी सम्हालेकी छन् । “मरेर केही लाने होइन, बाँच्दा अरूले सम्झिने केही काम गरौं भन्ने भावनाले म अघि बढ्दैछु”, रामकुमारी भन्छिन् ।
शिक्षक मासिक, २०६९ जेठ अंकमा प्रकाशित ।
तस्वीरः श्रवण देव



