घरपरिवारमा विज्ञान शिक्षा
विद्यालयको शिक्षा एवं पाठ्यपुस्तकको जटिलतालाई घरव्यवहारसँग संयोजन गर्न सकियो भने कुनै पनि विषय त्यति जटिल हुँदैन जति हामी सम्झन्छौं । आफ्ना बालबालिकाले विद्यालयमा के पढ्छन्, के सिक्छन् भन्ने कुरा अभिभावक/आमाबुबाले थाहा पाउनुपर्छ र आफ्ना नानीहरूसँग बौद्धिक सम्बन्धगाँस्दै विकास गर्दै जानुपर्छ ।
धेरै पहिलेको कुरा हो । शायद ३५/४० वर्ष पहिलेको । १० कक्षाको विज्ञान विषयका उत्तरपुस्तिका जाँच्दै थिएँ । एउटा प्रश्न थियो; ‘तामाको पैसा पानीमा डुब्छ, तर काठको टुक्रा किन डुब्दैन ?’ त्यसमा एकजना परीक्षार्थीको उत्तर यति रोचक थियो कि त्यसलाई मैले कहिल्यै भुल्न सकिनँ । बारम्बार सम्झन्छु । सही थिए वागलत– अझै अलमलिन्छु । विज्ञान परीक्षकको दृष्टिकोणले हेर्दा सोह्रै आनागलत तर किन हो कुन्नि त्यसमा केही सत्यता भने थियो । उनको अवलोकन सही थियो । व्याख्या पनि चित्तबुझदो थियो । तर मैले नम्बर दिन सकिनँ ।
ती परीक्षार्थीले उत्तरमा लेखेका थिए, “तामा एक धातु हो । त्यो खानीभित्र मात्र पाइन्छ । खानी जमिनभित्र हुन्छ । तल हुन्छ । धेरै तल । र, त्यसैले तामा स्वभावैले तल जाने पदार्थ हो । पानीमा राख्दा पनि तलै जान्छ र डुब्छ । काठ माथि जाने पदार्थ हो । रूखलाई हेर्नुस्; माथितिर जान्छ । जमीनभन्दा पनि माथि माथि लाग्छ । माथि जानेरूखको स्वभावै हो । त्यसैले काठ पानीमा तल जाँदैन । माथि माथि नै बस्छ । डुब्दैन ।” यो अवलोकन सही थियो । तर ती विद्यार्थीलाई विज्ञानको दृष्टिकोणले कसरी हेरिन्छ भन्ने कुरा बोध गराउन सकिएको रहेनछ । पदार्थको घनत्व (density) बारे उनलाई बुझाउनु जरुरी थियो । पानीको उछाल नियम (boyancy) बारे बुझाउनुपर्दथ्यो । उनको अवलोकनमा विज्ञान दृष्टि थप्नु आवश्यक थियो ।
हाम्रा बालबालिका, विद्यार्थी भाइबहिनीहरू आफ्ना आँखा, नाक, कान, जिब्रो, छाला/चर्म लगायत सबै इन्द्रियलाई सधैँ सक्रिय राख्छन् र जिज्ञासा– कौतुहल बढाउँदै जान्छन् । उनीहरू हरेक कुरा हेर्छन्, देख्छन्, सुन्छन् । त्यसक्रममा वैज्ञानिक चेतनालाई आवश्यक खुराक शिक्षक, अभिभावक, आमाबुबा, घरपरिवारबाट प्राप्त हुनु जरुरी हुन्छ । मात्र पाठ्यपुस्तकको भरमा उनीहरूका सबै जिज्ञासा शान्त हुँदैनन् ।
दुईचार दिन पहिले मेरा एक नातेदारको घरमा एउटा सानो राकेट (Racket) देखें । हेर्दा ब्याडमिन्टन राकेट (Badminton Racket) जस्तै थियो । तर त्यो त लामखुट्टे, झिंगा मार्ने नयाँ उपकरण पो रहेछ । त्यसमा ब्याट्री थियो । स्वीच दबाएर लामखुट्टेलाई हान्यो भने प्याट् प्याट् पड्केर लामखुट्टे मर्ने । लामखुट्टेलाई करेन्ट लगाएर मार्ने हतियार रहेछ त्यो, खेलौना हैन । त्यो देखेपछि हामीमध्ये एक जनाले तुरन्तै सोधे पनि , “यो कहाँ किनेको ? कति रुपैयाँ पर्छ ? हेरौं त कहाँ बनेको रहेछ ? ए ! चीनमा बनेको रहेछ । महाबौद्धको बजारमा पाइन्छ होला, हैन ?” आदि इत्यादि ।
यत्तिकैमा अर्को केटाले हेर्न राकेट हातमा लियो । उसले प्याट् प्याट् दुईचार वटा झिंगा मार्यो । ओर्काइ फर्काइ गरेर सबै अवयव एक–एक गरेर जाँँच्यो । “यो कसरी बनाएको रहेछ !” भन्दै राकेट छोड्दै छोड्दैन । लिएरै जान खोज्यो । बीचमा प्याच्च एकजनाले भन्यो, “यो केटा चाहिँ जापानी हो कि चाइनिज ? माल ल्याउने हैन बनाउने विचार पो रहेछ यसको”, आदि इत्यादि । हो, मालको चाल पाउने जिज्ञासा सबै विद्यार्थी, केटाकेटी वा युवा वर्गमा हुन्छ र हुनुपर्छ । उसलाई समयमा नै उत्साहित बनाउन हामी सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ । ‘यो हामीले गर्ने काम हैन, नेपालीले गर्दैन, नेपालीले सक्दैन’ भन्ने जस्ता पूर्वाग्रह प्रारम्भ देखि नै थोपरी दियौं भने हामीलाई भविष्यले सराप्नेछ ।
मानिसमा ज्ञान आउँछ । त्यसलाई व्यवस्थित गरे मा विज्ञान बन्दछ । विज्ञानलाई प्रविधिले प्रयोगमा ल्याउँछ । हराम्रो वरपर जे–जस्ता कुरा हरू भइरहेका छन् ती सबैमा प्राकृतिक नियम लागू भएकै हुन्छन् । प्रकृतिका आधारभूत नियम–कानून हामी पालना गर्द छौं । तिनै नियम–कानूनलाई बुझेर वैज्ञानिक सिद्धान्तहरू स्थापित हुन्छन् । तिनै सिद्धान्तलाई प्रयोग गरेर प्राविधिकले उपकरणहरू बनाउँछन् । मेशिन बनाउँछन् । कलकारखानाहरू बनाउँछन् । ठेला रगाडा देखि मोटर, रेल, हवाईजहाज र रकेटसम्म बनाइन्छ । टेलिफोन, टेलिभिजन, कम्प्युटर लगायत विभिन्न उपकरणहरू बनाइन्छ । हामी तिनको प्रयोग गर्द छौं । मोबाइल फोन र आइपड आदि उपकरण आज सामान्य कुरा भइसके । यस्ता चामत्कारिक उपकरणहरू बन्नु का पछाडि सामान्य विज्ञानका सिद्धान्त कार्यरत हुन्छन् । विज्ञानका ती सिद्धान्तलाई बुझने बानी सानै देखि बसाल्नुपर्ने हुन्छ ।
गाउँघरकै कुरा गर्दा त्यहाँ ढिकी, जाँतो, घट्ट, कोदालो, हलो, नाङ्लो, डोको, डालो,ग्रागी, बञ्चरो, खुकुरी, हँसिया, चुप्पी, सियो–धागो, चुलो–चौका जहाँ पनि प्राकृतिक नियम लागू भइरहेको हुन्छ । त्यहाँबाटै विज्ञानका सिद्धान्त र प्रविधिको प्रयोग सिक्न सकिन्छ । विद्यालयका पाठ्यपुस्तकका कतिपय कुरा हाम्रै दैनिक क्रियाकलाप बाट बुझन र बुझाउन सकिन्छ । त्यसका लागि विद्यालय र घरपरिवारमा खुलेर कुरा कानी गर्ने वातावरण कायम राख्नुपर्छ । परिवार, शिक्षक र छात्रछात्राबीचको बौद्धिक सम्बन्धलाई बलियो बनाउँदै जानुपर्छ ।
यस्तो पनि भइदिए हुन्थ्यो... !
विद्यालयबाट छोरी घर आउँछे । बारीमा बुबा एक्लै एउटा बडेमाको ढुङ्गा पल्टाउँदैछन् । फलामको लामोगललाई काठको मुडामा अडाएरगहु्रँगो ढुङ्गा पन्छाउन खोज्दैछन् । त्यो देखेर छोरी भन्छे, “बुबा पनि वैज्ञानिक हुनुहुँदोरहेछ । मेशिन बनाउनुभएछ !” बुबा सोध्छन्, “कसरी ?” छोरी भन्छे, “आज विज्ञान कक्षामा सरल यन्त्र (Simple machine) बारे पढाइ भयो । आफ्नो बल नपुग्ने बेला यस्तो बुद्धि निकाल्ने तरिकालाई विज्ञान भनिन्छ । योगललेगह्रौँ ढुङ्गा पल्टाउने यो वैज्ञानिक प्रविधिलाई उत्तोलक (Lever) भनिन्छ । यसमा हामी थोरै बल (Effort) ल गाउँछौं र ठूलो भार (Load) उठाउँछौं । बल र भारको बीचमा फलामको त्योगललाई आड दिने अडेसोलाई फलक्रम (Fulcrum) भनिन्छ । विज्ञान कक्षामा यो प्रविधिलाई
पहिलो दर्जाको उत्तोलक भनिँदोरहेछ । बुझनु भो ?”
“बुझें छोरी । विज्ञान त सजिलै हुँदो रहेछ”, बुबा उत्तर फर्काउँछन् ।
घरभित्र आमा लुगा सिउँदै छिन् । अगाडि कैंची छ । छोरी आमासँग सोध्छिन्, “यो कस्तो मेशिन हो थाहा छ ?” आमा भन्छिन्, “कैंची पनि कहीं मेशिन हुन्छ । ऊ त्यो लुगा सिउने कल पो मेशिन । यो केको मेशिन ?” छोरीले आफ्नो विज्ञान कक्षाको कुरा बुझाउन थाल्छिन् । कैंचीलाई हातमा लिएर त्यसको दुई पातो जोड्ने ठाउँमा ढिंग्री देखाउँछिन् । हातले समाउने र बल गर्ने ठाउँ एकातिर छ भने त्यसबाट काट्ने काम अर्कोतिर हुन्छ भन्ने कुरा आमालाई सम्झउँछिन् । यसरी एकातिर बल लगाउने अर्कोतिर काम हुने यस्तो उपकरणलाई विज्ञान कक्षामा लिभर भनिन्छ भन्ने कुरा छोरीले बताइन् । त्यसपछि आमा भन्छिन्,
“त्यसो भए ढिकी पनि त लिभर भयो ।”
“हाम्री आमा कति बाठी” भन्दै छोरी खाजा खोज्न भान्साभित्र पस्छे ।
विद्यालयबाट छोरी घर आइपुग्छे । स्कूल ड्रेस फेरेपछि खाजा खान आमासँग बस्छे । आमाले सोध्छिन्, “आज के पढ्यौ छोरी ?” छोरीले विज्ञान कक्षामा सरल यन्त्र (Simple Machine) र उत्तोलक (Lever) बारे पढेको बताउँछे । “उसो भए तीन प्रकारका उत्तोलकबारे पढाइ भयो होला, हैन ?” आमा टेबुल सजाउँदै थप्छिन्, “यो कोकको बोतल खोल्ने ओपनर (Opener) चाहिँ कुन खालको उत्तोलक रहेछ– फस्ट क्लास, सेकेन्ड क्लास अथवा थर्ड क्लास; हेरौँ है त ! ओपनरको एकछेउले बिर्कोमा टेक्यो र त्यहाँ फलक्रम (Fulcrum) बन्यो । अब यो दाँती बिर्कोको तल्लो धारमा छिर्यो । त्यहाँबाट बोतल खोल्नुपर्छ । लोड (Load) पर्ने ठाउँ त्यहीं हो । अब हातले माथि ठेल्छु अर्थात् इफोर्ट (Effort) ल गाउँदै छु ।” छुस्स बोतल खुल्यो, बिर्को हट्यो । कोक पिउनको लागि तयार भयो । आमाले सोधिन्, “लौ भन त इफोर्ट र फलक्रमको बीचमा लोड पर्न गयो भने कुन क्लासको लिभर भयो ?” छोरी एकैछिन घोत्लिन्छे र भन्छे “सेकेन्ड क्लास !” दुवैले ताली बजाउँछन् !
उता उसिन्न बसाएको आलु पनि पाकेछ । हरहर बाफ आउँदो छ । कान्छी दिदी आलु टिप्ने चिम्टा खोज्न थाल्छिन् । भान्सामै झुण्डिएको रहेछ । तात्तातो आलु प्लेटमा राखेर ल्याइन् । छेउमा नून खुर्सानीको धूलो पनि छ । आमाले चिम्टा लिएर देखाउँदै भन्नुभो, “चिम्टाले आलु टिप्ने र लोड उठाउने ठाउँ एउटा छेउमा छ । अर्को छेउमा चिम्टाका दुई पाता जोडिएका छन् । त्यो जोडिएको ठाउँ फलक्रम भयो । फलक्रम र लोडको बीचमा हातले च्याप्ने काम गर्छ अर्थात् इफोर्ट (Effort) लगाइन्छ । यस्तो उपकरणलाई तेस्रो दर्जाको उत्तोलक अर्थात् थर्ड क्लास लिभर भनिन्छ । बुझयौ ?” छोरी भन्छे “आहा ! हाम्री आमा पनि साइन्स मिस हुनुहुँदोरहेछ !”
“मैले पनि त एसएलसी पास गरे की हुँ नि !” भन्दै आमागिलास उठाउँछिन् । फेरि भन्छिन्, “योगिलास मेरो हातको लोड (Load) भयो । अनि यो कुइनोले फलक्रमको काम गर्छ । मेरो नाडी भन्दा अलि परतिर बाट मेरो मसलले बल गर्छ अर्थात् इफोर्ट दिन्छ । हराम्रो हात पनि लिभर (Lever) भयो, उत्तोलक भयो । र, यो पनि तेस्रो दर्जाको, थर्ड क्लासको लिभर बन्यो । हैन ?” छोरी छक्क परिन् र दूध पिउँदै भन्न थालिन्, “मेरो हात पनि मेशिन... हा हा हा ... !”
उपसंहार
विज्ञानलाई हामीले आफ्नो जीवन शैलीमा बुझन र बुझाउन सक्यौं भने यो जटिल विषय हुँदै हैन भन्ने अनुभव हुन्छ । विद्यालयको शिक्षा एवं पाठ्यपुस्तकको जटिलतालाई घरव्यवहारसँग संयोजन गर्न सकियो भने भौतिक विज्ञान होस् वा रसायन, जीव विज्ञान होस् वा भूगर्भ, भूगोल होस् वा खगोल विद्या– कुनै पनि विषय त्यति जटिल हुँदैन जति हामी सम्झन्छौं । आफ्ना बालबालिकाले विद्यालयमा के पढ्छन्, के सिक्छन् भन्ने कुरा अभिभावक/आमाबुबाले थाहा पाउनुपर्छ र आफ्ना नानीहरूसँग बौद्धिक सम्बन्धगाँस्दै विकास गर्दै जानुपर्छ । आजभोलिको समाज मा विद्यालय जाने बालबालिका एवं तिनका घरपरिवारबीच संचार र संवादको वातावरण दिनपरदिन क्षीण हुँदैछ । त्यस्तो हुन नदिन शिक्षक वर्गले विशेष चनाखो भई आवश्यक भूमिका निर्वाह गर्न सक्नुपर्छ । आफूले कक्षामा पढाएको विषय परिवारमा कसरी साटासाट (Share) गर्ने भन्ने कुरा को सूचना विद्यार्थीलाई दिनु आवश्यक हुन्छ । शिक्षकहरू विद्यालय र घरपरिवारबीचका सेतु पनि हुन् ।
शिक्षक मासिक, २०६९ जेठ अंकमा प्रकाशित ।



