इच्छा–मृत्यु
ओरेगनको सम्मान जनक मृत्यु सम्बन्धी कानून (Death With Dignity Act) को निर्माणमा तपाईंको भूमिका सबैभन्दा अहम् थियो । अभियान चलाउन यस्तो विषय– मत्युलाई नै किन रोज्नुभयो ?
सन् १९७२ तिर मैले चिकित्सा अभ्यास शुरू गर्दा ‘हसपिस’ (Hospice) खुलेकै थिएनन् । त्यही बेला मैले एक जना बिरामीलाई मर्न मद्दत गर्नु परयो । आफ्नी श्रीमतीसँग आएका ती मानिसले आफ्नो स्वास्थ्य सम्बन्धी सारा कागज दिँदै भने “डाक्टर, तपाईंले मलाई मर्न मद्दत गर्नु पर्यो ।” शुरूमा मैले मानिनँ तर, उनको समस्या यति जटिल भइसकेको थियो, अन्ततः मैले प्रेस्क्रिप्सन लेखिदिएँ । त्यसपछि का कैयौं महिनासम्म म आफैं आतङ्कित भएर बाँचें । त्यो (गैर कानूनी कार्य) गरेर मैले आफ्नो करिअरसँगै परिवारको जीविकाको स्रोत समेत संकटमा पारेको थिएँ ।
ओरेगनको कानूनले शारीरिक रूपमा ६ महिनाभन्दा बढी नबाँच्ने तर मान सिक हिसाबले स्वस्थ र निर्णय लिन सक्षम व्यक्तिलाई जीवन छोट्याउने औषधि सेवन गर्ने छूट दिन्छ । तर यसरी हुने मृत्यु र कसैको सहयोगमा गरिने आत्महत्या बीच खासै के फरक हुन्छ र ?
सामान्यतः आत्महत्या आवेगात्मक र हिंसात्मक हुन्छ । यो जहिले पनि एकान्त वा एक्लोपनमा हुन्छ । तर इच्छा–मृत्यु जहिले पनि सोचविचार र परिवारकै सहयोगमा हुने हो । इच्छा–मृत्यु भद्र र सामान्य हुन्छ ।
ओरेगन, वाशिङ्टन र मोन्टाना बाहेक अमेरिकाकै अरू राज्यमा पनि इच्छा–मृत्युको कानूनी अवधारणा फैलिन सकेन नि; किन होला ?
धार्मिक समुदाय एकदमै चर्को विरोधमा छ । चिकित्सा पेशाभित्रै एकप्रकारको अनिच्छा छ । बिरामी र तिनका परिवारलाई पनि आफू उपचार नै नहुने अवस्थामा पुगेको यथार्थ स्वीकार गर्न धेरै गाह्रो पर्छ ।
यो कानून तपाईंका लागि त अत्यन्तै व्यक्तिगत जस्तो पो देखि न पुग्यो; ... ?
मलाई मस्तिष्क सम्बन्धी रोग (Corticobasal ganglionic degemeration) लाग्यो । यसले गर्दा मेरा हातले काम गर्न छोडेका छन् । म आफैं खाना खान पनि नसक्ने भइसकेको छु । शरीरको सन्तुलन क्रमशः बिग्रिँदै गएको छ । म ६ महिनाभित्र मरिसक्छु भन्ने कुरा मा मेरो उपचारमा संलग्न तीनैजना डाक्टर सहमत छन् । इच्छा–मृत्युको फर्म म आफैंले भरेपछि डाक्टरले जीवन सिध्याउने औषधिहरूको प्रेस्क्रिप्सन लेखेका हुन् ।
यो सबै कुरा लाई तपाईंका छोराछोरीले कसरी लिएका छन् ?
मेरो जीवन चाँडै समाप्त हुँदैछ भन्ने कुरा लाई उनीहरूले दुः खपूर्वक स्वीकार गरेका छन् । हामी सँगै बसेर खूब रुन्छौं ।
योभन्दा त ‘हसपिस’को हेरचाहमा रहेर स्वाभाविक मृत्यु वरण गर्नु रराम्रो हुँदैनथ्यो र ?
‘हसपिस’ को धारणा रराम्रो हो । तर, सम्पूर्ण (मृत्यु) प्रक्रिया बिरामीकै नियन्त्रणमा हुनुपर्छ भन्ने मेरो मान्यता हो । यो प्रक्रियामा आफू कुन दिन कसरी र कति बेला मर्ने भन्ने कुरा को निर्णय बिरामी आफैंले गर्न सक्छ । परिवारका सदस्यहरूलाई वरिपरि राखेर ‘ल है म मरें अब; बिदा !’ भनेर भन्न पाउँछ ।
एउटा चिकित्सकको नाताले भन्नुपर्दा, यस्तो निर्णय गर्न कत्तिको सजिलो वा गाह्रो हुन्छ ?
प्रायः चिकित्सक (फिजिसियन) हरू तिनका बिरामीभन्दा सधैं भिन्न तरीकाबाट मर्ने गर्छन् । तिनले धेरै पहिले नै केमोथेरापीको पर्याप्त मात्रा लिइसकेका हुन्छन् । तिनलाई आफ्नो शरीरभित्र के छ र बाहिर आउन के बाँकी छ भन्ने पनि थाहा हुन्छ ।
मृत्युपछि का निम्ति केही सोच्नुभएको छ ?
यदि मैले रोज्न पाउने हो भने सबैभन्दा पहिले श्रीमतीसँग को पुनर्मिलन नै चाहन्छु । त्यसपछि आफ्नो अध्ययन कार्यलाई जारी राख्न चाहन्छु ।
यो अन्तर्वार्ता रेकर्ड गरेको केही हप्तापछि; ११ मार्च २०१२ (२८ फागुन, २०६८) मा डा.गुडविनले मृत्युवरण गरे ।
यो अन्तर्वार्ताको भिडियो (GOODWIN'S LAST) www.time.com/10questions मा हेर्न/सुन्न सकिन्छ ।
शिक्षक मासिक, २०६९ वैशाख अंकमा प्रकाशित ।



