यसरी पढेँ मैले

कैलालीको हसुलिया–६ की सुधा चौधरीका बुबाले गाउँकै साहूको जग्गा अधियाँमा कमाएका थिए । त्यतिबेला सुधाले साहूका छोराछोरीको हेरचाह गर्नु पथ्र्याे । चौधरी परिवारले केही ऐलानी जग्गा पनि कमाएका थिए । त्यो जग्गा नदीले ब गाएपछि सुधाको परिवारको घरघडेरी बाहेक आफ्नो भन्ने अरू जग्गा रहेन । गरी खान पुग्ने जग्गा नभएपछि सुधाका बुबा–आमा परिवारको खर्च धान्न दैनिक ज्याला–मजदुरी गर्ने गर्दथे ।  

सुधाको परिवारमा बुबा, आमा, हजुरआमा, दाजु, भाउजू, भाइ, बहिनी र दाजुका छोराछोरी गरी १० जना सदस्य छन् । उनका बाबु, आमा र दाजुले दैनिक श्रम बेच्छन् । सुधाको गाउँमा ज्यालादारी गर्ने अवसर सीमित भएकाले उनका बाबुआमा कामका लागि कहिले धनगढी त कहिले महेन्द्रनगर समेत पुग्ने गर्छन् । सुधाका दाजु चाहिँ गाउँमै काठको काम गर्छन् ।

ठूलो परिवार भए पनि उनी भन्दा ठूला उमेरका पारिवारिक सदस्यले पढेलेखेका छैनन् । थारू समुदायमा छोराछोरी पढाउनु पर्छ भन्ने चेतनाको कमिले गर्दा अरूलाई जस्तो उनीहरूलाई स्कूल सहज छैन । सुधा ती दिन सम्झ्ँदै भन्छिन्, “ गाउँका साथीहरू पढ्न जाँदा आफूलाई पनि जान मन लाग्थ्यो । पढ्न पठाइदिनु भनेर घरमा रुन्थें । बुबाले ‘छोरीले किन पढ्नु परयो ? घरमा काम गर्नु पर्छ, पढाउन पैसा छैन’ भनेर विद्यालय पठाउनु भएन ।”  

करिब एक दशकअघि एक्सनएड नेपाल को साझेदार संस्था मुक्त कमैया समाज का अभियानकर्ता गाउँमा पुगेर अनौपचारिक बाल कक्षा सञ्चालन गरे , सोही कक्षामा सुधा पनि सामेल भइन् । “उहाँहरूले हराम्रो घरमा पनि आएर बुबालाई छोरीलाई पढ्न पठाउनू भनेर निकै सम्झएपछि बुबाले मलाई बाल कक्षामा पढ्न पठाउनुभयो । एक वर्षपछि गाउँकै विद्यालयमा ३ कक्षामा भर्ना गरिदिनुभयो । त्यो दिन म निकै खुशी भएँ”, सुधाले भनिन् । कक्षा १ र २ नपढी ३ कक्षा फड्को मारे पनि उनी फेल चाहिँ भइनन् । पछि उनी दीपेन्द्र उमावि, हसुलियाबाट एसएलसी उत्तीर्ण भइन् । एसएलसी सकेपछि उच्चशिक्षा हासिल गर्ने रहर थियो सुधाको । तर, फेरि बाधक भयो पैसा । तर, उनले मुक्त कमैया समाज मार्फत एक्सनएडको छात्रवृत्तिबारे जानकारी पाएर निवेदन दिइन् र सफल पनि भइन् । “त्यो क्षण म कहिल्यै भुल्दिनँ”, उनले थपिन् ।

अहिले उनी रिच आउट टु एशिया (रोटा) को आर्थिक सहयोगमा एक्सनएडको छात्रवृत्ति कार्यक्रम अन्तर्गत इन्स्टिच्युट अफ कम्युनिटी हेल्थ ट्रेनिङ सेन्टर (आई.सी.एच), धनगढीमा आयुर्वेदिक असिस्टेन्ट अफ हेल्थ वर्कर (ए.ए.एच.डब्लु) पढ्दैछिन् । उनी भन्छिन्, “छात्रवृत्ति नपाएको भए आफ्नै खर्चमा पढ्न सक्ने हैसियत थिएन । शायद गाउँको कुनै विद्यालयमा पढाउँथें वा सानोतिनो काम गरेर बस्थें होला ।”

मङ्सिर २०६८ मा उनको पढाइ (पाठ्यक्रम) सकिएर व्यावहारिक ज्ञानको लागि अन द जब टे«निङ (ओ.जे.टी) गर्न मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेदिक चिकित्सालय, विजौरी, दाङमागइन् । तीन महिनाको ओजेटी सकेर अहिले उनी अन्तिम नतिजाको प्रतीक्षामा छिन् ।  

इन्स्टिच्युटमा पढेको कुरा र ओजेटीमा काम गर्दाको अनुभवका आधारमा भविष्यमा उनी कर्म क्षेत्रमा जुट्ने योजनामा छिन् । उनी भन्छिन्, “इन्स्टिच्युटमा पढेका कुरा हरू व्यवहारमा उतार्न अलि कठिन नै हुँदोरहेछ । बिरामीलाई जाँच्ने, कुन रोगीलाई कुन औषधि दिने, घाउँ सफा गर्ने लगायतका कामको व्यावहारिक पक्ष सिकियो । अब यसलाई दैनिक कार्यमा उतार्नुछ । अझै सिक्नुपर्ने कुरा धेरै छन् ।”

आयुर्वेदिक विषय पढ्दा रोजगारी पाउन सजिलो हुने र पढ्न पनि रुचिकर हुने भएर सुधाले यो क्षेत्र रोजेकी हुन् ।  कतैबाट थप सहयोग पाएमा अझै पढ्ने नभए यो लोकसेवाको परीक्षामा सामेल भई सरकारी जागिर खाने सोच छ सुधाको ।  अन्तिम विकल्पको रूपमा चाहिँ केही पैसा जुटाएर गाउँमै आयुर्वेदिक क्लिनिक खोल्ने विचार छ उनको । ७

प्रस्तुतिः विनोद तिमिल्सेना

commercial commercial commercial commercial