रातो बङ्गलालाई युनेस्को पुरस्कार
शिक्षक प्रशिक्षणमार्फत दैलेखका सरकारी स्कूलको पठनपाठन सुधारमा योगदान पुर्याएबापत ललितपुरको रातो बङ्गला फाउण्डेशनले युनेस्कोको प्रतिष्ठित पुरस्कार हात पारेको छ । सन् २००९ मा स्थापना भएको युनेस्को हाम्दान बिन रशिद अल मुक्तुम नामक उक्त पुरस्कार शिक्षकको क्षमता र प्रभावकारिता बढाउन योगदान गर्नेहरूलाई दिइन्छ । २३ फागुन २०६८ मा युनेस्को मुख्यालय पेरिसले यस वर्ष सो पुरस्कार रातो बङ्गलालाई प्रदान गर्ने घोषणा गरेको हो । रातो बङ्गलालाई आगामी २४ अप्रिलमा युनेस्कोका महानिर्देशक इरिना बुकोभाले दुबईमा पुरस्कार प्रदान गर्ने जनाइएको छ ।
रातो बङ्गला फाउण्डेशनले शिक्षा मन्त्रालयसँग को साझेदारीमा दैलेख जिल्लाका ५२० वटा प्राथमिक स्कूल सुधारका लागि दैलेख स्कूल परियोजना सञ्चालन गर्दै आएको छ । सो परियोजनाको मुख्य ध्येय शिक्षकको क्षमता अभिवृद्धि गर्नु रहेको छ । फाउण्डेशनका निर्देशक डा. शान्ता दीक्षित भन्छिन्, “निकै मिहिनेतका साथ सरकार र समुदायसँग मिलेर सरकारी स्कूल सुधार अभियान चलाइएको थियो । यो पुरस्कार ले हराम्रो कामलाई अन्तर्राष्ट्रिय स्तर मा समेत उजागर गरेको छ, हामीगौरवान्वित छौं ।”



