विद्यार्थीको खाना स्वस्थ होस्, स्वादिलो पनि होस्

आजभोलिका धेरैजसो नेपाली बालबालिकालाई घरमा पाक्ने–पकाइने खाना र खाजाको परिकार स्वादिला र रुचिकर लाग्दैनन् । चाउचाउ कि रोटी/भात ? भनेर छनोट गर्न दिने हो भने अधिकांश बालबालिकाको रोजाइ के हुन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

घरमा बन्ने/बनाइने परम्परागत परिकार पौष्टिक र स्वस्थकर हुन्छन् तर सजिला र आधुनिक स्वादका हुँदैनन् । कारखानामा उत्पादन भएर बजार ढाक्ने खाजा–खानाहरू, जिब्रोलाई लठ्याउने गरी स्वादिला त हुन्छन्, तर तिनमा पौष्टिकता न्यून र हानिकारक गुण ज्यादा हुन्छ ।

स्कूल जाने उमेरका बालबालिकाको पोषण र खानपिन विश्वव्यापीरूपमै चिन्ता र चासोको विषय बनेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्कूलको लञ्च (दिउँसोको खाना) बढी सन्तुलित र स्वस्थ तुल्याउने कार्यलाई राष्ट्रिय प्राथमिकताको विषय बनाएका छन् । अमेरिका लगायतका विकसित देशको मुख्य समस्या अपौष्टिक र असन्तुलित खाना (जङ्क–फूड) का कारण बढिरहेको बालबालिकाको तौल हो ।

नेपालका शहरी र अर्धशहरी क्षेत्रका बालबालिका पनि ‘जङ्क–फूड’ अर्थात् अस्वस्थकर, अपौष्टिक र असन्तुलित खाना–खाजाको चपेटामा परिसकेका छन् । तर, हाम्रो प्रमुख समस्या ‘जङ्क–फूड’का कारण तौल बढ्ने भन्दा पनि शरीरलाई चाहिने न्यूनतम पोषणबाटै बालबालिकाहरू वञ्चित रहनु रहेको छ जसले गर्दा उनीहरू कुपोषणको सिकार हुन बाध्य भएका छन् ।

स्कूल जाँदा खाजा (टिफिन) बोकाएर पठाउने चलन नेपालको शहरी क्षेत्रमा निजी विद्यालयहरूले भियाएका हुन् । बालबालिकाको उमेर र कक्षा बढ्दै जाँदा ‘टिफिन’ लाने/पठाउने चलन घट्दै जान्छ । खानेकुरा को सट्टा पैसा लिनु–दिनु बालबालिका र तिनका अभिभावक दुवैलाई सजिलो लाग्न थाल्छ । गाउँबस्तीमा त ‘टिफिन’ को अवधारणा पुग्नै पनि बाँकी छ ।

नेपालका एकदमै थोरै विद्यालय (सार्वजनिक र निजी दुवै) ले मात्र विद्यार्थीका निम्ति ‘क्यान्टिन’ सञ्चालन गरेका छन् । बाँकी अधिकांश विद्यालयका विद्यार्थी ‘खाजा’ को निम्ति स्कूल छेउछाउका खुला पसल–दोकानमा उपलब्ध हुने सस्ता, देख्दा राम्रा र जिब्रोको स्वाद अनुसारका खाद्य पदार्थमा निर्भर छन् ।

बालबालिकालाई लक्ष्य गरिएका खाद्य पदार्थ भोकभन्दा जिब्रोको तलतल मेटाउने खालका हुन्छन् । यथार्थमा खाद्यपदार्थभन्दा पनि तिनमा समाहित अजिनोमोतो, चकलेट आदि स्वादका कारण बालबालिकाहरू बजारका वस्तुप्रति आकर्षित हुने गरेका छन् । बालबालिका त जे उपलब्ध र मीठो लाग्छ त्यही खाइदिन्छन् ।

तर के स्वाद र स्वास्थ्य एकै ठाउँमा रहन नसक्ने कुरा हुन् र ? के बालबालिकाको जिब्रोले मन पराउने र स्वास्थ्यका निम्ति पनि लाभदायक ‘मिठो र रराम्रो’ एकै ठाउँमा भएका खाना–खाजा उपलब्ध गराउन सम्भव हुँदैन ? नेपाली बालबालिकाप्रति दायित्वबोध हुने हो भने सरकारले यी दुवै कुरा एउटै खानेकुरा मा हुने गरी स्वादिला र स्वस्थकर परिकार हरेक बालबालिकाको निम्ति उपलब्ध हुने कुरा मा कुनै द्विविधा छैन ।

९ फागुन २०६८ । काठमाडौंको बल्खुस्थित जनविकास माविमा ‘टिफिन’को घण्टी लाग्छ । छात्रछात्राहरू खाजा खान कक्षा बाहिर निस्कन्छन् र विद्यालयकोगेटमा बेच्न राखिएको ‘चना–चटपटे’मा झुम्मिन्छन् । तिनैमध्येकी कक्षा ७ की छात्रा सङ्गीता लामा पीरो चटपटे खाँदैछिन् । ‘पीरो हुने गरी किन चटपटे नै खाएको ?’ सङ्गीताले जवाफ फर्काइहालिन्, “पीरो भएर के गर्नु , यही मीठो लाग्छ ।” चटपटे उनले स्कूलमा सबैभन्दा बढी खाने खाजा हो । कक्षा ४ मा पढ्ने उनकी बहिनी शीतल (११) पनि स्कूलमा प्रायः चटपटे र चाउचाउ नै खान्छिन् ।

कक्षा ४ कै छात्रगणेश खतिवडा विद्यालय आउँदा सधैं रु.३० बोकेर आउँछन् । त्यही पैसाले उनी आफूसँगै कक्षा २ र १ मा पढ्ने भाइ/बहिनीलाई खाजा किन्छन् र खुवाउँछन् ।गणेशले धेरैजसो किन्ने खानेकुरा पनि चटपटे, चाउचाउ र बिस्कुट नै हो । चटपटे बिक्रेता सत्यप्रकाश रौनियार दैनिक ५०–६० जना विद्यार्थीलाई चटपटे बेच्छन् । कक्षा १ की तारामाया लामा (८) लाई उनकी आमाले हरेक दिन दिने रु.५ ले टिफिनमा उनी बिस्कुट वा पाउँ (अमिलो) किनेर खान्छिन् ।

जनविकास की प्रअ मनुमाया भट्टराईका अनुसार, कक्षा १–५ का अधिकांश छात्रछात्राले घरबाट ल्याउने खानेकुरा मा भात, रोटी, अण्डा, तरकारी, चिउरा र फलफूल हुँदैन । तिनको स्कूले खाजामा चाउचाउ र दालमोठकै बाहुल्य हुन्छ । उक्त स्कूलका कक्षा ५ देखि माथिका अधिकांशले चना–चटपटे, चाउचाउ र कुरमुरे किनेर खान्छन् ।

काठमाडौंको टङ्गाल उमाविको क्यान्टिनमा स्कूल खुलेको दिन आलु–चना, रोटी, तरकारी, हलुवा पाक्छ । तर, विद्यार्थीको रोजाइमा क्यान्टिनका खानेकुरा होइन, विद्यालय बाहिरको सडकमा बेच्न राखिएका चटपटे, पानीपुरी, वरफ, चाउचाउ जस्ता खानेकुरा पर्ने गरेका छन् । क्यान्टिन सञ्चालक राजेन्द्र पाण्डे भन्छन्, “रोटी–तरकारी त कमैले मन पराउँछन् । धेरैजसो बाहिरै जान्छन् ।” चटपटे बिक्रेताहरू ‘विद्यार्थीग्राहक’ को प्रतीक्षामा टिफिनअघि नै सरकारी विद्यालय बाहिर पुगिसक्छन् । टङ्गाल उमाविकी शिक्षक वसन्ती ज्ञवाली भन्छिन्, “कक्षा १–५ का विद्यार्थीमध्ये २५–३० प्रतिशतले मात्रै घरको खान्छन्, बाँकीले जे पाइन्छ, त्यही किनेर खान्छन् ।”

काठमाडौं, कालीमाटीको जनप्रभात माविलेगत असार देखि विद्यालयमा क्यान्टिन सञ्चालनगरायो । विद्यालय प्रशासनले विद्यार्थीलाई टिफिनमा बाहिरका खानेकुरा किन्न रोक पनि लगायो । तर, यो प्रयास धेरै टिकेन । अहिले क्यान्टिन सञ्चालक स्वयंले विद्यालयकोगेटमा चाउचाउ र ढुङ्ग्रे बिक्री गर्छन् । जनप्रभातकी निमित्त प्रअ विना श्रेष्ठ भन्छिन्, “चाउचाउ रोक्न खोजिएको हो । तर, स्कूलको पर्खाल माथिबाट पनि चाउचाउ किनबेच भएपछि स्कूलभित्रै बेच्न दियौं ।” क्यान्टिन सञ्चालक धीरेश्वर तामाङका अनुसार, विद्यालयमा दैनिक ८० प्याकेटसम्म चाउचाउ बिक्री हुने गरेको छ ।

जनप्रभातको नर्सरी, एलकेजी र युकेजीमा ५६ जना बालबालिका छन् । तीमध्ये सबैजसोलाई अभिभावकले घरैबाट खानेकुरा पठाइदिन्छन् । तर, घरको खानामा पनि चाउचाउ र बिस्कुट ल्याउनेकै सङ्ख्या बढी छ । शिक्षक सीता शाक्य भन्छिन्, “हामीले अभिभावकलाई चाउचाउ नपठाउनुस् र बच्चालाई पनि नल्याऊ भनेका छौं । तर, मान्दै मान्दैनन् ।”

बढ्दैछ ‘जङ्क–फूड’ आदत
घरेलु खाद्य पदार्थ स्वस्थ भए पनि त्यसलाई बेवास्ता गर्ने प्रवृत्ति बढ्दो छ । १६ फागुनमा जनप्रभात माविको कक्षा ५ का ४५ जना छात्रछात्रालाई तिनले खाने खाजाको सूची बनाउन ल गाउँदा ४० जनाको सूचीमा चाउचाउ समावेश थियो । तिनैमध्येकी सुनिता थापा घरबाट ल्याएको खाजा त्यत्तिकै छोडेर चाउचाउ खाँदै थिइन् । उनी भन्छिन्, “मलाई त खानाभन्दा चाउचाउ मीठो लाग्छ ।”

स्कूले छात्रछात्रामा मान सिक र शारीरिक स्वास्थ्यलाई फाइदा पुग्ने पोषिला खानेकुरा मा भन्दा जिब्रोलाई मीठो लाग्ने ‘जङ्क–फूड’ मोह बढ्नुमा धेरै पक्ष जिम्मेवार छन् । छोराछोरीलाई शहरी क्षेत्रका अभिभावकले खाजा बनाएर पठाउन नभ्याएको वा अल्छी गरेका कारण बालबालिका तयारी खाजा खान बाध्य छन् । त्यसो त खानेकुरा सम्बन्धी सचेतनताको अभावले पनि छोराछोरीको खानाप्रति अभिभावकको चासो कम रहेको छ । कमजोर आर्थिक हैसियतका कतिपय विद्यार्थीले त विद्यालयमा खाजा खानै पाउँदैनन्, पाउनेले पनि चटपटे/चाउचाउमै भर पर्नु परेको छ । माथिल्लो कक्षा चढ्दै जाँदा घरबाट खाजा लैजान ‘लाज र झन्झट मान्ने’ प्रवृत्तिले पनि तयारी खाजाप्रति स्कूले बालबालिकाको लगाव बढेको छ ।

पद्मकन्या क्याम्पस, गृह विज्ञान विभागले सात वर्षअघि गरेको एक अध्ययनले स्कूले बालबालिकामा ‘जङ्क–फूड’ आदत बढ्नुमा तयारी खानेकुरा को बजार प्रवद्र्धनका लागि गरिने विज्ञापन र रङ्गीचङ्गी प्याकेटले बालबालिकालाई लोभ्याउनु, तयारी खाजामा प्रयोग हुने ‘अजिनोमोतो’ले खानेकुरा लाई स्वादिलो पार्नु जस्ता कारण रहेको निचोड निकालेको थियो । उक्त अध्ययनमा संलग्न पोषणविज्ञ प्रा.डा. इन्दिरा शर्माका अनुसार, घरेलु खानाको तुलनामा बजारमा किनिएका प्याकेटका खानेकुरा लाई बढी स्तरीय ठानिने मनोविज्ञानले पनि अस्वस्थकर तर सजिला र स्वादिला खाजातिर आकर्षण बढाएको छ । चाउचाउ, बिस्कुट जस्ता तयारी खाजा सहज उपलब्ध हुने र कम दाममा पाउने हुनाले पनि बालबालिका ‘जङ्क–फूड’प्रति आकर्षित भएका छन् । खाद्य तथा पोषण विज्ञहरूका अनुसार खाद्य रङ, तेल, नुन, चिनी र ‘टेस्टिङ पाउडर’ प्रयोग गरी खाद्य उद्योगबाट उत्पादन गरिएका तयारी खाद्य पदार्थ नै ‘जङ्क–फूड’ हुन् । त्यस्ता खानेकुरा मा क्यालोरी बढी र पौष्टिक तŒव कम हुन्छ ।

शिक्षा विभागले ३१ असार २०६८ मा ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गरेर सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अस्वस्थकर खानेकुरा नियन्त्रण गर्न निर्देशन

दिएको थियो । ‘जङ्क–फूड’ बालबालिकाको स्वास्थ्य प्रतिकूल हुन्छ भन्ने जानकारी शिक्षकहरूले पनि पाएका छन् । तर, अभिभावक र विद्यार्थीसम्म यसको प्रभाव पुग्न सकेको छैन । टङ्गाल उमाविका शिक्षक मुक्तिनाथ अधिकारी भन्छन्, “हामीले चाहेर मात्रै ‘जङ्क–फूड’ नियन्त्रण हुन सक्दैन । यसबारे छलफल गर्न अभिभावकलाई बारम्बार बोलाएका छौं । तर, १० प्रतिशत अभिभावक पनि विद्यालय आउँदैनन् ।”

गाउँघरका छात्रछात्राहरूमा पनि ‘जङ्क–फूड’ आदत उस्तै छ । नुवाकोटको कल्याणपुरस्थित, अजिङ् गरे उमाविकी कक्षा–६ की छात्रा दुर्गा ठकुरीको स्कूल खाजाको मेनुमा चाउचाउ, बिस्कुट र पाउरोटी नै पर्छ । अजिङ् गरे कै कक्षा ७ का छात्र सन्तबहादुर तामाङ अभिभावकले रोटी–तरकारी र मकै–भटमास लैजान गरेको आग्रह मान्दैनन् । भन्छन्, “अरू साथीले टिफिन बोक्दैनन्, एक्लै बोकेर आउन लाज लाग्छ । बा–आमासँग पैसा मागेर ल्यायो, चाउचाउ र दुनोट किनेर खायो ।” नुवाकोटकोगेर्खुस्थित सुन्दरी केउरिनी माविका बालबालिका पनि तयारी खाजा नै खान्छन् । घरबाटै खाजा बनाएर ल्याउने विगतको अभ्यास लाई छोडेर विद्यार्थीले ‘जङ्क–फूड’ खान थालेको प्रअ रामचन्द्र पाण्डेको कथन छ ।


आंशिक सरकारी प्रयास

विश्व खाद्य कार्यक्रमको सहयोगमा २०५२ पुससम्म ३६ जिल्लाका प्राथमिक विद्यालयमा पौष्टिक आहार परियोजना सञ्चालन भएको थियो । पाँच वर्ष देखि ‘दिवा खाजा कार्यक्रम’का रूपमा ११ जिल्लामा छानिएका २५१ गाविसका १,७६९ प्राथमिक विद्यालयमा यो परियोजना सञ्चालित छ । यस वर्ष एक लाख ९४ हजार बालबालिकामा उक्त कार्यक्रम केन्द्रित बनाइएको छ । जस अन्तर्गत विद्यालयमै पकाएरगहुँ र भटमाससँगै भिटामिन र खनिज मिश्रित ‘न्युट्रिमिक्स’ पीठोको हलुवा खुवाउने गरिएको छ । यसमा प्रति दिन प्रति विद्यार्थी पीठो र घिउको अनुपात क्रमशः १०० र १०ग्राम हुन्छ । यद्यपि, खाद्यान्नको ढुवानी र व्यवस्थापनको पाटो चाहिँ केही कमजोर रहेको पाइएको छ । जिशिका, सल्यानका शाखा अधिकृत रामहरि रिजाल भन्छन्, “कहिलेकाहीं त तीन महिनासम्म पनि पीठो र घिउ विद्यालयसम्म नपुगेको पाइएको छ ।”

विद्यार्थीको पोषण अवस्था सुधार गर्ने , विद्यालयको भर्नादर बढाउने र कक्षा छोड्ने दर घटाउने उद्देश्यले शिक्षा विभागले १९ जिल्लामा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । विभागले आव २०६४/६५ देखि कर्णालीका पाँच र २०६६/६७ देखि १४ जिल्लाका तोकिएका गाविसमा पर्ने प्राथमिक विद्यालयमा खाजा खर्च उपलब्ध गराउँदै आएको छ । कर्णालीमा प्रति विद्यार्थी जनही रु.१५ का दरले २०० दिनका लागि रु.३,००० र १४ जिल्लामा रु.१२ का दरले रु.२,४०० दिइन्छ । त्यो रकमबाट विद्यालयमै खाजा बनाएर खुवाउने गरिएको छ । विभागका अनुसार, यसबाट २ लाख ४० हजारभन्दा बढी छात्रछात्रा लाभान्वित छन् ।

विभागले विद्यालयमा दिवा खाजा तयार गर्न गाउँघरमै उपलब्ध हुने सन्तुलित आहार सहितको ‘मेनु’ नै बनाइदिएको छ । तर, कतिपय विद्यालयमा चाउचाउ र विस्कुट बाँड्ने उदाहरण समेत भेटिएको शिक्षा कार्यालयका कर्मचारीहरू बताउँछन् । यसमा सरकारी अनुगमन पुग्न सकेको छैन ।


निजी स्कूलका अभ्यास

ताहाचलकी एलिसा श्रेष्ठका दुई छोरीहरू सामिया र प्रगति बर्नहार्ट स्कूलमा कक्षा–१ मा पढ्छन् । उनी टिफिनमा भ्याएसम्म आफैं खाजा लिएर विद्यालयमा आउँछिन् । बच्चालाई ‘जङ्क–फूड’ दिनुहुँदैन भन्ने बुझेकी उनले प्रायः दाल–भात, भुटेको भात, चिउरा र फलफूललाई खाजाको रूपमा दिने गरे की छिन् । उनी भन्छिन्, “चाउचाउ खान सकभर दिन्न । तर, बच्चाको चित्त बुझाउनै गाह्रो हुन्छ ।” बर्नहार्टका प्राथमिक तह संयोजक चक्रबहादुर विष्टका अनुसार, यहाँका ७५ प्रतिशत विद्यार्थीले घरैबाट खाजा ल्याउने गरेका छन् । क्यान्टिनमा चाउचाउ बिक्री गरिँदैन । तथापि केही छात्रछात्राले घरबाटै चाउचाउ ल्याउने गरेका छन् । त्यसैले ‘जङ्क–फूड’लाई पूरै नियन्त्रण चाहिँ गर्न सकिएको छैन ।

ताहाचलकै जनज्योति हाईस्कूलले पनि स्कूलमा तीन वर्ष देखि चाउचाउ नियन्त्रण गरेको छ । प्रिन्सिपल बेनु राणाको भनाइमा एकाध विद्यार्थीले लुकाएर ल्याए पनि अधिकांशले चाउचाउ ल्याउँदैनन् । त्यहाँ नर्सरी र केजीका धेरैजसो बालबालिकाले दालभात र केहीले बिस्कुट ल्याउने गरेका छन् ।


न पौष्टिक, न स्वस्थकर
तयारी खानेकुरा मध्येमा बालबालिकाले सर्वाधिक रुचाएको खानेकुरा ‘तयारी चाउचाउ’ हो । तर, यो खाद्यपदार्थ स्वस्थकर मानिँदैन । खाद्य प्रविधि तथागुण नियन्त्रण विभागले चाउचाउको परीक्षण गर्दा २३ प्रतिशतसम्म तेलको मात्रा पाएको छ । विज्ञहरूका अनुसार, यसले बच्चाहरूमा अस्वाभाविक मोटोपन मात्रै बढाउँदैन, मुटुमा पनि असर पार्छ । चाउचाउको नुनिलो मात्राले बालबालिकाको मिर्गौला र कलेजोलाई असर पार्छ । विभागका वरिष्ठ खाद्य प्राविधिक प्रमोद कोइराला भन्छन्, “हुन त हराम्रो मापदण्ड अनुसार चाउचाउमा अधिकतम चार प्रतिशतसम्म नुनको मात्रा राख्न पाइन्छ । तर, बच्चाको स्वास्थ्यका लागि चार प्रतिशत पनि प्रतिकूल हो ।” चाउचाउलाई बढी स्वादिलो बनाउन प्रयोग गरिने ‘अजिनोमोतो’ले बच्चाको हड्डीलाई कमजोर बनाउने उनको तर्क छ ।

गृह विज्ञान विभागको अध्ययनले ‘जङ्क–फूड’ बढी खाने र नखाने बालबालिकाको संवेगात्मक विकास मा अन्तर भेटिएको उल्लेख गरेको छ । ‘जङ्क–फूड’को आदत भएका बच्चाहरूमा छिटो उत्तेजनामा आउने र सिकाइ क्षमता कमजोर हुने अध्ययनले देखाएको थियो । जबकि त्यस्ता खानेकुरा कम खाएका बच्चाहरूमा यस्तो समस्या कम पाइएको निचोड सो अध्ययनले निकालेको थियो ।

चाउचाउसँगै चीजबल्स, लेज, चिप्स, बिस्कुट, चकलेट, दालमोठ, आइसक्रिम जस्ता खानेकुरा को स्वादमा बालबालिकाहरू लठ्ठिएका छन् । कान्ति बाल अस्पतालकी डाइटिसियन रेखा अधिकारी भन्छिन्, “बालबालिकामा शरीरका लागि नभई जिब्रोका लागि खाने लत बढेको छ । तयारी खाद्य पदार्थहरू ‘खानेकुरा ’ मात्रै हुन्, पौष्टिक आहार हुँदै होइनन् ।” यथार्थमा नेपालको शहरी र अर्धशहरी क्षेत्रको पछिल्लो पुस्ता खानाका दुई वटा स्वाद– ‘अजिनोमोतो’ वा चकलेटसँग मात्र बढी परिचित पाइन थालेको छ । प्राकृतिक स्वादले शहर–बजारका विरलै बालबालिकालाई आकर्षित गर्छ । ‘अजिनोमोतो’ वा बजारका खानामा पाइने यस्तै कुनै ‘टेष्ट मेकर’ मिसाउन पाए मात्रै घरको दाल–भात र तरकारी खाने बालबालिका प्रशस्त भेटिन्छन् ।

त्यसो त, बालबालिकाहरू हुरुक्कै हुने चटपटेमा हानिकारक जीवाणु हुने गरेको तथ्य प्रयोगशालाको परीक्षणले नै देखाएको छ । खाद्य प्रविधि तथागुण नियन्त्रण विभागलेगत वर्ष गरेको परीक्षणमा चटपटेमा ‘कोलिफर्म’ अर्थात् दिसामा भेटिने जीवाणु र अखाद्य रङको मिसावट रहेको भेटिएको थियो । त्यसले बालबालिकाको पाचन प्रणालीमा असर पार्न सक्छ ।

विकल्प पनि छन्
स्कूले उमेरमा बालबालिकाको शारीरिक र मान सिक विकास तीव्रगतिमा हुन्छ । त्यसैले यो उमेरमा तिनका निम्ति वयस्क मानिसलाई भन्दा बढी पोषकतत्वको आवश्यकता पर्दछ । ६–१२ वर्षका बालबालिकालाई दिनमा कम्तीमा पनि चार पटक खानेकुरा खुवाउनुपर्छ । विद्यालयमा लैजाने खाजामा तिनले दैनिक खाने खानाको एक चौथाइ पुग्नै पर्छ । तर, ‘टिफिन’मा बालबालिकाले खाने गरेको अस्वस्थकर खानेकुरा ले न खाजाको मात्रा धान्न सकेको छ, न त पौष्टिक तŒव नै ।

‘जङ्क–फूड’को नियन्त्रण विद्यालय र शिक्षकले चाहेर मात्रै सम्भव हुने होइन । किनकि बालबालिकाहरू ६ घण्टा मात्रै विद्यालयमा हुन्छन्, बाँकी १८ घण्टा र बिदाको दिनमा त परिवारसँगै रहन्छन् । त्यसैले अभिभावकहरू शारीरिक र मान सिक विकास मा खानेकुरा को साइनो के हुन्छ ? भन्ने बारे सचेत र जिम्मेवार बन्नु पर्ने देखिन्छ । यसनिम्ति स्कूलले अभिभावक शिक्षा र सचेतना कार्यक्रम अगाडि बढाउनुपर्छ ।

अन्य खाद्यान्नको तुलनामा महङ्गा मानिने माछा/मासु वा महङ्गो फलफूल नै पौष्टिक आहारको रूपमा बालबालिकालाई खुवाउनुपर्छ भन्ने छैन । अन्न/अनाज (चामल, मकै,गहुँ, कोदो),गेडागुडी (भटमास, बोडी, चना, केराउ, सिमी) दूध र यसबाट बन्ने परिकार, मौसम अनुसारका फलफूल तथा सागसब्जीमा पनि पर्याप्त पोषक तŒवहरू पाइन्छन् । फेरि यी र यसबाट बन्ने परिकार गाउँघरमा सहज रूपमा उपलब्ध पनि हुन्छन् । जसमा प्रशस्त मात्रामा पोषक तŒव त हुन्छन् नै, कृत्रिम रङ र अन्य रसायनको मिसावट पनि रहँदैन । दाल–भात, भुटेको भात, चिउरा तथा रोटी तरकारी, भुटेको वा पोलेको मकै, भटमास, चना, अण्डा, खीर, हलुवा, पुवा तथा फलफूलहरू दिवा खाजाका राम्रा परिकार मानिन्छन् । यिनको प्रयोगका निम्ति अभिभावकहरूमा उत्प्रेरणा जगाउनु आवश्यक छ ।

शिक्षा विभागको आँकडा अनुसार विद्यालय तहमा ७० लाखभन्दा बढी बालबालिका अध्ययनरत छन् । शहरी वा शहरोन्मुख क्षेत्रका विद्यालयका विद्यार्थीमा खाजा खाने परिपाटी देखि ए तापनि ग्रामीण क्षेत्रका विद्यालयमा यो क्रम कमै भेटिन्छ । जहाँ बालबालिकाहरू भोकभोकै पढ्न विवश छन् । विश्व खाद्य कार्यक्रमको ११ र शिक्षा विभागको प्रयासमा १९ जिल्लाका सीमित प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा छन् ।


अदालतले ल्याएको सुधार

भारतका प्राथमिक स्कूलमा दिवा खाजाको अभ्यास तामिलनाडु राज्यबाट सन् १९६० मै शुरु भएको देखिन्छ । भारतले सन् १९९५ मा ‘प्राथमिक शिक्षाका लागि पोषण कार्यक्रम’ लागू गरे पछि दिवा खाजाको अभ्यास अरू विस्तार भयो । त्यहाँको सर्वोच्च अदालतले २८ नोभेम्बर २००१ मा गरेको ‘ल्याण्डमार्क’ आदेशले दिवा खाजामा ठूलो सुधार ल्याएको छ ।

आदेशमा प्राथमिक तहका सम्पूर्ण बालबालिकालाई ३०० क्यालोरी र ८–१२ग्राम प्रोटिन मिसिएको दिवा खाजा खुवाउने व्यवस्था गर्न भनिएको थियो । उक्त आदेशपछि त्यहाँको सरकारी स्तर का प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रमले व्यापकता पाएको छ । भारतमा यो कार्यक्रम अहिले ‘मिड–डे मिल्स’का रूपमा चर्चित छ । भारतमा दिवा खाजा कार्यक्रम लागू भएपछि बालबालिकालाई पोषिलो खाजाको अवसरसँगै भर्नादर, टिकाउदर र तिनको नियमित उपस्थितिको दर बढेको पाइन्छ ।


हुन त सामुदायिक विद्यालयका प्राथमिक तहका सम्पूर्ण बालबालिकालाई दिवा खाजाको सुविधा पुर्याउनु राज्यकै दायित्व हो । तथापि, सरकारी सहयोग पुग्न नसकेका विद्यालयहरूमा दिवा खाजा व्यवस्थापनका दुई वटा विकल्प देखिन्छन् । एउटा अभिभावकसँगै आवश्यक शुल्क उठाएर विद्यालयमै विद्यार्थीलाई खाजा खुवाउने र अर्को अभिभावकले घरैबाट खाजा बनाएर पठाइदिने । पहिलो विकल्प अनुसार, बालबालिकाले ‘जङ्क–फूड’मा खर्चिने रकम जुटाएरै विद्यालयमा सामूहिक भोजन गराउन सकिन्छ । यस्तो अभ्यास पोखरा, नदीपुलस्थित बालमन्दिर माविमा छ । (हे. पृष्ठ ३७) सबै अभिभावकमा त्यसरी शुल्क तिर्नुे क्षमता नहुन पनि सक्छ । तिनले चाहिँ दोस्रो विकल्प अनुसार घरमै तयार गर्न सकिने खानेकुरा हरू बनाएर बालबच्चालाई पठाउन सक्छन् । बरु टिफिन–बक्स वितरण गरेर त्यसनिम्ति अभिप्रेरित गर्न सकिन्छ । जस्तो कि; जापानी सहयोग नियोग (जाइका)को सहयोगमा सञ्चालित विद्यालय स्वास्थ्य तथा पोषण परियोजना अन्तर्गत स्याङ्जाका १५ गाविसका १२४ विद्यालयका छात्रछात्रालाई टिफिन–बक्स बाँडिएको छ ।

साथमा नवदीप अजनवी, नुवाकोट

commercial commercial commercial commercial