‘राम्रा केन्द्र पुरस्कृत हुनेछन्’
२०६८ सालको एसएलसी परीक्षा (७–१६ चैत) ढोकैमा आइपुगेको छ । यो परीक्षामा सहभागी हुन नियमिततर्फ ४ लाख ४६ हजार १६६ र एक्जेम्टेडतर्फ ८२ हजार ९१ गरी कुल ५ लाख २८ हजार २५७ जना परीक्षार्थीले फर्म भरेका छन् । देशभरिका १,७४८ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्न ५६ हजार जनशक्ति परिचालन हुने बताइएको छ । एसएलसी परीक्षाको तयारीका सन्दर्भमा परीक्षा नियन्त्रक डिल्लीराम रिमाल सँग शिक्षक का प्रमोद आयाम ले गरेको संवादः
एसएलसी परीक्षाको तयारी कहाँ पुग्यो ?
हामी यतिखेर अन्तिम तयारीमा छौं । प्रश्नपत्र, उत्तरपुस्तिका लगायत सामग्रीहरू सबै जिल्लामा पुगिसकेका छन् । अब जिल्ला शिक्षा कार्यालयबाट परीक्षा केन्द्रसम्म ती सामग्री पुग्ने क्रममा छन् ।
परीक्षालाई व्यवस्थित बनाउन यस वर्ष केही विशेष प्रयास गर्दै हुनुहुन्छ कि ?
अहिलेसम्म हामीले मर्यादा विपरित काम गर्ने लाई कारबाहीका कुरा धेरै गर्यौ । तर, रराम्रो काम गर्ने लाई पुरस्कृत गर्नु पर्छ भनेर चाहिँ सोचेकै रहेनछौं । जुन काम यस वर्ष हुँदैछ । मर्यादित र व्यवस्थित ढङ्गले परीक्षा सञ्चालन गर्ने हरेक जिल्लाको एउटा केन्द्रलाई पनि काले पुरस्कृत गर्ने छ । उत्कृष्ट केन्द्रको सिफारिस जिशिकाबाटै हुनेछ । ‘होम–सेन्टर’ नराखेका जिल्लाका परीक्षा केन्द्रलाई यस्तो मूल्याङ्कनको दायरामा ल्याइनेछ ।
‘होम–सेन्टर’ हटाउनै नसक्नुको कारण चाहिँ के हो ?
यसको मुख्य कारण त भौगोलिक विकटता नै हो । विकट जिल्लाका कतिपय विद्यालयका परीक्षार्थीका लागि अर्को केन्द्रमा तोक्दा अपायक र टाढा पर्ने भएकाले पनि ‘होम–सेन्टर’ कायम राख्नुपर्ने बाध्यता छ ।
प्रायः परीक्षामा प्रश्नपत्रमा त्रुटि भइरहन्छन्, यस पालि त्यो अवस्था नियन्त्रण होला ?
यसपालि प्रश्नपत्र तयारीमा केही सुधार गरिएको छ । यसपालि शिक्षकलाई विगतको जस्तो ‘सेट’ नबनाई छुट्टाछुट्टै प्रश्नहरू बनाउन लगाइयो । ती प्रश्नहरूको सूचीलाई ‘मोडरेशन’ गरेर प्रश्नपत्र बनाइएको छ । सकेसम्म त्रुटि कम गर्ने प्रयास गरिएको छ ।
परीक्षामा हुने चिटिङ नियन्त्रण गर्न चाहिँ के गर्दै हुनुहुन्छ ?
परीक्षा केन्द्रको सुरक्षा व्यवस्था कडा तुल्याएर मात्रै चिटिङ रोक्न सकिँदैन । यसनिम्ति हराम्रो शिक्षण र परीक्षा प्रणालीमै सुधार जरुरी छ । अहिलेसम्म हामी पाठ्यपुस्तकलाई आधार मानेर प्रश्नपत्र बनाउने र त्यसैका आधारमा परीक्षा लिने परिपाटीमै छौं । पाठ्यपुस्तकमै केन्द्रित रहेर प्रश्न सोधिने भएपछि विद्यार्थीहरू पनि किताबी ज्ञान रट्नमा उद्यत देखिन्छन् । रट्न नसके चोरेरै भए पनि बढी अङ्क ल्याउने आकाङ्क्षा विद्यार्थीमा पैदा हुन्छ । यसले नै चिटिङलाई प्रोत्साहित गरेको देखिन्छ । जबसम्म शिक्षण सिकाइ देखि मूल्याङ्कन पद्धतिलाई पाठ्यक्रमसँग जोड्न सकिँदैन तबसम्म चिटिङ रोकिन सक्दैन ।
परीक्षालाई मर्यादित बनाउने अन्य कुनै तयारी छ कि ?
गत वर्ष जस्तै यसपालि पनि शिक्षा मन्त्रालयले सहसचिवस्तर का कर्मचारीको नेतृत्वमा परीक्षा अनुगमनमा टोली परिचालन गर्दैछ । परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने र गर्न उक्साउने जो कोहीलाई कारबाही गर्ने अधिकार जिल्लाको परीक्षा समन्वय समितिलाई छ । अमर्यादित क्रियाकलाप गर्ने परीक्षार्थीहरू निष्कासनमा पर्नेछन् । केन्द्राध्यक्ष वा निरीक्षक तोकिएका शिक्षकहरूबाटै मर्यादा विपरित क्रियाकलाप मा संलग्न रहेको पाइएमा तिनको अभिलेख बनाएर विभागीय कारबाहीको प्रक्रिया अघि बढाइनेछ ।
यसपालि धेरै परीक्षार्थीले दोहोरो रजिष्ट्रेशन भरेको सुनिंदैछ नि !
प्रारम्भिक छानबिनका क्रममा करीब २५ सय परीक्षार्थीको दोहोरो रजिष्टे«शन भेटिएको छ । यसमा निजीबाट सामुदायिक विद्यालय, सुगमबाट दुर्गम र एउटै जिल्लाभित्र फरक–फरक विद्यालयमा दोहोरो रजिष्टे«शन भरेको पाइएको छ । सामुदायिक विद्यालय र दुर्गम क्षेत्रबाट एसएलसी उत्तीर्ण गर्दा कक्षा ११ मा छात्रवृत्ति पाउने लालसाले दोहोरो रजिष्टे«शन भरेको देखिन्छ । त्यस्ता परीक्षार्थीलाई आफू पढेकै विद्यालयको नाममा परीक्षा दिन सूचित गरिसकिएको छ । त्यो पालना नभएमा त्यस्ता परीक्षार्थीको रजिष्टे«सन रद्द समेत हुन सक्नेछ ।
उत्तरपुस्तिका परीक्षणलाई वस्तुनिष्ठ र व्यवस्थित तुल्याउन कस्ता प्रयास हुनेछन् ?
पनि काले उत्तरपुस्तिका परीक्षणको मापदण्ड मात्रै बनाइदिने हो । कोडिङ, डि–कोडिङ र परीक्षणका कामहरू परीक्षण केन्द्रबाटै हुनेछ । उत्तरपुस्तिका जाँच्नका लागि देशभर ५४ वटा परीक्षण केन्द्र निर्धारण भएका छन् । परीक्षणलाई सजगता अपनाउन र त्रुटिरहित नतिजा तयारीका लागि सबै केन्द्रमा निर्देशन दिइएको छ ।
उत्तरपुस्तिका परीक्षणमा लापरवाही हुन्छ भनिन्छ नि ?
जो पायो त्यहीले उत्तरपुस्तिका जाँच्नै पाउँदैन । योग्यता पुगेका र उत्तरपुस्तिका परीक्षणको तालिम पाएका शिक्षकलाई परीक्षक तोक्नुपर्ने हुन्छ । त्यस्ता शिक्षक नभएको अवस्थामा योग्यता पुगेका र माध्यमिक तहमा अध्यापनरत शिक्षकहरू परीक्षकका निम्ति योग्य मानिन्छन् । असम्बन्धित व्यक्तिले उत्तरपुस्तिका जाँचेमा कारबाही गरिनेछ ।
नतिजा कहिलेसम्म निस्कन्छ ?
परीक्षा सकिएको दुई महिनाभित्रै नतिजा निकाल्ने हराम्रो प्रयास हुनेछ ।



