“मकैको खेतीमा विचार राख्ने अति उत्तम कुरा ।

मकैका टुप्पामा जुन धानचँवर हुन्छ, त्यो परमात्माले बडो विचित्रको चीज बनाएकाछन् । त्यो धानचँवर पुरुषबीज हो, त्यसलाई अगाडि नै काटिदियो भने मकैका घोगा लाग्दैनन्, कदाचित् घोगा लागिहाले भने पनी दाना नभएका थोता हुन्छन् । संसारमा विरुवा दुई प्रकारका पैदा भएका छन्; एउटामा फुल लाग्दछ, एउटामा फुल लाग्दैन । फुल लाग्ने चाहिँमा फल पनी लाग्दछ, फुल नलाग्ने चाहिँमा फल पनी लाग्दैन । जस्तो मानिस, पशु, पक्षीहरूमा स्त्री पुरुष नभई छोराछोरी हुँदैनन्, त्यस्तै वनस्पतिहरूमा पनी स्त्री पुरुषको वीर्य नमिली फुल लाग्न शक्तैन । हुन ता मानिस, पशुपक्षीका झै विरुवाहरू हिँड डुल गर्न शक्तैनन्, तथापि उनै परमात्माले पुरुष भाग स्त्री भागमा संयोग हुने बडो विचित्रको बन्दोबस्त मिलाएका छन् । फुलले आफनो सुन्दरता, चमकदमक, बान्गी, छाँट, काँट, सुगन्ध, मीठा सरसहरूका जोरबाट मौरी, पक्षी साना साना कीरा, पुतली, भमराहरूलाई आफूतिर खिपी राखेको हुन्छ । तिनै फूलमा मौरीहरू बसी उडी–उडी रस खाई यताउता डुल्न बस्न जाँदा पुरुषबीज स्त्रीबीजमा संयोग भई मिल्न जान्छ । मौरी, भमराहरूमा पुरुष फुलको बीज टाँसिन्छ, त्यो टाँसिएको टाँसियै तिनीहरू त्यहाँबाट उडी स्त्रीफुलमा आउँदा पुरुषको वीर्य भन्दा स्त्रीको बीज बहुतै दह्रो लस्सा भएको हुने हुनाले त्यसलाई खिची आफूमा खसाउँछ । यति भएपछि फल पैदा हुन शुरु हुन्छ ।

वायुले (पति) पुरुष वीर्यलाई उडाई स्त्रीवीर्यमा खसालिदिने गर्द छ, त्यसले पनी फुलहरू लाग्दै आउँछन् । मकैको सबभन्दा माथि धानचँवर लागेको हुन्छ । यसलाई सूक्ष्म दर्शक यन्त्र (खुर्दवीन) बाट खूब पानी भएका आँखाले निहाली हे¥यो भने यसका भित्र पुरुषवीर्य मात्र रहेको देखिन्छ । धानचँवरको फूल एक किसिमको भूस जस्तो थैलो हो, कुनै–कुनै फूलमा एकहजारसम्म पनि थैला हुन्छन्, हरएक थैलामा हजारौं साना–साना पुरुषवीर्य रहेका देखिन्छन् । मकैका पराग हावाद्वारा उडीगर्भ केशरमा पर्दछ । बोट हल्लेका, झुलेका बखत पुरुषवीर्य त्यसै खसी खेर पनी जाने गर्द छ । यसैकारण परमात्माले स्त्रीवीर्य भन्दा पुरुषवीर्य धेरै बढ्ता गराई सृष्टि गरेका छन् । स्त्री फुलहरू बोटका आँख्लाबाट उत्पन्न हुने चिप्ला–चिप्ला हुन्छन् । त्यस फूलको घोगा बन्दछ, यसै घोगामा रेशमकोगुच्छा जस्तो धागो निस्कन्छ । त्यसलाई जुँगा भन्दछन्, त्यही जुँगा स्त्री वीर्यहरू हुन् ।

भलादमीले खाने मकैको रीती ।
जाँतामा पिँधेको मकैको चाँवल ढिकीमा फली भूस फ्याँकी पानीले धोई तीन चार पानी पखाली ताती एक भल्को उम्लेको पानीमा हाली बराबर चलाउँदै रही केही पानी सोसिएपछि घिउ हाल्नू । पहिले घिउ कड्काइ सो फलिए पखालिएको चाँवल त्यसमा तीन चार मिनेट भुटी तातो पानी हाली पकाउनू, बहुतै मीठो भात हुन्छ । कराहीमा घिउ हाली बेसरी ताते पछि सुकेका मकैका दाना घिउमा डुब्ने गरी हाली, माथिबाट थालले छोपिदिई पट्की पाकेपछि त्यो मकै झ्किी राख्नू । यस्तो रीतले घिउमा भुटेको मकै खानलाई कमलो पनी हुन्छ, मीठो भई फायदा पनि दिन्छ ।

शुकेको मकै पानीमा मुछी ढिकिमा हाली फली बराबर घान लाउँदै पानी छम्कँदै गर्नू । मकैको भूसको साथ साथ साह्रो भाग पनी निस्कन्छ, त्यसलाई बराबर निफन्दै ढिकीमा हाल्दै पानी छम्कँदै कुट्तै गर्नू, चार पाँच पटकको धूलो निफनी झ्कििसकेपछि मकैको भित्री कमलो भाग मात्र बाँकी रहन्छ, त्यो मकै घाममा सुकाई जाँतामा पिँधी चाँवल निकाली, धानको चाँवल भिजाउँदा झै भिजाई ढिकीमा कुटी पीठो बनाई सेल पकाउनू, त्यो सेल फुलेको, मीठो, रसीलो, हल्का, फायदा दिने हुन्छ ।
मकैको खाने पदार्थ धेरै प्रकारले बन्दछ, यसले रगत सफा राख्दछ, दिशा खलास हुन्छ, मन्द भएको अग्नि पनि बढाउँछ । यो खाने अम्मल गरे फियो बढ्ने, पेट दुख्ने, जति पेटका रोग छन्, सबै निका हुन्छन् । शरीर पुष्ट, बलियो हुन्छ । जस्तोसुकै गरिब, खान नपाउने भए पनी असल हावा लाग्ने ठाउँमा बसेका, पाएको बखत मकै मात्र खाईगुजारा गर्ने पहाडियाहरू मोटा, ताजा, निरोग रहेका देखिन्छन् । भोटतिर मकैको ढिंडो देखि अरू केही खान पाउँदैनन्, त्यस ठाउँका लोग्ने मानिस कस्ता बलिया, हरएक बलको काम गर्न सक्ने हुन्छन् । त्यहाँका स्वास्नी मानिसहरू चालीश वर्षका भए पनि लाल–लालगुलाफका पात झैगाला भएका सोह्र वर्षे उमेरदार झै देखिन्छन् । यो सबै मकैको लस्सादारगुणको तासीर हो ।

जगदम्बा प्रकाशनबाट हालसालै प्रकाशित ‘कृष्णलालको मकैको खेती’ बाट साभार । पहिलो पटक वि.सं. १९७७ मा छापिएको यो पुस्तकका एक हजारमध्ये ९९९ प्रति जफत गरी तत्कालीन शासक चन्द्र शमशेरले दण्डित गरेका लेखक कृष्णलालको वि.सं. १९८० मा कारागारमै मृत्यु भएको थियो ।   

commercial commercial commercial commercial