भूकम्प भोगाइ इलाम, झापा र ताप्लेजुङ

१ असोज २०६८ साँझ् गएको ६.८ रेक्टर स्केलको भूकम्पको इपीसेन्टर (केन्द्रबिन्दु) सिक्किम परेकाले देशका अरू क्षेत्रमा भन्दा बढी भौतिक क्षति पूर्वाञ्चलमा भयो । उक्त भूकम्पका कारण पूर्वाञ्चलका धेरै स्कूल भवन कामै नलाग्ने गरी भत्किए । भूकम्पले विद्यालय भवन भत्किएका कारण अहिले पनि ताप्लेजुङका धेरै विद्यालयले पाल टाँगेर पठनपाठन सञ्चालन गर्दै आएका छन् । १ असोजको भूकम्पको त्रासदीले धेरै बालबालिकामा मनोवैज्ञानिक असर समेत देखापरेको छ । भूकम्प आउँदा कसरी जोगिने भन्ने उपाय नसिकाइएका कारण कतिपय विद्यार्थी बिजुलीको खम्बा समाउन पुगे । उक्त भूकम्प भोग्ने शिक्षक–विद्यार्थीको भोगाइ अरूका निम्ति उपयोगी हुने ठानेर यहाँ प्रस्तुत गरिएको छः

बाजा बजाएर आउँदैन भूकम्प

१ असोज २०६८ को साँझ् घरमै थिएँ । पूर्वबाट धक्का दिए जस्तो गरी घर हल्लिएको महसुस भयो । काठको घर मानिस हिँड्दा पनि अलिअलि हल्लिने भएकाले त्यस्तै हल्लाइ होला भनेर शुरु मा खासै वास्ता गरिनँ । तर, घर फेरि जोडले हल्लियो । त्यसपछि मात्र भुईंचालो गयो भन्ने थाहा भयो । आफूले भूकम्पबाट बच्ने उपायहरू पढेको र पढाएको हुनाले परिवारका सदस्यलाई ढोका मुनिपट्टि भेला पारेँ । त्यति गरी सक्दा घरै भत्केला जसरी हल्लियो । अब घरले थिचेर मरिन्छ भन्ने त्रास छायो । मैले जेठोबाठोका नाताले ‘काठको घरले किचे पनि मरिँदैन, यो पक्का घर जस्तो ढल्दैन, नडराउनु भने । एकैछिनमा भूकम्प दाहोरियो, फेरि घर हल्लियो । त्यसपछि मात्र भूकम्प रोकियो ।”

भूकम्प रोकिएपछि सबैभन्दा पहिला टाढा रहेकी छोरीको सम्झना आयो, अनि साथीभाइको । त्यसपछि छोरीलाई फोन गर्न खोज्दा फोन लागेन । भूकम्पको विपदपछि मनमा अनेक कल्पना आउँदा रहेछन् । भूकम्पले विद्यालय के भयो होला भन्ने चिन्ता पनि लाग्न थाल्यो ।

भूकम्प पूर्ण रूपमा रोकिएपछि घरभित्र पसेर हेर्दा बत्ती बलेन, बिजुली काटिएछ । टर्चलाइट जस्ता साधारण सामान टुङ्गोमा नराखिएका कारण उज्यालो खोज्न समय लाग्यो । टर्च बालेर कोठामा हेर्दा दराज र टेबुल माथिका सबै सामान भुईंमा खसेका रहेछन्, कति त फुटेछन् । भूकम्पबाट क्षति हुन घर भत्किनु पर्दैन, सावधानीपूर्वक सामान राखिएको छैन भने धेरै नोक्सान हुन्छ । मैले भूकम्प बारे जे पढेको थिएँ र स्कूलमा छात्रछात्रालाई जे पढाएको थिएँ, त्यो १ असोजको भूकम्पमा सही सावित भयो । छत र कौसीमागमला राखेर घर सजाउन खोज्नेहरूले बेलैमा बुद्धि पुर्याउन पछिल्लो भूकम्पले सुझाव दिएको छ ।

प्राकृतिक विपत्तिका बेला जोगिने उपायहरू स्कूल पाठ्यक्रममा राखिएको भए शायद धेरै आत्तिनु पर्थेन होला । घर बनाउने निर्णय लिन नसके पनि विद्यार्थीले सरसामान त ठीक ठाउँमा राख्न सक्छन्, भूकम्प आएका बेला कस्तो ठाउँमा सुरक्षित रहन सकिन्छ जस्ता कुरा तिनलाई सिकाउन सकियो भने छात्रछात्राका परिवार र सिङ्गो समाज लाई नै लाभ पुग्छ ।

भूकम्प बाजा बजाएर वा अग्रिम सूचना दिएर आउँदैन । विपत्ति आइसकेपछि जोखिम न्यूनीकरणका कुरा गर्नु व्यावहारिक हुँदैन । त्यसैले मैले चाहिँ पाठ्यक्रम नपर्खिइकन विभिन्न स्रोतबाट सामग्री भेला पारेर स्कूलमा छात्रछात्रालाई   प्राकृतिक विपत्ति सामना गर्ने सीप सिकाउने निर्णय गरेको छु ।

टहरामा कक्षा हुन्छ

आमाछोरी खाटमुनि पस्यौं । भर्याङबाट तलामुनि झर्न सम्भव थिएन । घरका मालसामान खस्दै थिए । घर पूरै हल्लिएको थियो । करिब ४५ सेकेण्डको खाटमुनिको बसाइ घण्टौं जस्तो लाग्यो ।

हेममाया गुरुङ
शिक्षक, प्रवोद मावि, मावु ५, इलाम

१ असोजको दिन दिनभरि पानी परिरहेको थियो ।  स्कूलबाट घर फर्केर भर्खरै अक्षर चिन्न खोज्दै गरे की छोरीलाई सहयोग गर्ने मेरो दैनिकी चल्दै थियो । अकस्मात् करयाक कुरुक,गरररर आवाज आयो । भूकम्प ! हरे । आमाछोरी खाटमुनि पस्यौं । भर्याङबाट तलामुनि झ्र्न सम्भव थिएन । घरका मालसामान धमाधम खस्दै थिए । घर पूरै हल्लिएको थियो । करिब ४५ सेकेण्डको खाटमुनिको बसाइ घण्टौँ जस्तो लाग्यो । घरका मानिस सबै बाहिर निस्किसकेका थिए । खाटमुनि बस्दा मनमा अनेक तर्कना आए । दिउँसो कक्षामा पढाइरहेका बेला यस्तो भएको भए के हुन्थ्यो होला ? आज बाँचिएला कि मरिएला ? रातभर भूकम्प आइरहे के गर्ने होला ? यस्ता तर्कना मनमा आए  ।

भूकम्प रोकिएपछि हामी बाहिर निस्क्यौँ । मुटु ढुकढुक भइरहेको थियो । पाँच वर्षकी छोरी ‘घर किन हल्लिएको ? भूकम्प कसरी आउँछ ? भूकम्प के हो ?’ जस्ता प्रश्नहरू सोध्दै थिई । उसलाई भरपर्दो जवाफ दिने साहस ममा थिएन । म हडबडाइरहेकी थिएँ । अब के हुन्छ भनेर त्रसित आँखाले मैतिर हेर्दै छोरी रुँदै थिई । सम्झेँ मेरी छोरीकै उमेरका बालबालिका अहिले के गर्दै होलान् ? तिनीहरूका अभिभावकले उनीहरूलाई कसरी सुरक्षित राखे होलान् ? उनीहरूलाई केही त भएन ? सम्भव भएसम्म टेलिफोन गरेर धेरैलाई बुझेँ । मानवीय क्षति भएको खबर कहीँबाट पाइएन । सम्पर्क गर्दा गर्दै मोबाइलको टावर गयो । त्यसपछि त कुरा कानी नै सम्भव भएन ।

रात निकै लामो लाग्यो । बिहान उज्यालो भएपछि गाउँतिर   घुम्न निस्केँ । धेरै घरहरू भत्किएका थिए । स्कूलको दर्दनाक दृश्य थियो । कक्षा १ देखि ४ सम्म पढाइ हुने भवन लडेको रहेछ । दिउँसो त्यो किसिमको भूकम्प आएको भए ठूलो मानवीय क्षति हुने अड्कल जो कोहीले गर्न सक्छ ।

२ असोजमा  विद्यालय बन्द गर्ने निर्णय गरियो । तत्कालका लागि स्रोत केन्द्र र नजिकै रहेको अर्को भवनमा पठनपाठन गराउने निर्णय गरियो । सोही अनुरुप कक्षा सञ्चालन भइरहेको छ । अहिले युनिसेफको सहयोगमा दुईकोठे अस्थायी टहरो निर्माण भइरहेको छ । स्कूल बन्द भएपछि हामी शिक्षकहरू विद्यार्थीका घरहरू निरीक्षण गर्न गाउँतिर पस्यौँ । घरहरू भत्किएर सयौँ मान्छेहरू विस्थापित भएको दृश्य देखि यो । जमिनमा ठूलाठूला धाँजा फाटेका थिए, ती धाँजाबाट भेल पसेर पहिरो जाला कि भनेर सबै गाउँलेहरूमा भय थियो । मावु गाविसमा मात्रै ८३ घर क्षतिग्रस्त भएका रहेछन् । जसको घर र विद्यालय दुवै भत्किएको छ ती विद्यार्थीहरू बढी त्रसित र चिन्तित भएका छन् । भूकम्पको चार महिना बित्दा पनि विद्यार्थीहरूमा बढी डराउने, टोलाउने, स्कूल जान मन न गर्ने जस्ता समस्याहरू देखि इरहेका छन् । अहिले पनि विद्यार्थीहरू ठूलो आवाज आउँदा डराउने, चिच्याउने, आकासगजिँदा पनि सुरक्षित स्थानतिर भाग्न खोज्ने, अभिभावकहरू छोराछोरीलाई विद्यालय पठाउन आनाकानी गर्ने जस्ता समस्या छन् । भूकम्पका सानासाना धक्काहरू महसुस भएका बेला यस्तो व्यवहार अझ् तीव्र हुन्छ । भूकम्पको त्रास र जोखिमलाई कम गर्न विद्यालयको तर्फबाट विद्यार्थीहरूलाई निरन्तर कक्षामा सजगगराइरहेकै छौँ । यद्यपि अझ् प्रभावकारीरूपले गाउँस्तर मा सरकारी वा गैर सरकारी संस्था मार्फत परामर्श र सचेतना कार्यक्रम चलाउन पाए कलिला नानीहरूमा रहेको भूकम्पप्रतिको हाउगुजी हट्न सक्थ्यो ।

डरले काँप्न थालेँ


म घरको कोठामा बसेर होमवर्क गरिरहेको थिएँ । अचानक टेबुल हल्लियो । मेरा हात हल्लिन थाले । एकछिन पछि त झन् बेस्सरी हल्लिन थाल्यो । त्यसपछि म ढोकातर्फ गएँ, हतारमा ढोकाको चुकुलै खुलेन । अत्तालिएर ढोकै तानेर आँगनमा हाम्फालेँ । घरको गाह्रो भत्किएर लडिरहेको थियो । एकछिनपछि भूकम्प रोकियो । अनि म काम्न थालेँ । अरू मानिस पनि कराउँदै आँगनमा आए । भूकम्प आउँदा खाटमुनि लुक्नुपर्छ भन्ने कुरा रेडियोमा सुनेको थिएँ । तर अत्यासमा सम् झनै सकिनँ । लडिरहेको घरको टेबुलमुनि नबसेकै ठीक भयो ।

रातभरि रोएर खेतमा बिताएँ

भूकम्प गएको दिन म ट्युसन पढ्न घर जाँदै थिएँ । बाटोमा जमिन ररूखहरू हल्लिएका देखेँ । अनि चिच्याउन थालेँ । अत्तालिँदै रुँदै घरतिर दौडिएँ । अलिपर पुगेपछि म डरले थरर्र कामेँ । रुँदै घरमा पुगेँ, घरका सबैजना खुला खेतमा पुगेछन् । म पनि परिवारसँगै रातभरि खेतमा रुँदै बसेँ । फेरि पनि भूकम्प आउने हो कि भन्ने भयले खेतको चिसोमा रातभरि बसेँ ।
मेरा हजुरबाले भूकम्प आउँदा खुला ठाउँमा बस्नुपर्छ भनेर सम्झउने गरेकाले हामी खेतमा गएका थियौँ । मैले भोगेको पहिलो भूकम्प यही हो । भूकम्प गएपछि के के गर्नु पर्छ भनेर सरहरूले बताउनुभएकाले हामी सतर्क थियौं । अलिकता सचेतना भए भूकम्पको प्रहार छल्न सकिँदो रहेछ । अब चाहिँ आफू जोगिएर अरूलाई पनि जोगाउन सकिन्छ जस्तो लाग्छ ।

म खाटमुनि, सर टेबुलमुनि

म घुन्साको चुमे शेर्पाको घरको माथिल्लो तलामा थिएँ । कोही भर्याङबाट तला माथि चढे जस्तो लाग्यो । त्यसपछि पूजाकोठाका मूर्ति लड्न थाले । घरको सानो बालक रुन थाल्यो । मैले सानो नानीलाई खाटमुनि हालेँ र आफू पनि खाटमुनि छिरेँ । त्यसपछि म अत्तालिएर बाहिर निस्कन लागेँ । खाटमुनि रोइरहेको बच्चालाई पनि निकालेर ढोकाबाट बाहिर निस्केँ । भर्याङबाट तल झ्र्दा झन् डर लाग्यो ।

बरन्डाबाट अरूलाई बच्चा समाउन दिएर आफू चाहिँ माथिबाटै हाम फालेँ । तल झ्रेपछि अरू डर लाग्यो । वरिपरि पहाडै पहाड भएको कारण यताउता हेरेँ, पहाडहरू भत्किँदै थिए । आगोका ज्वाला निस्किरहेको देखेपछि झन् डर लाग्यो । घुन्सा गाउँका स्थानीयवासीहरू चिच्याउँदै, कराउँदै, रुँदै थिए ।

मेरा शिक्षक मित्र विद्यानन्द सिंह खाना पकाउँदै थिए । मेरो ध्यान विद्यालयतर्फ गयो । भूकम्पले सरलाई किच्यो होला भन्ने चिन्ताले छोप्यो । त्यसपछि म अत्तालिँदै विद्यालयतर्फ दौडिएँ । विद्यालय पुग्दा सर टेबुलमुनि लुकेर बस्नुभएको देखेँ । सरलाई बाँचेको देखेपछि ढुक्क भएँ । त्यसपछि गाउँलेलार्ई खुला चौरमा भेला हुन आयो भन्दै हामी दुवै जना चौरतिर लाग्यौँ । यसबेलासम्म भूकम्पको भय हटिसकेको थियो तर मन डराइरहेको थियो ।

खम्बा समाउनै सकिनँ

म भूकम्प आउँदा घरमा तरकारी पकाउँदै थिएँ । म अत्तालिएँ । भूकम्प आउँदा खम्बा समाउनुपर्छ भन्ने आमाबाबाले भनेको सम्झ्एिर हतारहतार माथिल्लो कोठामा रहेको खम्बा समाउन कुदेँ । खम्बा समाउन खोजेँ । तर खम्बा आफैँ हल्लिइरहेको थियो । समाउनै सकिनँ । म झन् आत्तिएँ । यसो हेर्छु त भित्ताका ढुङ्गाहरू लडिरहेका थिए । छिमेकीहरू बाहिर निस्क भनेर कराइरहेका थिए । तर बाहिर पुग्न सकिनँ । भूकम्प सकिएपछि फेरि आउँछ कि सकियो भन्ने यकिन गर्न साथीभाइ र गाउँमा रहेका आफ्ना परिवारलाई फोन गरें तर सम्पर्क हुन सकेन । म झन् आत्तिएँ । भूकम्प आउँदा बाँचिँदैन सबै जमिन फुट्छ भनेको सुनेकी थिएँ । मरिने रहेछ भन्दै रातभरि डरले काम्दै बसेँ ।

commercial commercial commercial commercial