हामी अभिभावक कति सफल, कति असफल !

अघिल्लो महिना काठमाडौँ विश्वविद्यालयको सत्रौं दीक्षान्त समारोहमा छोरीले स्नातकतहको प्रमाणपत्रग्रहण गरिन् । त्यस दिन हामीलाई आफू पनि ‘सफल’ भयौं भन्ने लाग्यो ।

‘मान्छेलाई पढाइले मात्र पुग्दैन, आफूले पाएको शिक्षाले व्यक्ति र समाज पढ्न सक्नुपर्छ’ भन्ने स्वर्गीय आमाको अर्ति–उपदेशलाई मैले शिरोधार्य गर्दैै आएकी छु । त्यसैले म अझै पनि व्यक्ति र समाज पढी नै रहेकी छु, जुन अथाह रहेछ । यसो गर्दा मलाई छोराछोरीले पनि मबाट केही जीवनोपयोगी सीप सिक्छन् कि भन्ने लागिरहन्छ ।

जीवनोपयोगी सीप सिक्ने पहिलो थलो घर हो र पहिलो गुरु अभिभावक । जागिरे बुबा र कामकाजी आमा भए पनि हामी दुवैले हाम्रा छोराछोरीलाई भातभान्साको काम सिक्न सधैँ प्रोत्साहितगर्यौ । दश बाह्र वर्ष देखि नै उनीहरू आफैं खाजा बनाएर खानेगर्थे । यसरी सिकेको भातभान्साको कामले उनीहरूलाई काठमाडौं जस्तो ठाउँमा डेरामा बसेर उच्च शिक्षा हासिल गर्न केही हदसम्म सहज बनायो । कतिपय अभिभावकहरू छोराछोरीलाई कलेज पढाउन बसाइँ नै सर्छन् भने गृहिणी आमाहरू ‘मेरा छोराछोरीलाई त भातै पकाउन आउँदैन’ भन्दै जीवनभरि भान्सेको भूमिका निर्वाह गर्छन् । यस्ता अभिभावकले आफ्ना छोराछोरीलाई आत्मनिर्भर हुनबाट वञ्चित गरिरहेका हुन्छन् ।

छोराछोरीको चौतर्फी विकास विद्यालयले नै गरिदेयोस् भन्ने अभिभावक एकदमै धेरै छन् । उनीहरू छोराछोरीले हस्तलेखन देखि पढाइमा समेत उत्कृष्ट अङ्क ल्याउन् भन्ने अपेक्षा त राख्छन् तर आफू भने न्यूनतम जिम्मेवारी समेत पूरा गर्दैनन् । हुन त, रराम्रो हस्तलेखन र उत्कृष्ट पढाइका निम्ति विद्यार्थी र शिक्षकले मात्र मिहिनेत गरेर पुग्दैन; अभिभावकले पनि उत्तिकै ध्यान दिनुपर्छ भन्ने कुरा मैले हिजोभन्दा आज बढी बुझन थालेकी छु । अहिले मलाई अभिभावकका रूपमा पूरा गर्नु पर्ने जति जिम्मेवारी पूरा गर्न सकेकी रहेनछु भन्ने महसुस अहिले भइरहेको छ । छोरीले सधैं उत्कृष्ट अङ्क हासिल गर्न सके पनि हामीले छोराको औसत प्रगतिमै चित्त बुझाउनु परयो । चाहेर पनि हामीले उसको चौतर्फी विकास मा त्यतिबेला गर्नु पर्ने जति योगदान गर्न सकिएनछ भन्ने लाग्छ ।

हामी शिक्षक र अभिभावकको व्यवहार बाल अनुकूल छ–छैन भन्ने विषयमा हामी घोत्लिने गर्दैनौं । अझ् भनौं; हामीलाई यस्ता ‘वाहियात’ विषयमा सोच्ने फुर्सद हुँदैन । मेरो छोराले प्राथमिकतहमा हुँदा मलाई भन्ने गरेको कुरा आज पनि सम्झन्छु “मम्मी केटाहरूलाई मात्र किन सर–मिसहरूले कुटेको, केटीले जति नै बदमासी गरे पनि उनीहरूले कुट्दैनन् त !” छोराले यो प्रश्नमार्फत के भन्न खोजेको थियो भनेर त्यतिबेला मैले सोच्नु जरुरी ठानिनँ वा सकिनँ । अहिले लाग्छ, कतै त्यो प्रश्न पैदा गर्ने उसको कक्षाको तात्कालीन अवस्थाले नै उसलाई सधैँ औसतमा चित्त बुझाउने बनाइदिएको पो हो कि ?

हामी छोराछोरीको चौतर्फी विकास गर्ने विषयमा विद्यालय र शिक्षकमा सकेसम्म कम भर प¥यौं र त्यसनिम्ति आफैँ बढी अग्रसर भयौं । छोरीलाई सानै देखि नाँच्न–गाउन मनपथ्र्यो, उनलाई त्यसमा सधैँ प्रेरितगथ्र्यौं । किनभने नाँच्ने–गाउने सीपले व्यक्तित्व विकास को पहिलो ढोका खोल्न मद्दत गर्छ भन्ने हामीलाई थाहा थियो ।

कक्षा चारमा हुँदा नेपाली शिक्षकले छोरीलाई चुल्ठो तान्दै ढाडमा हिर्काएको घटना म सधैं सम्झन्छु । त्यो घटनाबारे मैले तत्कालै प्रधानाध्यापकलाई जानकारी गराएँ र भोलिपल्ट सम्बन्धित शिक्षकसँग गुनासो गर्न पुगेँ । मैले गुनासो राख्ने बित्तिकै “तपाईंहरूले त छोराछोरीलाई पुल्पुल्याएर हुर्काउनुभएको रहेछ । हराम्रो पालामा त शिक्षकले रगताम्य हुने गरी पिट्थे” भन्दै ती शिक्षक उल्टै जङ्गिए । मैले पनि “उसो भए तपाईं आफूले पाएको सजायको भुक्तान हाम्रा छोराछोरीबाट लिनुहुँदैैछ”, भन्दै कडा प्रतिक्रिया जनाएँ ।

त्यो घटनालाई आधार बनाएर ‘शिक्षकका दुई विकल्पः व्यवहार परिवर्तन या पेशा’ भन्ने लेख छपाएँ । लेख प्रकाशित भएको केही महिनापछि मेरो लेख पढेरै हो वा अन्य कारणले ती शिक्षक पेशा परिवर्तन गरी अन्यत्र गएछन् । तर आज पनि धेरै अभिभावकहरूगलत शिक्षककागलत व्यवहारविरुद्ध मुख खोल्न अग्रसर हुने गर्दैनन् ।

बदलिँदो परिवेशमा शिक्षकसँगै हामी अभिभावकहरूको भूमिका पनि चुनौतीपूर्ण बन्दै गएको छ । गाउँघरको कुरै छाडौं, शहरका कतिपय सम्पन्न र शिक्षित अभिभावकहरू अझ् पनि छोरालाई मात्र ‘डाक्टर या इञ्जिनियर’ बनाउन लागिपरेका छन् । छोरा माथि गरेको लगानीमा आफ्नो भविष्य सुरक्षित र सम्पन्न देख्ने अभिभावकहरू आज पनि सकेसम्म छोरीलाई चाँडोभन्दा चाँडो अन्माउन चाहन्छन् ।

निजी विद्यालयबाट स्कूले शिक्षा हासिल गर्ने बहुसङ्ख्यक छोराछोरीको पहिलो रोजाइ विदेशी शिक्षा हो । यसले गर्दा एकातिर राष्ट्र र राष्ट्रिय ता भन्ने विषय ओझाेलमा परेको छ भने अर्कातिर हामी अभिभावकहरू निरीह बन्दै गएका छौं । अङ्ग्रेजी भाषा नजान्ने कतिपय अभिभावकलाई आफ्नै छोराछोरीले ‘पाखे’ भन्ठान्छन् र कतिपय अभिभावकहरू आफ्ना अङ्ग्रेजीबाज छोराछोरीले जे भन्छन् त्यही गर्न बाध्य भइरहेका छन् । समग्रमा, बितेका वर्षलाई फर्केर हेर्दा, छोरीका लागि एउटा सफल अभिभावकको भूमिका निर्वाह गर्न सके पनि छोराका लागि कता–कता हामी असफल भयौं कि भन्ने लाग्छ ।
सरिता इन्द्र पूर्व प्राथमिक शिक्षण विद्यालय
विराटनगर–१५

commercial commercial commercial commercial