गरिबीः कसरी बुझने ?
तीन जनाको परिवारमा गरिबीको दर ८ प्रतिशत छ भने ६ भन्दा बढी भएको परिवारमा सो दर ३२ प्रतिशतभन्दा बढी देखिन्छ । परिवारमूलीको शैक्षिक स्तर बढ्दा गरिबी पनि घटेको देखिन्छ । निरक्षर परिवारमूली भएका परिवारहरूमा गरिबीको दर ३४ प्रतिशत छ भने ८–११ कक्षा पास गरेकामा सो दर १३ प्रतिशतभन्दा कम छ ।
गरिब भन्छौ सुखको म झै धनी
मिल्दैन संसार भरि कतै पनि
विलासको लालस दास छैन म
मिठो छ मेरो रसिलो परिश्रम !
– लक्ष्मीप्रसाद देवकोटा, ‘ गरिब’ कविताबाट
महाकविले गरिबलाई सुखी देखे पनि गरिबीलाई जानी–जानी आत्मसात् गर्ने मान्छेहरू विरलै हुन्छन् । फेरि त्यस्ता व्यक्तिलाई गरिब भत्र पनि नमिल्न सक्छ । साधारणतया जीवनलाई समर्थ र सार्थक बनाउनबाट वञ्चित गर्ने वा हरण गर्ने अवस्था नै गरिबी हो । यसैले गरिबी निवारण वा न्यूनीकरण नेपालका विकास योजनाहरूको प्राथमिक उद्देश्य रहँदै आएको छ । तर मान्छे देखेपछि गरिब भनेर चित्र जति सजिलो छ तथ्याङ्कद्वारा गरिबको पहिचान गर्न र गरिबगत्र भने त्यति सजिलो छैन ।
नेपालमा गरिबगत्रे काम (वा गरिबीको रेखामुनिको जनसङ्ख्याको प्रतिशत वा दर निकाल्ने काम) २०३३/३४ सालमा थालिएको भए पनि त्यसको तुलनात्मक तथ्याङ्क भने नेपाल सरकारको केन्द्रीय तथ्याङ्क विभागबाट गरिएका जीवनस्तर मापन सर्वेक्षणबाट मात्र उपलब्ध हुन्छ । हालसम्म २०५२/५३, २०६१/६१ र २०६६/६७ गरी तीनवटा जीवनस्तर मापन सर्वेक्षण गरिएका छन् । यी सर्वेक्षणहरू नेपालीको जीवनस्तर मा आएको परिवर्तन आकलन, नीति र कार्यक्रमका हिसाबले विश्लेषण गर्ने उद्देश्यले गरिएका हुन् ।
गरिबीको मापन सिद्धान्ततः धेरै प्रकारले गर्न सकिन्छ– परिवार वा व्यक्तिको आयका हिसाबले, उपभोग खर्चका हिसाबले, युक्तिसङ्गत जीवनस्तर निर्वाह गर्नका लागि चाहिने सामथ्र्यका हिसाबले आदि । जसरी मापन गरिए पनि गरिबको पहिचान गर्न गरिबीको रेखा निर्धारण गर्नु आवश्यक पर्छ जुन रेखाभन्दा मुनिको आय वा उपभोग खर्च वा सामथ्र्यका आधारमा गरिबीको दर जात्र सकियोस् । नेपालमा हालसम्म गरिएको गरिबी मापन– आधारभूत आवश्यकताको लागत (cost of basic needs) मा आधारित छ । यसो गर्न पहिला आधारभूत आवश्यकतालाई खाद्य र गैर –खाद्य गरी दुई भागमा बाँडिन्छ । खाद्य आवश्यकता अन्तर्गत एउटा औसत परिवारका सदस्यलाई स्वस्थ र सक्रिय रहन आवश्यक पर्ने न्यूनतम पोषणका लागि चाहिने क्यालरी र त्यसको खाद्य डालो (basket of goods) को निर्धारण गरिन्छ । क्यालरी उमेर र लिङ्ग अनुसार फरक हुने गर्छ । नेपालका लागि औसत आवश्यक क्यालरी २२२० निर्धारण गरिएको छ । आधारभूत आवश्यकताको खाद्य डालोका लागि चाहिने लागत अर्थात् खर्चले खाद्य गरिबीको रेखा निर्धारण गर्छ । यस्तो खर्च पनि ठाउँ अनुसार फरक हुन सक्छ । सर्वेक्षणका आधारमा नेपालका लागि सालाखाला खाद्य गरिबीको रेखा २०६६/६७ का लागि वार्षिक प्रति व्यक्तिर रु.११,९२९ निर्धारण गरिएको छ ।
गैर –खाद्य आवश्यकतामा आवास, लत्ता–कपडा, शिक्षा, स्वास्थ्य लगायतमा लाग्ने खर्च समाविष्ट हुन्छ । २०६६/६७ का लगि गैर –खाद्य गरिबीको रेखा वार्षिक प्रतिव्यक्ति रु.७,३३२ निर्धारण गरिएको छ । यो खर्च पनि प्रदेश र ठाउँ अनुसार फरक हुन सक्छ । औसत गरिबीको रेखा खाद्य र गैर –खाद्य गरिबीको रेखाको समष्टि हो । नेपालका लागि २०६६/६७ मा यो रेखा रु.११,९२९ + रु.७,३३२ = रु.१९,२६१ निर्धारण गरिएको छ । यस प्रकार २०६६/६७ को हिसाब अनुसार वार्षिक रु.१९२६१ या प्रतिदिन रु.५३ भन्दा कम खर्च गर्ने क्षमता भएको व्यक्ति गरिबीको रेखामुनि पर्न आउँछ ।
२०६६/६७ को जीवनस्तर मापन सर्वेक्षणका लागि देशभरबाट कुल ७२०० घर परिवार छनोट गरिएको थियो । यो छनोटका लागि नेपाललाई १४ (भौगोलिक प्रदेश, विकास क्षेत्र,ग्रामीण, सहरी आदि गरी) तहमा विभाजित गरी तीभित्रका वडा, घरपरिवार छनोट हुने समान सम्भावनाका आधारमा छानिएको थियो । सर्वेक्षणको नतिजा भने नेपाललाई १२ विश्लेषणात्मक क्षेत्रमा विभाजन गरी प्रस्तुत गरिएको छ ।
तपाईंको आफ्नो गाउँमा विद्यार्थीले गरिब कसरी बुझछन्, विद्यार्थी बीच त्यो बुझाइमा कति फरक छ, सर्वेक्षणका निम्ति गरिबीको सरल मापक के हुन सक्छ र त्यस हिसाबले गाउँको गरिबीको स्थिति कस्तो छ भनेर बुझन विद्यार्थीका निम्ति कुनै कक्षा परियोजना बनाउन सक्नुहुन्छ ? सोच्नोस् त ?
माथि भनिए जस्तै गरिबीको रेखा विश्लेषण क्षेत्र अनुसार फरक पर्छ । सर्वेक्षण अनुसार काठमाडौं उपत्यका शहरी क्षेत्रमा गरिबीको रेखा सबैभन्दा माथि अर्थात् रु.४०,९३३ छ । काठमाडौं उपत्यकाको शहरी क्षेत्रमा प्रति व्यक्ति प्रतिदिन रु.११२ भन्दा कम मात्र खर्च गर्ने क्षमता भएकालाई गरिबीको रेखामुनि भएको मानिन्छ । नेपालमा गरिबीको रेखा सबैभन्दा कम वार्षिक रु.१५,९९८ (प्रति व्यक्ति प्रतिदिन रु.४४) ग्रामीण पश्चिमाञ्चल तराईमा छ ।
२०६६/६७ को जीवनस्तर मापन सर्वेक्षण अनुसार नेपालको कुल जनसङ्ख्याको २५.१६ प्रतिशत गरिबीको रेखामुनि छन् । यो दर २०५२/५३ मा ४२ प्रतिशत र २०६०/६१ मा ३१ प्रतिशत थियो । नेपालको शहरी क्षेत्रमा गरिबीको रेखामुनि १५ प्रतिशत जनसङ्ख्या छ भनेग्रामीण क्षेत्रमा २७ प्रतिशत । भौगोलिक प्रदेश अनुसार गरिबी दर हिमालमा सबैभन्दा बढी (४२ प्रतिशत) छ । यो दर पहाडमा २४ र तराईमा २३ प्रतिशत छ । पहाड र तराईमा उस्तै उस्तै दर भए पनि गरिबीको विषमता ( गरिबमध्ये कति गरिब गरिबीको रेखाभन्दा कति तल छन् भत्रे सूचक) र गहनता ( गरिबबीचको असमान ताको सूचक) पहाडमा बढी छ । फेरि पहाड र तराई दुवैमा सबैभन्दा बढी गरिबी (क्रमशः ३७ प्रतिशत र ३१ प्रतिशत) मध्य र सुदूर पश्चिममा छ । २०६६/६७ को सर्वेक्षण अनुसार शहरी क्षेत्रमा सबैभन्दा कम गरिबी (९ प्रतिशत) काठमाडौं बाहेकका पहाडी शहरमा छ भने सबैभन्दा बढी गरिबी (२२ प्रतिशत) तराईका शहरहरूमा छ ।
खाद्य डालोको फरकले गर्दा २०६६/६७ र त्यसअघिका सर्वेक्षणका नतिजालाई प्रत्यक्ष तुलना गर्न नसकिए पनि नेपालमा गरिबीको दर घट्दो छ भत्रे कुरा माथि उल्लिखित तथ्याङ्कले देखाउँछन् । सामान्यतया देशको आर्थिक वृद्धिदर बढ्दा गरिबी घट्ने हो । तर देशको आर्थिक वृद्धि दरमा उच्च नहुँदा पनि नेपालको गरिबी घटेको देखिन्छ । २०५३ देखि २०६७ सम्मको तीन योजना अवधिमा नेपालको कुलगार्हस्थ्य उत्पादनको औसत वार्षिक वृद्धिदर ३.४ र देखि ४.५ प्रतिशतका बीच रह्यो । तर यो अवधिमा गरिबीको दर ४२ प्रतिशतबाट २५ प्रतिशतमा झ्¥यो । तुलनात्मक खाद्य डालोको हिसाब गर्ने हो भने पनि विगत १४ वर्षमा गरिबीको दर झण्डै ३१ प्रतिशतले घटेको देखिन्छ । त्यति मात्र हैन; २०६०/६१ मा ०.४२ रहेको असमान ताको सूचकाङ्क (जिनी कोइफिसेन्ट) २०६६/६७ मा घटेर १.३३ मा आयो । यो कसरी सम्भव भयो ? यसको पूरा जवाफ जीवनस्तर मापन सर्वेक्षणले दिँदैन तर केही कारकहरू भने देखाउँछ ।
पहिलो कारक विप्रेषण (रेमिट्यान्स अर्थात् विदेशबाट नेपाल भित्रिने आय) मा भएको अभूतपूर्व वृद्धि हो । २०६६/६७ मा सर्वेक्षणमा परेका झण्डै ५६ प्रतिशत घरपरिवारले विप्रेषणबाट औसत रु.८०,४६३ आय प्राप्त गरेका थिए । यस्तो आय प्राप्त गर्ने घरपरिवारको प्रतिशत २०५२/५३ र २०६०/६१ मा २३ र ३२ प्रतिशत मात्र थियो । सर्वेक्षण अनुसार कुल जनसङ्ख्याको २० प्रतिशत जति ६ महिना वा सोभन्दा बढी समय देखि घरपरिवारमा अनुपस्थित थिए । २०६७/६८ को सरकारी तथ्याङ्क अनुसार विप्रेषणले नेपालको कुलगार्हस्थ्य उत्पादनको झण्डै २० प्रतिशत हिस्सा ओगट्छ । विप्रेषणको सम्बन्ध शिक्षासँग पनि छ; किनभने विप्रेषणबाट आउने आयमध्ये ३.५ प्रतिशत जति शिक्षाका निम्ति खर्च हुने गर्छ ।
दोस्रो कारक भनेको शिक्षा, स्वास्थ्य, यातायात, बजार, वित्तीय संस्था जस्ता सार्वजनिक सेवा र सुविधाको विस्तार र पहुँच हो । २०६६/६७ को सर्वेक्षणले देखाए अनुसार ९५ प्रतिशत घरपरिवार प्राथमिक विद्यालयबाट , ७२ प्रतिशत माध्यमिक विद्यालयबाट र ६२ प्रतिशत उप–स्वास्थ्य चौकीबाट आधा घण्टा भित्रको दूरीमा थिए । तुलनात्मक रूपमा कच्ची सडक र बजारको पहुँच पनि पहिलेको तुलनामा सुगम रहेको सर्वेक्षणबाट देखिन्छ ।
गरिबी सम्बन्धी केही अन्य तथ्यहरू पनि चाखलाग्दा छन् । उदाहरणस्वरुप– परिवारको आकार बढ्दा गरिबी पनि बढेको देखिन्छ । तीन जनाको परिवारमा गरिबीको दर ८ प्रतिशत छ भने ६ भन्दा बढी भएको परिवारमा सो दर ३२ प्रतिशतभन्दा बढी देखिन्छ । परिवारमूलीको शैक्षिक स्तर बढ्दा गरिबी पनि घटेको देखिन्छ । निरक्षर परिवारमूली भएका परिवारहरूमा गरिबीको दर ३४ प्रतिशत छ भने ८–११ कक्षा पास गरेकामा सो दर १३ प्रतिशतभन्दा कम छ । कृषि जमिन बढी भएका घरपरिवारमा गरिबीको दर पनि कम छ । त्यस्तै स्कूल, स्वास्थ्य सेवा, बजार, पक्की सडक, कृषि केन्द्र, सहकारी, बैंक जस्ता सार्वजनिक सुविधा नजिक हुँदा र त्यस अर्थमा बढी पहुँच हुँदा, गरिबीको दर तुलनात्मकरूपले निकै कम भएको देखिन्छ ।
गरिबीको जातीय आयाम पनि छ । नेपालमा गरिबीको सबैभन्दा बढी दर (क्रमशः ४४ प्रतिशत र ३८ प्रतिशत) पहाड र तराईका दलित समूहमा छ भने सबैभन्दा कम गरिबी दर पहाडी बाहुन र नेवार (दुवै १० प्रतिशत) समूहमा छ । गरिबीको विषमता पनि दलित समूहमै सबैभन्दा बढी छ । पहाडी जनजाति (२८ प्रतिशत) र तराई जनजाति (२६ प्रतिशत) को गरिबी दर नेपालको औसतभन्दा केही बढी छ । तराईका मध्यम जातिको गरिबी दर २९ प्रतिशत छ भने मुसलमान हरूको २१ प्रतिशत । गरिबीको जातीय स्थितिले गरिबी न्यूनीकरणका लागि कुन समूहहरूमा बढी ध्यान केन्द्रित गर्नु आवश्यक छ भत्रे जानकारी दिन्छ ।
व्यक्तिको सामथ्र्यको भन्दा उपभोग्य खर्चको उपलब्धतालाई जोड दिइएकाले नेपालका सन्दर्भमा गरिबी मापन गर्ने जीवनस्तर मापन सर्वेक्षणको विधिको पनि आलोचना गर्न सकिन्छ । कतिपयले आय वा खर्चमा आधारित गरिबी मापन विधि एकाङ्गी हुने तर्क पनि गर्छन् । हालसालै बहु–आयामिक गरिबी सूचकाङ्क (multi dimensional poverty index) को निर्माण र प्रयोग पनि गरिएको छ । यो सूचकाङ्कले शिक्षा, स्वास्थ्य र जीवनस्तर का विभित्र पक्षलाई मापन गर्ने १० वटा सूचकको प्रयोग गरेका छ । यस्ता सूचकहरू प्रायशः अन्तर्राष्ट्रिय तुलनाका लागि पनि उपयोग गरिन्छन् ।
शिक्षाको एउटा महत्वपूर्ण पक्ष जीवन उपयोगी र जीवन सान्दर्भिक ज्ञान हासिल गर्नु हो । जसरी परिभाषित गरे पनि गरिबी नेपाली जीवनको व्यापक र कठोर सत्य हो । गरिबीको पहिचान र त्यसको सामाजिक, आर्थिक, राजनीतिक निदान विकास को सबैभन्दा मानवीय पक्ष हो । यो पक्षप्रति संवेदनशील नयाँ पुस्ताको निर्माण नै शिक्षकको बृहत्तर अभिभारा हो ।
तपाईंको आफ्नो गाउँमा विद्यार्थीले गरिबी कसरी बुझछन्, विद्यार्थी बीच त्यो बुझइमा कति फरक छ, सर्वेक्षणका निम्ति गरिबीको सरल मापक के हुन सक्छ र त्यस हिसाबले गाउँको गरिबीको स्थिति कस्तो छ भनेर बुझन विद्यार्थीका निम्ति कुनै कक्षा परियोजना बनाउन सक्नुहुन्छ ? सोच्नोस् त !



