सानो सानो रूख छ, चढ्नको दुःख–के हो ?
एक किशोर प्रश्न गर्छ, उसलाई घेरेर बस्ने बालकमण्डलीको दिलमा खुल्दुली मच्चिन्छ, र आँखा चम्कन थाल्छन् । त्यो बेला रातको तारामण्डली पनि एक तारालाई बीचमा राखेर चारैतिर चम्किरहेका हुन्छन् । सोध्नेसँग उत्तर त तयार छ, तर उसलाई उत्तर दिने हतार छैन । ऊ सुन्नेहरूभित्र रमाइलो खुल्दुली ज गाउँछ,गम खान ल गाउँछ र गाउँ खाने कथा हाल्छ– जति सुन्दै गयो उति रमाइलो र गम्भीर । सुन्ने बालकहरूलाई एकातिर उत्तर च्वाट्ट दिन पाए हुन्थ्यो भन्ने पनि छ र अर्कातिर कथा चाँडै नसिद्धिए हुन्थ्यो भन्ने पनि छ– कति रमाइलो र गम्भीर जिज्ञासा ? त्यहाँ बालकहरू उत्तर दिँदा जति भूल गर्छन्, त्यति नै कथा अगाडि बढ्छ । यो स्कूलको क्लास हैन, जहाँ भूलमा कान निमोठिन्छ । यो तगोष्ठी हो; यहाँ गुरु पनि केही सिकिरहेको हुन्छ । जति जति बालकहरू उत्तरको नजिक पुग्छन्, त्यो कथा हाल्ने किशोर कथालाई सतर्कतासाथ मोड दिँदै जान्छ । ऊ प्रत्येकगलत उत्तरमा गाउँ खाँदै दिग्विजयी जस्तै अगाडि बढ्छ र आखिर उसको विजय बालकहरूको नै विजय बन्न जान्छ । कथाको चूडान्तमा ऊ सही उत्तर दिन्छ– – सिस्नु !
यति सानो उत्तरको निम्ति यति लामो कथा किन रचिन्छ ? यसका मुख्य दुई कारण छन्– एक, ज्ञानलाई शिल्पद्वारा सरस शैलीमा ग्रहण गराउनु र अर्को, ज्ञानलाई आफैं भित्रको बोध बनाउनु । बालकभित्र कौतुहलवृत्ति हुन्छ, त्यसले गर्दा ऊ जे कुरा लाई पनि नयाँ रूपमा देख्छ र विस्मय गर्न थाल्छ– उत्तरको निम्ति थोरै र विस्मयविस्तारको निम्ति धेरै प्रश्न गर्छ । हामीले उसको कौतुहलवृत्तिलाई शिल्पद्वारा अझ् विस्तार दिएर उसको प्रश्नलाई उत्तर दिन जान्नुपर्छ । वास्तवमा उत्तर भन्नु आफ्नै चित्त बुझनु हो । हामी जे कुरा जानुँजानुँ गर्छौं, तर जान्दैनौं, त्यसको उत्तर खोज्छौं । कुनै पनि मानवेतरशावकलाई ज्ञान दिन सकिन्नँ– किनकि, ऊभित्र जिज्ञासा नै छैन । मानव शिशुमा जानुँजानुँको जिज्ञासालाई नै हामी शिल्पद्वारा उद्घाटित गर्छौं । जबर्जस्ती आफैंले प्रश्न गरेर उत्तर दिन खोज्यौं भने त्यसले तनाव मात्र उत्पन्न गर्छ । कलाको काम हो– जिज्ञासाको क्षणमा मनलाई तनावबाट मुक्त बनाएर सिर्जनशील बनाउनु— पखेटा पाएपछि मन आफैं उन्मुक्त विहार गर्छ र उत्तरको नजिकमा पुग्छ । अनि हामीले जुन उत्तर दिन्छौं त्यो उसैको यात्राको प्राप्ति हुन्छ र उसैको आफ्नै बोध हुन्छ । प्रौढहरूको ज्ञान—विज्ञानभित्र पनि आफ्नै प्रकारको शिल्प हुन्छ– त्यहाँ नयाँ खोजीमा सिर्जनशीलता हुन्छ र नयाँ प्राप्तिमा आनन्द हुन्छ । बालकलाई एउटा नौलो फूल देख्नुमा पनि आनन्द हुन्छ । ज्ञात सिस्नुलाई अज्ञात जस्तो बनाएर सिकाउँदा बालकहरू नयाँ प्राप्ति गर्छन– वस्तुलाई उसकोगुण धर्मबाट चिन्ने चातुरी तिनमा उत्पन्न हुन्छ । आजको जिज्ञासाको रुप अर्कै छ–
सिस्नुले किन पोल्छ ? कसरी पोल्छ ?
‘किन पोल्छ ?’ को उत्तरमा रसायनविज्ञान हामी पढाउन सक्छौं र कसरी पोल्छ ? को उत्तरमा प्रयोगशालामा प्रयोग गरेर प्रविधि सिकाउन सक्छौं । तर सबभन्दा रमाइलो पाठशाला र प्रयोगशाला त कला नै हो । हामीले अतीतमा आफ्ना बालकको बुद्धि तिखार्न गाउँखाने कथामा जसरी कलात्मक शैलीको विकास गर्यौ, वर्तमान मा पनि विज्ञान शिक्षाको निम्ति त्यसरी नै कलात्मक शैलीमा बालविज्ञानतर्फ साहित्य सृजना गर्नु नितान्त आवश्यक छ । साहित्य, चित्रकला र चलचित्रद्वारा जुन विज्ञान शिक्षा दिइन्छ, त्यसबाट विज्ञानको बोध त हुन्छ नै, यसको साथै कलात्मक तृप्ति पनि प्राप्त हुन्छ । विज्ञान मात्र सिकाउने धुनमा हामीले बालक भित्रको रमाइलोपनलाई म्लान बनाउन पनि हुन्न । आजको युगमा हामीले वैज्ञानिक दृष्टि उघार्न सकेनौं भने अरू जहाँ उज्यालोमा हिँडिरहेछन् त्यहीं हामीले आफ्ना बालकलाई अँध्यारोमा हिँडाउनुपर्नेछ । बालकलाई विस्मय पनि चाहिन्छ, बोध पनि चाहिन्छ र उत्तर पनि चाहिन्छ, आनन्द पनि चाहिन्छ ।
(राष्ट्रकवि माधवप्रसाद घिमिरेले तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित बाल–विज्ञान प्रश्नोत्तर पुस्तकमा प्रतिष्ठानको उपकुलपतिका हैसियतले २०४० सालमा लेख्नुभएको प्रकाशकीयको अंश)



