शिक्षक बनेको जोगी हुन त हैन नि !
सार्वजनिक शिक्षाको दुरवस्थाको विषयलाई लिएर शिक्षक माथि दोष थोपर्ने गरिन्छ र भनिन्छ शिक्षकले राजनीति गरे । हो, शिक्षकलाई रराम्रोसँग काम गर्ने वातावरण तयार हुने हो भने अहिलेको सार्वजनिक शिक्षाको स्तर मात्र रराम्रो हुँदैन, समाज र अन्ततः राष्ट्रलाई नै लाभ पुग्छ । तर शिक्षकलाई न त रराम्रो सुविधा नै छ न त पेशागत सुरक्षा नै । सधैँ स्थायी/अस्थायीको पिरलोमा हीनताबोध गरेर शिक्षण गर्नु पर्ने बाध्यतामा बाँचिरहेको शिक्षकले कसरी सार्वजनिक विद्यालयको शिक्षाको स्तर उकास्न सक्छ !
शिक्षकलाई बलियो नबनाउने हो शिक्षा क्षेत्रको कदापि सुधार गर्न सकिन्नँ । शिक्षकलाई बलियो बनाउने भनेको उसको अहिलेको सेवा–सुविधामा वृद्धि र उसको पेशागत सुरक्षाकोग्यारेन्टी हो । आज शिक्षण पेशा कमैको आकर्षण बनिरहेको छ । जो सक्षम, सबल छ ऊ शिक्षणमा आउनै चाहँदैन । अब्बल विद्यार्थीको रोजाइ शिक्षण भएको देखिँदैन । आज शिक्षक जो कमजोर छ, जसले पढाइमा रराम्रो गर्न सक्दैन, ऊ नै विभिन्न तिकडम गरेर शिक्षक बनिरहेको छ, जसबाट असल नागरिक उत्पादन गर्न सक्ने अवस्था सिर्जना हुनसक्दैन ।
शिक्षा क्षेत्रमा मानिसहरू आकर्षित हुन नसक्नुको कारण पेशागत असुरक्षा पनि एक हो । आजको लोकतान्त्रिक परिवेशमा कोही पनि सक्षम नागरिक दलविशेष वा अन्य कसैको फेरो समातेर पेशामा प्रवेश गर्न चाहँदैन । ऊ आफ्नै क्षमताले इज्जत आर्जन गर्न चाहन्छ र यसैमागर्व गर्छ । तर शिक्षा क्षेत्रमा निजामती कर्मचारीको जस्तो निष्पक्ष, नियमित र विश्वसनीय आयोग छैन । एकदशकमा एकपटक हुने परीक्षाका बारेमा पनि अनेक प्रश्न उठ्छन् । शिक्षा क्षेत्रमा चाकडी, चाप्लुसी, नातावाद, कृपावाद बढ्दो छ । यो कतै पार्टीको छ कतै व्यक्तिको ।
आज महँगी चुलिँदो छ । अन्यको तुलनामा यस्तो महँगी सामना गर्न सक्ने शिक्षकको अवस्था निकै कमजोर छ । शिक्षकका पनि घर परिवार छन् । बालबच्चालाई उचित पालनपोषण गर्नु पर्ने बाध्यता छ । जोगी बन्नका लागि त कोही पनि शिक्षक बन्दैन नि ! त्यसकारण शिक्षा क्षेत्रमा देखापरेका समस्या समाधान गर्न सर्वप्रथम शिक्षकका समस्या सम्बोधन गरी शिक्षकलाई बलियो बनाइनुपर्छ । योभन्दा सही उपाय अरू हुनसक्दैन ।
त्यसनिम्ति विधि र नियमका आधारमा शिक्षकको सेवा सुविधामा वृद्धि तथा पेशागत सुरक्षाकोग्यारेन्टी गरिनुपर्छ । त्यसपछि निश्चित नियम बनाएर दण्ड, पुरस्कार को व्यवस्था थपिनुपर्छ । तब मात्र राज्यले पनि कारबाही गर्न सक्ने अवस्था सिर्जना हुन सक्छ । होइन शिक्षकलाई सेवा–सुविधा पनि नदिने र पेशागत सुरक्षाकोग्यारेन्टी पनि न गर्ने हो भने सार्वजनिक शिक्षाकोगति अझ् ओरालो लाग्ने क्रम रोकिन सक्दैन ।
धवलागिरी बहुमुखी क्याम्पस, बाग्लुङ



