भोलिका लागि आजको शिक्षा
आज सिकाइदिएका पाँच सीप– सहकार्य गर्ने ; सञ्चार र संवाद गर्ने; समस्या सुल्झउने, प्रश्न गर्ने र स्वाध्यायन गर्ने सीप विद्यार्थीलाई जीवनभर उपयोगी सािवत हुन्छन् ।
नयाँ–नयाँ ज्ञान र प्रविधिको रफ्तारसँगै शिक्षकहरू माथि शिक्षण सीपमा सुधार ल्याउनुपर्ने दबाब बढ्दो छ । उता, विद्यार्थीहरूको ‘स्कूले जीवन’ र ‘वास्तविक जीवन’बीचको अन्तर पनि फराकिलो हुँदै जाँदो छ ।
आजका विद्यार्थीलाई भविष्यमा गृह स्थी वा पेशागत जीवनका क्रममा आवश्यक पर्ने सीपमूलक र व्यावहारिक शिक्षा दिनु हामी शिक्षकको दायित्व हो । यही दायित्व पूरा गर्ने क्रममा मैले उच्च शिक्षा अध्ययनरत र काम–व्यवसायमा लागिसकेका भूतपूर्व विद्यार्थीसँग भएका सीपका बारेमा एउटा अध्ययन गरे की थिएँ । त्यो अध्ययनको निचोडले पनि ‘स्कूले जीवन’ र ‘वास्तविक जीवन’मा धेरै ठूलो अन्तर रहेको पुष्टि गरेको पाएँ । अध्ययनको क्रममा व्यवसाय गरिरहेका भूतपूर्व विद्यार्थीले मसँग भनेका थिए, “अहिले हामीलाई आवश्यक परेको सीप हामीसँग छैन, तर भविष्यका विद्यार्थीले त्यस्तो सीप पनि पाउन् भन्ने चाहन्छौं ।”
उक्त अध्ययनको आधारमा आजका विद्यार्थीले पारङ्गत हुनै पर्ने १३ वटा सीपको सूची बनाएर मेलै भर्खरै प्रकाशित गरेको ‘ट्वीन क्र्यायोन्स् एण्ड कफ्र्यूजः टिप्स फर मिडल स्कूल टिचर’ (Tween Crayons and Curfews–Tips for Middle School Teachers) नामक पुस्तकमा राखिदिएकी छु । कुनै शिक्षकले आफ्ना विद्यार्थीलाई ती सीपहरूमा पारङ्गत गराउन चाहेमा त्यसनिम्ति आवश्यक पर्ने शैक्षणिक रणनीतिहरू पनि त्यहाँ समावेश गरे की छु ।
थप सजिलोको निम्ति मैले ती १३ बुँदालाई सामान्यीकरण गरेर पाँच बुँदामा झरेकी छु । तीमध्ये कुन चाहिँ सीप आफ्ना विद्यार्थीका लागि ज्यादा महत्वका होलान् भनेर शिक्षकहरूले नै रोज्नुपर्छ । यहाँ ती पाँच वटा सीपको क्रम र ती सीप सिक्न–सिकाउन आवश्यक रणनीति सङ्क्षेपमा प्रस्तुत गरे की छुः
सहकार्य गर्ने सीप
पहिलो कुरा, शिक्षकले अनुमान का भरमा काम गर्नु हुँदैन ।
विद्यार्थीले आपसमा सहमति जुटाउन सक्छन् भन्ने अनुमान लगाएर शिक्षकको काम चल्दैन । खासमा सहमति जुटाउने प्रक्रिया ज्यादै जटिल छ । धेरैजसो वयस्कहरूले पनि यो सीप जानेका हुँदैनन् । यस्तो कुरा सिकाउँदा विद्यार्थीलाई साना–साना समूहमा बाँडिदिनुपर्दछ र एकपटकमा एउटा समूहलाई सहमति गर्ने सीप सिकाउँदै जानुपर्दछ । यसरी सिकाउने क्रममा उनीहरूलाई असहमति जनाउने सही तरिका पनि बताइदिनुपर्दछ । अनि प्रशंसा गर्ने र आलोचना गर्ने विधि पनि सिकाइदिनुपर्दछ । त्यसपछि असहमतिका मुख्य तर्कहरूलाई सूचीबद्ध गर्न लगाउनुपर्दछ । अनि सहमतिमा नपुगिएसम्म यही प्रक्रिया जारी राख्नुपर्दछ ।
दोश्रो कुरा, वरिष्ठताको परिपाटी भङ्ग गरिदिनुपर्दछ ।
कक्षाकोठामा विद्यार्थीबीच पनि वरिष्ठ र कनिष्ठ वा जान्ने र नजान्ने समूहमा विभाजित भएर व्यवहार गर्ने अभ्यास रहेको हुन्छ । यस्तो अवस्था पाइएमा पहिले त्यस्तो परिपाटीलाई तोडिदिनुपर्दछ । अर्थात् सबैलाई समान तहमा राखिदिनुपर्दछ । यी विद्यार्थीले भविष्यमा विविध प्रकृतिका साथीहरूसँग काम गर्नु पर्ने हुन्छ । त्यसैले त्यसको अभ्यास पनि विद्यार्थीकालमै गरिराख्नु लाभदायी हुन्छ । माध्यमिक तहमा यो कार्य चुनौतीपूर्ण पनि हुनसक्छ । यो तहका विद्यार्थीले अत्यन्त मिल्ने साथी, सदाको शत्रु, पहिलो प्रेमी वा प्रेमिका, भर्खरका प्रेमी वा प्रेमिका अनि भविष्यका प्रेमी वा प्रेमिका जस्ता आधार बनाएर साथी समूह बनाएका हुन्छन् । यस्तो समूहलाई छिन्नभिन्न पार्न निकै सोचविचार गरेर पाइला चाल्नुपर्छ ।
कक्षाको वातावरण परिवर्तन गर्न स्थान परिवर्तन वा टेबुलहरू सार्न सकिन्छ । अगाडि का विद्यार्थीलाई पछाडि र पछाडिका विद्यार्थीलाई अगाडि राखेर नयाँ साथीसँग सङ्गत गराउन सकिन्छ । यसपछि ; तिनै विद्यार्थीलाई ‘आजको कक्षाकोठा कस्तो लाग्यो’ भनेर चर्चागराइ सहज वातावरणको सिर्जना गरिदिनुपर्दछ । यति मात्रै काम गरेर पनि विद्यार्थीको दृष्टिकोणमा व्यापक परिवर्तन ल्याउन सकिन्छ । त्यसबाट सहमति निर्माण गर्न सजिलो हुन्छ ।
सञ्चार र संवाद सीप
शब्द र वाक्य सञ्चार सीपः आजका विद्यार्थीलाई भविष्य अर्थात् जीवनभर काम लाग्ने अर्को सीप हो सञ्चार र संवाद सीप । यो सीपको अभ्यास ‘शब्द’को प्रयोगबाट शुरु गर्न सकिन्छ । विद्यार्थीलाई भविष्यमा पनि प्रयोगमा रहिरहने कुनै शब्द दिनुहोस् । त्यसको परिभाषा, मान्यता र उपयोगिताका बारेमा थप जानकारी लिन अन्य शिक्षक वा साथीहरूसँग संवाद गर्न लगाउनुहोस् । त्यसपछि बाहिरका मानिससँग पनि जानकारी बटुल्न लगाउनुहोस् । यस्तो अभ्यास ले विद्यार्थीहरूलाई शब्दको सही प्रयोग गर्न सक्षम बनाउँछ ।
शब्दको अभ्यास पछि त्यस्तै कुनै व्यावहारिक वाक्यांश दिएर परिपक्व मानिसहरूसँग संवाद गर्न लगाउनुहोस् । त्यसपछि जाँच्नुहोस्, तपाईंका विद्यार्थीमा सञ्चार र संवादकलाको सीप पहिलेको भन्दा बढेको पाउनुहुनेछ ।
शुरुमा यस्ता अभ्यासहरू अप्ठ्यारा लाग्न सक्छन् । तर तपाईं आफ्ना विद्यार्थीमा सञ्चार र संवाद सीप बढेको देख्न चाहनुहुन्छ भने यस्ता क्रियाकलाप गर्नु अनिवार्य हुन्छ ।
दृश्य सञ्चार गर्ने सीपः विद्यार्थीलाई कुनै दृश्य देखाउनुहोस् र, त्यो दृश्यलाई प्रभावकारी ढङ्गले वर्णन गर्ने अभ्यास गराउनु होस् । त्यस्ता दृश्यलाई हुलाक वा सम्भव भए इमेलबाट पठाउने अथवा प्राप्त गर्ने विधि पनि सिकाइदिनोस् । विद्यार्थीहरू मध्येबाटै भ्वाइस मेल पठाउने र लिने अभ्यास पनि गराउनु होस् । यस्ता अभ्यास ले उनीहरूमा व्यावसायिक सीप विकास गर्न मद्दत गर्द छ ।
बहस गर्ने सीपः विद्यार्थीमा बहस गर्ने सीपको विकास कक्षाकोठामै गर्न सकिन्छ । पहिले विद्यार्थीहरूलाई नै नियम बनाउन लगाउनोस् । उनीहरूलाई उत्साहित गर्न आफू पनि संलग्न हुनुहोस् । अनि सञ्चार गर्ने नियम पनि बनाउन लगाउनोस् । र, सबैलाई नियम पालना गर्न राजी गराउनु होस् ।
अभ्यास का लागि बनाइने नियमहरू अन्य प्रक्रिया र सन्दर्भमा पनि उपयोगी हुन्छन् । विद्यार्थीले आफैँ थपघट गर्न पनि सक्छन् । यस्ता अभ्यास बाट विद्यार्थीले व्यावसायिक कार्यप्रणालीहरू सिक्न र बुझन पाउँछन् । वास्तवमा व्यावसायिक कामका नियमहरू यसरी नै बनेका हुन्छन् ।
समस्या सुल्झउने सीप
कक्षामा विद्यार्थीका हरेक प्रश्नको सहजै उत्तर नदिनुहोस् । बरु उनीहरूलाई नै उत्तर खोज्ने अभ्यास गराउनु होस् । यसबारेमा मैले आफ्नो पुस्तकमा सानो नोट पनि लेखिदिएकी छु, “मौनता तोड्नका लागि तत्कालै उत्तर दिनुपर्छ भन्ने छैन, मौनताले चिन्तनको द्वार पनि खोल्न सक्छ । कुनै प्रश्नको तत्काल उत्तर दिनुको साटो तपाईंले त्यसको उत्तर खोज्न विद्यार्थीलाई लगाउनुभयो भने उनीहरू आफैं पनि समाधानको बाटो खोज्न थाल्छन् ।” तर समाधान खोज्ने क्रममा चाहिँ उनीहरूलाई सहयोग गर्नु पर्छ । विद्यार्थीलाई कुनै जान्ने मानिस कहाँ गएर सहजै उत्तर लिएर आउने परम्पराबाट अलग्याउनुपर्छ, त्यसको सट्टा बहस गरेर उत्तर खोज्ने सीप सिकाउनु पर्छ । उनीहरूले निकालेका निष्कर्षमा तपाईंले यति मात्र सोध्नुहोस् “... यसो भनेको के हो ? त्यसो नभएमा के हुन्छ ?...” आदि ।
प्रश्न गर्ने सीप
विद्यार्थीलाई कुनै जटिल प्रश्नको उत्तर दिन सक्षम बनाउनु छ भने उनीहरूलाई प्रस्तुत प्रश्न माथि नै प्रश्न बनाउने सीप सिकाइदिनुपर्दछ । प्रस्तुत प्रश्न माथि उनीहरूका मनमा के जिज्ञासा उठेको छ भन्ने कुरा व्यक्त गर्न लगाउनुपर्छ । यसो गर्दा विद्यार्थीहरू प्रश्नकोगहिराइमा जान र उचित उत्तर खोज्न सक्षम हुनसक्छन् । उचित उत्तर आएको खण्डमा त्यसलाई प्रशंसा गर्न सिकाउनु होस् ।
विद्यार्थीलाई मूल्याङ्कन गर्ने र स्तरीय प्रश्न गर्ने कला पनि सिकाइदिनुपर्छ । यस्तो अभ्यास ले उनीहरूमा विषय ज्ञान बढाइदिन्छ । अनि प्रश्नका विभिन्न रुपहरू, जस्तै खुला उत्तर आउन सक्ने प्रश्न, विषयकेन्द्रित उत्तर आउने प्रश्न वा सिलसिलेवार प्रश्न आदिका बारेमा राम्ररी बताइदिनुपर्छ । कुनै विषयमा एकअर्काको जानकारी जाँच गर्नका लागि उपयुक्त हुने प्रश्नहरू पनि तयार गर्न लगाउनुहोस् । साथैगहकिला प्रश्न तयार गर्ने सीप सिकाइदिनोस् । विद्यार्थीले गरेका प्रश्नको वजनका आधारमा कुनै विषयमा तपाईंका विद्यार्थी कति गहिरो ज्ञान राख्छन् भन्ने थाहा पाउन सक्नुहुनेछ ।
स्वाध्यायन वा स्वतन्त्र रूपमा सिक्ने सीप
परम्परागत शिक्षकका लागि स्वाध्यायन भन्ने कुरा विद्यार्थीलाई स्वतन्त्र रूपमा पढ्ने वातावरण बनाइदिने वा त्यसो गर्न अह्राइदिने काम हुन सक्छ । तर यो अभ्यास अलि भिन्न हो । विद्यार्थीलाई स्वाध्यायनतिर लम्काउनु भनेको उनीहरूलाई कुनै सामग्री पढेर त्यसमा भएका गम्भीर कुरा वा नयाँ कुरा पत्ता लगाउने र त्यसमागौरव गर्ने सीप र कला विकास गर्नु हो । नयाँ वा विशेष कुरा पत्ता लगाएको खुसीमा विद्यार्थीलाई ‘हेर मेरो नयाँ खोज’ भन्न सक्ने बनाउनु हो । यसो गर्दा विद्यार्थीको दिमाग सक्रिय हुन्छ,गहिरिएर पढ्ने बानीको विकास भइरहेको हुन्छ ।
उदाहरणका लागि, विद्यार्थीका उत्तरपुस्तिकामा कुनै पनि किसिमका टिप्पणी, सुझाव वा प्रश्न लेख्दिनथेँ । बरु म आफैँ पालैपालो गरी विद्यार्थीहरू कहाँ जान्थेँ र उनीहरूलाई नमुना देखाएर त्यसैका आधारमा तिनका उत्तरका बारेमा टिप्पणी लेख्न ल गाउँथें । उनीहरू आफैँले नै महत्वपूर्ण कुरा हरू पत्ता ल गाउँथे र आफ्ना लागि आफैँलेगहकिलो सुझाव लेख्दथे । अनि सुधारका लागि गर्नु पर्ने थप कामका लागि आफूलाई सहजै तयार पार्दथे । त्यसपछि हामी आ–आफ्ना काममा लाग्दथ्यौं । उनीहरू आफ्ना उत्तरहरू पुनरावलोकन गर्ने समय पनि आफैँ तय गर्दथे । र, निश्चित समयमा काम पूरा गर्ने प्रतिबद्धता साथ थप काम गर्दथे ।
आजको जमानामा स्वाध्यायनका लागि गुगलको ‘एडभान्स सर्च टुल’ (www.google.com) ले ठूलो मद्दत पुर्याउन सक्दछ । विद्यार्थीलाई विद्याप्रति गम्भीर र इमान दार बनाउन पनि यसले मद्दत गर्ने छ । ज्ञानको तिर्खा मेटाउनका लागि यो सुरक्षित माध्यम हो ।
यदि आजका विद्यार्थीलाई माथि बताइएका पाँच प्रमुख सीप सिकाइयो भने तिनले भोलिका लागि चाहिने सीप आजै सिकिसकेका हुनेछन् ।
शिक्षकहरूले ख्याल गर्नु पर्ने थप केही बुँदाः
निर्णय लिने क्षमताको विकास भनेको विकल्पहरूलाई तौलन सक्ने सीपको विकास हो । यस्तो सीप भएका विद्यार्थी आफ्ना निर्णयको पक्षमा तर्कपूर्ण वकालत गर्न सक्षम हुन्छन् ।
पूर्वाग्रह (वा आग्रह) पहिचान गर्ने क्षमता भनेको विषय वा एजेण्डाहरूको महत्व र संरचनाको पहिचान गर्न सक्ने हुनु हो ।
नेतृत्व विकास भनेको अरूलाई पनि उचित तरिका सिकाउन सक्ने कला मात्र हो, आफ्नो निर्णय अरूमा लाद्ने प्रक्रिया होइन ।
सम्झौता गर्नु भनेको कुनै कुरा छोड्नु पर्दा पनि खुसी हुन सकिने अवस्थाको खोजी गर्नु हो, मध्यमार्गी बन्नु हो । हार्नु होइन ।
सारांश निकाल्ने क्षमता भनेको कुनै विषयका बारेमा छोटकरीमा मुख्य मुख्य बुँदा प्रस्तुत गर्न सक्ने क्षमताको विकास गर्नु हो ।
ज्ञानको ढोका खुला राख्नु भनेको आफ्नो कमजोरी महसुस गरी अरूसँग सिक्ने अवसर पहिचान गर्न सक्ने सोचाइ वा स्थितिको निर्माण हो ।
बुझाइको क्षमता बढाउनु भनेको संवाद गरेर वा लेखेर अरूलाई पनि सही तरिकाले बुझाइदिने क्षमताको विकास गर्नु हो ।
लक्ष्य पहिचानको क्षमता भनेको कुनै निश्चित लक्ष्य निर्धारण गरेर त्यसमा पुग्न सक्ने मार्गको खाका तयार पार्ने सीपमा दक्ष हुनु हो ।
यदि तपाईंहरूले पनि यी वा यस्ता सीप सिकाउने लक्ष्य राखेर आफ्ना विद्यार्थीलाई शिक्षा दिन शुरु गर्नु भयो भने तपाईंलाई पढाउने विषय र सामग्रीले निकै व्यस्त पार्नेछन् । तर त्यतिबेला तपाईं ‘स्कूले जीवन’को शिक्षाभन्दा माथि उठेर ‘वास्तविक जीवन’को शिक्षा दिइरहेको हुनुहुनेछ ।
(यस लेखकी लेखिका हिदर वलपर्टगावरोन, क्यालिफोर्नियाको सानगाब्रियल युनिफाइड स्कूल डिस्ट्रिक्टको माध्यमिक तहकी शिक्षिका हुन् । उनले भाषा सीप पढाउँछिन् र भाषण गर्ने र बहस गर्ने कलामा प्रशिक्षण दिन्छिन् । उनको लेखमा नयाँ अभ्यास प्रस्तुत भएकाले यहाँ साभार गरिएको हो ।)
सरलीकृत अनुवादः हस्त गुरुङ



