ज्ञान र कर्ममार्ग छाडियो, भक्तिमार्ग समातियो
साँच्चै विद्या पढेर स्वाध्यायमा लागेर अनुसन्धानात्मकग्रन्थ लेखेर स्वतन्त्ररूपले नेपालमा बाँच्न गाह्रो छ, यहाँ पद पाउन सुखसँग जीवननिर्वाह गर्न त्यागको तपस्याको अप्ठ्यारो बाटो अँगालिरहनै पर्दैन, विद्याको अनुसन्धानको त्यति खाँचो पनि कसैलाई परे जस्तो छैन । यहाँ त पद र प्रतिष्ठा धन आर्जने सजिला बाटा धेरै छन्, त्यतै लाग्नुपर्ने भन्ने कुरा सबैले बुझेका छन् ।
सत्यं ब्रूयात् प्रियं ब्रूयात् न ब्रूयात सत्यमप्रियम् हराम्रो यहाँ सबै उपदेश–वचन यस्तै हुन्छन् । हुनत; मनुष्यमात्रको स्वभाव प्रशंसप्रिय नै हुन्छ । यसैले प्रिय लाग्ने कुरा छ भने सत्य बोल्नु, अप्रिय कुरा भए सत्य पनि नबोल्नु भन्ने सूक्ति प्रचलित भएको हो । विशेष गरेर शक्ति हातमा लिएका अधिकारी या मालिकलाई रिझएर फलप्राप्ति गर्नु छ भने यस्तै प्रिय कुरा गरेर चाकरी–चाप्लुसीतिरै लाग्नुपर्छ । यो छिटो फल दिने र उन्नति गर्ने बाटो हो ।
कर्ममार्ग र ज्ञानमार्ग कठिन हो, यो आज मात्र होइन, परापूर्वकाल देखि नै चलिआएको कुरा हो । भक्तिमार्ग सुगम र सरल पनि छ । यसले चाँडै यही जीवनमा फल दिन्छ । ज्ञानमार्गमा लाग्नेले कठिन तपस्या साधनामा लागेर योगसिद्ध गर्नु पर्छ, तपोयोगबाट मुक्ति प्राप्त गरिन्छ । यो पद्धति सत्ययुगमा मात्रै काम लाग्ने हो । कलियुगमा त भक्तिमार्ग नै उपयोगी रहेछ ! न तपस्या, न साधना, न योगको उपासनाको कठिनतम उपायै गर्नु पर्छ । खालि भक्ति गरयो, यस जन्ममा भुक्ति अर्थात् भोग प्राप्ति हुन्छ र अर्को जन्ममा मुक्ति मिल्छ ! यो संस्कार, यो परम्परा नेपालमा राम्रैसँग जरोगाडिरहेको छ । त्यसैले धेरै मान्छे ज्ञानमार्ग, कर्ममार्ग छोडेर भक्तिमार्गमा लागेका छन् ।
त्यसैले तिनले भन्ने गर्छन्, “उन्नति कल्याणको भाव बहाउने भक्तिमार्गलाई छोडेर जो केवल ज्ञान आर्जन गर्न भनेर शरीरलाई दुः खकष्ट दिएर तप गर्छन्, तिनको त्यही दुः खकष्ट मात्र हात लाग्छ, भुस कुट्नेहरूको जस्तै अरू हातलाग्यो शून्य हुन्छ ।”
तर; पहिले नेपालीहरू कर्मवीर थिए, रणशूर भए, कर्मक्षेत्रमा उत्रेर उनले नेपालको श्रीवृद्धि गरे , एकता ल्याए, आत्मीयता थपे । कर्मठयोग्य शूरवीरले नै पद पाए, समुन्नति कमाए, प्रतिष्ठा आर्जिए । विस्तारै यसमा आँच आयो, वेग रोकियो, वीरता ओइलायो, पराइको परिपञ्चमा परेर हार खाएर आश्रित सन्धिमा बाँधिएपछि विस्तारै कर्मयोग हराउँदै गयो । कर्ममार्ग, ज्ञानमार्गका कठिन कार्यमा नलागी भक्तिमार्ग, उपासना मार्गमा लागेर स्तुति (चाकरी) गरेर, भजनगाएर सिद्धि प्राप्त हुन लाग्यो । जसले जति स्तुति भजनगायो, त्यसले त्यति नै बढी फल प्राप्त गर्न लाग्यो । सजिलैसँग फलप्राप्ति हुन्छ भने कठिन काम कसले गरिरहन्छ र ? अन्यान्य प्रकारबाट चाटुकारिताबाट पाएको मालिकको वरदानबाट ऐश्वर्य सुखभोगमा, समृद्धिमा र श्रीप्राप्तिमा तँछाडमछाड गर्दै नेपाली वीर, विद्वान्, सबै जनसाधारण पनि लाग्न लागे । मनोभाव बदलियो, संस्कृति बदलियो, आचरण फेरियो । भाषा, भाका जन्मै कृत्रिम भयो । शहरी सामन्ती संस्कारको यस प्रवाहमा चुर्लुम्म डुबेको जनजीवनमा एकाध हामी जस्ता पाखापर्वतमा स्वतन्त्र विचरण गरेका, जीवनमा कसैको धाक–धपेडीमा नपरेका, आफ्नै आर्जनमा बाँचेका, स्वतन्त्र चिन्तनमा हुर्केका र यहाँ पनि एकाध रूपमा बाँचेका स्वाभिमानी, निरपेक्ष, निः स्वार्थ गुरुकुलीय शिक्षापद्धतिमा स्नातक भएर त्यही पद्धतिमा त्यही मर्यादामा जीवनयापन गर्न खोज्ने व्यक्तिका लागि यस वातावरणमा बसेर पद–प्रतिष्ठा पाउने कुरा सम्भव थिएन । न मैले आफ्नो सिद्धान्त, उद्देश्य छोड्न सकेँ न बानी नै सुधार्न सकेँ । न मैले इतिहास संशोधन गर्ने पद्धतिलाई छोड्न सकेँ ।
(ज्ञानमणि नेपाल, मेरो गुरुकुलीय शिक्षा र सहपाठी नामक पुस्तकमा)



