बदलिंदो आकाश फेरिंदो धर्ती
दुर्बलताका प्रश्न–२
विश्वव्यापी प्रणालीगत अन्तरसम्बन्धले एकठाउँको घटना वा परिवर्तनबाट अन्यत्र दुर्बलता सिर्जना हुने सन्दर्भ वास्तविक भएको छ, नयाँ चुनौतीको रूपमा ।
एक दशकयता गरिएका विश्लेषणहरूको निष्कर्ष छ– आर्थिक, राजनीतिक, सामाजिक एवं सांस्कृतिक कारणले गर्दा स्रोत र क्षमतामा पहुँच नभएका समूह तथा विपन्न, महिला र केटाकेटीहरूलाई जलवायु परिवर्तनले झन् कमजोर पार्छ । आधारभूत सेवाबाट वञ्चित विश्वका अर्बौं मानिसहरू अझै दुर्बल अवस्थामा छन् । खाननेपानी, घर, जग्गा, ऊर्जा, शिक्षा, सूचना, वित्तीय सेवा, यातायात जस्ता एक–आपसमा जेलिएका जीवनयापनका प्रणाली जोड्ने बिन्दुहरू पनि कमजोर हुनसक्छन् । त्यसैले यस्ता दुर्बलता हटाई प्रभाव कम गर्न कमजोर बिन्दुहरूको चिनारी र विश्लेषण आवश्यक भएको हो ।
सहस्राब्दी विकास लक्ष्य हासिल गर्न मुलुकहरू लागिपरेका छन् र स्थिति प्रणालीको संरक्षण जरुरी छ भन्ने तर्क सर्वस्वीकार्य पनि भएको छ । तर यी दुवै कार्यका साथै पहिलाभन्दा बलिया र थप पूर्वाधार निर्माण गरियो भने मात्र जलवायु परिवर्तनसँग अनुकूल बन्ने प्रक्रियामा पुग्न सकिन्छ ।
जलवायु परिवर्तनसँग अभ्यस्त रहने क्रियाकलाप लाई सामाजिक, वातावरणीय र विकास का प्रचलित प्रयाससँग जोड्नु अनुचित होइन; किनभने दुर्बलता यसै पनि न्यून गर्नु पर्ने कार्य हो । त्यसो हो भने, ‘जलवायु परवर्तनले ल्याउने दुर्बलता’ भन्ने व्याख्या किन आवश्यक परयो ? के प्रचलित कार्य विधिहरूमा जलवायु परिवर्तनको बिटो गाँसेर नयाँ अवधारणा प्रस्तुत गरिएको हो ?
जलवायु परिवर्तनको सन्दर्भमा कस्तो कार्यले समग्र समाज लाई अभ्यस्त रहन कसरी सक्षम पार्ला भन्ने प्रश्नको जवाफ प्रस्ट छैन । हरेक समाज आधारभूत एवं सेवा प्रणालीहरूमा टिकेको हुन्छ । यसो हुँदा जलवायु परिवर्तनको प्रभाव सामान्य हिसाबले सोचेभन्दा बेग्लै किसिमले पर्छ । अर्थात् दुर्बल छैनन् भनिएका अन्य सामाजिक र आर्थिक तप्का पनि प्रभावित हुन्छन् ।
यस्ता उदाहरणहरू थुप्रै छन् । अफगानिस्तानमा खडेरी पर्दा किसानका केटाकेटीमा कुपोषण न देखि एर धनी दोकानदार र ऋण दिने साहुकारका केटाकेटीमा देखि यो । किनभने, खडेरीका कारण किसानले ऋण तिर्नु वा किनमेल गर्न नसक्दा दोकानदार र साहुकारहरूको आम्दानी घट्यो । दक्षिण भारतमा इनार सुकेर फसल लिन नसकेका साना किसानहरूले शहर–बजारमा मजदुरी गरेर जीविका चलाए तर तिनका ‘सम्पन्न छिमेकी’हरूले न त मजदुरी गर्न सके न त ब्याङ्कको ऋण तिर्नु । खडेरीको प्रभाव बढ्यो भने शहरी क्षेत्रमा बस्ने गरिब र निम्न मध्यमवर्ग दुर्बलमा पर्नेछन्, किनभने खाद्यको मूल्य आकासिने छ । थाइल्याण्डमा यसै महिना आएको बाढीले यस्तै अन्तरसम्बन्ध प्रस्ट गरेको छ । बाढीका कारण थाइल्याण्डको आर्थिक र जनजीविका कल्पना गरिएभन्दा बढी नकारात्मक रूपमा प्रभावित भएका छन् । कच्चा सामग्री आपूर्ति, यातायात, उत्पादन, सञ्चय र वितरण व्यवस्थालाई बाढीले क्षति पुर्याएको छ । कोशीको तटबन्ध फुटी पूर्व–पश्चिम राजमार्ग भत्किँदा केही समय पूर्वी नेपालमा पनि यस्तै प्रभाव देखि एको थियो ।
मुलुकबाहिर कार्यरत युवाहरूले पठाएको विप्रेषण नेपालको अर्थ व्यवस्था सँगै ग्रामीण परिवारको जीविका धान्ने स्रोत पनि हो । फिलिपिन्सको राजधानी मनिलावासी भियनतामबाट आयात हुने चामलमा आश्रित छन् । अमेरिका र अष्टेलियाको अन्न उत्पादनको स्तर ले चीनमा बङ्गुरको मासुको मूल्य निर्धारण गर्छ किनभने उत्पादन तल माथि भए दानाको मूल्य तल– माथि पर्छ । मध्यपूर्वमा भएका र हुँदै गरेका राजनीतिक उथलपुथलका पछाडिगहुँको मूल्य वृद्धि कारकका रूपमा रहेको तर्क प्रस्तुत गरिएका छन् । सामाजिक र आर्थिक रूपमा जेलिएको वर्तमान विश्व व्यवस्थामा प्रणालीगत दुर्बलता नजानिँदो किसिमले चलायमान हुन्छ । त्यस्तो उतारचढावको प्रभाव सीमान्त व्यक्ति र परिवार वा पहिले नै जोखिममा परेको स्थिति प्रणाली र कमजोर पूर्वाधार भएका क्षेत्रमा बढी पर्छ । यसनिम्ति गरिबी निवारण, स्थिति प्रणालीको उचित व्यवस्थापन एवं पूर्वाधारगत दुर्बलता घटाउनु आवश्यक त हुन्छ तर त्यति गर्नु मात्र पर्याप्त हुँदैन । जलवायु परिवर्तनका प्रभावले सिर्जना गर्ने दुर्बलता कम गर्ने प्रश्न अवधारणागत र राजनीतिक हिसाबले सल्ट्याउन त्यति सजिलो छैन । प्रसङ्ग र चुनौती जेलिएका हुँदा सुल्झउने रामबाण विधि पनि छैनन् ।
विश्लेषक र प्राज्ञहरूबीच दुर्बलताका बारे एकमत नभएको हुँदा दुर्बलता कम गर्ने भिन्नाभिन्नै उपाय प्रस्तुत गर्ने गरिएका छन् । प्रकोप उद्धार कार्यमा संलग्न वा विकास ब्याङ्कमा कार्यरत कर्मीका विधिमा यस्ता व्यवहार प्रतिबिम्बित हुन्छन् जसले प्रचलित विधिहरूलाई ‘जलवायु परिवर्तनसँग अभ्यस्त’ भन्ने संज्ञा दिएर वैधानिकता प्रदान गर्छन् । एकछिनलाई मानाै विश्वमा जलवायु परिवर्तनको चुनौती छैन, कार्बन डाइअक्साइडको मात्रा सन् १८०० भन्दा माथि जाँदैन । यस्तो स्थितिमा गरिबी एवं सीमान्त समुदायका चुनौती निदान गर्नु पर्ने दायित्वमा पर्छन् । जलवायु परिवर्तनले नयाँ तह थपेको छ, तापक्रम बढ्नेछ, खडेरी, बाढीका घटना छिटो छिटो आउने छन् । बढ्दो आर्थिक र सामाजिक विश्वव्यापी प्रणालीगत अन्तरसम्बन्धले एकठाउँको घटना वा परिवर्तनले अन्यत्र दुर्बलता सिर्जना हुने सन्दर्भ वास्तविक भएको छ, नयाँ चुनौतीको रूपमा ।
यो अन्तरसम्बन्ध निरन्तर अध्ययन गरिरहनु पर्ने विषय हो । अघिल्लो लेख (शिक्षक, असोज २०६८) मा व्याख्या गरिएका प्रणालीको स्तर , सीमान्तकृत समुदायको चरित्र, संस्था (नियम, कानुन, सङ्गठन इत्यादि)का साथै बाढी, खडेरी र भूस्खलनबाट को प्रभावित हुन्छ भनी पत्ता लगाउने विधि विश्लेषणको एउटा आधार हो । प्रणालीगत विश्लेषणलगायत समुदायस्तर मा गरिने दुर्बलता पहिचानको विधि नेपालमै पनि विकास गरिँदैछ । यस्ता विधि उपयोगी त हुनेछन्, तर पर्याप्त भने हुने छैनन् किनभने प्रणालीगत अन्तरसम्बन्धहरू सधैँ क्रियाशील रहन्छन् । कस्तो हस्तक्षेपले जलवायु परिवर्तनको समग्र प्रभावसँग प्रभावकारीरूपले अभ्यस्त रहन सफल पार्नेछ भन्ने उत्तर खोज्न नयाँ तरिकाले सोच्नु आवश्यक छ । समस्या पहिचानका साथै समाधान पहिचान गर्ने विधि स्थापित गर्नु अगाडि को चुनौती हो ।



