कति पढाइनुपर्ने हो, कति पढाइँदैछ ?
हाल कलेजहरूले दैनिक सरदर ३.५ घण्टा देखि ५ घण्टासम्म कक्षा सञ्चालन गर्ने र समय प्रति पिरियड ४० देखि ५० मिनेट वितरण गरेको पाइन्छ । यसले पाठ्यक्रमको मर्मानुसार त्यसको कार्यान्वयन अर्थात् पठनपाठन भएको देखाउँदैन ।
उच्च माध्यमिक शिक्षा परिषद्ले अनिवार्य विषय बाहेक कक्षा ११ र १२ मा ५५–५५ विषय र चतुर्थपत्रमा १५ विषय गरी जम्मा १२५ विषय पठन–पाठन गर्न सकिने एकल पदोन्मुख (Single–Track) पाठ्यक्रम लागू गरेको छ । पाठ्यक्रममा प्रत्येक १०० पूर्णाङ्कको विषयलाई १५० घण्टा पाठ्यभार तोकिएको छ । प्रयोगात्मक कक्षा चाहिने विषयका लागि थप पाठ्यभार राख्नुपर्ने व्यवस्था गरिएको छ । तोकिएका यिनै १५० घण्टामा पाठ्यक्रममा निर्दिष्ट उद्देश्य पूरा गर्नु पर्ने हुन्छ । परिषद्को पाठ्यक्रम शाखाले यसैबमोजिम पाठ्यक्रम निर्देशिका समेत प्रकाशन गरेको छ ।
उमावि तह सम्बन्धी उपर्युक्त शैक्षिक योजना कार्यान्वयन गर्ने थलो भनेका कलेज (+२ कक्षा सञ्चालन गर्ने विद्यालय)हरू नै हुन् । त्यसैले कलेज सञ्चालन गर्नु अगाडि विभिन्न शर्त पूरा गर्नु पर्ने हुन्छ । त्यसमध्ये विद्यालयमा १८० दिन पठनपाठन हुनुपर्ने एउटा शर्त हो । यसको अर्थ पाठ्यक्रमले तोकेको पाठ्यवस्तु १८० दिनभित्र पूरा गर्न स्वीकृति जनाउनु हो । तर प्रश्न उठ्छ, के उच्च माध्यमिक शिक्षा परिषद्ले तोकेको पाठ्यक्रम र पाठ्यभार अनुसार उमावि या कलेजहरूमा पठनपाठन भइरहेको छ त ? यहाँ हालको +२ को पाठ्यक्रम, पाठ्यवस्तु र त्यसलाई छुट्याइएको पाठ्यभार तथा यसको व्यावहारिक कार्यान्वयन पक्षलाई उजागर गर्न खोजिएको छ । साथै; परिषद्ले तयार गरेको पाठ्यक्रममा उल्लिखित पाठ्यभार (Credit Hours); एक वर्षमा एउटा कलेजमा हुनसक्ने कक्षा सञ्चालन सङ्ख्याबीचको सामीप्यता (Relevancy) तथा हाल कलेजमा प्रचलित अभ्यास र व्यवहारबीचको सम्बन्धलाई प्रस्ट पार्ने प्रयास गरिएको छ ।
एक वर्ष अर्थात् एक शैक्षिक सत्र (३६५ दिन)मा कक्षा सञ्चालन हुने दिन, परीक्षा हुने दिन, सार्वजनिक बिदा, पर्व बिदा, अतिरिक्त क्रियाकलाप हुने दिन र अन्य बिदा आदि पनि समावेश गर्नु पर्ने हुन्छ । कक्षा ११ को पढाइ सामान्यतः साउन १६ गते देखि शुरु हुन्छ र बढीमा वैशाख १५ गतेसम्म चल्छ । वैशाखको तेस्रो हप्ता देखि जेठको दोस्रो हप्ताभित्र परिषद्ले उक्त कक्षाको बोर्ड परीक्षा सञ्चालन गर्ने गरेको छ । अधिकांश कलेजहरूमा परीक्षा केन्द्र पर्ने हुँदा वैशाखको १५ गतेभन्दा पछाडि कक्षा सञ्चालन गर्न सम्भव देखिँदैन ।
पाठ्यभारको अनुमानित वितरण
नेपाल सरकार सूचना विभागले प्रकाशन गरेको २०६७ सालको पात्रो अनुसार साउन १६ गते देखि वैशाख १५ गते (९ महिना) भित्र पर्ने जम्मा दिन र अन्य बिदाहरू यसप्रकार थिएः
जम्मा दिन= २७५
शनिबार= ३८
दशैं–तिहार तथा अन्य पर्व बिदा= १९ दिन
कलेज सञ्चालन हुने दिन= २१४
कलेज सञ्चालन हुने जम्मा २१४ दिनलाई पनि विभिन्न शीर्षकमा वितरण गर्नु पर्ने हुन्छः
- तीनवटा आवधिक परीक्षा ९त्भचmष्लब िभ्हबmष्लबतष्यल० सञ्चालनका लागि चाहिने दिन= २१
- महिनामा दुई वटा अतिरिक्त क्रियाकलाप गर्दा लाग्ने जम्मा दिन=९Š२=१८
- कक्षा सञ्चालनका लागि बाँकी रहने दिन= १७५
यस अनुसार हरेक उमावि/कलेजले १७५ दिनभित्र पाठ्यक्रममा तोकिएका उद्देश्यहरू पूरा गर्नु पर्ने देखिन्छ ।
पाठ्यभारको व्यावहारिक पक्ष
हाम्रा कलेज वा उमाविहरू अब कुन ढङ्गबाट सञ्चालन भइरहेका छन् त भनेर हेरौं । उमावि शिक्षा परिषद्को बोर्ड परीक्षामा उच्च, मध्यम र न्यून प्रतिशत उत्तीर्ण गराउने काठमाडौं उपत्यकामा सञ्चालित पाँच वटा कलेजहरूको वार्षिक कार्यतालिकाको विश्लेषण र व्यक्तिगत सोधपुछ गर्दा निम्न प्रकारको नतिजा निस्कियोः
- परीक्षा सञ्चालन हुने दिन १५ देखि २७ दिन; औसतमा २० दिन
- दशैं–तिहार तथा अन्य पर्व बिदा २१ देखि ४७ दिन; औसतमा ३२ दिन
- अतिरिक्त क्रियाकलाप ३ देखि १० दिनसम्म; औसतमा ६ दिन
- हिउँदे तथा अन्य बिदाहरू ३ देखि १२ दिनसम्म; औसतमा ३ दिन
- बैठक तथा अन्य विविध कार्यक्रमहरू सार्वजनिक बिदामा राखिएको हुँदागणना न गरिएको ।
ती कलेजहरूले साउन १६ देखि वैशाख १५ गतेसम्मका २७५ दिनलाई यसप्रकार वितरण गरेको पाइयोः
परीक्षा= २० दिन
दशैंतिहार र अन्य पर्व बिदाहरू= ४७ दिन
अतिरिक्त क्रियाकलाप = ६ दिन
हिउँदे बिदा र अन्य= ९ दिन
शनिबार= ३८ दिन
खास कक्षा सञ्चालन भएका दिन= १५१
माथिको आँकडा अनुसार एक शैक्षिक सत्रका कुल दिनहरूमध्ये ५५.७ प्रतिशत कक्षा सञ्चालनका लागि, ९.६ प्रतिशत परीक्षा तथा अन्य क्रियाकलाप का लागि र ३७.७ प्रतिशत सार्वजनिक तथा अन्य बिदाका लागि उपलब्ध हुने देखिन्छ ।
पाठ्यभारको तुलनात्मक अध्ययन
माथिका तथ्याङ्कहरूको तुलना गर्दा कलेजमा कक्षा सञ्चालन गर्नका निम्ति २४ दिन अपुग देखिन्छ । यसको व्यावहारिक पक्ष हेर्दा; १५१ दिनभित्र पाठ्यक्रमले तोकेको विषयवस्तु पठनपाठन गरिसक्नुपर्ने हुन्छ । विद्यार्थीहरू १७७ दिन (कक्षा हुने तथा परीक्षा र अतिरिक्त क्रियाकलाप हुने दिनहरू समेत) मात्र कलेज गए पुग्ने देखिन्छ । यस हिसाबले एक शैक्षिक सत्रमा ४८.७५ प्रतिशत दिन मात्र विद्यार्थीको लागि छुट्याइएको पाइन्छ ।
पाठ्यक्रममा तोकिए अनुुुसारको समय हरेक कलेजले इमान दारीसाथ प्रदान गरेका छन् वा छैनन् भनी थाहा पाउनको लागि कलेजले प्रति पिरियड दिएको समय र ब्रेक समय जान्नुपर्ने हुन्छ । यस सन्दर्भमा प्रति पिरियड कम्तीमा ४० देखि ५० मिनेट र
ब्रेक समय २० मिनेट देखि ३० मिनेटसम्म छुट्याएको देखिन्छ ।

कुनै कलेजले प्रति पिरियड समय निश्चित गरे पछि १०० पूर्णाङ्कको विषयलाई निम्नानुसार प्रति विषय पिरियड सङ्ख्या र प्रति हप्ता पिरियड सङ्ख्या छुट्याउनुपर्ने हुन्छः
माथि तालिकामा प्रस्तुत आधारमा ‘ब्रेक’ समय समायोजन गरी दिनमा कति घण्टा कक्षा सञ्चालन हुनुपर्छ भन्ने निश्चित गर्न सकिन्छ । सरदर पाँच घण्टा कक्षा सञ्चालन न गरे मा पाठ्यक्रमको उद्देश्य पूरा गर्न कठिन देखिन्छ ।
निष्कर्ष
पाठ्यक्रम औपचारिक शिक्षाको मुख्य मार्गचित्र (Road Map) भएको हुनाले यसको पूर्ण कार्यान्वयनमा विशेष ध्यान दिनु जरुरी हुन्छ । पाठ्यक्रममा उल्लिखित विषयवस्तु तोकिएको समयसीमामा रहेर पठन–पाठन गर्नु यसको अपरिहार्य शर्त हो । प्राप्त नतिजाहरूको आधारमा हाल सञ्चालित कलेजहरूले दैनिक सरदर ३.५ घण्टा देखि ५ घण्टासम्म कक्षा सञ्चालन गर्ने र समय प्रति पिरियड ४० देखि ५० मिनेट वितरण गरेको पाइन्छ । यसले पाठ्यक्रमको मर्मानुसार त्यसको कार्यान्वयन अर्थात् पठन–पाठन भएको देखाउँदैन । यसर्थ उमावि तहको पाठ्यक्रमले निर्दिष्ट गरेको शैक्षिक लक्ष्य प्राप्त गर्न तथा विद्यार्थी–अभिभावकको लगानीको उच्चतम प्रतिफल प्रदान गर्नको निम्ति निम्न कार्यहरू गर्नु जरुरी देखिन्छः
क) प्रचलित शिक्षा ऐन– नियमावलीमा उल्लिखित शर्तानुसार कलेजहरू सञ्चालन गरिएका छन्/छैनन् अनुगमन गरी सो नभएको पाइएमा निश्चित समयसीमा तोकेर सुधार गर्न बाध्य पार्ने ।
ख) शिक्षा अधिकारी हरू कर्तव्यनिष्ठ भई आफ्नो जिम्मेवारी दृढतापूर्वक वहन गर्न प्रतिबद्धतापूर्वक लागि पर्नुपर्ने र कलेजहरूलाई नाफामुखीबाट सेवामुखी हुन प्रेरित गर्ने ।
ग) क्षेत्रगत सुपरीवेक्षक व्यवस्था गरी नियमित रूपमा अनुगमन मूल्याङ्कन गरी यसको जानकारी परिषद् र अभिभावक दुवैलाई दिनुपर्दछ र दुवै पक्षबाट सुधार गर्न पहल गर्नु पर्दछ ।
घ) हरेक सामुदायिक वा निजी कलेजहरूमा सर्वपक्षीय सहभागितामा व्यवस्थापन पर्यवेक्षण समितिगठन गर्नु पर्दछ, जसले व्यवस्थापनमा देखि एका कमी–कमजोरीहरू औंल्याउन र सुधार ल्याउन सुझाव दिन सकोस् ।
ङ) कलेजका प्राचार्यहरूलाई व्यवस्थापन सम्बन्धी तालिम दिनु आवश्यक छ र शिक्षकहरूलाई पनि तालिमको व्यवस्था गर्नु पर्दछ । त्यसो गर्दा सबल शैक्षिक नेतृत्वको विकास भई पाठ्यक्रमको भावना अनुसार पठन–पाठन हुन सक्छ । ७
ग्रामर कलेज, कोटेश्वर
jiban.khadka@yahoo.com



