अशुभ हेलिकोप्टर !
दशैंमा कुटो, कोदालो, हलो र फाली, साइकल र हेलिकोप्टर देखि सबै मेशिन पूजा गर्नु पर्ने रहेछ । त्यतिबेला मैले थाहा पाउँदा (नेपालमा) एउटा मात्रै हेलिकोप्टर थियो । हेलिकोप्टरको खाँचो परयो, अर्को कहिले आइपुग्ला भन्ने कुरा चलिराख्थ्यो । हेलिकोप्टर आइपुग्यो । हेलिकोप्टर जाँच्ने प्राविधिक पनि आइपुगे । प्राविधिकहरूले हेलिकोप्टर ठीक भएको सिफारिस गरेर परीक्षण उडान गर्न हुने अनुमति दिए । परीक्षणगरौं भनेको त ‘आज हुँदैन’ पो भन्छन् । मैले त बुझनै सकिनँ ।
कहिले उडाउने त भनेर सोधिरहेँ । हरेक दिन विमान स्थल गयो आज हुन्न, भोलि हुन्न भन्दाभन्दै १५ दिन जति हेलिकोप्टर थन्किरह्यो । मैले ‘के भएर हो ?’ भनी एकजना सैनिक चालकसित सोधें । उनले ‘नेपालमा शुभ र अशुभ दिन हुन्छन्, शुभ दिन नपरेसम्म उडाउन हुन्न’ भने ।
नेपाली चालकहरूले बिहान हेलिकोप्टरलाई पूजा गरे पछि मात्रै उडाउन मिल्ने बताए । १५ दिनसम्म कहिल्यै शुभ भएन रे ! त्यस दिन बिहान एउटा पाठो ल्याए । एकै झ्ट्कामा छ्याक्कै छिनालेपछि रगत ब गाउँदै हेलिकोप्टरलाई तीन फन्को लगाए । हामी हेलिकोप्टरभित्रै थियौं । अक्षता, अबिर छर्केर पूजा गरे । अनि ‘ठीक भयो सर, अब तपाईंले उडाए हुन्छ’ भने । हेलिकोप्टर स्टार्ट गरियो । मैले नेपाली प्राविधिकलाई सोधेँ, “पूजा पहिले गर्नु रराम्रो हो कि परीक्षण उडान ?” उनले “दुवै” भने । जेहोस्, हेलिकोप्टरले काम गरयो ।
एकपटक भारतमा बनेको हेलिकोप्टरको परीक्षण उडान गर्नु पर्ने थियो । पहिले जस्तै भयो । आज–भोलि भन्दाभन्दै केही दिन बिते । कसैले पनि परीक्षण नचाहने । पूजा गर्ने बेलामा पाठो मार हान्दा छिनेनछ । अर्कोे पाठो मार हाने । त्यो दोस्रो चाहिँ एकै पटकमा छ्याक्कै छिन्यो । पहिलो पाठो एकै पटकमा छ्याक्कै नभएकाले भारतीय हेलिकोप्टर झन् अशुभ भएछ । दोस्रो पाठो छिनेपछि म हेलिकोप्टरमा चढेँ । परीक्षण उडानमा मसित को–को जाने ? भनेर सोधेको त कोही पनि नजाने रे ! सबै तर्किए । पाठो नछिनेर अशुभ भएको हेलिकोप्टरको भर हुन्न रे ! मैले सोधेँ, “कोही पनि नचढ्ने भए यो हेलिकोप्टर के गर्ने त ? कन्टेनरमा फाल्ने ? त्यसो भए म एक्लै उडाउँछु ।” फ्रान्सेली प्राविधिकलाई राखेर तीन–चार फन्को लगाएँ, कुनै त्रुटि देखि एन । मार हान्दा छ्याक्क छिनेको बेलाको हेलिकोप्टर चढ्न सबै उत्सुक थिए र खाँदाखाँद पनि थियो तर अर्को भने रित्तै ।
त्यो सैनिक हेलिकोप्टर १६ नम्बरको थियो भने पाठो नछिनिएको भारतीय हेलिकोप्टर चाहिँ १७ नम्बरको । १७ नम्बरको यो हेलिकोप्टर कुनै पनि चालकले उडाउनै नमान्ने, सधैं मैले नै उडाउनुपर्ने र यसमा चढ्न पनि कोही नमान्ने । निकै लामो समयसम्म त्यसै गरी चल्यो । पछि को पूजामा शायद छ्याक्कै छिन्यो होला । त्यसपछि बल्ल ‘लौ शुभ भयो’ भन्दै सबै चढ्न थाले ।
त्यतिबेला शानेवानिको ७२७ नम्बरको एउटै मात्र बोइङ थियो । मैले चालकहरूलाई “७२७ लाई पूजा गर्दा रराम्रो भएको हो ?” भनेर सोधेँ । उनीहरूले “किन ?” भने । मैले सोधेँ, “हेलिकोप्टर त अरू पनि थिए, पूजा नरराम्रो भए पनि केही फरक परेन, तर बोइङ त एउटा मात्रै छ, त्यसको पूजा बिग्रिएको भए यात्रुहरूलाई कहाँ राख्नुहुन्थ्यो ?” उनीहरू चुपचाप रहे । जे भए पनि यो काम देखेर शुरु मा हामी निकै छक्क परेका थियौं ।
यस्तै परम्परागत मान्यताको अर्को कुरा पनि छ । एकदिन मैले “तेजेन्द्र खोई ?” भनेर सोध्दा “उनकी आमा बितेकाले नदी तर्न नहुने भएको ले आएनन्” भन्ने जवाफ आयो । केही निश्चित समयसम्म विमान बाट पनि नदी तर्न नहुने रहेछ । चालकले खोला नाघ्न नहुने कस्तो अचम्म ! नेपालमा जता पनि खोलैखोला छन् । खोला ननाघी उडाउनै सकिन्न । चालकले खोला नै नतरेपछि कसरी चल्छ ? म छक्क परेँ । अरू त मैले के गर्न सक्थेँ र ? “लौ ! धेरै लामो समयसम्मका लागि यस्तो नहोस्” भन्ने कामना गरें । वास्तवमा आधुनिक पेशा गर्ने ले पूर्ण रूपमा परम्परागत संस्कृति र मान्यतामा चल्छु भनेर चल्दैन ।
(जगदम्बा प्रकाशनबाट हालसालै प्रकाशित ददि सुवेदीद्वारा लिखित ‘त्यो नेपाल’ पुस्तकको एक अंश । काठमाडौंस्थित फ्रेञ्च दूतावासमा सैनिक सहचारी समेत रहेका कर्णेल फ्लकले सन् १९७३ देखि १९७९ को अवधिमा नेपालको आकाशमा दुई हजार घण्टा हेलिकोप्टर उडाएका थिए । राजा वीरेन्द्रसँग विशेष सम्बन्ध भएका फ्लककै सुझावमा नेपाली सेनाले फ्रान्समा निर्मित पूमा, सुपर पूमा लगायतका हेलिकोप्टर किन्न थालेको थियो ।)



