एउटा गाविसमा एकै वर्ष ८ नयाँ प्रावि

सप्तरीको विषहरिया–२ स्थित एक नदीछेउमागाईकोगोठजस्तो देखि ने दुईकोठे छाप्रो बनाइएको छ, जसको अघिल्तिर ‘पब्लिक सरस्वती प्रावि’ लेखिएको बोर्ड झुण्ड्याइएको छ । सोही गाविसको वडा नम्बर ५, पिपराही टोलमा जनता राप्रावि को बोर्ड देखिन्छ ।

यस्तै, विषहरियाको वडा नम्बर ७ र ८ मा पनि फुसले छाइएका यस्तै छाप्रा छन् जुन क्रमशः राप्रावि भेल्ही र दुर्गा राप्रावि को नामले चिनिन्छन् । तर, विद्यालयको बोर्ड चाहिँ देखिँदैन । सोही गाविसको वडा नम्बर २ को एउटा छाप्रोमा बाबा डिहवार राप्रावि र वडा नं. ८ मा एकता राप्रावि को बोर्ड झुण्ड्याइएका छन् ।

यी ६ वटै विद्यालयले जिल्ला शिक्षा कार्यालय, सप्तरीबाट २०६७ मा अनुमति पाएको देखिन्छ । त्यही साल अनुमति पाएको वडा नम्बर १ स्थित ‘दमावती राप्रावि’ र वडानम्बर ६ को जनता राप्रावि भेल्ही को चाहिँ छाप्रो समेत छैन । सो वडामा २०१७ सालमा स्थापित पुरानो दमावती राप्रावि मात्रै अस्तित्वमा देखिन्छ । यहाँको हविगत हेर्दा यी विद्यालयहरू सरकारी अनुदान हात पारेर आफ्ना मान्छेलाई शिक्षकको जागिर खुवाउने उद्देश्यले मात्रै खोलिएको स्पष्ट हुन्छ ।

शत्रुघनप्रसाद यादव जिशिअ हुँदा २०६७ मा यी विद्यालयलाई सञ्चालन अनुमति दिइएको थियो । यादव अहिले महोत्तरी जिशिकामा छन् । यादव भन्छन्, “विषहरियामा विद्यालय थप्नुपर्ने धेरै माग आएपछि हामीले त्यहाँ अनुगमन गर्यौ । विद्यार्थी सङ्ख्याका आधारमा विद्यालय नपुग्ने देखेरै अनुमति दिइएको थियो ।”

तर, एक वर्ष चलिसकेका ती विद्यालयको अवस्था हेर्दा त्यहाँ आवश्यकता परेरै ८/८ वटा स्कूल खोलिएका हुन् भनेर पत्याउन कठिन हुन्छ । शिक्षक प्रतिनिधि २०–२१ भदौमा त्यहाँ पुग्दा छाप्रारुपी सबै विद्यालयहरू बन्द अवस्थामा थिए । शिक्षक–विद्यार्थी थिएनन् । जबकि आठमध्ये ६ विद्यालयले जिशिकामा पठाएको फ्लास रिपोर्ट मा विद्यार्थीको सङ्ख्या ६५९ उल्लेख छ । बाबा डिहवार र दमावती ले त जिशिकामा विद्यार्थी विवरण दिएका छैनन् ।

२६ भदौको अर्को अनुगमनमा ६ वटा विद्यालयमा केही बालबालिका भेटिए । पछि थाहा भयो, तीमध्ये केही विद्यार्थीहरू पुरानो विद्यालयका र केहीका चाहिँ गाउँमा खेलिरहेका केटाकेटी थिए । वडा नम्बर ५ स्थित राप्रावि भेल्ही बाट बाबा डिहवार मा ६ छात्र लगिएका थिए । तीमध्येका एक सुब्बालाल यादवले भने, “हाम्रो स्कूल त यहाँ होइन । वडा नम्बर ५ मा छ ।”

भाडामा विद्यार्थी ल्याउनुको पनि कारण छ । त्यस दिन जिशिअ डोलराज पाण्डेको टोली ती विद्यालयको निरीक्षण गर्न आउन लागेको पूर्व सूचना थियो । ती विद्यालयको निरीक्षण गरे पछि जिशिअ पाण्डेले भने, “कार्यालयमा पठाएको रेकर्ड अनुसार कुनै विद्यालयले पनि विद्यार्थी सङ्ख्या देखाउन सकेनन् । सरकारी अनुदान हात पार्न र केही जागिरका निम्ति विद्यालय दर्ता गरिएको रहेछ । यसले त बर्बाद पार्छ ।”

दर्ता भएको पहिलो वर्षमै आठवटै विद्यालयले पाठ्यपुस्तक, छात्रवृत्ति लगायतका शीर्षकमा रु.३८ हजारका दरले अनुदान पाएका छन् । जिशिकाका अनुसार, आ.व. २०६७/६८ मा विषहरियाका नयाँ र पुराना गरी १४ विद्यालयलाई रु.८४ लाख सरकारी अनुदान गएको छ । तर, उक्त गाविसका थुप्रै बालबालिकागाई/भैंसी चराइरहेका र खेलिरहेका भेटिन्छन् । उक्त गाविसको जनसङ्ख्या लगभग आठ हजार देखाइएको छ ।

छाप्रामा खोलिएका ‘नयाँ विद्यालय’ले भवन निर्माण र शिक्षक दरबन्दीको माग गर्दै जिशिकामा निवेदन दिएका छन् । एकता प्राविका प्रअ महेश देव भन्छन्, “विद्यालय चलाउने अनुमति दिएपछि सबै व्यवस्था शिक्षा कार्यालयले गर्नु पर्छ । नभए किन दर्ता गरियो ?”

शिक्षा नियमावली, २०५९ अनुसार विद्यालयको अनुमति दिनुपूर्व विद्यालय भवन, फर्निचर, खेलकुद सामग्री, खाननेपानी, शौचालय, विद्यालयको प्रस्तावित वार्षिक आम्दानी र आम्दानी स्रोतको सुनिश्चितता हुनुपर्छ । तर, ती आठ विद्यालयलाई कुनै पूर्वाधार बिना नै जिशिकाले अनुमति दिएको देखिन्छ । जिशिका, सप्तरीका एक कर्मचारी भन्छन्, “तत्कालीन जिशिअले राजनीतिक दबाबमा परेर एकाएक अनुमतिको निर्णय गरेका हुन् ।” ती विद्यालयका अवस्थाबारे थप अनुगमन र छानबिन गर्ने जानकारी जिशिअ डोलराज पाण्डेले दिएका छन् ।

आफ्नालाई जागिर !

छाप्रामा खोलिएका नयाँ विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष ले आफन्तहरूलाई शिक्षक राखेका छन् । ७ नं. वडाको राप्रावि को व्यवस्थापन समितिका अध्यक्ष जयराम यादवले आफ्ना भाइ हरेराम यादवलाई प्रअ नियुक्त गरेका छन् । खेतमा छाप्रो बनाएपछि कक्षा एकको अनुमति पाएका यादव दाजुभाइले तीनसम्म कक्षा चलाइएको बताएका छन् ।

त्यस्तै विषहरिया–२ को बाबा डिहवार राप्रावि का अध्यक्ष रामदेव मण्डलले भतिजा महेश मण्डललाई प्रअ बनाएका छन् । अर्का शिक्षक रामअवतार मण्डल पनि रामदेवकै आफन्त हुन् । सोही वडामा रहेको पब्लिक सरस्वती राप्रावि का अध्यक्ष राजेन्द्र दासले आफन्त पर्ने प्रीति दासलाई प्रअ बनाएका छन् । शिक्षा नियमावली अनुसार विद्यालयमा सरकारी अनुदान प्राप्त गर्न प्रअ र अध्यक्ष को नाममा खाता सञ्चालन गर्नु पर्ने भएका कारण नयाँ विद्यालय खोल्नेहरूले यस्तो तरिका अपनाएको देखिन्छ ।


वडा नं. ५ को जनता राप्रावि का अध्यक्ष लक्ष्मण यादव र प्रअ शत्रुघन यादव हुन् । यी दाजुभाइ हुन् । वडा नम्बर ८ को दुर्गामाता राप्रावि का अध्यक्ष तरुण दलका जिल्ला अध्यक्ष अनिल देव हुन् भने प्रअ उनका आफन्त अर्चना देव । दुर्गामाता राप्रावि देखि डेढ सय मिटरको दूरीमा रहेको एकता राप्रावि का अध्यक्ष लक्ष्मीलाल देव र प्रधानाध्यापक महेश देव पनि नातेदार हुन् ।

विषहरिया गाविसका पुराना स्कूल महावीर मावि, राप्रावि भेल्ही, दमावती राप्रावि, जनता राप्रावि, राप्रावि सिंग्यौन, राप्रावि भेल्ही र मावती राप्रावि हुन् । त्यस्तै, नयाँ स्कूल दुर्गामाता राप्रावि (वडा नं. ८), राप्रावि विषहरिया भेल्ही (वडा नं. ७), जनता राप्रावि भेल्ही (वडा नं. ६), बाब डिहवार राप्रावि (वडा नं. २), पब्लिक सरस्वती प्रावि (वडा नं. २), एकता राप्रावि (वडा नं. ८), दमावती राप्रावि (वडा नं. १) र जनता राप्रावि पिपराही (वडा नं. ५) छन् ।

commercial commercial commercial commercial