बहस शिक्षा र शिक्षकका समस्या

शिक्षकका नाममा खुलापत्र

आफैँ एउटा तन्त्रमा विधिवत् बाँधिएपछि विद्यार्थीहरूलाई त्यही खरानीमा धस्ने इच्छा जागृत हुन्छ, हुँदैन ? हुन्छ भने त्यसो गर्नु हुन्छ ? उमेर नपुगी मत दिन नपाउने भनेर राज्यले अपरिपक्व ठहर्‍याएका चिचिला नानीहरूलाई थाहै नपाई ‘वाद’ वा ‘झण्डा’ मुनि गोलबन्द गर्नु अपराध नै हैन र ?

राधेश्याम अधिकारी

आदरणीय शिक्षकहरू,
आज म तपाईंहरूको नाममा यो पत्र लेख्दैछु । हुनत आजको नेपालमा कुनै पनि विषयमा आफैं सोच्ने, अन्तस्करणबाटै त्यो कुरा ठीक वा बेठीक के हो भनेर छुट्याउने अनि ‘ठीक’ लाई स्वीकार्ने र ‘बेठीक’ लाई अस्वीकार गर्ने राष्ट्रिय क्षमतामा ह्रास आउँदै गएको छ । बुझेर कुनै काम गर्नु भन्दा पनि लहैलहैमा लाग्ने र परिणामका बारेमा विचार नपुर्‍याई पछुताउने अवस्था सिर्जना हुँदैछ । तथापि; आशा र भरोसा लिएको छु कि मैले उठाएका मुद्दाहरूबारे तपाईंहरूले केही क्षण सोचिदिनुहुनेछ ।

मैले भन्न लागेका कुरा खासै नौला छैनन् । तपाईंहरूले नजानेको विषय त हुँदै होइन । मैले जे सोचेर लेख्दैछु– त्यो मात्र अन्तिम सत्य हो भन्ने दाबी पनि म गर्दिनँ ।  यसबाट मैले वाद–विवाद, पक्ष–विपक्षका तर्कहरूले भविष्यको मार्ग तय गर्न मद्दत पुग्नेसम्मको विश्वास राखेको छु ।

मलाई थाहा छ; यो वा त्यो राजनीतिक समूहसँग सङ्गठित नभई शिक्षण पेशामा बाँच्न गाह्रो पर्दैछ । त्यसैले; सजिलोको लागि शिक्षकहरू सम्झौता गर्दैछन्, अन्तस्करणलाई बेवास्ता गर्दैछन् । तर, यो कतिञ्जेलसम्म गर्न सकिने कुरा हो ? जुन राजनीतिक समूहसँग गाँसिए पनि प्रत्येक शिक्षकले एउटा कुरा मा अब घोत्लिनै पर्छः ‘तपाईं सम्बद्ध राजनीतिक समूहको नाराप्रति त्यो समूह आफैँ कति इमान दार छ ? के त्यो समूह र त्यसका नेता–कार्यकर्ताका काम, कारबाही र निर्णयले गाउँ, शहरमा सकारात्मक देन दिएका छन् ? कि, शिक्षक; व्यक्ति वा समूहलाई एकत्रित गरी कसैको राजनीतिक अभीष्ट मात्र पूर्ति गरिँदैछ ?’

म आफैँ राजनीतिक दलसँग सम्बद्ध व्यक्ति हुँ । राजनीतिक दलप्रति मेरो आस्था छ । त्यसै गरी सामाजिक प्राणी भएको नाताले प्रत्येक नागरिकको रुचि कुनै न कुनै राजनीतिक दलसँग नजिक हुनु स्वाभाविक कुरा हो । यसमा शिक्षक पनि अछुतो वा अपवाद हुन सक्दैन । तर, शिक्षकको मूल धर्म के हो ? मेरो आग्रह आफ्नो मूल धर्मलाई बिर्सनहुँदैन भन्ने सम्म हो ।

शिक्षकको मूल धर्म पठन–पाठन गर्नु / गराउनु हो । अर्थात् केही सिक्नु, केही सिकाउनु हो । सिक्ने र सिकाउने कार्य मात्र भनेर पुग्दैन । त्यो पनि सकारात्मक सन्देश प्रवाहित हुने हुनुपर्छ । दोस्रो कुरा, सिकाउँदा सिक्नेहरूबीच भेद गर्नु भएन । समभाव र सद्विवेक परित्याग गर्नु भएन । तेस्रो कुरा, समाज रुपान्तरण हुने विषयमा अन्तस्करणका कुरा सिकाउनु पर्‍यो । मनको भाव र मुखको आवाजबीच तादात्म्यता मिलाउनु परयो । पक्ष–विपक्षका कुरा भन्नु पर्‍यो र सिक्नेलाई रोज्ने अवसर प्रदान गर्नु पर्‍यो ।

३० वर्षे पञ्चायतकालीन अव्यवस्था फाल्न शिक्षकहरूले ठूलो सहयोग पुर्‍याएका हुन् । त्यसपछि शिक्षकहरूले राजनीतिक आवरणबाट आफूलाई मुक्त गर्न सक्नुपथ्र्यो– तर सकिएन । व्यवस्था परिवर्तन हुँदा खेल्ने शिक्षकको भूमिका र व्यवस्थाभित्रका राजनीतिक खेलाडीको अस्त्र हुने भूमिकाबीचको अन्तर बुझन नसक्दा आज नेपाली शिक्षकको आदर घटेको छ भन्ने मेरो विश्लेषण  छ । कैयन् राजनीतिक व्यक्तिहरू शिक्षकको आवरणमा राजनीतिमा सक्रिय हुनु परयो पञ्चायत व्यवस्थामा, यो पनि सत्य हो । यही कुरा अन्य पेशामा पनि लागू हुन्छ । तर व्यवस्था परिवर्तन पछि पनि शिक्षक भएर रहनेले राजनीतिक रूपमा प्रत्यक्ष रूपमा संलग्न रहँदा विद्यार्थीको पठन–पाठन, शिक्षकहरूको अध्ययन अध्यापनमा बाधा पुगिरहेको प्रस्ट देखा पर्दैछ । यो कुरा सामुदायिक विद्यालयमा अझ् टड्कारो समस्या भएर आइरहेछ ।

मलाई आज अर्को कोणबाट प्रश्न गर्न मन लाग्यो । पञ्चायत व्यवस्थाको विरुद्धमा अधिकांश शिक्षकहरू लाग्नु परेको के कारणले होला ? एकछिन घोत्लिएर सोचौं– आफैँ उत्तर पाइन्छ । राणाकाल फ्याँक्न सीमित सङ्ख्यामा शिक्षक रहेकाले कति योगदान पुग्यो होला म जान्दिनँ । तर, पञ्चायत व्यवस्था फाल्न शिक्षकको ठूलो योगदान रह्यो– यसमा सन्देह छैन । मेरो विचार सँग असहमत हुने अधिकार अरूलाई छ भनेर म उत्तर खोज्दैछु । राजाले आफू मातहतको हुकुमी शासन लागू गर्न चाहे– त्यसको विरुद्ध उकुसमुकुस, छटपटाहट सबै वर्गमा हुँदा शिक्षकहरूले त्यसका विरुद्ध नेतृत्व प्रदान गरेको हो । राजाले विकल्प दिएनन् । शासनमा निजी हस्तक्षेप चाहिरहे । त्यसको प्रतिरोधमा अरूसरह शिक्षक पनि लागे । यो स्वाभाविक थियो ।

तर संविधान अन्तर्गतको शासनव्यवस्था चालु हुँदा पनि शिक्षक–विद्यार्थीले शिक्षालयलाई राजनीतिकरण गर्न जसरी प्रोत्साहित गरे, अझ् गर्दैछन्– यो ठूलो भूल हो भन्ने मलाई लाग्दछ । जय नेपाल, लाल सलाम, जय मधेश जे नारा लगाए पनि अन्ततोगत्वा यसको पछि सक्रिय भएर लाग्ने शिक्षक समुदायका कारण यो पेशाको मान –सम्मान घट्दैछ ।

आफैँ एउटा तन्त्रमा विधिवत् बाँधिएपछि विद्यार्थीहरूलाई त्यही खरानीमा धस्ने इच्छा जागृत हुन्छ, हुँदैन ? हुन्छ भने त्यसो गर्नु हुन्छ ? उमेर नपुगी मत दिन नपाउने भनेर राज्यले अपरिपक्व ठहर्‍याएका चिचिला नानीहरूलाई थाहै नपाई ‘वाद’ वा ‘झण्डा’ मुनिगोलबन्द गर्नु अपराध नै हैन र ?

नागरिकले राजनीति गर्न पाउँछन् । यही शाश्वत् सत्य कायम गर्न नेपाली जनताले पटकपटक सङ्घर्ष गर्नु पर्‍यो । नागरिकभित्र शिक्षक पनि पर्दछन् । त्यसो हुँदा शिक्षकले राजनीति गर्न पाउँदैन त भन्ने प्रश्न पनि आउन सक्छ । शिक्षकले राजनीति गर्ने ठाउँ छ– तर त्यो ठाउँ विद्यालय हैन । विद्यालय समय अघि–पछि अप्रत्यक्ष रूपमा आफ्नो आस्था अनुकूलको राजनीति गर्न, बहस गर्न, छलफल गर्न नपाउने हैन । तर प्रत्यक्ष रूपमा झ्ण्डा बोकेर राजनीति गर्ने हो भने शिक्षकले पहिले शिक्षण पेशा त्याग्नुपर्छ, अनि मात्र राजनीतिमा होमिनु बेस हुन्छ । शिक्षकको आवरणमा दिनानुदिनको राजनीतिमा संलग्न हुनबाट रोकिनु वा संयम गर्नु शिक्षकको हितमा नै हुन्छ ।

विद्यालय व्यवस्थापन समिति राजनीतिक पार्टीको नामबाट कब्जा गर्ने अभियान चालु हुँदैछ । शिक्षक महोदयहरूले विद्यालयलाई राजनीतिक पार्टीको अर्को शाखाको रूपमा विकसित गर्न दिनुभएन । यसको प्रतिरोध कसरी गर्ने भन्न निकै अप्ठेरो स्थिति छ । तर प्रतिरोध नहुने हो भने कुनै दिन यस्तो पनि आउन सक्छ, पार्टीगत संलग्नता भएका विद्यालयहरू गाउँ गाउँमा खोल्नु परोस् । किनभने एउटा पार्टीको नियन्त्रणमा रहेको विद्यालयबाट अर्कै आस्था बोकेका अभिभावकले आफ्ना केटा–केटी झिक्ने र आफ्नो आस्थासँग मिल्ने अर्को विद्यालयमा पठाउने स्थिति आइपर्न सक्छ । यस्ता अप्रिय क्रियाकलाप हुन नदिन कुनै शिक्षक संघ/सङ्गठन सक्रिय देखिँदैनन् । किनभने ती सबै पार्टी अधीनस्थ छन् । त्यसैले शिक्षकहरू स्वयंले अन्तस्करणको बोली सुनेर यी कामलाई निरुत्साहित गर्नु आवश्यक छ । मेरो आग्रह यत्ति हो ।
धन्यवाद !

(सभासद् अधिकारी नेपाली काङ्ग्रेससँग आवद्ध छन् ।)


हामी शिक्षक !

सामुदायिक विद्यालयप्रति गुमेको विश्वास फिर्ता ल्याउन सबभन्दा पहिले हामी शिक्षकले राजनीतिक पार्टीहरूसँग को आबद्धता परित्याग गर्न सक्नुपर्दछ, राजनीतिक पार्टीका भ्रातृ संस्थाका रूपमा स्थापित शिक्षक संघ–सङ्गठनको विघटन र सम्पूर्ण शिक्षकहरूको साझ सङ्गठनको रूपमा एकल शिक्षक युनियनलाई स्वीकार्नुपर्छ ।

किशोरदत्त बराल

“आजकलका शिक्षक पढाउँदैनन् । शिक्षकहरू पढाउन जान्दैनन् । शिक्षक पार्टीका कार्यकर्ता भएका छन्; पढाउनभन्दा धेरै राजनीति गर्दछन् । शिक्षकहरूका लागि पढाउन भन्दा पनि समय बिताउन र राजनीतिका कुरा गर्ने थलो भएका छन् विद्यालय ।”

यी माथि उल्लिखित यस्ता कुरा हरू आजकल छरपस्ट सुन्न पाइन्छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजन देखि लिएर सभा,गोष्ठी, पानीपँधेरो र खेतबारी जहाँतहीं यस्तै चर्चा हुन्छ । तर न सरकार, न समुदाय, न शिक्षक, न विद्यार्थी कोही पनि यसतर्फ गम्भीर र संवेदनशील पाईंदैनन् । संवेदनशील हुन पनि आवश्यक ठानिएको छैन । सबै पक्ष अर्कालाई दोष दिएर उम्कने असफल प्रयासमा भेटिन्छन् । कुरा गर्नेहरूले गरिरहेका छन् । आँखा चिम्लनेहरूले चिम्लिरहेका छन् । बालबालिकाको सुन्दर भविष्य निर्माण गर्नु पर्ने विद्यालयहरू बिग्रिएका बिग्रियै छन् । भत्किएका र खोक्रो भएका विद्यालयहरूबाटै सुन्दर र सुरक्षित भविष्यको कल्पना गरिएको छ; शिक्षक, विद्यार्थी, अभिभावक र राज्यबाट । तैपनि हामी सबै दङ्ग छौं । विद्यार्थीले शायद बुझदैनन्, अभिभावक सोझ र अनपढ छन्, राज्य दृष्टिविहीन र मूक छ; त्यसैले देख्दैन, बोल्दैन ।

तर शिक्षक किन बोल्दैन ? बालकमा उत्तम चेतना सृजना गराउने सर्जक र स्वयंमा एउटा उच्चकोटिको चेतना हो शिक्षक । त्यही उच्चकोेटिको चेतना नै आज बन्धकतुल्य भएको छ, बोल्नै नसक्ने भएको छ । मानौं, उसका विचार हरू कैद गरिएका छन् । सर्वत्र अचम्म मानिएको छ । शिक्षक र शिक्षक संघ–सङ्गठनहरूको सकारात्मक भूमिका खोजिएको छ । तर यी सबै हराइरहेका छन् । होस गुमेको छ । जतिबेला होस खुल्ला शायद त्यतिबेला अहिलेका शिक्षक र विद्यालयहरू केहीको पनि अस्तित्व नभेटिएला ।

अब शिक्षकहरू बोल्नै पर्छ । माथिका आरोपहरूप्रति शिक्षक संवेदनशील हुनै पर्दछ । अब पनि शिक्षक र यिनका सङ्गठनहरू बोलेनन् भने, समाज ले अर्को आरोप लगाउने छः ‘हाम्रा शिक्षक अयोग्य र बेकम्मा छन् ।’ त्यसैले अब शिक्षकले बोल्ने हिम्मत गर्नैै पर्दछ । तैं चुप मैं चुप गरेर वा बन्दकोठामा कानेखुशी गरेका भरमा आफू माथि लगाइएका आरोपबाट मुक्ति पाउने स्थिति छैन । यसैले; शिक्षकहरूले आफूहरूप्रति लगाइएका आरोप सही हुन् भने तिनलाई स्वीकार गरेर आफूमा सुधार गर्ने अठोट गर्नु पर्दछ आरोपगलत हुन् भन्ने लाग्दछ भने त्यसको जवाफ दिने हिम्मत बटुल्नुपर्दछ । तेस्रो विकल्प छैन ।

कक्षाकोठाबाट विद्यार्थी हराइरहेको दृश्य हेरेर बसेको समाज लाई शिक्षकका नारा, जुलुस, भाषण र बन्दको जवाफले चित्त बुझाउन सक्ने छैन । शिक्षकहरूको योग्यता, क्षमता र इमान दारी माथि लगाइएको आरोपको चोटिलो जबाफ समाज ले त्यतिबेला पाउने छ जति बेला कक्षाकोठाबाट हराएका विद्यार्थीहरू पुनः कक्षाकोठामा फिर्ता आउन थाल्नेछन्, शिक्षक गुरुमा परिणत हुनेछन्, विद्यालयछँदा शिक्षकहरू केवल शिक्षक मात्रै रहनेछन्; काङ्ग्रेस, एमाले, माओवादी, मधेशी आदि केही पनि हुने छैनन् ।

शिक्षकहरू माथि लगाइएका सबै आरोप सही छैनन् तर अधिकांश सही छन् । तर हामीलाई यो सत्य स्वीकार गर्न कठिन भएको छ । कसैलाई सत्य बोल्दा आफू एक्लै उल्लु भइन्छ कि भन्ने डर छ, कसैलाई शिक्षक राजनीतिभित्र भोट पाईंदैन कि भन्ने डर छ अनि कसैलाई एमाले, कसैलाई माओवादी र कसैलाई काङ्ग्रेस नबनिने डर छ । तर शिक्षक बनिरहने रहर भने जीवन्त छ हामी सबैसँग । यही ‘डर’ र ‘रहर’ भित्र हामीले सत्य लुकाएका छौ“, इमान दारी चपाएका छौ“ । सत्य स्वीकार गर्नु भन्दा अरूलाई दोष लगाउन सजिलो ! अनि हामीले आफूलाई सोह्रै आना सही ठहर्‍याउँदै हुंकार गर्ने गरेका छौं– सरकार बेकम्मा छ, शिक्षा नीति बेकम्मा छ, पाठ्यक्रम बेकम्मा छ आदिआदि । गड्गडाहट तालीभित्र भाषण ठोक्दै हामीले भन्ने गरेका छौं, “शिक्षकलाई विभेद गरिएको छ । शिक्षकलाई सेवासुविधाबाट बञ्चित गरिएको छ । राजनीतिक पार्टीको झेला र झ्ण्डा बोक्न बाध्य पारिएको छ विद्यालयमा राजनीतिक हस्तक्षेप भएको छ” आदिआदि । तर दुनियाँले हराम्रो यो प्रलापलाई गोहीको आँसु भनिरहेको छ भन्ने हामीले पत्तै पाएका छैनौं । हाम्रा शैक्षिक कार्यक्रममा हामी राजनीतिक पार्टीका नेतालाई प्रमुख अतिथि बनाउँदागर्व गर्छौं । मानौं हाम्रा कार्यक्रममा प्रमुख अतिथि बनाउने कुनै शिक्षाविद् नै छैनन् !

यदि हामीले उच्च शैक्षिक मर्यादा कायम राख्ने र पेशागत आन्दोलनलाई उचाइमा पुरयाउने हो भने अब प्रत्येक शिक्षकले फैसला गर्नु पर्दछ, “एकाध शिक्षकलाई नेता बनाउनका लागि हामीले पेशागत मर्यादालाई जोगाउने कि नजोगाउने ?” हामीले आफैलाई सोध्नुपर्दछ, “हामीले सही अर्थमा शिक्षण गरेका छौं कि छैनौं ?” आज ‘शिक्षक’को परिभाषा लज्जित भएको छ । समाज परिवर्तनका लागि राय, सल्लाह र सुझाव लिन शिक्षकको दैलोमा राजनीतिक नेता पसारिनुपथ्र्यो तर आज नेताको दैलोमा शिक्षक लम्पसार परेको छ । त्यसैले आम शिक्षकले बुझनु अवश्य भएको छ, राजनीतिक नेताको दैलोमा लम्पसार पर्ने शिक्षक या त अत्यन्त स्वार्थी र ठग हो या त अयोग्य र अक्षम । त्यस्ता अयोग्य र ठगहरूलाई तह लगाउनै पर्छ । धेरै नगण्य त्यस्ता अयोग्य र ठग शिक्षकहरूका कारण बाँकी योग्य र सक्षम शिक्षकहरू पनि अपमानित हुनु परेको छ । तर बिडम्वना, त्यस्तै नगण्यहरूको आवाज कहिले क्रान्तिकारी भएर सडकमा बुरुक्क उफ्रन्छ त कहिले गुलियो भएर लपक्क हुन्छ सबैसँग । शायद समाज को यही नियतिसँगै अल्मलिँदै हामी बाँचेका छौं ।

अब बहसको विषय बनाउनुपर्दछः हाम्रा शैक्षिक आन्दोलनहरू किन सशक्त रूपमा अगाडि बढ्न र आशातीत परिणाम प्राप्त गर्न असफल रहे ? हाम्रो आन्दोलनलाई प्रभावकारी जनसमर्थन किन प्राप्त हुन सकेन ? हराम्रो आन्दोलनमा विद्यार्थी किन उठेनन् ? अभिभावकले किन चासो देखाएनन् ? किन सबै रमिते बने ? जवाफ स्पष्टै छः हाम्रा माग र नाराले समाज को भावना र अपेक्षालाई प्रतिनिधित्व गरेनन् । हामी आफूभित्र मात्रै केन्द्रित भयौं सरुवा, बढुवा, स्थायी, औषधि उपचार, बिदा आदिमा । आन्दोलनमा हामी एक्लै भयौं किनभने हामीले समाज लाई सँगै लिएर हिँड्न सकेनौं । हामी त्यहीँ चुक्यौ“ । विद्यालय शिक्षा अत्यन्त सैद्धान्तिक भयो; त्यसलाई व्यावहारिक बनाउनु पर्‍यो भनेर हामीले इमान दार आवाज कहिल्यै उठाएनौ“ । हाम्रा माग पाठ्यक्रम परिवर्तन गरिनुपर्दछ भन्ने कुरा सँग सम्बन्धित नै भएनन् । हामीले परीक्षा प्रणाली र पाठ्यक्रम अवैज्ञानिक छ त भन्यौ तर वैज्ञानिक परीक्षा प्रणाली र पाठ्यक्रम कस्तो हुनुपर्ने हो त ? त्यसमा बहस नै चलाउन सकेनौं । अभिभावक र विद्यार्थीहरूको आकर्षण निजी विद्यालयतर्फ बढ्दै जाँदा समाज ले हराम्रो योग्यता माथि प्रश्न उठायो, तर हामीले त्यो आकर्षण ‘अङ्ग्रेजी भाषा’ले पैदा गरेको हो; हराम्रो अयोग्यताले होइन भनेर जवाफ दिन सकेनौ“ । अभिभावक र विद्यार्थीको चाहनालाई समयमै बुझेर अङ्ग्रेजी भाषाका पाठ्यपुस्तक उपलब्धगराऊ भनेर सरकारलाई चुनौती दिँदै हामीले सडकमा जुलुुस निकाल्न सकेनौं; न त ‘अङ्ग्रेजी मात्रै सबैथोक होइन है’ भनेर अभिभावक र विद्यार्थीको चित्त बुझाउनेतिर नै लाग्यौ“ । अङ्ग्रेजी र कम्प्युटरसँगै अन्य सीपमूलक शिक्षा समयको आवश्यकता हो, यसको तुरुन्त व्यवस्थागर, अन्यथा हामी कक्षा बहिष्कार गर्द छौं भनेर हामीले विद्यार्थीहरूको सुन्दर भविष्यप्रति इमान दारी प्रकट गर्न सकेनौ“ । यदि हामीले यसो गर्न सकेको भए विद्यार्थी, अभिभावक र सम्पूर्ण समाज हामीस“गै हुन्थ्यो । शिक्षकको एक आह्वाननमा समाज जुरुक्क उठ्ने थियो । त्यसो गर्न सकिएको भए आज शिक्षकको मर्यादा खुल्ला सडकमा बेवारिसे हुने थिएन । शैक्षिक आन्दोलनले राजनीतिक पार्टीहरूको कार्यालयमा शरणार्थी झै ढुक्नुपर्ने थिएन । गल्ती हामीबाटै भएको छ । अब यसलाई सम्हालेर लैजानु आवश्यक छ । हामीले आफ्ना गल्तीबाट पाठ सिक्नै पर्दछ ।

उच्च शैक्षिक मर्यादा स्थापित गराउन र सामुदायिक विद्यालयमा देखि एका चुनौती समाधान गर्नका लागि अब नेपाली शिक्षकहरूले दुई किसिमका आन्दोलनलाई सँगै अगाडि लिएर जान सक्नुपर्दछ । पहिलो हो; स्वयम् परिवर्तनको आन्दोलन । आफैँमा परिवर्तन ल्याएर मात्रै अरूमा परिवर्तन ल्याउन सकिन्छ । आफूलाई न बुझकिन संसार बदल्ने कुरा को सुरुआत गर्नै सकि“दैन । परिवर्तन ल्याउने कुरा उमेरसँग सम्बन्धित हुँदैन । अबका विद्यार्थी शिक्षकमा र छोरा छोरी अभिभावकमा मात्रै भर पर्न सक्दैनन् । विद्यार्थीले तबसम्म शिक्षकको सम्मान गर्दैनन् जबसम्म शिक्षक आफै“ पनि सिकिरहेका हु“दैनन् (ओशोको दृष्टिमा शिक्षा २०६७) । यसैले अब हामी परिवर्तन हुनुको कुनै विकल्प छैन । हामीले आफ्नो सीप, क्षमता र दक्षतामा परिवर्तन ल्याई समयकोगतिसँगै आफूलाई अगाडि बढाउन सकेनौं भने शिक्षक संघ–सङ्गठन, स्थायी जागिरको प्रमाणपत्र र राजनीतिक पार्टीका नेताहरूको आडमा मात्र अब हामीले आफूलाई बचाउन सक्दैनौं ।

शिक्षण पेशा अरू पेशासँग तुलना गर्न मिल्ने पेशा होइन । योसग छुट्टै सामाजिक चरित्र हुन्छ । यसैले शिक्षणलाई अन्य पेशाभन्दा हामीले पृथक् र सम्मानित पेशाका रूपमा देखाउन हरसम्भव प्रयास गर्न सक्नुपर्दछ र पेशाप्रति इमान दारी र प्रतिबद्धता प्रकट गर्नु पर्दछ । जबसम्म शिक्षक र समाज बीचको अन्तरलाई हटाउन सकि“दैन तबसम्म शिक्षक सम्मानित हुनसक्दैन । आजकल विद्यार्थीले शिक्षकलाई सम्मान गरिरहेको छैन । विद्यार्थीले शिक्षकलाई सम्मान न गरेको यो यथार्थलाई विद्यार्थीमा विकास भएको अनुशासनहीनता र उच्छृङ्खलता भनेका छौ“ हामीहरूले तर विद्यार्थी यो स्वीकार गर्न तयार छैन । आजको विद्यार्थी हामी शिक्षकहरूस“ग असन्तुष्ट छ । सूचना सञ्चारमा आएको परिवर्तनले ज्ञानको क्षेत्रमा ठूलो हलचल मच्चाएको छ । पहिला विद्यार्थीहरूले शिक्षकबाट र पाठ्यपुस्तकका केही सीमित स्रोतहरूबाट सूचना प्राप्त गर्दथे । त्यसैले शिक्षक विद्यार्थीभन्दा सध“ै जान्ने थिए । विद्यार्थीमा भन्दा शिक्षकमा ज्ञानको भण्डार धेरै थियो । त्यसैले शिक्षक आदरणीय थिए । तर अहिले विद्यार्थी सूचनाका धेरै स्रोतहरूबाट ज्ञान थुपार्न सक्ने भएको छ । आजको विद्यार्थी शिक्षकबाट मात्रै सिक्दैन । त्यसैले कतिपय अवस्थामा शिक्षकभन्दा पनि धेरै जान्ने भएको छ विद्यार्थी । कक्षाकोठामा शिक्षकले बताउने कतिपय कुरा हरूस“ग विद्यार्थी अगाडि नै जानकार भइसकेको हुनसक्छ । आचार्य रजनिश भन्नुहुन्छ, जहाँ ज्ञानको दूरी बढी हुन्छ त्यहाँ सम्मान पनि बढी हुन्छ र ज्ञानको दूरी कम हु“दा सम्मान पनि कम हुन्छ । यसैले कक्षाकोठामा परम्परागत शैलीमा जानिसकेको सूचना बाँड्ने शिक्षकको शिक्षण–सिकाइ कार्यस“ग विद्यार्थी सन्तुष्ट छैन । यही असन्तुष्टिस“गै शिक्षक सम्मानित हुनसकिरहेको छैन ।

खिया लागेर काम नलाग्ने हुन लागेका हाम्रा शिक्षण सिकाइका हतियारहरूलाई समयमै उदाउन सकेनौं भने हामी पनि काम नलाग्ने भुत्ते हुन्छौ“ । समय र समाज ले हामीलाई यति धेरै टाढा फालिदिनेछ जहाँबाट हामी कहिल्यै पनि फर्केर आउन सक्दैनौ“ । शिक्षण पेशा भनेको सरकारी कार्यालयका कर्मचारीले नागरिकता या चालक अनुमतिपत्र बाँडे जस्तो होइन । विद्यालय सामाजिकीकरणका लागि हो । शिक्षक सामाजिकीकरणको अभियन्ता हो । यसैले उसको कामगराइ, सोचाइ र प्रवृत्ति सिङ्गो विद्यार्थीको भविष्य र समाज सँग गा“सिएको हुन्छ । विद्यार्थी राष्ट्रका भविष्य हुन् । यसैले शिक्षकमा अन्य पेशामा संलग्न व्यक्तिहरू भन्दा छुट्टै चरित्र, लगनशीलता, ज्ञान र सीपको आवश्यकता पर्दछ । निजामती सेवामा रहेका कुनै कर्मचारी वा अन्य सामाजिक संघसंस्थाका कर्मचारीहरूले गल्ती गर्दा विद्यार्थी, अभिभावक वा समाज ले त्यति वास्ता गर्दैैनन् तर शिक्षकले गर्ने गल्ती उनीहरूका लागि सहन नसक्ने विषय बन्छ । शिक्षकबाट विद्यार्थीले आफ्नो सुन्दर भविष्य खोजेको हुन्छ र अभिभावकले आफ्नो छोराछोरीको भविष्यमार्फत आफ्नो सुरक्षा खोजेका हुन्छन् ।

अहिलेसम्म शिक्षकको दायित्व योग्यता र समर्पणका बारेमा धेरै बहस नै भएको थिएन । अभिभावक र विद्यार्थीले त्यति मेसो पनि पाएका थिएनन् । तर सूचनाको पह“ुचले आज सबैलाई सचेत गराए को छ । त्यसैले हामीले आफूमा परिवर्तन ल्याउनु जरुरी भएको छ । आज सामुदायिक विद्यालयहरू अङ्ग्रेजी माध्यमतर्फ बामे सर्दा नसर्दै फेरि अर्को चुनौती शुरु भइसकेको छ– सूचना र प्रविधिको । निजी विद्यालयहरूले शिक्षण सिकाइ प्रक्रियामा सूचनाप्रविधिको प्रयोगको रणनीतिक योजना बनाइसकेका छन् । सामुदायिक विद्यालयहरूका लागि अङ्ग्रेजी माध्यममा पढाउने विषय बरु त्यति चुनौतीपूर्ण नहुन सक्छ, जति हल्ला गरिएको छ । तर सूचनाप्रविधिको प्रयोग धेरै कारणले चुनौतीपूर्ण छ । यसैले यी दुवै चुनौती सामना गर्दै अगाडि बढ्न हामी शिक्षकहरूका लागि ‘स्वयम् परिवर्तन’को एउटा सशक्त आन्दोलनको आवश्यकता छ ।

शिक्षकहरूले गर्नु पर्ने दोस्रो आन्दोलन हो, पेशागत सेवा, सुविधा र सुरक्षाको लागि राज्यस“ग गर्नु पर्ने आन्दोलन । यो  आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन पहिलो आन्दोलनको सशक्तताप्रति ध्यान पु्र्‍याउनुपर्ने हुन्छ । उद्याएको र खिया फालेको हतियारबाट गरिने प्रहार निश्चय पनि चोटिलो हुन्छ । हामीले पहिलो आन्दोलनको तयारी यसरी गर्नु पर्दछ कि जसले गर्दा हामीले दोस्रो आन्दोलन गर्नु नै नपरोस् । यदि शिक्षकहरूले दोस्रो आन्दोलन गर्नु परयो नै भने पनि यसले शिक्षकका मागप्रति बेवास्ता गर्ने कुनै पनि सरकारको कुर्सी यसरी हल्लाइदेओस्, जसका कारण शिक्षकको आन्दोलनलाई बेवास्ता गर्ने हिम्मत कहिल्यै नपलाओस् । यसका लागि विद्यार्थी र अभिभावकको सक्रिय सहयोग आवश्यक हुन्छ । हामीले विद्यार्थी, अभिभावक र समाज को चित्त बुझाउन सक्नुपर्दछ । शिक्षकहरूको मिहिनेत, लगनशीलता, अनुशासन, प्रतिबद्धता, विद्यार्थी र समाज प्रतिको उनीहरूको जवाफदेही र इमान दारीप्रति सबै विश्वस्त हुनुपर्दछ । शिक्षकप्रति समाज को श्रद्धा जाग्नुपर्दछ । समाज मा नैतिकता, इमान दारी र अनुशासनको आधारशिला बन्नु पर्दछ शिक्षक । यदि यस्ता शिक्षक बन्न सक्यौं भने; कक्षाकोठाभित्रै असुरक्षित र सेवासुविधाबाट वञ्चित शिक्षकले उत्साहका साथ पठनपाठन गर्न सक्दैन भन्ने कुरा मा समाज स्वयम् सहमत हुन्छ र त्यसविरुद्ध बोल्न थाल्दछ । शिक्षकलै बौल्नै पर्दैन ।

एउटा स्वाभाविक प्रश्न उठ्छ; यस्तो वातावरणको निर्माण कसरी गर्न सकिन्छ ? के यो सम्भव छ ? हो; भताभुङ्ग भएको शैक्षिक अवस्थाको सुधार एकैपटक र छोटो समयमा निश्चय पनि सम्भव छैन । तर इमान दारी र प्रतिबद्धताका साथ लाग्ने हो भने केही गर्न सकिन्छ । सामुदायिक विद्यालयप्रतिगुमेको विश्वासलाई फिर्ता ल्याउन सकिन्छ । यसका लागि पहिलो चरणमा, हामी शिक्षकले राजनीतिक पार्टीहरूसँग को आवद्धता परित्याग गर्न सक्नुपर्दछ, राजनीतिक पार्टीका भ्रातृ संस्थाका रुपमा स्थापित शिक्षक संघसङ्गठनको विघटन र सम्पूर्ण शिक्षकहरूको साझ सङ्गठनको रूपमा एकल शिक्षक युनियनको व्यवस्था गर्नु पर्छ । शिक्षकहरूलाई सामाजिक अनुसन्धानमा संलग्न गराउन सक्नुपर्दछ । शिक्षकको मूल्याङ्कन, जागिरको वर्षको आधारमा होइन दक्षता, सीप, इमान दारी र अनुशासनका आधारमा गर्ने परिपाटीको विकास गरिनुपर्दछ । शिक्षकको मूल्याङ्कन शिक्षा अधिकारी बाट मात्रै होइन विद्यार्थी, अभिभावक र समाज बाट समेत गरिने परिपाटी बसाल्नुपर्दछ । विद्यालयलाई मात्रै नभई सम्पूर्ण समाज लाई नै शिक्षकको कार्य थलो बनाइनुपर्दछ । शिक्षकले विद्यालयको कक्षाकोठा भित्र मात्रै होइन विद्यार्थीको भान्छा र करेसाबारीमा समेत पुगेर नैतिकता र इमान दारी जस्ता मानवीय मूल्य र मान्यताको पठनपाठन गराउने किसिमको पाठ्यक्रमको निर्माण गरिनुपर्दछ । शिक्षकको जीवन र सम्पूर्ण व्यवहार नै एउटा सिङ्गो पाठ्यक्रम बन्नु पर्दछ । शिक्षक सामाजिकीकरणको अभियन्ता भएका कारण उसले कुनै जागिरेले जस्तै ‘मेरो समय बिहान दश बजे देखि चार बजेसम्म मात्रै हो’ त्यसअघि पछि को समयमा म जे पनि गर्न सक्छु, ‘यो मेरो स्वतन्त्रता हो’ भन्ने जस्ता छुट लिनुहु“दैन । शिक्षकको काम भनेको अध्ययन र अध्यापन गर्नु नै हो । यसका अलावा शिक्षकलाई अन्य कुनै पनि पेशा व्यवसायमा संलग्न हुन दिनुहु“दैन । यसका लागि शिक्षकलाई पर्याप्त सुविधा र सम्मान राज्यबाट व्यवस्था गरिनुपर्दछ । यी सबै गर्न सकिने कुरा हरू हुन् । भ्रष्टाचारमुक्त एउटा आदर्श समाज निर्माणका लागि मानवीय मूल्य, मान्यता र चरित्रको विकास गर्नु पर्ने हुन्छ । व्यक्तिको चरित्र निर्माण विद्यालयको कक्षाकोठाबाट र घरकौ भान्छाबाट शुरु हुने भएकाले यो जिम्मा विद्यालय र विश्वविद्यालयका शिक्षकहरूलाई दिनुपर्दछ, जसले कक्षाकोठामा विद्यार्थीलाई र घरको भान्छाकोठामा अभिभावकलाई मानवीय मूल्यको शिक्षा दिन सकून् ।

(लेखक नेपाल शिक्षक संघ, राष्ट्रिय कार्यसमिति सदस्य तथा भद्रकाली उमावि, पोखराका प्राचार्य हुन् ।)

commercial commercial commercial commercial