सञ्जीवनीका बुटी

काभ्रेको धुलिखेलमा ६२ वर्षअघि खोलिएको सञ्जीवनी स्कूल (हालको सञ्जीवनी उमावि)को आर्थिक/भौतिक प्रगति र सांस्कृतिक उन्नतिमा महत्वपूर्ण योगदान छ । तर, सञ्जीवनीलाई ‘साँच्चै’ सञ्जीवनी बनाउने काम काठमाडौंका पूर्णमान सिंह बस्नेतले गरेका थिए भन्ने तथ्यसँग पछिल्लो पुस्ताका शिक्षक, विद्यार्थी र अभिभावकहरू कमै परिचित पाइन्छन् ।

१ साउन २०१८ मा मावि शिक्षक भएर सञ्जीवनी छिरेका पूर्णमान २०२० साल देखि २०४९ सालसम्म सञ्जीवनीका हेडमास्टर रहे । दुई वर्ष शिक्षक र २९ वर्ष ‘प्रअ’ रहँदा पूर्णमान सरले सञ्जीवनी हाईस्कूलको कायापलट मात्र गरेनन्, काभ्रेका धेरैलाई सुयोग्य र सफल नागरिक हुने अवसर पनि दिलाए । सञ्जीवनीलाई गुनै गुन लगाएकाले अवकाशको दुई दशकपछि सम्म पनि बस्नेतलाई धुलिखेलको पुरानो पुस्ताले ‘हेडसर’कै रूपमा सम्झ्रिहेको छ ।

काठमाडौंको असनमा जन्मेका बस्नेतको निम्ति २०१३ सालमा त्रिचन्द्र क्याम्पसबाट स्नातक सक्दा सैनिक अधिकृत हुने अवसर थियो । उनका बाबु/बाजे सबै सैनिक सेवाको उच्च ओहोदामा थिए । तैपनि बस्नेत चाहिँ तत्कालीन समाज मा शिक्षाको ज्योति फैलाउने रहर र अठोट बोकेर २०१५ सालमा बननेपाको आजाद हाईस्कूल पुगे । स्नातक गरेका शिक्षक दुर्लभ रहेको त्यतिबेलाको परिवेशमा पूर्णमान सिंह ‘बीए माड्साप’ भनेर पुकारिन्थे ।

सञ्चालक समितिका अध्यक्ष ले हेडमास्टर भएर काङ्ग्रेसलाई सहयोग गर्न आग्रह गरे पछि पूर्णमान को आजाद हाईस्कूलसँग को सम्बन्ध टुङ्गियो । उनले “विद्यालयमा सबै पार्टीमा आवद्ध अभिभावकका छोराछोरी पढ्छन् । त्यसैले हेडमास्टर निष्पक्ष हुनुपर्छ । कुनै पार्टीप्रति आवद्ध व्यक्ति हेडमास्टर भएमा ऊ निष्पक्ष हुन सक्दैन” भन्दै अध्यक्ष को प्रस्ताव अस्वीकार गरे । त्यसपछि शुरु भयो उनको र सञ्जीवनी माविको सहयात्रा । बस्नेत आज पनि भन्छन्, “राजनीतिक दलमा लाग्नेहरू शिक्षक नै होइनन् । स्वच्छ शिक्षक नभई छात्रछात्रालाई ज्ञान दिन सकिँदैन । राजनीतिक दलको पछि लाग्नेले विद्यार्थीलाई पढ्न होइन, दलकै झेला बोक्न सिकाउँछन् ।” उनले आफ्नो आदर्शलाई आजीवन पालना गरे । उनले ठड्याएको सञ्जीवनी स्कूल अझै पनि दलीय राजनीतिको प्रभावबाट धेरै हदसम्म मुक्त भेटिन्छ ।

बस्नेतको सङ्गत पाएका धेरै शिक्षकले उनकै आदर्श पछ्याएको भेटिन्छ । बनेस्तका सहकर्मी तथा सञ्जीवनी उमाविका पूर्वप्रअ अमरनाथ योगल भन्छन्, “उहाँको सङ्गत गरेका धेरै शिक्षक अझै पनि शुद्ध छन्, त्यो मामिलामा म पनि शुद्ध नै रहन सकेँ ।”

२००६ सालमा स्थापना भए पनि बस्नेत प्रअ हुँदासम्म सञ्जीवनी स्कूलको भौतिक/शैक्षिक स्थिति नाजुक थियो । छात्रछात्राको सङ्ख्या न्यून थियो भने तिनलाई पढाउने शिक्षक पाउन कठिन हुन्थ्यो । विद्यालय सञ्चालन गर्न धुलिखेलका गृहिणीको मुठीदान र व्यापारीको चन्दाले ठूलो टेवा दियो । स्कूलप्रतिको बस्नेतको त्याग र लगनशीलताका कारण उनी प्रअ भएको वर्ष दिन नपुग्दै सञ्जीवनी हाईस्कूलका छात्र शङ्करप्रसाद काफ्ले २०२१ सालको एसएलसी बोर्डमा पाँचौं स्थान हासिल गर्न सफल भए । २०३३ सालमा डा. रामकण्ठ श्रेष्ठ एसएलसी बोर्डको दशौं स्थानमा आए । यसअघि २०३२ सालमा बस्नेतका छात्र भगवान दासले एसएलसी बोर्डमा तेस्रो स्थान हासिल गरेका थिए । एसएलसीको परिणाम, पठनपाठन तथा भौतिक सुविधा र अतिरिक्त क्रियाकलाप हरूमा रराम्रो परिणाम प्रदर्शन गरेको आधारमा सरकारले सञ्जीवनी हाईस्कूललाई २०३४ सालमा काभ्रेको ‘नमुना विद्यालय’ घोषणा गरयो । त्यतिबेलासम्म जिल्लामा एउटा मात्र नमुना स्कूल हुन्थ्यो ।

पूर्णमान सिंह सरको कार्यकालसँगै शुरु भएको एसएलसीमा उत्कृष्ट नतिजा हासिल गर्ने सञ्जीवनीको परम्परा अझै पनि कायम रहेको पाइन्छ । एसएलसीमा प्रथम श्रेणी हासिल गर्ने आफ्ना छात्रछात्रालाई पूर्णमान ले सञ्जीवनीमा पढाउने अवसर दिन्थे । सञ्जीवनी उमाविका अहिलेका २४ शिक्षकमध्ये प्रअ वेदप्रसाद कोजु, सहायक प्रअ निर्मला कुमारी योगलसहित १४ जना शिक्षक बस्नेतकै छात्रछात्रा हुन् । तिनैमध्येका सानुकाजी महत सञ्जीवनीका गणित तथा विज्ञान शिक्षक हुन् । उनी २०६२ देखि शैक्षिक तालिम उपकेन्द्र काभ्रेको प्रमुखको रूपमा काजमा छन् ।

महतले २०३७ सालमा सञ्जीवनीबाट एसएलसी प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरेका थिए । पूर्णमान सिंहले एसएलसी दिएपछि सञ्जीवनीमा महतलाई स्वयंसेवक शिक्षक राखेका थिए । २०४२ सालमा आइएस्सी सकेपछि उनी सञ्जीवनीमा फेरि एक वर्ष स्वयंसेवक शिक्षक भए । २०४५ सालमा विज्ञान विषय लिएर बीएड सकेपछि उनी निजी स्रोतमा विज्ञान शिक्षक नियुक्त भए । २०४९ सालमा पूर्णमान ले अवकाश पाएपछि सानुकाजी सोही दरबन्दीमा मावि शिक्षक भए । सानुकाजी भन्छन्, “छात्र र सहकर्मीको रूपमा मैले उहाँभित्र महान् हेडमास्टरको व्यक्तित्व देखेको छु ।”

पूर्णमान सिंह सधैँ ९ः ४५ मा विद्यालय पुगिसक्थे । विद्यालयमा बस्नेतको अनुपस्थिति सामान्यतया हुँदैनथ्यो । स्कूलभित्र कागजको टुक्रा देखे आफैं टिप्ने, विद्यालय फोहोर हुनै नदिने, शिक्षक नहुँदा कक्षा खाली नराख्ने, गृह कार्य न गर्ने छात्रछात्रालाई गृह कार्य गराउने, पाठ योजना अनुसार कक्षामा जाने आदि बस्नेतका शिक्षक जीवनका विशेषता हुन् । अङ्ग्रेजी शिक्षण अङ्ग्रेजी माध्यममा गर्ने , सहकर्मी शिक्षकहरूलाई फकाएर काम लगाउने, छात्रछात्रालाई अतिरिक्त क्रियाकलाप मा लगाउने, शिक्षकलाई सधैँ पढ्न अभिप्रेरित गर्ने गरेका कारण पूर्णमान को कार्यकाललाई शिक्षक–अभिभावकले सञ्जीवनीको ‘स्वर्ण युग’ भन्ने गरेका छन् ।

पूर्णमान सिंहको सक्रिय जीवनको अधिकांश समय धुलिखेलमै बित्यो, काठमाडौंको सान–सौकात र भारदारी रवाफले उनलाई छोएन । स्कूलको नेतृत्वगरुञ्जेल बिदामा नबसेकाले २०४४ सालमा घाँटीको बिरामी (ल्यारिनज्याइटिस) भएर वर्ष दिन थलिँदा पनि पूर्णमान सिंहलाई विद्यालयले तलबी बिदा दियो । किनभने घरपायक नभएर पनि बस्नेतले सञ्जीवनीको सेवामा जीवन अर्पण गरेका थिए । बस्नेतको अनुशासन र उच्च नैतिकता धेरैको प्रेरणाको स्रोत बनेको छ । सानुकाजीका शब्दमा “बस्नेतको व्यक्तित्वको बयान गर्न गाह्रो छ । उहाँ धुलिखेलको आस्थाको धरोहर हो ।”

पूर्णमान बस्नेतले आफ्ना दुई छोरालाई मावि तहको शिक्षा सञ्जीवनीमै दिए । सञ्जीवनीबाट एसएलसी गरेका उनका छोरा निरञ्जनसिंह अहिले प्राइभेट फर्ममा काम गर्छन् भने कान्छा छोरा अरुणसिंह हेल्प नेपालका अध्यक्ष छन् । अरुण भन्छन्, “मैले कक्षा ८ सम्म काठमाडौंको निजी स्कूलमा पढेको हुँ । तर, ९ र १० सञ्जीवनी स्कूल पढ्दा निजी स्कूलको भन्दागतिलो शैक्षिक वातावरण पाएको थिएँ ।” २०१४ सालमा हाईस्कूल सञ्चालनको स्वीकृत पाएको सञ्जीवनी त्यसको १४ वर्षपछि बहुउद्देश्यीय विद्यालयमा परिणत भएको थियो ।

देशभरिका सरकारी स्कूलमा यता आएर अङ्ग्रेजी माध्यममा पढाउने लहर चलेको छ । तर, बस्नेत सरले सञ्जीवनीमा २०३९ सालमै अङ्ग्रेजी माध्यममा छुट्टै कक्षा शुरु गरेका थिए । २०४३ साल देखि सञ्जीवनीमा दृष्टिविहीन छात्रछात्राका निम्ति एकीकृत शिक्षा सञ्चालन गरिएको थियो । बस्नेतकै कार्यकालमा २०४८ साल देखि सञ्जीवनीमा उमावि तह सञ्चालन गरियो । २०६० साल देखि काठमाडौं विश्वविद्यालयको सहयोगमा उमाविमा विज्ञान सङ्काय पनि सञ्चालित छ । विज्ञान, शिक्षा र व्यवस्थापन सङ्कायमा उमावि कक्षा चलाएको सञ्जीवनीलाई सरकारले २०६२ सालमा देशकै ‘नमुना उमावि’ घोषणा गरेको थियो ।
पार्किसन रोग लागेर अहिले चाबहिलको शान्तिगोरेटोस्थित घरमा थलिँदा पनि पूर्णमान सिंह सरलाई आफूले धुलिखेलका जनता र स्कूलका निम्ति गरेको योगदानले सन्तुष्टि दिइरहेको छ । उनले शिक्षक प्रतिनिधिलाई भने, “स्कूललाई प्राण ठानें, अभिभावकले पनि सहयोग गरे । त्यसैले मनमा तुष र खेद छैन । बिरामी भएर थलिँदा पनि धुलिखेलका जनताको अपार माया र सम्मान पाएको छु । यही नै मैले कमाएको सम्पत्ति हो । म पूर्ण सन्तुष्ट छु ।”

सञ्जीवनी स्कूलको उन्नतिमा पुर्याएको योगदानकै कारण बस्नेतले राष्ट्रिय शिक्षा पुरस्कार , महेन्द्ररत्न भूषणलगायत दर्जनौं सम्मान र पुरस्कार प्राप्त भएका छन् । २०४९ मा अवकाश पाएका बस्नेतको औपचारिक बिदाइ विद्यालय परिवारले ३ जेठ २०५० मा गरयो । उक्त दिन बस्नेतलाई धुलिखेल बसपार्कबाट हजारौंको जुलुसको बीचमा हिँडाएर सञ्जीवनी पुर्याइएको थियो । बिदाइ समारोहपछि धुलिखेलवासी उनलाई पुर्याउन दर्जनौं बस–मिनीबस ‘रिजर्भ’ गरी काठमाडौंको चाबहिलसम्मै आएका थिए । उनी भन्छन्, “मैले आर्जन गरे कै माया, सद्भाव र सम्मान थियो त्यो ।” सञ्जीवनी उमाविको प्रगति र पूर्णमान को व्यक्तित्वमा महत्वपूर्ण समान ता छ । त्यो हो– सञ्जीवनी उमाविले शैक्षिक र भौतिक विकास मा उच्च सफलता हासिल गरेको छ भने पूर्णमान सिंह बस्नेतको पेशागत व्यक्तित्व, निष्ठा र मिहिनेतले उनलाई पूर्ण सन्तुष्टि प्रदान गरेको छ । पूर्णमान सर स्वस्थ, सुखी र दीर्घजीवी होऊन् !

commercial commercial commercial commercial