जिज्ञासा र जवाफ

प्रसूति स्याहार बिदाः कहिले लिने ?

शिक्षा नियमावलीमा पत्नी सुत्केरी हुँदा पुरुष शिक्षकलाई १५ दिन प्रसूति स्याहार बिदा दिने उल्लेख छ । यो बिदा श्रीमती सुत्केरी भएको कति दिन देखि कति दिनभित्र लिनुपर्ने हो ?
युवराज काफ्ले
जनमार्ग उमावि, सिलुवा–१, पाल्पा

भिन्नता नै छैन के देखाउने ?

कक्षा ४ को अङ्ग्रेजी पाठ्यपुस्तक (जशिसाके) को पृष्ठ २३ को क्रियाकलाप नं. ५ मा दुई वटा चित्र दिएर तिनमा ‘चार/चार वटा फरक देखाऊ’ भनिएको छ । तर, म दुवै चित्र उस्तै देख्छु, कुनै भिन्नता देख्दिनँ, यसमा के भएको हो ?
हीरासिंह बोहरा
महन्यालेश्वर निमावि, बर्छेन–६, डोटी

जशिसाकेद्वारा सन् २००७ को संस्करणमा छापिएको चित्रमा स्पष्ट चार/चार वटा फरक छन् । तर, स्न २००८ यता पुनः मुद्रित पुस्तकमा भने तपाइँले औंल्याए जस्तै त्रुटि रहेको देखिन्छ । पछिल्ला संस्करणका लागि पाठ्यक्रम विकास केन्द्रले चित्रको रङमा सामान्य हेरफेर गरी पाठ्यपुस्तकको ‘सोर्स फाइल’सहितको मुद्रणीय प्रति जशिसाकेमा पठाएको हो । तर, हामीले पठाएको ‘पेज फाइल’लाई मिलाउने क्रममा जशिसाकेबाटै त्रुटिवश चित्र ‘ए’ र ‘बी’ समान चित्र छापिएको देखिन्छ । अतः उपलब्ध भएसम्म सन् २००७ को पाठ्यपुस्तकबाट अध्यापन गराउन शिक्षक वर्गमा हराम्रो अनुरोध छ । यो त्रुटिलाई आउँदो संस्करणमा सच्याइनेछ ।
गणेशप्रसाद भट्टराई
उपनि र्देशक, पाठ्यक्रम विकास केन्द्र

पाठ्यक्रम विकास केन्द्रबाट पठाइएका दुई वटा चित्रको फाइलको नाम मिल्दोजुल्दो भएकाले चित्र छनोट गर्दा भूलवश एउटै चित्र पर्न गएको हो । यसबाट शिक्षकवर्गमा पर्न गएको असुविधाप्रति हामी दुः खी छौं । आउँदो संस्करणमा यो त्रुटि सच्चिएर आउनेछ ।
अर्जुनविलास पन्त
निर्देशक, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड


सुत्केरी हुनुअघि र पछि गरी १५ दिन प्रसूति स्याहार बिदा दिने व्यवस्था नियमावलीमा छ । तर, यति दिन देखि यति दिनभित्र बिदा लिइसक्नुपर्ने बारे नियमले केही बोलेको छैन । यद्यपि नियमावलीमा लेखिएको ‘सुत्केरी हुनुअघि’ भन्ने शब्दावलीले चाहिँ ‘प्रसूति तयारी’लाई सङ्केत गरेको देखिन्छ । यसबाट सुत्केरी भएको १५ दिनभित्रै प्रसूति स्याहार बिदा उपभोग गरिसक्नुपर्ने भन्ने नियमको आशय रहेको देखिन्छ ।
विदुरराजगिरी
उपसचिव, शिक्षा मन्त्रालय

मैले के गर्नु पर्ला ?

म २०४८/०५/०३ मा प्रावि र २०६०/०६/३० मा निमावि तहको स्थायी नियुक्ति पाई हालसम्म कार्यरत छु । मैले ‘पाठ्यक्रम तथा मूल्याङ्कन’ विषयमा एम.एड. उत्तीर्ण गरी १०+२ लाई पनि पढाउँदै आएको छु । यही भदौमा मेरो २० वर्ष पुग्दैछ । अतः तलको अवस्थामा मैले के गर्नु पर्ला ?

१. १०+२ को दरबन्दी (पूर्णकालीन)मा जान कार्यरत पद छोड्नुपर्छ कि पर्दैन ? उमेरको हद लाग्छ वा लाग्दैन ?
२. हाल कार्यरत पदबाटै पेन्सन लिएर बस्ने स्थितिमा मैले १०+२ तर्फ दरबन्दी सिर्जना भएको अवस्थामा १०+२ को शिक्षक भएर काम गर्न पाउँछु कि पाउँदिनँ ?
रामेश्वर अधिकारी
महेन्द्र उमावि, तुलसीपुर, दाङ

१०+२ को पूर्णकालीन दरबन्दीको लागि हालसम्म नीतिगत व्यवस्था नै नभइसकेको हुँदा त्यसबारे केही बताउन सकिँदैन ।
पुण्यप्रसाद घिमिरे
उपसचिव, शिक्षा मन्त्रालय

स्रोतव्यक्ति कसरी छान्ने ?

नयाँ स्रोतव्यक्ति नियुक्तिका लागि दुई जना शिक्षकको आवेदन परेको अवस्थामा स्रोतव्यक्ति छनोट गर्ने मापदण्ड र प्रक्रिया के हो ?
नारायणप्रसाद पौडेल
प्रअ, ज्ञानोदय निमावि, सत्यवती–७, पाल्पा

स्रोत केन्द्र मातहतका विद्यालयका प्रअहरूबाट मतदान गराए र एक जनालाई चयन गर्ने ।
रामराज खकुरेल
उपसचिव, शिक्षा विभाग

पदक त अर्कैले लगेछ !

२०६५ सालको राष्ट्रिय शिक्षा पुरस्कार पाउने शिक्षकको सूचीमा मेरो नाम पनि थियो । मैले पाउनुपर्ने प्रमाणपत्र र पदक २०६७ माघमा जिशिका, मोरङमा आएको थाहा पाएपछि पदक लिन गएँ । भर्पाईमा सानो सही गरेर मेरो पदक त अर्कै व्यक्तिले लगिसकेको रहेछ । कसले लग्यो त्यो पनि पत्तो लागेन । अब मैले पदक पाउने उपाय के होला ?
जीतबहादुर कटुवाल
दुर्गा मावि, इटहरा–६, मोरङ

शिक्षा मन्त्रालयले अर्को पदक र प्रमाणपत्रको व्यवस्था गर्न सक्दैन । यदि तपाईंलाई २०६५ सालमा राष्ट्रिय शिक्षा पुरस्कार पाएको प्रमाण चाहिएमा मन्त्रालयले त्यसका निम्ति प्रमाणित कागजात चाहिँ बनाइदिन सक्छ ।
कृष्णगोपाल श्रेष्ठ
शाखा अधिकृत, शिक्षा मन्त्रालय

निर्णय व्यवस्थापन समितिबाट

म निमावि बाँकी,गोल्टाकुरी–२, दाङमा पियन पदमा कार्यरत छु । मैले महिनाको रु.३ हजार तलब पाउँछु । विद्यालयमा व्यवस्थापन खर्च बापत रु.१ लाख निकासा हुने कुरा थाहा भयो । यो सम्पूर्ण रकम पियनको तलबमा खर्चन मिल्ला कि नमिल्ला ?
शान्तवीर थारू
निमावि बाँकी,गोल्टाकुरी–२, दाङ

विद्यालयका कर्मचारी (लेखापाल र पियन)को व्यवस्थापनका लागि भनेर यस्तो रकम विद्यालयमा पठाउने गरिन्छ । त्यस रकमबाट विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा तलब व्यवस्थापन गर्नु पर्ने हुन्छ ।
कृष्णप्रसाद ढुङ्गाना
उपसचिव, शिक्षा विभाग

सुविधा थपिँदैन

म यसैपालि प्राथमिक द्वितीय श्रेणीमा बढुवा भएको छु र विद्यालयको प्रअ पनि हुँ । शिक्षा नियमावलीमा प्राथमिक विद्यालयमा आई.एड. वा सोसरह उत्तीर्ण शिक्षक प्रअ हुनुपर्ने व्यवस्था छ । मेरो विद्यालयमा सो तह उत्तीर्ण गर्ने म नै एक मात्र शिक्षक हुँ । अब म प्रअ रहेको अवस्थामा मेरो कुन श्रेणी कायम हुन्छ र तलब/भत्ता थप हुन्छ कि हुँदैन ?
गिरबहादुर थापा
प्रअ, सूर्योदय प्रावि, आँबुखैरेनी–१, तनहुँ

तपाईं योग्यताप्राप्त प्रअ भएतापनि त्यसबाट अर्को छुट्टै श्रेणी निर्धारण हुँदैन र तपाईंले पाउँदै आएको प्रअ भत्ता बाहेक अरू सुविधा थपिने छैन ।
पुण्यप्रसाद घिमिरे
उपसचिव, शिक्षा मन्त्रालय

द्विविधा परयो

विद्यालय क्षेत्र सुधार योजनाले तोकेको मापदण्ड अनुसार आधारभूत तह (कक्षा १–८) का लागि शिक्षकको योग्यता आई.एड. हो कि बी.एड. हो ? यसमा द्विविधा परयो ।
कुमार बयलकोटी
दीपेन्द्र स्मृति प्रावि, धरान

विद्यालय क्षेत्र सुधार योजनाले आधारभूत तहको शिक्षकको योग्यता आई.एड. वा सोसरह तोकेको छ ।
शिव कुमार सापकोटा
उपनि र्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र

बिदा कसरी काटिन्छ ?

कुनै शिक्षक बिरामी बिदाबाट कट्टा हुने गरी बिदा बसेको बेलामा विद्यालय खुलेका दिनको मात्रै बिदा कट्टा हुन्छ कि सार्वजनिक बिदाको दिनको पनि ?
विष्णु कुमारी खत्री
नवदुर्गा प्रावि, हिलेछाप, ओखलढुङ्गा

यस्तै प्रकृतिका समस्या जिशिका, काठमाडौंबाट पनि शिक्षा मन्त्रालयमा प्राप्त भएका छन् । यसबारे नीतिगत निर्णयका लागि फाइल अगाडि बढाइएको छ । निर्णय भएपछि यसबारे विस्तृत बताउन सकिनेछ ।
विदुरराजगिरी
उपसचिव, शिक्षा मन्त्रालय

जिल्लान्तर पनि हुने हो ?

शिक्षा विभागलेगत वैशाखमा जिशिकामा परिपत्र गरेको दरबन्दी मिलानको मापदण्डमा बढी भएका दरबन्दीलाई ‘पुल दरबन्दी’मा राखी क्रमशः मिलान गर्दै लैजाने उल्लेख छ । यदि कुनै जिल्लामा धेरै सङ्ख्यामा पुल दरबन्दीमा शिक्षक रहेमा अर्को जिल्लामा लगेर मिलान गर्न मिल्छ कि मिल्दैन ?
हेमचन्द्र अधिकारी
भारती उमावि, हात्तीखर्क–६, धनकुटा

एउटै जिल्लाभित्रका विद्यालयमा दरबन्दी मिलान गर्ने गरी उक्त व्यवस्था कायम गरिएको हो । यसमा तपाईंले भनेजस्तो जिल्लान्तर सरुवा र दरबन्दी मिलान गरिँदैन ।
गणेश पौडेल, उपनि र्देशक, शिक्षा विभाग

commercial commercial commercial commercial