निगरानी नगरिएको शिक्षाले विनाश निम्त्याउँछ
सरकारी विद्यालयको यसपालिको एसएलसीको नतिजाले महाभारतको कथा सम्झ्न बाध्य पार्दछ । पाण्डव र कौरव हुर्किंदै गएपछि तिनको शिक्षा–दीक्षालाई लिएर हस्तिनापुर दरबारमा चर्चा र चिन्ता गर्न थालियो । राजा पाण्डु हलचल गर्न नसक्ने गरी थलिइसकेका थिए । जन्मान्ध धृतराष्ट्रलाई छोरा–भतिजाहरूको चिन्ताले भन्दा आफूले राजपाट नपाएको कुण्ठाले बढी सताएको थियो ।
राज कुमारहरूको पठनपाठनको विषयमा कौरव र पाण्डवका आमाहरूगान्धारी र कुन्तीको पनि कुनै भूमिका थिएन । हस्तिनापुरको उत्तराधिकारी जन्माउन सकेकोमा ती आफैँप्रति कृत–कृत्य थिए, दङ्ग थिए । बाँकी थिए त सबैका संरक्षक भीष्म । राज कुमारहरूलाई कस्तो शिक्षा कसले र कसरी दिनुपर्छ भन्ने कुरा उनले पनि सोचेका थिएनन् ।
अन्ततः आफ्नो आश्रम चल्न नसकेर विलखबन्दमा परेका आचार्य द्रोणलाई राजदरबारमै राखेर पढाउन लगाउने निधो भयो । सांसारिक बाध्यतामा परेका द्रोणले दरबारको प्रस्ताव स्वीकार गरे ।
शिक्षा शुरु भयो । हस्तिनापुर दरबार राज कुमारहरूलाई शिक्षा दिने आफ्नो कर्तव्य पूरा गरेको ठानेर ढुक्क भयो । तर शिष्यहरू गुरुको अनुशासनमा थिएनन् । दुर्योधनले त राज कुमारको रवाफ देखाउँदै आचार्य विरुद्ध कडा शब्द पनि प्रयोग गर्दथे । यस्तो बेलामा आचार्य कुण्ठित हुन्थे अनि भन्थे, “दुर्योधन, तिम्रो मुखबाट मेरा पापहरू बोलिँदैछन् । पैसाको लागि राज्यको दास बनेर आफ्नो शिक्षा बेच्ने काम गर्ने गुरुले गरेको पापकर्म तिमी मलाई सम्झइरहेका छौ । मेरो बुद्धि र कर्तव्य त्यसैबेला मारिएको थियो, जतिबेला मैले विद्यालाई धनमा बेच्न सम्झौता गरें ।”
गुरु र शिष्य तथा शिष्य–शिष्यहरूबीच सद्भाव र सौहार्द होइन, कटुता र शत्रुता बढिरहेको थियो । तर हुनेवाला राजा र राज कुमारहरूलाई कस्तो शिक्षा दिनुपर्ने हो, शिक्षालयमा कस्तो शिक्षा चलिरहेको छ, गुरुले के पढाउँदै छन् अनि बालकहरूले के कस्तो सिक्दैछन् भन्नेतिर राजभवनले कहिल्यै ध्यान दिएन । न कुनै निगरानी न त सोधखोज । पाण्डव र कौरवले दरबारी शिक्षामा सिकेको सबभन्दा ठूलो कुरा थियो– शस्त्र–अस्त्र चलाउने, जित्ने–हार्ने र मर्ने–मार्ने कला ।
सिकेकै कुरा न हुन्छ, शिक्षाको समाप्तिसँगै द्रोणाचार्यका शिष्यहरू युद्धको तयारीमा जुटे । युद्ध भयो । युद्धको दुवै पक्षमा मुख्य पात्र कुरुकुल र पाण्डुकुलका राज कुमारहरू नै थिए । यी दुवै कुलसँगै हस्तिनापुर पनि नष्ट भयो । सन्तानले गरेको दोषका भागी मातापिता हुनु परे झै राज कुमारहरूको दुष्कृत्यको फल त्यो देशले पनि भोग्नुपरयो ।
युद्धबाट सम्पूर्ण नाश भइसकेपछि द्रोणले दिएको शिक्षाको समीक्षा भयो । निष्कर्ष निकालियो— शिक्षाको जिम्मेवारी बोकेको राज्यले न त शैक्षिक क्रियाकलाप को निगरानी गरेको थियो, न विद्यार्थीले पाएको शिक्षाको मूल्याङ्कन । शिक्षालाई अन्धकारमा छोडेर राज्य सुतेको थियो । त्यसको परिणाम आयो— सर्वनाश ।
गुरु द्रोणले शिष्यहरूलाई युद्धकला सिकाएका थिए । तिनले युद्धकला बाहेक अरू केही सिकेनन् । शान्ति र मेलमिलापका नीतिबारे एकशब्द पनि सुन्न पाएनन् । उनीहरूका लागि युद्ध गर्नु नै सर्वस्व शिक्षा थियो । शिक्षा जस्तो थियो– परिणाम पनि त्यस्तै आयो– युद्ध र विनास ।
नेपालको शिक्षा व्यवस्था अहिले यस्तै रोगलेग्रसित छ । सरकारले लगानी गरेको छ । शिक्षक दिएको छ । शिक्षालयको व्यवस्था गरेको छ । तर विद्यालयमा के भइरहेको छ ? त्यसको निगरानी गर्ने उत्सुकता र चासो छैन । शिक्षाको आवधिक मूल्याङ्कन नै छैन ।
परिणाम, सरकारले शिक्षामा गरेको लगानीको दुईतिहाई अंश खेर गएको छ । यस वर्षको एसएलसीमा सामेल कुल ३ लाख ९७ हजार ७५९ विद्यार्थीहरूमध्ये सरकारी विद्यालयका ३६.०५ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । सरकारी विद्यालयहरूबाट मात्र परीक्षामा सामेल हुने ३ लाख ७ हजार ६११ परीक्षार्थीको अनुपातमा मात्र हेर्ने हो भने आधाभन्दा निकै कम (४६.६२ प्रतिशत) उत्तीर्ण भएका छन् । अर्थात् सरकारको आधा लगानी खेर गएको छ ।
एसएलसीमा यस्तो परिणाम किन आउँछ ? उत्तर स्पष्ट छः शिक्षामा सार्वजनिक शिक्षाको सम्पूर्ण जिम्मेवारी वहन गरेको सरकार धृतराष्ट्र बनेको छ । उसले शिक्षाको जिम्मेवारी त्यस्ता शिक्षकलाई बोकाएको छ, जो आचार्य द्रोण जसरी नै जीविकाका लागि पढाउने पेशा रोज्न विवश छन् । त्योभन्दा पनि महत्वपूर्ण हाम्रा शिक्षकहरू पनि द्रोणाचार्य जस्तै कुण्ठा र भयबाट ग्रसित छन् । तलब बाहेक, एउटा सच्चा शिक्षकलाई नभई नहुने स्वाभिमान , निर्भयता, स्वतन्त्रता, सम्मान , संरक्षण र उत्प्रेरणा दिन महाभारतकालीन हस्तिनापुर जस्तै हराम्रो राज्यप्रणाली चुकिरहेको छ ।
द्रोणाचार्य पछुतोमा बाँचे र धोकाबाट मारिए । आफ्नो सबैभन्दा सत्यवादी भनिएको शिष्य युधिष्ठिरले ‘नरो वा कुञ्जरो वा अश्वत्थामा हतोहतः ’ (मान्छे म¥यो कि हात्ती– अश्वत्थामा भने म¥यो) भनेपछि पुत्रशोकमा उनको मृत्यु भयो ।
चिन्तनशील शिक्षकहरूलाई हराम्रो एउटै अनुरोध छ, आफूलाई द्रोणाचार्य र मुलुकलाई हस्तिनापुर हुनबाट बचाउन कसैले सक्छ भने तपाईंले सक्नुहुन्छ । कोसिस गर्ने हैन त ?



