शिक्षक सुध्रौं, विद्यालय सुध्रन्छ

सरकारले शिक्षामा बर्सेनि ठूलो धनराशी लगानी गरिरहेको छ । तर हाम्रा सरकारी विद्यालय नेताको राजनीतिक चौतारी र शिक्षकको जागिर पचाउने थलोको रूपमा विकसित हुँदै गएका छन् । ऐन–नियमहरू कागजमै सीमित छन् । तराई क्षेत्रमा त फर्जी विद्यालयका नाममा समेत ठूलो रकम दुरुपयोग भइरहेको देखिन्छ । शिक्षक नियुक्तिमा अनियमितता देखि , विद्यालयमा जाने छात्रवृत्ति, पीसीएफ, दिवा खाजा तथा पोषण,  एसआईपी जस्ता विद्यार्थीको सङ्ख्या गर्ने दिइने अनुदानमा कृत्रिम आँकडा पेश गरी दुरुपयोग गर्ने घटनाहरू बढ्दो क्रममा छन् । शैक्षिक गुणस्तर गिर्दै गएको छ । सरकारी स्कूलमा राम्रा शिक्षक र प्रअहरू नभएका होइनन् तर ती ओझाेलमा छन् । राजनीतिक आड र विव्यसभित्रका विकृत मान्छेहरूसँग साँठगाँठ गर्ने शिक्षकको दवदवा बढ्दो छ ।

यो बेथितिका बीच सकारात्मक पक्ष हुँदै नभएका पनि होइनन् । तथापि रराम्रो कामलाई प्रोत्साहन गर्ने परिपाटीको टड्कारो खाँचो छ । म स्वयं सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षक हुँ । मलाई म अस्थायी छु भन्ने नै लाग्दैन । किनकि मेरो पहिलो कर्तव्य कर्म गर्नु हो । अस्थायी वा स्थायी जे भए पनि मेरो पहिलो धर्म सेवामा रहेको दिनसम्म विद्यालय र विद्यार्थीको हितमा काम गर्नु हो । बालमैत्री वातावरणमा सिकाइ क्रियाकलाप मा संलग्न हुनु हो । किनकि मैले जनताले तिरेको करबाट राज्यकोषको तलब–भत्ता खाएको छु ।

शिक्षण हराम्रो पेशा हो । विद्यार्थी हाम्रा केन्द्रबिन्दु हुन् । शिक्षण सिकाइको एउटा लक्ष्य सञ्चार गर्नु हो । सञ्चार सधंै दोहोरो हुन्छ । आफू मात्र बोल्ने, विद्यार्थीलाई बोल्नै नदिने शैलीबाट सार्थक शिक्षण हुन सक्दैन, त्यो प्रवचन वा पढाइ मात्र हुन्छ । पढाउनु र सिकाउनु नितान्त भिन्न कुरा हुन् । सिकाउनु भनेको पाठ्यक्रममा लक्षित सिकाइ उपलब्धिलाई पाठ्यपुस्तक र सन्दर्भ सामग्रीको माध्यमले कुशल शैक्षणिक विधिसाथ रमाइलो वातावरणमा आवश्यक शैक्षिक सामग्री प्रयोग गर्दै बालबालिकामा सीप हस्तान्तरण गरी तिनको व्यवहारमा परिवर्तन ल्याउन सक्नु हो । आफूले जानेका कुरा एकोहोरो प्रस्तुत मात्रै गर्नु पढाउनु हो । यसर्थ सोचौं, हामी पढाउने गुरु बन्ने कि सिकाउने शिक्षक ? असल शिक्षक बन्ने कि जागिरे कारिन्दा ? शिक्षण सदैव सक्रिय हुनुपर्छ । कुशल र दक्ष शिक्षकले बालमनोविज्ञान र बालमैत्री आचरण देखाउनुपर्छ ।

हाम्रा कक्षाकोठा बालमैत्री छैनन् । प्रविधिमैत्री त झन् कहाँ हुनु ! बालमैत्री व्यवहार भनेको बालबालिकालाई मित्रवत् व्यवहार गर्नु हो । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९० मा विश्वव्यापी बालअधिकारको घोषणा गरयो । उक्त महासन्धिको बुँदा नं. १ मा भनिएको छ, “प्रत्येक देशले बालअधिकार सम्बन्धी संविधानको व्यवस्था गरी प्राथमिक (आधारभूत) शिक्षालाई मौलिक हकका रूपमा राख्नुपर्नेछ ।”

नेपालको ‘बालबालिका सम्बन्धी’ ऐन २०४८ को दफा ७ को ‘बालकप्रति क्रूर वा यातनापूर्ण व्यवहार गर्नु हुँदैन’ भन्ने वाक्यांशले विद्यालयमा दण्ड र यातनालाई वर्जित गरेको छ । ९ माघ २०६७ मा भएको शिक्षा नियमावलीको छैठौं संशोधनले शिक्षकको आचारसंहिताको नियम १३३(ट) मा समेत विद्यार्थीलाई शारीरिक तथा मान सिक यातना दिन नहुने भन्ने स्पष्ट व्यवस्था गरेको छ । अझै पनि हामी विद्यार्थीलाई छडी प्रयोग गरेर, डर देखाएर, धम्क्याएर आफ्नो काबुमा राख्न खोज्छौं वा उसलाई होच्याउने, हीनताबोध गराउने, कक्षाकोठामा जान्ने/नजान्ने, अपाङ्ग/सवलाङ्ग, जातीय, लैङ्गिक, भाषिक, सांस्कृतिक, धार्मिक, सामाजिक विभेद गर्छौं भने ती सबै बालविरोधी गतिविधि भित्र पर्छन् ।  

आजभोलि सिकाइका नवप्रवर्तित सिद्धान्तहरू प्रतिपादन भइरहेका छन् । त्यस्ता सिद्धान्तलाई पछ्याउँदै प्रविधिको अधिकतम उपायोग गरी बालमैत्रीपूर्ण वातावरणमा शैक्षिक सामग्रीसहितको सक्रिय शिक्षण आजको आवश्यकता हो । सक्रिय शिक्षण कसरी गर्ने त ? जब विद्यार्थीले सुन्छ मात्र, उसले त्यसै बिर्सन्छ । जब उसले देख्न (देखेर/हेरेर) सिक्छ, त्यो सम्झन्छ । अझ् उसले जे गर्छ ( गरेर सिक्छ) त्यो सम्झन्छ, अझ् उसले जे गर्छ ( गरेर सिक्छ) त्यो उसले पूर्ण रूपमा बुझछ ।

शिक्षण पेशाको मर्यादा स्वयं शिक्षकले नै राख्ने हो । आफूलाई सम्मानित वा अपमानित कस्तो राख्ने हामी आफैंमा निर्भर रहन्छ । हामी जस्तो प्राज्ञिक वर्गले स्वतः स्थायी गर्नु पर्छ भन्नुगलत हो । गहन अध्ययन गरेर शिक्षक सेवा आयोगको जाँच उत्तीर्ण गर्छु भन्ने हिम्मत गर्नु पर्छ । त्रिविका आंशिक प्राध्यापकहरूलाई स्वतः स्थायी गरियो, परिणामतः उहाँहरूकै साखगि¥यो ।

यहाँ विज्ञान, व्यवस्थापन र मानविकी पढ्नेहरू शिक्षक तालिमका प्रशिक्षक बन्ने गरेको भेटिन्छ । यो शिक्षा सङ्कायको उपहास हो । शैक्षिक विधि र व्यवस्थापन शिक्षाशास्त्रमा मात्र पढाइन्छ । त्यस्तै; प्राथमिक देखि उच्च माध्यमिक तहसम्म शिक्षा ऐन–नियमले अनिवार्य शिक्षाशास्त्रका शिक्षकले मात्र अध्यापन गर्नु पर्ने भनेको छ । तर, अवस्था यसको ठ्याक्कै उल्टो छ । यो फितलो नियम कार्यान्वयन पक्षको दृष्टान्त हो ।

अन्त्यमा; सफल विद्यालय बनाउने पहिलो दायित्व हामी शिक्षकहरूकै हो । त्यसका निम्ति हामी कुशल शिक्षक र असल नागरिकका हैसियतले हराम्रो विद्यालयभित्र यी कुरा छन् कि छैनन् निगरानीगरौंः
१) सक्षम विव्यस २) कुशल प्रअ ३) दक्ष र योग्य तथा असल शिक्षक ४) बालमैत्री एवं विद्यार्थी केन्द्रित शिक्षण ५) जागरुक एवं चेतनशील अभिभावक ६) पारदर्शिता ७) अनुशासित विद्यार्थी ८) सम्पन्न भौतिक पूर्वाधार ९) राजनीतिमुक्त एवं शान्तिपूर्ण वातावरण ।

यी नौ वटा कुरा ले पूर्ण विद्यालय ‘अब्बल विद्यालय’ हो । नभए यी नौ बुँदा पूरा गराउने दायित्व तपाईं हाम्रै हो । हाम्रा हैन, राम्रा शिक्षक; ठूला हैन, कुशल (असल) शिक्षक बनौं ।

तारानाथ नेपाल
झिर्पू उमावि, फुल्पिङकट्टी–४, सिन्धुपाल्चोक

commercial commercial commercial commercial