विद्यालय व्यवस्थापनः सभासद् नै सर्वेसर्वा ?

माओवादी सभासद् हरिलाल थापाले ५ असार २०६८ मा दुर्गा उच्च मावि आलिताल–५, डडेल्धुराको प्राङ्गणमा अभिभावक भेला डाक्न लगाए । भेला डाक्नुको उद्देश्य, गएको वार्षिक परीक्षामा ९ कक्षाका केही विद्यार्थीलाई बढी र केहीलाई कम अङ्क दिएको विषयमा छलफल गर्ने बताइएको थियो । तर, परीक्षाको कुरा विद्यालयले पहिल्यै मिलाइसकेकाले त्यसमा खासै छलफल भएन । सभासद् थापाले प्रधानाध्यापक प्रताप सिंह धामीलाई तत्काल राजिनामा गर्न भने । प्रअ सिंहले नमानेपछि ‘जिउँदै जलाइदिने’ धम्की दिए । अन्ततः प्रअ धामीले असार मसान्तभित्र राजिनामा दिने कबुल गरे ।

त्यसअघि, ५ जेठ २०६८ मा यस्तै भेला गरेर सभासद् थापाले स्यालचौडी मावि (आलिताल–४, डडेल्धुरा) का प्रधानाध्यापक महादेव भट्टलाई रु.३० हजार जरिवानासहित पदबाट राजिनामा गराए का थिए । साथै उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर पुनलाई पनि रु.२५ हजार जरिवाना गरेर पदबाट हटाएको घोषणा पनि गराए । प्रअ भट्ट माथि शिक्षक नियुक्ति गर्दा अनियमितता गरेको आरोप लगाइएको थियो । भट्टको राजिनामापछि रिक्त भएको प्रअ पदमा सभासद् थापाका भतिजा उत्तम थापा नियुक्त भइसकेका छन् ।

सामान्यतः अभिभावक भेला विद्यालय प्रशासन, प्रअ अथवा व्यवस्थापन समितिले बोलाउनुपर्छ । तर यी दुवै भेला सभासद् थापाको उर्दीमा भएका थिए । कानुन–नियमको दृष्टिबाट ती भेलाको वैधता स्थापित हुने देखिँदैन । मान्छेको भीड वा जमघटलाई मात्रै कानुनले ‘नियमित अभिभावक भेला’ मान्दैन । अभिभावक भेला वैध र नियमित नै भए पनि प्रधानाध्यापकलाई हटाउने वा राख्ने निर्णय गर्ने अधिकार त्यसलाई हुँदैन । प्रअको नियुक्ति र बर्खास्तीको प्रक्रिया कानुनमै निर्धारित छ ।

सभासद् थापाले आफूले आवेगमा आएर धामीलाई धम्की दिएको दाबी गरेका छन् । (हे.अन्तर्वार्ता) तर, उनको काम कारबाहीले उनी आफ्नो बाहुबल भएको इलाकाका सार्वजनिक स्कूलमा एकलौटी हालीमुहाली कायम गर्ने नियतबाट सक्रिय भएको देखाउँछन् । दुर्गा उमाविका प्राचार्य धामी ९ कक्षाको परीक्षामा अनियमितता गरेको आरोपमा फस्ने न देखि एपछि सभासद् थापाले उनी माथि तत्काल अर्को आरोप लगाए– ‘प्रअ वा प्राचार्य हुनको निम्ति शिक्षा नियमावली अनुसार योग्यता नपुगेको ।’ शिक्षा नियमावली अनुसार माविको प्रअ वा प्राचार्य हुन ‘स्नातकोत्तर उत्तीर्ण स्थायी शिक्षक’ हुनुपर्छ । प्रअ धामी स्नातकोत्तर त हुन् तर स्थायी शिक्षक होइनन् । उनलाई प्रअ/प्राचार्य बनिदिनुपरयो भनेर...डोटीको विद्यालयको जागिर छुटाएर ल्याइएको थियो । उता, सभासद् थापाले धामीलाई हटाएर दुर्गा उमाविको प्रअको कुर्सीमा राख्न चाहेका शिक्षक नारायणदत्त जोशी स्थायी त हुन् तर स्नातकोत्तर होइनन् । सभासद् थापाले प्रअको योग्यता सम्बन्धमा उठाएको प्रश्नमा इमान दार देखि एन्न । स्यालचौडी माविका साविकका प्रअ महादेव भट्ट त्यहाँका स्थायी शिक्षक थिए । तर उनको स्थानमा प्रअ बनाइएका सभासद्का भतिजा उत्तम थापा अस्थायी शिक्षक पनि होइनन् । उनी ‘राहत कोटा’का शिक्षक हुन् ।

...............

‘...छाडिँदैन, आगो लगाइन्छ’ भनेकै हो

हरिलाल थापा
सभासद्, डडेल्धुरा

डडेल्धुरा आलितालका दुर्गा उच्च मावि र स्यालचौडी माविका प्रअहरूलाई तपाईंले धम्क्याएर राजिनामा दिन लगाउनुभएछ नि ?
धम्क्याएर हैन । स्यालचौडीका प्रअले राहत शिक्षक भर्नामा अनैतिक र अख्तियार दुरुपयोग गरेको प्रमाण भेटिएपछि आफैँ राजिनामा दिएका हुन् । दुर्गाका प्रतापसिंह धामीले राजिनामा दिने सहमति भए पनि अझै दिएका छैनन् । उनले कक्षा ९ को परीक्षामा पक्षपात र अनैतिक कार्य गरेको पाइएपछि सर्वपक्षीय भेलामा राजिनामा गर्ने सहमति जनाएका थिए ।

तपाईंले आफ्ना मान्छे राख्न प्रक्रिया र नियम मिचेको आरोप छ नि ?
यो आरोप मात्र हो । नियम र प्रक्रिया मिचेको छैन । र, राजनीतिक पूर्वाग्रह पनि छैन । आफ्नै पार्टीको भ्रातृ सङ्गठनका सचिव यज्ञराज भट्टसहित तीन जनालाई पनि कारबाही गरेका छौं ।

एउटा सभासद्ले शिक्षकहरूलाई कारबाही गर्ने , जरिवाना गराउने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाई हटाउने जस्ता काम गर्न मिल्छ त ?
कसैलाई बर्बाद गर्ने उद्देश्यले यस्तो गरिएको हैन । स्यालचौडीमा भएको कुरा त राजिनामापछि समाधान भइसकेको छ । दुर्गा उच्च माविमा पनि समाधान भइसकेको कुरा लाई नेपाली काङ्ग्रेसका १/२ जनाले उचालेर यस्तो भएको हो ।

तपाईंले ज्यानै मार्ने धम्की दिएपछि सबै तपाईंसँग डराएका छन् नि ?
ज्यान मार्ने धम्की मैले कसैलाई दिएको छैन । प्रतापसिंह धामीले भेलामा सप्रमाण भेटिएका ६/७ बुँदा नस्वीकारेपछि आवेगमा आएर मैले ‘गलत काम गर्नेहरूलाई छाडिँदैन, आगो पनि लगाइन्छ’ भनेकै हो । यसैलाई ठूलो कुरा बनाए ।

यो घटनामा राष्ट्रिय मानव अधिकार आयोगले पनि चासो देखाएको छ नि ?
आयोगलाई काङ्ग्रेस समर्थकहरूले चासो देखाउन लगाएका हुन् । पारसकोगोलीकाण्ड जस्तो घटनाहरूमा पो आयोगले चासो दिनुपर्छ त । यस घटनामा मेरो विरुद्ध मिडिया खनिएका छन् सत्यतथ्य कुरै आएको छैन । स्थानीय राजनीतिक दल, जिल्ला शिक्षा कार्यालय, शिक्षक संघ सङ्गठन, अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति सबैले छानबिनगरुन् ।

...............

शिक्षा कार्यालय, डडेल्धुराका अनुसार जिल्लाका मावि/उमाविमध्ये ५० प्रतिशतमा मात्र सबै योग्यता पुगेका शिक्षक प्रअ छन् । कतिपय माविको प्रअको जिम्मेवारी प्राथमिक तहका शिक्षकले समेत निर्वाह गरिरहेका छन् ।
यस्ता तमाम उदाहरण हुँदाहुँदै सभासद् थापाले दुर्गा उमाविका प्रअ धामीलाई ‘ज्यान मार्ने’ धम्की नै दिएर हटाउन खोज्नु र स्यालचौडी माविका प्रअ भट्टलाई अनियमितताको आरोप लगाएर हटाउनु उचित होईन ।

दुर्गा उमाविका प्रअ धामी आफूलाई सभासद्ले राजनीतिक पूर्वाग्रह राखेर हटाउन खोजेको बताउँछन् । लामो समय तटस्थ बसेका धामीगत माघमा नेपाल शिक्षक संघमा आबद्ध भएका थिए । यसपछि नै उनी माओवादीको निशानमा परे । धामी भन्छन्, “मैले विद्यालयको अहित हुने काम गरेको भए मलाई सजायँ दिँदा फरक पर्दैन । तर, सभासद्को भन्दा भिन्न विचार राख्नु न मेरो ‘अपराध’ भयो ।”

आलितालमा सभासद् थापाको आदेश र धम्कीलाई चुनौती दिने मानिस भेटिँदैनन् । ज्यान जोगाउन कोही जरिवाना तिर्छन्, कोही राजीनामा गर्छन् । नेपाल शिक्षक संघ, डडेल्धुराका अध्यक्ष जयबहादुर महरा प्रअ भएर विद्यालयको जिम्मेवारी सम्हालेपछि भएको विद्यालयको प्रगतिको श्रेय धामी सरलाई जाने भयो भन्ने हतास मान सिकताबाट सभासद्को धम्की आएको ठान्छन् ।

डडेल्धुराका जिल्ला शिक्षा अधिकारी रामहरिदास श्रेष्ठ भन्छन्, “प्रअको नियुक्ति विद्यालय व्यवस्थापन समितिको निर्णयमा हुने भए पनि विधि–प्रक्रिया पूरा गरेको भए मात्र त्यसलाई जिशिकाले मान्यता दिन्छ । जिल्लाका दुई प्रअले राजिनामा दिएको कुरा पत्रिकामा पढेर थाहा पाएको छु, त्यस सम्बन्धमा लिखित उजुरी पाएको छैन ।”

मानव अधिकार आयोगको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोगले माओवादी सभासद् थापाले प्रअहरूलाई धम्क्याएर राजिनामा गर्न लगाएको घटनाको स्थलगत अनुगमन गरेको छ । जिल्लाका दुवै घटनाका बारेमा अध्ययन गरेका आयोगको क्षेत्रीय कार्यालय धनगढीका निमित्त निर्देशक डा. टीकाराम पोख्रेल भन्छन्, “दुवै प्रअ माथि सभासद् थापाले धम्क्याएर राजीनामा गर्न बाध्य वाध्य पारेका रहेछन् । प्रअहरूले गल्ती गरेका भए कानुनी उपचार खोज्नुपथ्र्यो, सभासद्ले नै विधिको शासनको बर्खिलापमागई प्रअलाई राजीनामा गर्न बाध्य गर्नु र जरिवाना तिर्नु लगाउनु अनुचित हो ।”

पोख्रेल यो प्रवृत्तिलाई शान्ति प्रक्रियामा आएपछि पनि आफूखुसी सजाय तोक्ने र जरिवाना गर्ने निर्णय द्वन्द्वकालको जनअदालतको पुनरावृत्ति ठान्छन् ।

दुर्गा उमाविमा धामीको योगदान
डोटीको प्रभात उमाविमा पढाउँदै गरेका प्रतापसिंह धामीलाई दुर्गा उमावि, आलितालको प्रअ बनाउनका लागि व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकले कर गरेर २०६२ सालमा ल्याएका थिए । माविको प्रअ हुन स्नातकोत्तर वा १० वर्ष स्थायी सेवा गरेको शिक्षक हुनुपर्छ । उनी स्नातकोत्तर भए पनि स्थायी शिक्षक थिएनन् । तर उनलाई स्थानीय बासिन्दाको विश्वास थियो ।

दुई पटक निल र पटक–पटक एसएलसीको नतिजा खराब भएपछि त्यस विद्यालयका शिक्षकहरूले पूरा तलब पाउन सकेका थिएनन् । तर धामीले नेतृत्व लिएको वर्ष विद्यालयकै इतिहासमा पहिलो पटक ३ जना विद्यार्थी प्रथम श्रेणीमा पास भए । २५ मा १६ जना उत्तीर्ण भए । विद्यार्थी सङ्ख्या पनि ४०० बाट बढेर ८०० पुग्यो । जस्तापाताले छाइएका ४ वटा कच्ची भवन भएको विद्यालयले थप ५ वटा पक्की भवन बनाउन भारतीय दूतावासको रु.२ करोड ३८ लाख सहयोग पायो । अहिले १८ कोठाका दुई तले, दुईवटा पक्की भवन निर्माण हुँदैछ । ६ वर्षअघि ३६ हजार विद्युत महसुल तिर्नु नसकेर लाइन काटिएको विद्यालयको चल्ती खातामा रु.१६ लाख र मुद्दती खातामा रु.५ लाख छ । ९ वटा कम्प्युटर छन् । २० वटा अरु थपिँदै छन् । “धामीकै अग्रसरतामा यी सबै काम सम्भव भएको हो ।” विद्यालयका पूर्व शिक्षक तथा अभिभावक धनबहादुर देउवा भन्छन् ।

सभासद्को स्वार्थ
सभासद् हरिलाल थापा आफ्ना समर्थक तथा दुर्गा उमाविका शिक्षक नारायणदत्त जोशीलाई आलिताल स्रोत केन्द्रको स्रोत व्यक्ति बनाउन चाहन्थे । स्रोत केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दुर्गा उमाविका प्राचार्य प्रतापसिंह धामीलाई सभासद् थापाले ६ माघ २०६७ को बिहान जोशीलाई जसरी भए पनि स्रोत व्यक्ति बनाउन दवाव दिएका थिए । तर स्रोत केन्द्र अन्तर्गतका ४० भन्दा बढी प्रअले सर्वसम्मतिबाट नन्दराज पन्तलाई स्रोत व्यक्तिमा चयन गरे पछि सभासद् थापा धामीसँग रिसाएका थिए । त्यसपछि सभासद् थापाले धामीलाई नै हटाएर यिनै जोशीलाई दुर्गा उमाविकै प्रअ बनाउने प्रयत्नमा लागे । यस सिलसिलामा सभासद् थापाले पछिल्लो पटकको नौ कक्षाको परीक्षाको नतिजामा मनपरि गरेको आरोप थापालाई लगाए । शिक्षकद्धय शोभासिंह राना र कर्णबहादुर बोहराले केही विद्यार्थीलाई नम्बर बढी दिएर उत्तीर्ण गरेको विषयलाई लिएर सभासद् थापाले विद्यालयमा भेला डाक्न लगाए ।

तर त्यो विवाद सम्वद्ध शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , सदस्य र अन्य शिक्षक बसेर पहिल्यै टुङ्ग्याइसकेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष को अनुपस्थिति र प्रअको सल्लाहविना डाकिएको भेलामा सभासद्ले धामीलाई तत्काल राजीनामा गर्न दवाब मात्र दिएनन्, जिउँदै जलाइदिने धम्की नै दिए । शिक्षा नियमावली अनुसार धामी योग्य नठहरिएको जनाउँदै असार मसान्तभित्र धामीले राजीनामा गर्ने र नौ कक्षाको परीक्षामा कमजोरी गरेको भन्दै शिक्षकद्वय शोभासिंह राना र कर्णबहादुर बोहरालाई दुई महिनाले हुन आउने तलबको रकम विद्यालयलाई दिनुपर्ने लिखित निर्णय गर्न लगाए । दुवै शिक्षकको मासिक तलब रु. १० हजार ५ सय र महँगी भत्ता १ हजार २ सय पाउँछन् । यस निर्णयलाई विद्यालय व्यवस्थापन समितिका सदस्य र अभिभावक गरी चार जनाले ‘नोट अफ डिसेण्ट’ लेखे । धेरैले हस्ताक्षर गरेनन् । (हेर्नुस् निर्णय)
आफूलाई साथ नदिने विद्यालय व्यवस्थापन समितिका सदस्यहरूलाई सार्वजनिक कार्यक्रममै सभासद् थापाले तल्लोस्तर मा उत्रेरगालीगलौज समेत गरेको कुरा पीडित सदस्यले बताएका छन् ।

राजनीतिक पूर्वाग्रह राखी प्रअ धामीलाई हटाउन खोजेको आरोप लागेका सभासद् थापाले सामान्य घटना माथि राजनीति भइरहेको बताएका छन् ।” प्रअ धामी हटाउन सभासद् थापालाई साथ दिएका दुर्गा उमाविका अभिभावक संघका अध्यक्ष टीकाराम राना भन्छन्, “धामीले विद्यालयका लागि रराम्रो काम गरेका छन् । विवाद चाहिँ फेल भएका विद्यार्थीलाई पास गरेर अनियमितता गरेको हो । मिडियाले प्रअको राजीनामाको कुरा मात्र उठाएका छन् ।”

commercial commercial commercial commercial