प्रतिक्रिया र सुझाव
खुसी लाग्यो
शिक्षक जेठ २०६८ मा प्रकाशित सामुदायिक निमाविले देखाएको अनुकरणीय बाटो (‘हाम्री म्याडम, राम्री म्याडम’) रिपोर्ट पढ्दा ज्यादै खुसी लाग्यो । यसले खस्किएको सरकारी विद्यालयको शैक्षिक अवस्था सुधार्न र त्यसप्रतिको आकर्षण बढाउन सकिन्छ भन्ने मार्गदर्शन गरेको छ । यसलाई श्रव्य–दृश्यमार्फत देशका सबै स्थानमा पुर्याउन सकेको खण्डमा हामी जस्तालाई पनि त्यसबाट ज्ञान हासिल गर्न सम्भव हुनेथियो ।
यस्तै; ‘बालबालिकाका लागि मौरीको रानो जस्तै’ (शिक्षक चैत २०६७) मा प्रकाशित विषयवस्तु मलाई अत्यन्तै मन परेको थियो । शिक्षणको नाममा बन्द कोठामा घोकन्ते सिकाइभन्दा शिक्षक राम कुमार तामाङले जस्तै गरी शिक्षण गर्नु बढी प्रभावकारी र व्यावहारिक हुन्छ ।
पुष्पराज शर्मा
लिटिल एञ्जल एकेडेमी, स्यानिखालु–१, सल्यान
चिट चोर्न नसिकाइदेऊ
‘फलामे ढोका कि फुसको बेरा ?’ (शिक्षक, चैत २०६७) लेख चित्तबुझदो लाग्यो । परीक्षा प्रणालीलाई अत्याचारको मुखमा पुरयाउने शिक्षक, विद्यार्थी, अभिभावक जो कुनैले पनि अर्काको सट्टा आफ्नै खुट्टामा उभिन सक्ने कसरी हुने ? चार–पाँच वर्ष अगाडि सम्म पनि शिक्षक–विद्यार्थी धेरै मिहिनेत गर्दथे तर अहिले शिक्षक–विद्यार्थी पढाइमा होइन, चिट चोराउन मिहिनेत गरिरहेका छन् । शिक्षकहरू विद्यार्थीलाई त बिगार्दै छन् नै; स्वयम् आफंै पनि खिचडी बन्न पुगेका छन् । आउँदा परीक्षाहरूमा विगत जस्तो नहोस् भन्ने मेरो चाहना छ । भनिन्छ, ‘अर्काको भर चाँडै मर ।’ यो वास्तवमा सर्वसत्य पनि छ । आजका शिक्षक हाम्रा छोराछोरीलाई चिट चोराउनसम्म सिपालु छन् । तर यस्तै हो भने भोलि हाम्रा सन्ततिहरू चिट चोराउन त के, कलमकापी कसरी समाउने भन्ने पनि थाहा नपाउने हुन के बेर ? आजका शिक्षकहरू जुनिभरी रहने होइनन् । आज सारेर पास भएका विद्यार्थीले भोलि कस्तो शिक्षण गर्लान् ? कस्तो दक्ष जनशक्ति तयार पार्लान् ? अचम्म लाग्दछ !
पल्लवराज जोशी
रिठाचौपाता–८, मैखोली, दार्चुला
मेरो सुझाव
‘जमाना मोबाइल लर्निङको’ (शिक्षक चैत २०६७) मा प्रकाशित शीर्षक निकै पठनीय र उपयोगी लाग्यो । मोबाइलको दुरुपयोगका कारण केही मानिसमा यसप्रति नकारात्मक सोच भएको पाइन्छ । तर मोबाइल आफैंमा नरराम्रो होइन; यसलाई सदुपयोग वा दुरुपयोग के गर्ने भन्ने प्रयोग गर्ने कै हातमा भरपर्छ । मोबाइलको रचनात्मक उपयोग सम्बन्धी सोच प्रस्तुत गरेकोमा शिक्षक लाई धन्यवाद । आगामी अङ्कहरूमा पनि यस्तै उपयोगी र व्यावहारिक ज्ञान दिने सामग्रीको अपेक्षा गर्दै शिक्षक लाई केही सुझाव दिन चाहन्छुः
– हरेक अङ्कमा स्थानीय वस्तुबाट विज्ञान प्रदर्शन/प्रयोगशालाका लागि आवश्यक सामग्री निर्माण गर्ने तरिका, विज्ञानका परीक्षण क्रियाकलाप राख्नु जरुरी छ ।
– शिक्षकलाई आवश्यक पर्ने दर्शन सम्बन्धी ज्ञान जस्तै; उत्तर आधुनिकतावाद, माक्र्सवाद, सापेक्षतावाद, अर्थशास्त्र, इतिहास, समाज शास्त्रबारे सरल र रोचक भाषामा सङ्क्षिप्त जानकारी उपयोगी हुनेथियो ।
– शिक्षा सम्बन्धी राष्ट्रिय /अन्तर्राष्ट्रिय व्यक्तित्वहरूका चिन्तन हरेक अङ्कमा राख्नु जरुरी छ ।
प्रदीप पौडेल
अनामनगर, काठमाडौं
कस्तो चिटिङ, जाँच नै दिन सकिनँ !
शिक्षक मासिक शैक्षिक गुणस्तर उकास्न प्रयत्नशील छ भन्ने मेरो ठम्याइ छ । उसो त प्रायः सबै अभिभावक, शैक्षिक प्रशासन, शिक्षक, बुद्धिजीवी र शिक्षा क्षेत्रसँग सम्बद्ध व्यक्ति शैक्षिक गुणस्तर सुधारका हिमायती देखिन्छन् । तर के सबैले आ–आफ्नो ठाउँबाट इमान दारीसाथ प्रयत्न गरेका छन् त प्रश्न पनि उठ्छ । किनभने हराम्रो स्कूल शिक्षाको गुणस्तर झन्झन् खस्कँदो छ ।
गत चैत महिना एसएलसी परीक्षाको मौसम थियो । सरकारबाट परीक्षामा अनियमितता रोक्न कडा नियम बनाइयो । तर अनियमितता भने रोकिएन । ‘खेताला’ परीक्षार्थी (नक्कली)ले परीक्षा दिए, कुनै–कुनै समातिए कतिपयले निर्विघ्नपूर्वक परीक्षा दिए । समातिएका मध्येलाई पनि कडा कारबाही भएको जानकारी पाइएन ।
हराम्रो बझङ जिल्ला झन् नामुद जिल्ला । यहाँ चिटिङ रोकिने कुरै भएन । केही केन्द्रहरूमा नक्कली परीक्षार्थी समातिए तर खास कारबाही भएन । किनभने कारबाही गर्न खोज्ने एकजना भए बचाउ गर्ने हजार जना । ठूलाबडाहरूले आफ्नो मान्छे भन्दै हस्तक्षेप गर्ने । अनि कसरी होस् हदैसम्मको कारबाही ! अनि कसरी रोकियोस् अनियमितता ?
एसएलसीमा मात्र कहाँ होर र ? यसपालि म बीएड प्रथम वर्षको परीक्षा दिन गएँ । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा थियो । प्रश्नपत्र हातमा आउनासाथगेसपेपरहरू पल्टाउन थाले परीक्षार्थीहरू । हल्ला यति गर्न थाले कि मलाई प्रश्नको उत्तर सोच्न मुस्किल परयो । दुई घण्टामै कापी बुझएर घर फर्कें र फेरि अरु विषयको परीक्षा दिनगइनँ ।
चेतराज मिश्र
कालिका निमावि, दिपिल, बझङ
‘मोबाइल’ विज्ञान प्रयोगशाला किन नबनाउने ?
विज्ञान विषयको अध्ययन/अध्यापनलाई प्रभावकारी बनाउनको लागि ‘ गरेर सिक्ने’ अवसर उपलब्ध गराउन सक्नुपर्छ । विज्ञान विषयलाई प्रयोगात्मक शिक्षणले प्रस्ट पार्न सके मात्र वास्तविक शिक्षण हुन जान्छ । त्यसनिम्ति विज्ञान प्रयोगशालाको आवश्यकता पर्दछ ।
विज्ञानलाई अनिवार्य विषय बनाइएको भए तापनि यसको प्रभावकारी शिक्षणका लागि हाम्रा सबै स्कूलमा विज्ञान प्रयोगशाला छैनन् । यस्तो समस्याको समाधान गर्न ‘मोबाइल लेव्रोटरी’को अवधारणा उपयुक्त हुनसक्छ । विज्ञान कक्षामा प्रयोग गर्न आवश्यक पर्ने सबै उपकरणहरू खुल्ला र केही फराकिलो खालको सवारी साधन (बस, जीप आदि) मा सजाएर यसखालको चलायमान प्रयोगशाला (मोबाइल लेव्रोटरी) बनाउन सकिन्छ । यस्तो प्रयोगशालाको माध्यमबाट थुप्रै विद्यालयको विज्ञान कक्षालाई सार्थक तुल्याउन सकिन्छ ।
गोविन्दप्रसाद पाठक
प्रभा उमावि, बोहरा गाउँ, बाग्लुङ
विस्थापितलाई नबिर्सियोस् !
शिक्षक समस्याको समाधान पहिल्याउन १६ पुस २०६५ मा शिक्षा मन्त्रालयका सह–सचिव जनार्दन नेपालको संयोजकत्वमा गठित २३ सदस्यीय कार्यदलले तयार गरेको प्रतिवेदन बनेपछि शिक्षक–सरकारबीच विभिन्न बुँदाहरूमा सहमति भएको थियो । त्यसमध्ये एउटा बुँदा शिक्षक सेवा आयोगबाट लिएको २०६१/६२ को आन्तरिक प्रतिस्पर्धात्मक (अस्थायी शिक्षकहरूको निम्ति मात्र) परीक्षामा वैकल्पिक उम्मेदवारको रूपमा उत्तीर्ण भई हालसम्म शुद्ध रिक्त दरबन्दीमा कार्यरत शिक्षकहरूलाई कानुनमा व्यवस्था गरेर स्थायी नियुक्ति दिने कुरा उल्लेख छ । तर हामी १० वर्षसम्म काम गरेर विस्थापित भएका र वैकल्पिक सूचीमा रहेका शिक्षकहरूको लागि त्यसमा उल्लेख छैन । यसमा विस्थापित शिक्षकहरूले पनि समान अवसर पाउनुपर्ने हो । नत्र भने नागरिक अधिकारको हनन् हुने भयो । आयोग दिइसकेपछि अवसर सबैले समान पाउनुपर्छ ।
लीलाधर जोशी
मालिकार्जुन मावि, रिठाचौपाता–६, दार्चुला
प्राथमिकता सीप शिक्षाको
सुगारटाइ र एउटै किसिमको सैद्धान्तिक शिक्षाले मात्र अब हाम्रा विद्यार्थीलाई समयसापेक्ष र दक्ष बनाउन असम्भव छ । ‘सीप शिक्षाः धूलो टकटक्याऊँ, खिया पुछौं’ (शिक्षक, वैशाख २०६८) ले यही यथार्थलाई चित्रण गरेको छ । यो अङ्कले नेपालमा व्यावहारिक र सीपमूलक प्राविधिक शिक्षाको आवश्यकता टड्कारो रूपमा देखाएको छ । जसरी शान्ति विद्या गृह , लैनचौरमा गृह विज्ञान, औद्योगिक शिक्षा तथा विराटनगरको सत्यनारायण उमाविमा खाद्य विज्ञानको शिक्षा शिक्षण भइरहेको छ त्यस्तै गरी अन्य विद्यालयमा पनि यस्ता प्रयोगात्मक व्यावसायिक शिक्षाको अपरिहार्यता देखिन्छ ।
बुद्धिलाल तामाङ
हरमटारी, गोरखा–३, गोरखा
यस्तै लेख पढ्न पाइयोस्
‘द्+य’ पढौं ‘विध्यालय’ बन्दगरौं ! (शिक्षक, वैशाख २०६८) पढ्न पाउँदा अत्यन्त खुसी लाग्यो । सबैतिर नेपाली भाषाको शुद्ध उच्चारण र लेखाइको अभाव देखि एका बेला उक्त लेखले थोरै भए पनि महत्वपूर्ण सहयोग पुर्याएको छ । कतिपय शिक्षक तथा धेरै विद्यार्थीहरूलाई नेपाली भाषामा प्रयोग हुने संयुक्त वर्णको बारेमा स्पष्ट जानकारी नहुँदा नै त्यस्तो गल्ती हुने गरेको हो । मूलतः प्राथमिक तहमा नेपाली भाषा पढाउनु हुने शिक्षक साथीहरूलाई उक्त लेखगतिलो खुराक हुन सक्छ । थुप्रै हुने गरेका वर्ण र व्याकरणका त्रुटिहरू, शिक्षण विधिहरूलगायत अन्य रोचक दृष्टान्तहरू पनि शिक्षक मासिकमा पढ्न पाइयोस् ।
लक्ष्मण खनाल
श्री माध्यमिक विद्यालय
हरिहरपुरगढी–८, चिसापानी, सिन्धुली
चित्त बुझयो
शिक्षक मित्र बाल कुमार जमरकट्टेलको ‘हाम्रा पाँच कमजोरी’ (शिक्षक, वैशाख २०६८) पढ्दा अत्यन्तै चित्त बुझयो । निश्चय पनि हामी शिक्षकहरूमा आफ्नो पेशाप्रति दायित्व बोध हुनै पर्छ । यद्यपि शिक्षकहरूको विभाजन तथा आफू समर्थित सरकार हुँदा कानमा तेल हालेर बस्ने र आफू समर्थित सरकार नहुँदा आन्दोलन गर्ने नेतृत्व वर्गको मनोवृत्ति अत्यन्तै दुरासयपूर्ण छ । आफ्नो पेशागत हकहितको लागि सबै शिक्षकहरू एक हुनैपर्छ ।
लीलाप्रसाद शर्मा, पौडेल
भीम मावि, राजदाङ, म्याग्दी
.................
‘हाम्रा पाँच कमजोरी’ शीर्षकको लेख पढ्दा लाग्छ– हामी शिक्षकहरू पेशागत दायित्वलाई चटक्क भुलेर अधिकारतर्फ लालायित भएका मात्र नभई लाखौं विद्यार्थीहरूको भविष्य माथि नै खेलबाड गरिरहेका छौं । शिक्षक समाज को चेतनारुपी ऐना हो । तसर्थ उसले ठीक वा बेठीक छुट्याएर समाज लाई सही मार्गदर्शन गर्नु आवश्यक छ ।
‘अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा हुन्’ भन्ने यथार्थलाई मनन् गर्दै हरेक शिक्षकले आफ्नो कर्तव्य पालन गरेर मात्र अधिकार खोज्नु सान्दर्भिक हुन्छ । ‘संसार बदल्नु छ, शुरु आफंैबाट गरौं’ भन्ने उक्तिलाई मनन् गरी हामी शिक्षकहरूले आफूमा रहेका कमजोरीहरूलाई हटाउन आजै देखि सुरुआत गर्ने हो कि ?
राजन भुजेल
भाषा निमावि, बडकादियाले–५, खोटाङ



