शैक्षिक सामग्री सङ्ग्रहालय
शैक्षिक भ्रमणको क्रममा पोखराको पर्वतीय सङ्ग्रहालय अवलोकन गरे पछि झापाको सुरुङ्गास्थित सिंहदेवी निमाविका प्रअ डम्बर फुँयाल र उनका सहयोगी शिक्षकहरूले आफ्नो स्कूलमा त्यस्तै सङ्ग्रहालय बनाउने निधो गरे । आफ्नो निर्णय साकार पार्न विद्यालयमै ‘शैक्षिक सामग्री’ कार्यशाला सञ्चालन गरे । कार्यशालामा अभिभावकले बाँस, काठ र परालका परम्परागत सामग्री मात्र बनाइदिएनन्, तिनले आफूसँग भएका ठेकी, मदानी, ढ्याङ्ग्रो, कर्द, चुलेसी, हर्पे, माली जस्ता दैनिक प्रयोगमा आउने औजार र भाँडाकुँडा पनि सङ्ग्रहालयलाई उपहार दिए । तरबार, खुँडा, ढाल जस्ता फलामका सामग्री चाहिं किनिए ।
संकलित सामग्री राखिएको स्कूलको कोठालाई २६ पुस २०६७ देखि शैक्षिक सामग्री सङ्ग्रहालय नाम दिइएको छ । सङ्ग्रहालयमा २५० वटा नयाँ पुराना सामग्री छन् । छात्रछात्रालाई ती सामग्रीका बारेमा बेला बेला बताउने गरिएको छ । यता आएर अरू जिल्ला र विद्यालयका शिक्षक र छात्रछात्रा पनि सङ्ग्रहालय हेर्न आउन थालेका छन् । प्रअ फुँयाल भन्छन्, ”शैक्षिक भ्रमणलाई सिकाइमा बदल्न सकिने रहेछ । स्कूलमा हामीले यो नौलो प्रयोग गरेका हौं ।”







