सरकारी स्कूल लोभलाग्दा पनि छन् !

सूर्योदयको अनुकरणीय ‘टिमवर्क’

इलामको चुलाचुली–५ स्थित सूर्योदय प्राविका प्रअ भोजराज बुढाथोकी (४५) को कार्यकक्ष औसत सरकारी प्राविको भन्दा उम्दा र आकर्षक देखिन्छ । बुढाथोकीको स्कूल समय प्रायः शिक्षकको जस्तो १०–४ मा सीमित छैन । उनको १०–१२ घण्टा स्कूलमै बित्छ । सूर्योदय प्रावि इलामको नमुना स्कूल बन्न सक्नुमा सम्भवतः प्रअ बुढाथोकीको यस्तै समर्पण र लगनले काम गरेको छ ।
१६ वैशाख २०५७ मा इलामको विद्या सृजनात्मक मावि (तत्कालीन प्रावि) बाँजोबाट सरुवा भएर आएका बुढाथोकीले १० वर्षमा सूर्योदयको कायापलट नै गरिदिएका छन् ।   

स्कूल चम्काउन भोजराजले अपनाएको शैली मौलिक छ । उनी हरेक काम योजना अनुसार गर्छन् । हरेक वर्ष स्कूल सञ्चालनको विस्तृत योजना बनाउँछन् । त्यसबारे शिक्षक–अभिभावकसँग छलफल गर्छन्, पारित भएपछि लागू गर्छन् । भर्खरै शुरु भएको शैक्षिक वर्षका लागि रु.१६ लाख ५४ हजार बजेट र कार्यक्रम तयार गरिसकेका छन् भोजराजले । उनले स्कूलले सम्पन्न गरेका हरेक कामको व्यवस्थित र विस्तृत अभिलेख राखेका छन् । “मरेर जाँदा केही लान्नँ । म बाँचेको समाज का लागि केहीगरौं र मरेपछि अरूले सम्झ्उिन् भनेर स्कूलका लागि मरिमेटेको हुँ”, उनी भन्छन् ।

भोजराजसँग स्कूल क्षेत्रका अभिभावकको विस्तृत सूची मात्र होइन, घरधुरी विवरण पनि छ । अभिभावक, शिक्षक र छात्रछात्रालाई निश्चित नियममा बाँधेर स्कूलको शैक्षिक स्तर सुधार्न छुट्टाछुट्टै आचारसंहिता परिपालन गर्ने गरिएको छ । कसैले पनि आचारसंहिता उल्लङ्घन गरेको रेकर्ड छैन ।  

स्कूलको पठनपाठनलाई नियमित र प्रभावकारी तुल्याउन वार्षिक शैक्षिक क्यालेण्डर लागू गरिएको छ । त्यसमा स्कूल खुल्ने र पढाइ हुने, बिदा, परीक्षा, अतिरिक्त क्रियाकलाप सञ्चालन हुने तिथि तय गरिएका छन् । शैक्षिक क्यालेण्डर पछ्याएका कारण २०६७ सालमा उक्त विद्यालय २३९ दिन खुल्यो । जबकि सरकारी नियम अनुसार वर्षमा २२० दिन स्कूल खोले पुग्छ । पठनपाठनलाई व्यवस्थित तुल्याउन हरेक वर्ष कक्षा ४ र ५ मा अतिरिक्त कक्षा चलाउने गरिएको छ । यसबाट छात्रछात्राको सिकाइ उपलब्धि सुधार गर्न सहयोग पुगेको छ ।

कक्षाकोठा व्यवस्थापनमा पनि राम्रैसँग ध्यान दिइएको छ, सूर्योदय प्राविमा । सबै कक्षाका भित्तामा गणित, अङ्ग्रेजी, नेपाली लगायत पाठ्यपुस्तकका महत्वपूर्ण पाठका चित्रहरू कोरिएका छन् । कक्षामा छिर्ने वित्तिकै त्यसमा नानीहरूका आँखा परुन् भनेर त्यस्तो गरिएको प्रअ बुढाथोकी बताउँछन् । छात्रछात्रालाई हरेक वर्ष शैक्षिक भ्रमणमा समेत लैजाने गरिएको छ । भ्रमणबाट फर्केपछि त्यसको सिकाइका बारेमा विद्यालयमा छलफल गरिन्छ ।

नेपालका धेरै स्कूलले शैक्षिक सामग्रीको अभाव झेलिरहेका छन् । शैक्षिक सामग्री उपलब्ध भएका विद्यालयहरूमा पनि त्यसको सही सदुपयोग हुनसकेको देखिँदैन । तर, सूर्योदय प्रावि यसको अपवाद बनेको छ । सूर्योदयमाग्लोब, मादल, तराजु, ढक, लिटर, एट्लस, थरिथरिका चार्ट र नक्सा, ठूलो ज्यामिति बक्स, पिरामिड, क्युबिक, माछा पजल, काउन्टिङ स्टेन्ड मात्र होइन एबीसी ब्लक, राष्ट्रिय चिन्ह, नमुना घडी, कक्षागीत क्यासेट आदि थुप्रै सामग्री सङ्कलित छन् । यस्ता सामग्रीलाई विद्यालयले पठनपाठनको अभिन्न अङ्ग बनाएको छ । स्कूलको बजेट बनाउँदा नै शैक्षिक सामग्री खरिद गर्न रकम विनियोजन गरिन्छ । “स्थानीय स्रोतको अधिकतम प्रयोग गरेर उच्चतम शैक्षिक उपलब्धि हासिल गर्न अघिबढेको स्कूल हो सूर्योदय प्रावि । तामझम छैन, कक्षाकोठाको पढाइबाट शैक्षिक उपलब्धि हेर्न सकिन्छ” इलामका विनि टेकनाथ रेग्मी भन्छन् ।

सूर्योदयमा शिक्षकहरूले पाठयोजना बनाउने गरेका छन् । त्यसनिम्ति प्रअले हरेक शिक्षकलाई डायरी उपहार दिएका छन् । त्यस्तै; पाठ्यक्रमले परिलक्षित गरेका कक्षागत र तहगत शैक्षिक उपलब्धि हासिल गर्न सहयोग पुगोस् भनेर सबै शिक्षकलाई पाठ्यक्रम र शिक्षक निर्देशिका पनि स्कूलले उपलब्ध गराए को छ । सो प्राविका शिक्षक हरि कुमार घिमिरे भन्छन्, “हामीलाई कक्षाकोठामा रराम्रोसँग पढाउन आवश्यक पर्ने सबै व्यवस्था स्कूलले गरिदिएको छ ।”

सूर्योदय प्राविका सबै शिक्षक विद्यालयमा १० बजे नै आइसक्छन् । शिक्षकले बिदा बस्नु पर्दा स्कूलले तयार गरेको बिदा फारम भरेर प्रअको स्वीकृत लिने परिपाटी बसाइएको छ । दुई जना स्थायी, दुई राहत, एक पीसीएफ र एक जना निजी शिक्षकले दैनिक ६ घण्टी पढाउने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर खालिङ प्रअ बुढाथोकीको शैक्षिक र प्रशासनिक नेतृत्वलाई शिक्षक, छात्रछात्रा र गाउँलेले शिरोपर गरेकाले आफ्नो विद्यालय जिल्लाको नमुना बनेको बताउँछन् । स्कूल नजिकैका अभिभावक केशवगुरागाईं थप्छन्, “शून्यबाट शुरु भएर आजको अवस्थामा पुगेको हो यो स्कूल ।”

“कहिलेकाहीँ सरहरूलाई हेडसरले कति काम लगाएको वा पेलेको जस्तो पनि लाग्दो हो । तर, म सकभर खुशी पारेर नै उहाँहरूलाई स्कूलको उन्नतिमा लाग्न प्रेरित गर्छु”, प्रअ बुढाथोकी भन्छन् । प्रअको मिहिनेत र कुशल नेतृत्व अनि लगनशील शिक्षकका कारण जिशिका इलामले २०६३ मा सूर्योदय प्राविलाई जिल्लाको नमुना प्राविको रूपमा पुरस्कृत गरेको थियो । उक्त विद्यालयबाट कक्षा पाँच पूरा गरेर अरू स्कूलमा भर्ना हुने छात्रछात्राले रराम्रो गर्ने गरेको जनता उमावि चुलाचुलीका प्रअ षडराजगड्तौला बताउँछन् । २०५१ सालमा स्थापना भएको सूर्योदय स्कूलले कक्षा पाँच सञ्चालन गर्ने स्वीकृति २०६५ सालमा मात्र पाएको हो । अहिले उक्त विद्यालयमा जम्मा २४० जना छात्रछात्रा छन् । यीमध्ये छात्राको सङ्ख्या ११७ रहेको छ ।

हेर्नलायक दुर्गा प्रावि

जीतबहादुर कार्की इलामको बरबोट–६ स्थित दुर्गा प्राविका प्रअ हुन् । उनको जीवनशैली स्थानीय किसानको भन्दा धेरै फरक लाग्दैन । उनी खेतमा काम गरेर थाकेको किसान जस्तै देखिन्छन् । हुन पनि कार्कीले किसानकै जसरी स्कूलकोगोडमेल गरेका छन् । अभिभावक, सहकर्मी शिक्षक र छात्रछात्राको भनाइमा उनी शनिबार पनि विद्यालय जाने गर्छन् । स्कूलको सरसफाइ, भवन निर्माण, कक्षा शिक्षण, शिक्षक बैठक आदि सबै काममा उनी अहोरात्र जुट्छन् । उनको सक्रियताकै कारण सहकर्मी शिक्षक र अभिभावकले कार्कीको नेतृत्व अपरिहार्य ठानेका छन् । प्रअ कार्की पनि त्यस्तै ठान्छन् । उनी भन्छन्, “मैले रातदिन स्कूलमा पाले देखि हेडमास्टरसम्मको भूमिका निर्वाह गरेकाले होला अभिभावकले स्कूलको नेतृत्व गर्ने मौका दिएका हुन्, त्यसैले मैले राजिनामा दिँदा पनि स्वीकृत हुँदैन ।” प्रअ/शिक्षकले आफ्नो श्रम र सहकार्यको सुखद् परिणाम पनि पाएका छन् । उनीहरूको स्कूल आजभोलि ‘इलामको पर्यटन प्रावि’ का रूपमा चिनिन थालेको छ । देशका विभिन्न भागबाट इलाम पुग्ने शिक्षाका सरोकारवाला एकपटक दुर्गा प्राविमा ठोक्किन पुग्छन् नै ।

दुर्गा प्राविको भौतिक/शैक्षिक सुधारकोग्राफ उकालो लाग्न थालेको धेरै भएको छैन । २०४५ सालमा स्थापना भएको उक्त विद्यालयको भौतिक/शैक्षिक अवस्था २०६३ सम्म दयनीय थियो । बाँसको बेरा अनि कच्चीगारोमा ठडिएको थियो स्कूल । तर, शिक्षक–अभिभावक मिलेर स्कूल सुधार अभियान चलाए । फलतः हिजो र आजको दुर्गा प्राविमा ठूलो अन्तर देखिन्छ ।
पठनपाठन नियमित हुने गरेकाले लिम्बुवान/खम्बुवानको बन्द/हडतालका बाबजुद पनि गत वर्ष दुर्गा प्रावि २४० दिन खुल्यो । स्कूलका शिक्षकहरू हम्मेसी बिदा लिँदैनन् । लिनै परे पनि कक्षामा बाधा नपुग्ने तरिकाले बिदा लिन्छन् । ७ जना शिक्षक, ५९ जना छात्रा अनि ६५ जना छात्र रहेको उक्त विद्यालय जिल्लामा शतप्रतिशत भर्ना गराउने विद्यालयमा दरिन पुगेको छ । २०६७ सालको शैक्षिक सामग्री प्रदर्शनीमा यो प्रावि इलाम र पूर्वाञ्चल क्षेत्रमा प्रथम भयो । स्कूलले शैक्षिक क्यालेण्डर लागू गरेको छ भने शिक्षकहरू दैनिक पाठयोजना अनुसार कक्षाकोठामा जान्छन् । उक्त स्कूलकी शिक्षक भूमिकागौतम आफ्नै स्कूल भएको ले रराम्रोगरौं भन्ने भावना रहेको धारणा राख्छिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ भट्टराईको विद्यालयप्रतिको लगाव लोभलाग्दो छ । उनी महिनामा औसत २२ दिन स्कूलमा उपस्थित हुन्छन् । विश्वनाथको काम विद्यालयमा के कमी छ ? शिक्षकहरूले नियमित कक्षा लिएका छन् कि छैनन् भन्ने अनुगमन गर्नु हो । उनी भन्छन्, “अरू बेला खाना खाएर अनि ब्रत लिएको बेला भोकै पनि स्कूल आउँछु, समस्या सुन्छु र समाधान गर्ने कोशिश गर्छु । जिल्लाकै नमुना स्कूल बनाउन खोजिएको हो, हामी आफैँले डोको बोकेर बनाएको स्कूल हो यो ।” भट्टराई व्यवस्थापन समितिको अध्यक्ष भएको दुई कार्यकाल भएको छ भने स्कूल सुधारको अभियानले पनि त्यति नै समय पूरा गरेको छ ।

व्यवस्थापन समितिका पदाधिकारी, प्रअ तथा शिक्षकका छोराछोरी पनि सोही स्कूलमा पढ्छन् । प्रअ जीतबहादुर कार्कीकी छोरी विपना कार्कीले दुर्गा प्राविबाट कक्षा पाँच पूरा गरे की हुन् भने अहिले सानो छोरा कक्षा एकमा भर्ना गरिएका छन् । अर्का शिक्षक बीरबहादुर जोगीका छोरा टङ्क कुमार जोगी दुर्गा प्राविमै कक्षा ४ मा पढ्दै छन् । शिक्षक रेणुका नोगुकी छोरी मिस्लिम यसै वर्ष कक्षा १ मा भर्ना गरिएकी छन् । शिक्षकहरूमा आफ्ना छोराछोरीलाई निजी स्कूलमा पढाउँ भन्ने भावना छैन । शिक्षक र अभिभावकले सरकारी स्कूलमा छोराछोरी पढाउन थालेका कारण स्कूल क्षेत्रका प्रायः सबैजसो अभिभावकले पनि आफ्ना नानीहरूलाई सोही स्कूलमा भर्ना गरेको पाइन्छ ।

दुर्गा प्राविबाट कक्षा ५ पूरा गरेका व्यवस्थापन समितिका अध्यक्ष भट्टराईका दुई छोरामध्ये जेठा ठाकुरमणि भट्टराई शास्त्री सकेर पण्डित भइसकेका छन् भने सोही स्कूलमा पढेका कान्छा छोरा पशुपतिनाथ भट्टराई कम्प्युटर इन्जिनियर छन् । आफ्ना छोराले निजी स्कूलमा पढेका विद्यार्थीले भन्दा रराम्रो गरेकाले आफूलाई सरकारी स्कूलको उन्नतिमा योगदान गर्न प्रेरणा मिलेको विश्वनाथको विश्वास छ ।

विद्यालयको पठनपाठनप्रति स्थानीय महिलाहरूको चासो झन् रोचक छ । उनीहरूले आमा समूह बनाएर स्कूलका समग्र गतिविधिलाई निगरानी गरेका छन् । यसबाट शिक्षकहरूमा स्कूललाई रराम्रो पार्न थप प्रोत्साहन र दबाब परेको पाइन्छ । इलामका जिशिअ महेन्द्र पौडेल आफैँले काम गरेर देखाउने प्रअ र प्रअलाई सहयोग गर्ने शिक्षक–अभिभावकका कारण दुर्गा प्रावि हेर्न लायक स्कूल बनेको धारणा राख्छन् ।

मधेशको नमुनाः राष्ट्रिय जनता प्रावि

मधेशका कतिपय सार्वजनिक स्कूलको पठनपाठन बर्बाद भइरहेका बेला सरकारी स्कूलप्रति अभिभावकलाई आशावादी बनाउन सफल भएको छ सिरहाको फुलकाहाकट्टी–६ स्थित राष्ट्रिय जनता प्रावि । उक्त स्कूलको आशलाग्दो व्यवस्थापन र पठनपाठनबाट आकर्षित भएपछि फुलकाहाकट्टी–९ का मनिराम यादवले निजी स्कूलमा पढ्दै आएका छोराहरू आनन्द यादव र सन्तु यादवलाई भर्खरै यो प्राविमा सारेका छन् । अघिल्लो वर्ष ७ जना छात्रछात्रा निजी विद्यालय छाडेर यो स्कूलमा आएका थिए ।

राष्ट्रिय प्राविमा बालमैत्री कक्षा सञ्चालन गरिएको छ । नानीहरूका निम्ति खेल र मनोरञ्जनका सामग्री जुटाइएको छ । स्कूलको आकर्षक वातावरणका कारण छात्रछात्रा रमाएर नियमित रूपमा स्कूल आउने गरेको शिक्षक शम्भु यादव ‘नेपाली’ बताउँछन् । स्कूल अनुशासनलाई पठनपाठनको अभिन्न अङ्ग बनाइएकाले पढाइ भइरहेको बेला कोही पनि कक्षा बाहिर हुँदैनन् । दिशा, पिसाब गर्न र पानी पिउन पनि परिचयपत्र भिरेर निस्किनुपर्छ । प्रधानाध्यापक फेकन झ थप्छन्, “अनुशासन विना रराम्रो पढाइ सम्भव छैन ।”

कक्षा १ र २ मा नानीहरूलाई सजिलो होस् भनेरगोलो आकारका टेबुल राखिएका छन् । पढ्दापढ्दै थकाइ लागेमा खेल्न घुम्ने पिङ्ग राखिएको छ । “पढाइसँगै खेल र मनोरञ्जनले बालबालिकामा सकारात्मक असर पार्दाेरहेछ ।” प्रअ झको अनुभव छ । स्कूलमा रमाइलो वातावरण भएकाले विद्यालय छुट्टी भएपछि पनि बालबालिकाहरू विद्यालयमै बस्न चाहन्छन् । कक्षा ४ का छात्र सन्तु यादव विद्यालय आएपछि आफूलाई पनि घर जान मन नलाग्ने अनुभव सुनाउँछन् ।

त्यहाँ नयाँ शैक्षिक सत्र शुरु भएपछि एक वर्षसम्म कसरी पढाउने भनेर शिक्षकबीच छलफल हुन्छ । शैक्षिक क्यालेण्डरमा कुन दिन कुन पाठ पढाउने निधो गरिएको हुन्छ । कतिपय शनिबारका दिनमा समेत नानीहरू स्कूल आउँछन्, शिक्षकले तिनलाई पढाउँछन् । प्रअ झका अनुसार आफ्नो स्कूलमा प्राथमिक तह पूरा गर्ने विद्यार्थीले प्राथमिक तहको सिकाइ उपलब्धि हासिल गर्ने गरेका छन् । नयाँ शैक्षिक सत्रमा नानीहरू भर्ना गराउन स्कूलमा अभिभावकको भीड लाग्छ । अघिल्लो शैक्षिक सत्रमा ३११ छात्रछात्रा थिए भने यो वर्ष पनि यो सङ्ख्या उस्तै छ ।

२०४६ सालमा स्थापना हुँदा टिनको छाप्रो रहेको यो स्कूल पक्की भवनमा परिणत भइसकेको छ । मधेशका अरू सरकारी स्कूलमा व्यवस्थापन समितिमा पुग्न तँछाडमछाड देखि कुटपिट हुँदैगोली समेत चल्ने गरेको छ । यो स्कूल यसको अपवाद बनेको छ । स्थानीयगुजर चौधरी अहिलेसम्म ६ पटकसम्म निर्विरोध अध्यक्ष भएका छन् । “विद्यालयमा राजनीति कहिल्यै भएको छैन, अभिभावक जागरुक र सहयोगी छन्”, चौधरी भन्छन् ।

आर्थिक पारदर्शिताको निम्ति पनि राष्ट्रिय जनता प्रावि नमुना मानिएको छ । अध्यक्ष चौधरी भन्छन्, “प्रधानाध्यापक र समुदाय मिलेर प्रत्येक वर्ष सामाजिक लेखा परीक्षण गरिन्छ, कहिल्यै विवाद हुन्न ।” स्कूलले जिल्लामा रराम्रो पठनपाठन सञ्चालन गरेका कारण विभिन्न संघ–संस्थाले स्कूललाई सम्मान तथा पुरस्कृत गरेका छन् । सिरहाका निमित्त जिशिअगुदर महतो समुदायको सहयोगले काँचुली फेरेको स्कूलको रूपमा लिन्छन् जनता राष्ट्रिय प्राविलाई । उनी थप्छन्, “अरु स्कूललाई पनि यस्तै बनाउन अभिभावक नै जाग्नुपर्छ ।”

बाबुराम र श्रवण देव

commercial commercial commercial commercial