शिक्षकलाई महाभारत

अङ्ग्रेजी भाषाप्रतिको मोहले छात्रछात्रा निजी स्कूलतिर ओइरिन थालेपछि सरकारी स्कूलमा पनि अङ्ग्रेजी माध्यममा पठनपाठनको लहर चलेको छ । विद्यार्थी घटेर धरासायी हुन लागेका सार्वजनिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरे पछि पुनर्जीवन पाएका छन् । तर, अङ्ग्रेजी भाषामा रराम्रो पकड नभएका र अहिलेसम्म अङ्ग्रेजी पाठ्यपुस्तक समेत नेपालीमै पढाउँदै आएका शिक्षकलाई ‘कामचलाउ’ शैलीमा अङ्ग्रेजी माध्यममा पढाउन ल गाउँदा धेरै ठाउँमा पढाइको स्तर नेपाली माध्यमको भन्दा झन् कमजोर भएको छ ।

स्याङ्जा, बिर्घास्थित सृजना प्राविका शिक्षक काशीराम पाण्डेयले शिक्षण जीवनका २२ वर्ष नेपाली माध्यममै पढाएर बिताए । चार वर्षअघि देखि थालिएको अङ्ग्रेजी माध्यमको पठनपाठन उनका निम्ति गाह्रो भएको छ । एसएलसी उत्तीर्ण पाण्डेय अहिले कक्षा २–५ लाई सामाजिक अध्ययन पढाउँछन् । तर, उनी स्वयं सन्तुष्ट छैनन् । भन्छन्, “किताबका पाठ आफैंले रराम्रोसँग बुझँिदैन, विद्यार्थीलाई कसरी बुझाउनु ? नेपालीमा पढाउने शिक्षकले अङ्ग्रेजीमा पढाउनु पर्दा दायाँ गोरुलाई बायाँ नारे जस्तो भएको छ ।”

तनहुँ, थर्पुस्थित मीन उमाविकी शिक्षक रुक्मिणी मल्लको समस्या पनि यस्तै छ । प्रावि तहमा गणित र विज्ञान पढाउने मल्ल आफूलार्ई अङ्ग्रेजी शब्द उच्चारण गर्न नै कठिन हुने गरेको बताउँछिन् । उनले नबुझेका शब्द स्कूलमा माथिल्लो तहका शिक्षक र घरमा छोराछोरीसँग सिकेर जसोतसो पढाउने गरे की छिन् । शिक्षक प्रतिनिधिले ७ जेठ २०६८ मा भेट्दा उनी बीबीएस दोस्रो वर्षमा अध्ययनरत छोरी प्रमिलासँग विज्ञानका अङ्ग्रेजी शब्दका नेपाली अर्थ र जोडा मिलाउने तरिका सिक्दै थिइन् । प्रमिला जस्ता शिक्षकहरूले अङ्ग्रेजी माध्यममा पढाउन गाह्रो भएको गुनासो गरे पछि थर्पु स्रोतकेन्द्रले यस वर्षको टीपीडी कार्यक्रम (शिक्षक तालिम)मै अङ्ग्रेजी भाषा सिकाएको थियो । तनहुँकै दमौली स्रोतकेन्द्रमा पनि २५ जनालाई यस्तै तालिम दिइएको स्रोतव्यक्ति माधव अधिकारी बताउँछन् ।

तनहुँ, जामुनेको राधा उमाविमा कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यमको पठनपाठन हुन्छ । त्यो पनि निजी स्कूलकै पाठ्यपुस्तक र शैलीमा । विद्यार्थीलेगलामा टाई र कम्मरमा बेल्ट बाँधेका हुन्छन् । वर्षमा चार पटक परीक्षा लिने गरिएको छ । शिक्षक नन्दबहादुर थापा निजी स्कूलसँग प्रतिस्पर्धा गर्नकै लागि यसो गरिएको बताउँछन् । अङ्ग्रेजी पढाउन निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन नर्सरीमा मासिक प्रति विद्यार्थी रु.२५० र कक्षा पाँचमा रु.४०० शुल्क लिने गरिएको छ ।
तनहुँको थर्पु स्रोतकेन्द्र अन्तर्गत ३७ वटा सामुदायिक स्कूलले अङ्ग्रेजी माध्यममा पठनपाठन चलाएका छन् । कुनै विद्यालयले यसलाई कक्षा ५ सम्म पुर्याइसकेका छन् भने कुनैले कक्षा एकमा शुरु गर्दैछन् । तनहुँकै दमौली स्रोतकेन्द्र मातहतका ३२ विद्यालय पनि अङ्ग्रेजी माध्यममै छन् । गोरखाकै नगरपालिका स्रोतकेन्द्र अन्तर्गतका २५ सामुदायिक विद्यालयमध्ये २० वटामा अङ्ग्रेजी माध्यम लागू गरिएको छ । आहालेस्थित सरस्वती माविमा त कक्षा १० सम्मै अङ्ग्रेजी चलाइएको चार वर्ष भइसकेको छ । स्याङ्जाको श्रीकृष्णगण्डकी र निबुवाखर्क गाविसका २३ सामुदायिक विद्यालयमध्ये १८ वटामा अङ्ग्रेजी माध्यमको पठनपाठन थालिएको छ । तर, जिल्लाभर अङ्ग्रेजी माध्यम शुरु गर्ने विद्यालयको यकिन आँकडा चाहिँ तीनवटै जिशिकासँग छैन ।

सुर्खेत, लेखफर्साका हीरालाल पौडेलले तीन वर्षअघि नाति अनुपलाई अङ्ग्रेजी पढाउने रहरले स्थानीय डायमण्ड ज्ञानशाला बोर्डिङमा भर्ना गरेका थिए । तर, २०६६ देखि गाउँकै आदर्श उमाविले कक्षा १ देखि अङ्ग्रेजी माध्यममा पढाउन शुरु गरे पछि पौडेलले नातिलाई निजीबाट सरकारीमा सारे । आफ्ना विद्यार्थी सरकारीतिर जान थालेपछि डायमण्ड ज्ञानशालाले २०६६ चैतमा आदर्श उमाविलाई पत्र पठाएर स्वीकृति पत्र विना भर्ना न गर्न अनुरोध गरेको थियो ।

आदर्श उच्चमाविले अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरे पछि लेखफर्सामा हीरालाल जस्ता थुप्रै अभिभावकले बोर्डिङमा भर्ना गरिएका बालबालिकालाई सरकारी स्कूलतिर सारेका छन् । बितेको तीन वर्षमा निजी स्कूलमा पढ्ने ३५ जना छात्रछात्रा आदर्श उमाविमा सरुवा भएका छन् । जिशिका सुर्खेतका अनुसार पछिल्लो तीन वर्षमा सुर्खेतका ५० सरकारी स्कूलले अङ्ग्रेजी माध्यममा पढाउन शुरु गरेका छन् ।

।।।।।।।।।।।।।।

नसकेपछि तालिम

झपाको पथरिया स्रोतकेन्द्रले एक वर्षअघि आफू मातहतका सबै स्कूलमा कक्षा एक देखि अङ्ग्रेजी माध्यममा सरकारी पाठ्यक्रम/पाठ्यपुस्तक पढाउने निर्णय गरेको थियो । कहिले आत्मविश्वासका साथ एक वाक्य अङ्ग्रेजी नबोलेका शिक्षकहरूमा कसरी अङ्ग्रेजी माध्यममा पढाउने भन्ने चिन्ता थियो । त्यही कारण स्रोतकेन्द्रका २० स्कूलमध्ये  पथरिया र लक्ष्मीप्रसाद देवकोटा माविले मात्र उक्त निर्णय कार्यान्वयन गरे । स्रोतव्यक्ति भूमि राजवंशीका अनुसार, ती स्कूलको अभ्यास देखेपछि यो शैक्षिक सत्रमा स्रोतकेन्द्रका २० वटै स्कूलले कक्षा एकमा अङ्ग्रेजी माध्यममा पढाउन शुरु गरेका छन् ।

शिक्षकमा आत्मविश्वास बढाउन स्रोतकेन्द्रले शैक्षिक सत्र शुरु हुनुअघि अङ्ग्रेजी भाषाको एकमहिने तालिम आयोजना गरेको थियो । ५ चैत देखि ५ वैशाख २०६८ सम्म चलेको उक्त तालिममा २० वटा स्कूलका २४ जना शिक्षक सहभागी थिए । अङ्ग्रेजी भाषाको तालिमका हरेक स्कूलले स्रोतकेन्द्रलाई रु.५०० प्रदान गरेका थिए । तैपनि तालिममा सहभागी शिक्षकले आफूलाई अङ्ग्रेजीमा अझै तालिम अपुग भएको अनुभव गरेका छन् ।

।।।।।।।।।।।।।।

अधिकांश दलित र विपन्न समुदायका बालबालिका पढ्ने धुलियाबिटस्थित शिव उमाविले अभिभावकहरूकै चाहना अनुसार यसपालि देखि अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद ढकालले भने– “त्यसैले यही वर्ष देखि कक्षा एक देखि अङ्ग्रेजी शुरु गरियो ।” अङ्ग्रेजी पढाउने सरकारी स्कूलले विद्यार्थीबाट वार्षिक रूपमा एकमुष्ठ रु.२५ देखि एक रु.१०० सम्म शुल्क लिने गरेका छन् । छात्रछात्राले पाठ्यपुस्तक किन्नु परेको छैन । किनभने सरकारी पाठ्यपुस्तक निःशुल्क दिइएको छ । निजी स्कूलमा महँगो पर्ने शिक्षा सरकारी स्कूलले सस्तोमा दिन थालेपछि अभिभावक पनि दङ्ग छन् ।

अङ्ग्रेजी माध्यममा पढाउन शिक्षकले अतिरिक्त मिहिनेत गर्नु पर्ने भएको छ भने स्कूलहरूले योग्य शिक्षक खोज्न थालेका छन् । यसै वर्ष देखि अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु गरेको सुर्खेतकै लाटीकोइलीकोगङ्गामाला निमाविले स्तरीय निजी विद्यालयमा अनुभव सम्हालेकी मधु खड्कालाई अङ्ग्रेजी कक्षाको जिम्मा लगाएको छ भने शिव उमाविले अङ्ग्रेजीमा बीएड गरेका शिक्षकद्वय बुद्धिप्रसाद आचार्य र हिमा अधिकारी लाई कक्षा १ मा अध्यापन गर्न लगाएको छ । खड्का भन्छिन्, “अङ्गे्रजीमा पढाउन नेपाली पढाउन जस्तो सजिलो छैन, तयारी अनिवार्य हुन्छ ।”  

तराईको तत्परता
तराईका विद्यालयमा पनि अङ्ग्रेजीको लहर चलेको छ । सप्तरीको सीतापुरस्थित भुर्की माविले कक्षा ६ सम्म सबै विषय अङ्ग्रेजीमा पढ्नुपर्ने नियम लागू गरेको छ । कक्षा ७ देखि चाहिँ विद्यार्थीको अङ्ग्रेजी जाँचेर मात्र अङ्ग्रेजी माध्यमको कक्षामा राख्ने गरिएको छ । प्रधानाध्यापक सीताराम लाल दासका अनुसार अङ्ग्रेजी माध्यमले स्कूलमा छात्रछात्रा बढाएको छ भने निजी स्कूलतिर जाने दर कम भएको छ । भुर्कीका ६७५ छात्रछात्रामध्ये ५१४ जना अङ्ग्रेजी माध्यममा अध्ययन गर्छन् । धेरै शिक्षकहरूलाई अङ्ग्रेजी माध्यममा पढाउन कठिन भइरहेको बेला उक्त विद्यालयका शिक्षक कुलानन्द चौधरी अङ्ग्रेजीमै पढाउन सजिलो हुने बताउँछन् । प्रअ दास थप्छन्, “अङ्ग्रेजी माध्यम लागू भएपछि तीन वर्षयता एसएलसीमा शतप्रतिशत नतिजा हासिल भएको छ ।”

सप्तरीमा अहिलेसम्म ६ वटा सरकारी स्कूलले अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरेका छन् । चालु शैक्षिक सत्रमा फत्तेपुरस्थितगोवद्र्धन उमावि, मलेकपुरस्थित जनता मावि र रुपनगरको वस्तीपुर राप्राविले प्राथमिक तहमा अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गर्न लागेको जिशिअ शत्रुघ्न यादव बताउँछन् । हिन्दू स्वयंसेवक संघले सप्तरीको ठेलियामा सञ्चालन गरेको पशुपति विद्या मन्दिरमा पनि पाँच कक्षासम्म अङ्ग्रेजी माध्यममै पढाइ हुन्छ ।

स्कूल सरकारी, किताब निजी
उता झपाको सतासीधाम ४ स्थित सरस्वती प्राविले छात्रछात्रा घट्दै गएपछि वैशाख २०६६ देखि निजी स्कूलमा पढाइने अङ्ग्रेजी पाठ्यपुस्तक पढाउन शुरु गरेको छ । निजी स्कूलले झै सरस्वती प्राविले पनि पूर्व प्राथमिक तहलाई नर्सरी, एलकेजी र युकेजी नाम दिएको छ । यो शैक्षिक सत्रमा कक्षा ३ सम्म निजी स्कूलका पाठ्यपुस्तक लागू गरिएको छ भने सबै शिक्षकलाई अनिवार्य रूपमा अङ्ग्रेजी माध्यममा पढाउन भनिएको छ । अङ्ग्रेजी अभ्यास ले अहिलेसम्म नेपाली माध्यममा नेपाली भाषाकै पाठ्यपुस्तक पढाउँदै आएका शिक्षकहरू माथि सकी/नसकी अङ्ग्रेजीमा निजी स्कूलका पाठ्य सामग्री पढाउनु पर्ने बाध्यता थपिदिएको छ ।

सरस्वती प्राविका प्रअ देवीबहादुर कार्कीलाई निजी स्कूलका किताब अङ्ग्रेजी माध्यममा पढाउन कठिन हुन्छ । किनभने, न उनले निजी स्कूलमा पढे, न उच्च शिक्षा अङ्ग्रेजी मूल विषय लिएर अध्ययन गरे । त्यसैले उनी कक्षामा जानुअघि आफैँ पढ्छन्, तयारी गर्छन् । तैपनि कक्षा २ को साइन्स विषयको प्लान्टस् र हेल्थ पढाउन कार्कीलाई कठिन भइरहेको छ । “सारै मिहिनेत गरेर कक्षा २ सम्म जेनतेन पढाइएको छ । कक्षा ३ भन्दा माथि झन् कठिन हुने देखेको छु”, उनले शिक्षक सँग भने ।
बीबीएस अध्ययन गरिरहेका सरस्वती प्राविका अर्का शिक्षक रविनगौतमलाई चाहिँ कक्षा २ को हेडवे को जीम, टोम एण्डगोल्डमाइन्ड’ शीर्षकको कथा पढाउन कठिन लाग्छ । उक्त कथागौतम स्वयंले राम्ररी बुझेका छैनन् । भन्छन्, “अमेरिकाको कथा भएकाले सन्दर्भ बुझन र बुझाउन सकिएको छैन । कथाका कतिपय शब्द शब्दकोश हेरेर पनि बुझाउन नसकिने खालका छन् ।”

सरस्वती प्राविमा यस्तो समस्या भोग्ने शिक्षक अरू पनि छन् । शिक्षक लक्ष्मी भट्टराईको लागि एलकेजीको हेडवे कै कविता महाभारत भएको छ । उनी भन्छिन्, “शिक्षण पेशामा रहिरहन अङ्ग्रेजीमा पढाउनै पर्छ, जान्दिनँ भनेर सुख पाईंदैन ।”

भट्टराईको जस्तै झ्मेला झेल्दै आएकी कक्षा ३ सम्म जिके र आइक्यु पढाउने निर्मला पनेरुले निजी स्कूलबाट एसएलसी उत्तीर्ण गरेका आफ्ना छोरासँग सिकेर छात्रछात्रालाई पढाउने गरे की छन् । नेपाली माध्यममा पढाइ नहुँदा उनले तयारी न गरी वा किताब नहेरी/नपढी स्कूल जाँदा पनि हुन्थ्यो । तर, अब ती दिन गए । स्कूल जानु छ त उनले आफूले पढाउने पाठका बारेमा छोरासँग सिक्नैपर्छ । “नत्र त कक्षामा एक वाक्य पनि बोल्न सकिँदैन”, उनले भनिन् ।

सरस्वती प्रावि (सतासीधाम) कै गणित पढाउने डिल्लीराम खतिवडाले भने एलकेजीको अफ्टर, बिफोर, मोर/लेस देन सही तरिकाले पढाउन नसकेको बताउँछन् ।

१५ वैशाख २०६८ मा सरस्वती प्राविकी शिक्षक तुलसा बजगाईं यु केजी को हेड वे को पहिलो पाठ पढाउँदै थिइन् । उनले नानीहरूलाई पाठ अनुसार किताब पल्टाउन आग्रह गर्दै कालोपाटीमा ¥याट, ब्याट, म्यान, डग, म्याट, ह्याट, फ्यान, क्याट लेखेर ती शब्दको उच्चारण गर्न थालिन् । नानीहरू पनि तुलसासँगै तिनै शब्द भट्याइरहेका थिए । आफूलाई चित्र बनाउन नआउने भएकाले ती शब्दको अर्थ र अवधारणा बुझाउन कठिन भएको तुलसाको कथन थियो । छात्रछात्रा घट्दै गएपछि बाध्यताका कारण आफूले जानी नजानी अङ्ग्रेजी पाठ्यपुस्तक पढाउन थालेको बताउँदै उनी थप्छिन्, “अहिलेसम्म धानिएको छ, अब कक्षा ४ र ५ मा कसरी पढाउने हो ? चिन्ता लागेको छ ।”

अङ्ग्रेजीमा निजी स्कूलको पाठ्यपुस्तक पढाउनु अघि (२०६५) मा सरस्वती प्राविमा १०३ जना छात्रछात्रा थिए भने अङ्ग्रेजीमा कक्षा चलाएपछि यो सङ्ख्या १३५ पुगेको छ ।

शिक्षा मन्त्रालय मौन
शिक्षा नियमावलीले सरकारी स्कूलमा अङ्ग्रेजी वा नेपाली जुनसुकै माध्यममा पठनपाठन सञ्चालन गर्न पाइने व्यवस्था गरेको छ । शिक्षा मन्त्रालयले कुनै पनि सरकारी विद्यालयलाई अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्न औपचारिक/अनौपचारिक निर्देशन दिएको छैन । तैपनि देशभरि अङ्ग्रेजीको लहर आएको छ । शिक्षक को अध्ययनमा परेका झपाका ३६०, तनहुँ, गोरखा र स्याङ्जाका केही स्रोतकेन्द्रका १०७, सुर्खेतका ५० र सप्तरीका ६ वटा स्कूलले अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालन गरेको कुरा ले यही दर्साउँछ ।

अङ्ग्रेजी माध्यममा पढाउने सरकारी विद्यालयको सङ्ख्या बढ्दै गएकै कारण अङ्ग्रेजीमा अनुवाद गरिएका सरकारी पाठ्यपुस्तकको माग बढेको छ । १५ माघ २०६७ मा शिक्षा मन्त्रालयले जनक शिक्षा सामग्री केन्द्रलाई सरकारी स्कूलका सबै पाठ्यक्रम नेपालीमा छपाइ गरी नेपाली पाठ्यपुस्तककै मूल्यमा स्कूलमा पढाउने व्यवस्था गर्न निर्देशन दिइसकेको शिक्षा विभागका शैक्षिक सामग्री शाखाका उपसचिव टुकराज अधिकारी बताउँछन् ।

तर जनक शिक्षा सामग्री केन्द्रले शिक्षा मन्त्रालयले धेरै ढिलो पत्राचार गरेकाले चालु शैक्षिक सत्रका लागि नेपाली मूल्यमा अङ्ग्रेजी पाठ्यपुस्तक छापेर पठाउन नसकिएको जनाएको छ । जनक शिक्षाका प्रवक्ता मनोहर लामिछानेका अनुसार २०५७/५८ मा कक्षा १ का लागि ५ हजार थान अङ्ग्रेजी पाठ्यपुस्तक छापिएको थियो भने यो शैक्षिक सत्रका लागि कक्षा १ का २२ हजार थान अङ्ग्रेजी पाठ्यपुस्तक छापिएको छ । केन्द्रले हरेक वर्ष १० प्रतिशतका दरले बढाएर पाठ्यपुस्तक छाप्ने गरेको छ । लामिछाने भन्छन्, “अङ्ग्रेजी माध्यममा पढाउने स्कूलको सङ्ख्या हरेक वर्ष बढिरहेकाले माग बढेको छ ।”

सरकारी स्कूलमा अङ्ग्रेजीको लहर नै आए पनि शिक्षा मन्त्रालयसँग भने नेपालका कति सरकारी विद्यालयले अङ्ग्रेजी माध्यममा पठनपाठन गरिरहेका छन् भन्ने आँकडा छैन । शिक्षा विभागका उपसचिव टुकराज अधिकारी भन्छन्, “अङ्ग्रेजीको लहर चलेको छ तर, कति स्कूल अङ्ग्रेजीमा गए भन्ने यकिन विवरण छैन ।” सरकारले कसैलाई पनि अङ्ग्रेजीमा पढाउनै पर्छ नभनेको तर स्कूलहरूले आफैँ अग्रसर भएर अङ्ग्रेजी माध्यममा पठनपाठन चलाउने गरेको धारणा राख्छन् अधिकारी ।
अङ्ग्रेजी कक्षा सही तरिकाले चलेका छन् कि छैनन्, अङ्ग्रेजी माध्यममा पढाउने शिक्षक सक्षम छन् कि छैनन्, छात्रछात्राले अङ्ग्रेजी सिकेका छन् कि छैनन् भन्ने बारेमा पनि कसैले खोजीनिती तथा लेखाजोखा गरेको भेटिँदैन ।

........

तालिम चाहियो

गणेश खनाल
शिक्षक, सरस्वती उमावि दमक, झपा

मैले कक्षा १ मा अङ्ग्रेजी माध्यम शुरु भए देखि नैगे्रड शिक्षण शुरु गरेको हुँ । कक्षा १ र २ बल्लबल्ल पढाएँ । कक्षा ३ मा हेडसरलेग्रेड कक्षा लिन भन्नुभयो तर मैले आँट गरिनँ । कक्षा ३ मा अङ्ग्रेजी माध्यममा पढाउन मेरो ज्ञान र हैसियतले भ्याउँदैन जस्तो लाग्यो । बित्थामा छात्रछात्राको पढाइ डामाडोल पार्न चाहिनँ ।

कक्षा १ र २ मा पढाएको दुई वर्ष भएकाले अब बानी लाग्यो । अङ्ग्रेजी माध्यममा पढाउन शिक्षकले कडा मिहिनेत गर्नु पर्छ । शिक्षक निर्देशिका र नेपाली अङ्ग्रेजी शब्दकोश साथमै राख्छु । नजानेका शब्दका अर्थ शब्दकोश हेरेर पढाउँछु । अरू विषयमा फिल्ड ट्रिप लगेर अथवा सम्बन्धित वस्तु कक्षामा ल्याएर पनि अर्थ बुझाउन सकिन्छ । तर सामाजिक अध्ययन विषय अङ्ग्रेजीमा पढाउन एकदमै गाह्रो हुन्छ । जस्तै ह्याबिट अफ क्यारिङगुड, हेल्पलेस एण्ड हेण्डिक्याप इन स्कूल, आवर फेस्टिभल जस्ता पाठ पढाउन र बुझाउन मलाई एकदमै गाह्रो लाग्छ ।

सरकारी स्कूलमा अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने हो भने सबैभन्दा पहिला शिक्षकलाई यस सम्बन्धी तालिमको जरुरी छ । तालिमको व्यवस्था स्कूल वा स्रोतकेन्द्रले गरिदिनुपर्छ । नजानी अङ्ग्रेजी पढाएर नानीहरूको भविष्य बर्बाद पार्नु हुन्न ।          

.........

सरकारले अङ्ग्रेजी लागू गर्ने वा न गर्ने जिम्मा स्कूल स्वयंलाई छोडेकाले अधिकांश स्कूल पठनपाठनको स्तर ोन्नति वा अङ्ग्रेजीमा छात्रछात्रालाई सिकाउने लक्ष्यले भन्दा बाध्यताका कारण अङ्ग्रेजी माध्यम लागू गर्न विवश भएका देखिन्छन् । निजी स्कूलको प्रभावका कारण छात्रछात्रा घट्दै गएर स्कूल बन्द गर्नु पर्ने अवस्थामा पुगेकाले सकी नसकी अङ्ग्रेजीको भारी बोक्नु परेको सरस्वती प्रावि झपाका प्रअ देवीबहादुर कार्की बताउँछन् । उनको कथन छ, “कि अङ्ग्रेजीमा पढाउनु पथ्र्यो, कि स्कूल बन्द गर्नु पथ्र्यो ।”

नेपालीमै फर्किंदै
छात्रछात्रा बढाउनका लागि बाध्यताले अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेर असफल भएको स्कूलको एउटा नमुना हो गोरखाको बालमन्दिर निमावि । २०६३ सालमा अङ्ग्रेजी माध्यममा पठनपाठन थालेको बालमन्दिर कक्षा चारसम्म पुर्याएर फेरि नेपालीमै झ्रेको छ । प्रअ लुमनाथ लामिछाने भन्छन्, “जसोतसो घिच्याएर कक्षा तीनसम्म लगियो । तर, शिक्षकलाई गाह्रो भएपछि व्यवस्थापन समिति र स्टाफ बैठक गरेर नेपालीमै पढाउने निर्णय गर्यौ ।”

गोरखाकै नारेश्वर स्रोतकेन्द्र अन्तर्गतका २७ विद्यालयले २०६३ साल देखि अङ्ग्रेजी माध्यममा सञ्चालन गर्ने निर्णय गरेका थिए । तर, अङ्ग्रेजी माध्यमको पठनपाठनगतिलो पार्न नसकेपछि १४ वटा स्कूल पुनः नेपालीमै फर्किएका छन् ।

दक्ष शिक्षकको व्यवस्था र पर्याप्त तयारी विना नै लहडका भरमा अङ्ग्रेजी माध्यम शुरु गर्दा केही स्कूलमा विद्यार्थीको शैक्षिक स्तर खस्किएको छ । कक्षा पाँचसम्मै अङ्ग्रेजी माध्यम विस्तार गरिएको गोरखा, ढाँड गाउँस्थित पृथ्वीनारायण प्राविको रेकर्ड अनुसार, कक्षा चारको विज्ञान विषय अन्तर्गत अन्तिम परीक्षा (२०६६) को औसत सिकाइ उपलब्धि २७.३४ (पूर्णाङ्क–६०) थियो । २०६७ सालमा अङ्ग्रेजी माध्यममा दिइएको परीक्षामा उक्त दर २१.८५ मा झ्¥यो । अङ्ग्रेजी माध्यममा लिइएको कक्षा तीनसम्मको परीक्षामा पछिल्ला दुई वर्षमा औसत सिकाइ उपलब्धि खस्केको छ ।

उक्त स्कूलको २०६७ मा अङ्ग्रेजी माध्यममा परीक्षा लिइएको कक्षा तीनको सामाजिक र कक्षा चारको विज्ञान विषयको उत्तर पुस्तिका हेर्दा विद्यार्थीको सिकाइको स्तर कमजोर रहेको देखि यो । उत्तरपुस्तिकामा विद्यार्थीले ठीक/बेठीक छुट्याउने, खाली ठाउँ भर्ने र जोडा मिलाउनेसम्मको उत्तर जेनतेन मिलाएका थिए, छोटो उत्तर आउने प्रश्नको जवाफ चाहिँ कसैले पनि लेखेका थिएनन् । पृथ्वीनारायण प्राविका प्रअ सुदीप उपरकोटीको भनाइमा वरपरका स्कूलले अङ्ग्रेजी शुरु गरे पछि हामीले पनि गर्यौ । तर, राम्ररी पढाउन चाहिँ सकिएन ।

सरकारी विद्यालयले छात्रछात्रा बढाउने माध्यमको रूपमा भन्दा विद्यार्थीमा अङ्ग्रेजीप्रति रुचि जगाउने प्रयास गर्नु पर्ने देखिन्छ । सरकारी स्कूलमा साँच्चै अङ्ग्रेजी सिकाउने हो भने सबैभन्दा पहिला शिक्षकहरू आफैँले अङ्ग्रेजी सिक्नु जरुरी देखिन्छ । कामचलाउ पारालेगलत सिकाउनु भन्दा नेपालीमा बुझएर पढाउँदा छात्रछात्राप्रति न्याय हुन्छ ।
साथमा, कलेन्द्र सेजुवाल, सुर्खेत
श्रवण देव, सप्तरी

commercial commercial commercial commercial